Skip to content


बलभद्रले काँगडा छाडेपछि
भक्ति थापाले देउथलमा
वीरगति पाएपछि
मेरा कोठेबारीका काँक्राचोरहरू
खरबारीमा घाँस चोर्नेहरू
मनोबल बढेर रूखमा छेकिदै
मैले डोकानाम्ला खोस्न सकिन तिनका
कातर म महाकातर
अमरसिंहको स्वाभिमान निलेर हीराका औंठीसित गोसाइँकुण्डमा
शत्रुको चिठी कुल्चेको भए
म शायद स्वयम्भुका आँखा अगाडि
विस्कुट बाँड्दै बाँदरलाई
म राष्ट्रभक्त
त्यसैले मलको लुँडी सोहोर्न
गोठालो बसेको तिम्रा घरमा
भष्मासुरका हात फैलाएर
खण्डहर बारीमा सपना छर्ने
पुनर्निर्माणको यज्ञ आयोजक
मेरो भत्केको खण्डहर
सिस्नाका झाङ ब्यूँझेका छन्
कुष्ठरोगीझैं
हुरीपछि प्युरीखोज्दै
उँघेका आँखा ब्यूँझिए
धनको थुप्रो टोकरीभरि देखेर
नयाँ नेपाल जन्मियो घ्याम्पाबाट
ऊ परदेशीबाउ यसको
तिमी सम्हाल यसलाई
पेटेभोटो लाइदेउ
अँध्याराको तीर
दायित्वको पीर नबोक्ने भए भन
म बनाउँछु नयाँ नेपाल
तिम्रा भष्मासुर हात नफैलाऊ अब
अँगेनामा टाङ फुट्याएर
बिराली परेका पिडुँलाबाट
वर्गशत्रुको दूरबिन आँखामा
हातको बारुद धोऊ
फाल्सा फाल्सा रगत टेकेर
म बनाउँछु नयाँ नेपाल
परालका कुनिउँमा आगो सल्काउने हात
बहादुरीको ताली र छिमेकीको स्याबासी
तिमी नेता बन्यौ
तामा भाँचेर ढुङ्ग्रेबाँसको
आफ्नै हत्केलो गुम्यो
बम हान्न नजान्दा
कट्मिरो देश दुःखेको छ आज
मेरो मुटु
तिमी पल्टेको घाइते स्ट्रेचरमा
म बनाउछु नयाँ नेपाल ।

– ओखलढुङ्गा

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *