Skip to content


प्रिय शङ्कर लामिछाने,

म तिम्रो लेखनबाट किन यसरी प्रभावित भएँ, मसँग उत्तर छैन । तिमी ‘स्यामुअल हन्टिङटन’ र ‘कार्ल पोल्यानी’ भन्दा पनि धेरै माथि छौं । हेर न शङ्कर, जीवन स्वःरफ्तारमा हिँडिरहेको छ । गएको माघ १० मा तिम्रो ३६ औँ पुण्यतिथिमा एक राष्ट्रिय अखबारमा तिम्राबारे लेखेँ, थोरै भए पनि र आजका ‘लेखक’लाई तिम्राबारे थप अलिकति भनेँ । तिमी छैनौं, आज । जिउनुको अर्थवोध कत्ति छैन ममा ! जीवनका मेरा स्थूलपदचापहरू कुनै एउटा एडिक्सनको ‘बाउन्डरी’ भित्र निर्ममतापूर्वक कैद गराइए भने, म यो भन्न पनि सक्छु कि-म कुनै एडिक्टर होइन ! ‘एडिक्टर’ तर अपसोच ! सोच्नेहरू-जे सोँचुन, मेरो नै सोंच सोचिदेऊ पनि म भन्दिनँ । जो, म यहाँ भनिरहेछु (एउटा पृथक एडिक्सन !) जसको विम्ब म जबरजस्ती अक्षरका ‘पेरिकार्डियम’हरू भित्र कोचारिरहेछु ।

डिप्रेस गराउला । शुष्कताहरू निम्ताउला ! कोही बोलोस् मृत्यु निचोरेर ‘साहित्य’ एडिक्टर हुनै सक्दैन भनेर । त्यो बेला प्रत्यक्ष मेरो एडिक्सनका प्रुफहरू पोखिदिनेछु । सडक ! एडिक्टर हुन सक्दैन ।

पहाड !
गगनचुम्बी घरहरू !
के कोही – एडिक्टर हुनै नसक्ने (?)

० ०

प्रयोगशाला । जहाँ म, फ्रग डाइसेक्सन (ब्रेन एक्सपोज) गरेर अध्ययन गरिरहेको हुन्छु, त्यो बेला सायद म फ्रगको एडिक्ट भने अवश्य गरिरहेको हुन्छु कि (?) ‘रेडियो एक्टिभिटिज्म्’ अनुरूप कुनै फोसिलको अन्वेषण गरिरहँदा, के त्यो बेला त्यसको एडिक्सन हुँदैन र (?) !

शङ्कर, जीवनको ‘टाइट्रेसन’मा, भोगाइ भन्ने एउटा तत्त्वको सोलुसनलाई डेसिकेटरमा राखेर, (जसलाई डेसिनर्मल सोलुसन सपोज गरियोस् !) फिनेलोफ्याथलिनका थोपाहरू मिसायौं भने, निकाल्न सक्छौ र सहज रूपमा)- ‘न्युट्रल पोइन्ट !’

‘स्ट्रेन्थ । अनि, ‘ जीवनको नर्मालिटी । असलमा, निबन्ध लेख्न बसेको होइन म ! भर्खर, ल्यावबाट प्रस्तिथ छु – ‘टाइट्रेसन’ सकाएर ! तर होइन जीवनको, केवल ! सोडिएम कार्बोनेट सोलुसनको ! किन-किन यतिबेला यो जीवनको ‘टाइट्रेसन’ गर्न मन लागिरहेछ, ! तर, सम्भव होला-कसरी (?) थिअरीटिकल्ली (?) या, प्राक्टिकल्ली, (?) प्रिय शङ्कर, यतिखेर प्रोफेसर एम.एन. झा को खुम्चिएको अनुहार ! काँचका बिकरहरू ! डेसिकेटर ! र, मलाई अफसांेच लागिरहेछ, कारण, उहाँले मलाई जीवन – टाइट्रेसनको पद्धति सिकाउनु भएन !

त्यहाँबाट आफूलाई निकालेपछि चर्चको बाटो हुँदै, कोठासम्म पुर्‍याएँ, स्वयम्लाई, घिसारेरै भए पनि !

अँ, चर्च ! एउटा क्रिश्चियन साथीको ‘म्यारिज सेरेमनी’ मा, उसको निम्ताको कदर गर्दै पुगेको थिएँ त्यहाँ ! एउटा, फरक ‘स्टाइल’ जो मेरा सम्झनाहरूमा यद्यपि बसिरहेछन् ! भनें नि माथि, मैले-‘एउटा क्रिश्चियन साथ ।’ किन भन्नु पर्ने है त्यसो (?) हिन्दू भनेको भए पनि त हुने, वा मुसलमान भनेको भए, वा बौद्धिस्ट नै भनेको भए, (वा………….!) के यी माथि भनेका चिज पनि वर्गीय हुन्छ र ? कि निर्माण गरेका हुन ईश्वरले ? वा, येशु, बुद्ध, मोहम्मद ….. कसले (?)

मान्छेले बनाएका कुनै पनि चिज मान्दिनँ, म । अकारण या सकारण जेहोस् । म मान्छे नै होइन ईश्वर पनि होइन, म । अमान्छे पनि हेाइन । एउटा इमेज हुँ, त्यो पनि यस पृथ्वीको होइन । र होइन कुनै ग्रहको पनि । एस्टिरोइड्स, कमेट्स, कसैको पनि ! सूर्यको पनि होइन !

केवल ! एउटा अयोनिज साहित्यको । (जो जन्मिएकै छैन, जन्माइएकै छैन !) र, जन्माइने पनि छैन, कहीँ-कतै ।

यसो भनौं अझ ! केवल, मेरो इमेज एउटा भ्रान्तीवत् तत्व हो । यसैबाट म चालित छु । यहाँका अक्षरहरू ः शब्दहरू मेरो एडिक्ट गरिरहेछन् – स्वयम् साहित्य नै मेरो इमेजको एडिक्ट गरिरहेछ ! लेख्दैछु – लेख्दा-लेख्दै के भयो यो, थाहा छैन । निबन्ध नै भयो, या जस्तै भयो । असलमा, हुनुपर्ने त अर्को चिज हो (जुन स्वयम्लाई नै थाहा छैन !) ।

साहित्य- म यो शब्द नै बुझि्दनँ !

जान्दिनँ ! र, लेख्दिनँ पनि !

खासमा, साहित्य अपसोच हो । आज जीवनको अन्तिम विन्दुमा आएर – म ‘रिअलाइज’ गर्दैछु । त्यो अपसोचको पनि अपसोच ! जीवनको स्वयम्को एउटा ‘अटिप्मिस्टिक’ तत्त्व हो र यो पनि हो, एउटा ‘थिअरी’ भोगाइहरूको । संसारमा, यदि त्यस्तो तुच्छकर वस्तु छ भने यही एउटा साहित्य हो ।

सहपाठिनीले एकपटक भनेकी थिई कक्षा- शब्दशः ‘साहित्य लेख्नेहरू पागल हुन्छन् ।’

उनले भनेका कैयन् शब्दहरूमध्ये मलाई यो अंश ‘पागल’ खुव मन पर्‍यो ! र, मन लागिरहेछ -देहोर्‍याऊँ, तेहेर्‍याऊँ……। त्यसो त, उसले लेख्नेहरू पागल भेटी या लेखाइमा ? (त्यो टाउको दुखाइको विषय भएन !)

किन (?) समयको अर्को (इतर) घुम्तीमा ऊ मेरो निकटतम् वस्तु हो । (जसको बीच कुनै स्पेस नै छैन । मानांै एकै तत्त्वका दुई रेस्पेक्टिभ इलेक्ट्रोनहरू हौं हामी !)

एउटी बहिनी सरह ! एउटी प्रेमिका सरह !! (?)

(…………..!)

उसले पागल भनी साहित्य लेख्नेलाई । म, असाहित्य लेखरै पनि पागल । आखिर यो सम्भव छ होला ? र, सत्य यो हो म कुनै अमूर्त चित्र (शब्दको- अक्षरको) यो कापीको क्यानभासमा पोतिरहेछन, निष्प्राण तत्त्वको छातीउपर । र, पनि कुनै आवश्यकता छैन मलाई साहित्यिक ‘बी कम्प्लेक्स’को । न छ कुनै साहित्यिक-रिह्याविलिटेसन सेन्टरको । यद्यपि, एउटा यो छ, आवश्यकता-‘विशिष्टतम् र विशुद्ध नेपाली साहित्य !’

त्यो विदेशी साहित्य- जसलाई तपाईंले सिमाना कटाउनु हुन्छ (नेपाल भित्राउनु हुन्छ !) त्यसको स्वरुप, प्रारूप, अरूप –

भौतिक !

शारीरिक !

मानसिक !

(………..!)

(कुनै पनि होस् !)

सम्पूर्ण रूपहरूलाई नेपाली बनोट दिनु तपाईँको कर्तव्य हुनेछ, एउटा आयामिक प्रयास हुनेछ ! एउटा कुरा, ती ल्याइएकाहरू कुनै पनि हालत फिर्ता नजाउन्, नेपाली वाङ्गमयलाई तिलाञ्जलि दिएर-बुद्धले भौतिकताको दिए जस्तै !

प्रसङ्ग जस्ता उठाए पनि असलमा, म लेखिटोपल्छु –

लेख्दिनँ ! शङ्करले भनेजस्तै । एकै शब्दमा भन्नु पर्दा – ‘एडिक्ट’ ! यही गरिरहेछु म ! आखिर त्यही गलत बोलँें- यथार्थमा, साहित्य नै मेरो ‘एडिक्ट’ गरिरहेछ शङ्कर, जीवनको हरेक कोणबाट ।

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *