Skip to content


त्यही मान्छे हो
वर्तमानमा देखिएको
विगतको पहिचान हराएको
बोली वचन र आस्थामा विचलनपछि
देखिएको यथार्थ रूपलाई भन्न करै लाग्यो
स्वयम् आफैंँमा विचलन आएको मान्छे ।
यसरी नै क्रमशः
भूत, वर्तमान र भविष्यमा पनि
कर्तव्यबाट चुक्दै जाने हो भने
मान्छेको विचार, अनुशासन, व्यवहार र चरित्रमा
युग सुहाउँदो पहिचान नरहे कहाँ रहन्छ र ?
विक्षरण अवस्था हेरेर
गौरव त मान्न सकिन्न
स्थान भ्रष्ट भएको व्यक्तिको कर्मबाट
खिन्नता आउनु स्वभाविक नै हो ।
विचलित मान्छेको मनोदशा बुझेपछि
सङ्कल्पित आस्था, निष्ठा, सदाचार र विचारमा
खिया लागेको मनलाई
जति नै सजगतापूर्ण
स्वसजित राखे पनि
यथार्थमा देखिएको मुहारलाई
चिन्न अप्ठ्यारो नहुने हुँदा
मानवताको भ्रम फैलाउनु
मिथ्या सिवाय केही नभएको
एउटा सिङ्गो त्यो मान्छेलाई
जो संवेदना युक्त छ
समय संस्कारसँगै त्यसले आफूलाई
परिष्कृत नगर्नु स्वभाविक रूप हो
फरक-फरक भाव भङ्गीमा
फरक ठाउँमा फरक सवाल रहनुको अर्थ
विचलित मनोदशा अँगाल्नुको रहस्य
नै जुलुङ्गो बन्नु हो ।

– सानोठिमी, भक्तपुर

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *