हुन त मेरो बिहे गर्ने उमेर बितिसकेको छैन । १६ वर्षे प्रखर जवानीको यो सुरम्य रङ्गमञ्चमा छु म । भित्रभित्र कताकता मलाई बिहे गरूँ -गरूँ लाग्दै आइरहेछ । जवानीको यो रहर, बैँसको जोश कहिलेकाहीँ यही जोशले लठ्ठिइएर हुने मदहोशले गर्दा मलाई बिहे गरूँ- गरूँ लाग्छ म स्वतन्त्र छु, व्योमनर्तक चङ्गाझैँ नै । तर बिना लट्टाइँको चङ्गाझैँ मैले आफूलाई पाइरहेछु जो स्वयम्लाई बिहे नामको लट्टाइँमा बाँधेर गतिमान हुँदै स्वच्छन्द रूपमा उड्न चाहन्छु हर रात म आफ्नो जोडीसित मस्तसित मदहोशझैँ प्रेमलाप गरेको कल्पनामा डुब्छु तर बिछ्यौनामा आफूलाई एक्लो पाउँदा मन त्यसै निचोरिइएर ब्यग्र भै आउँछ ओहो ! कति माधुर्य छ, कति मदहोश र सम्मोहित गराउँछु एक झल्को कल्पनाको प्यालाले मात्रै पनि यो कस्तो नशा हो ? हर जवान व्यक्ति आफ्नो बिहेको सपना बुन्दै सुहागरातको पलको पर्खाइमा उद्यत रहन्छन् । जसमा म अछूतो रहन सक्दिँन ।
अबोध बालक जब जवान हुन थाल्छ, तब ऊ आफ्ना अङ्गप्रत्यङ्गमा फरकपना र परिवर्तन महसुस गर्न थाल्छ, साथै तनमनमा नै एकखालको मादकताको आभास पाउन थाल्छ हरेक कुरामा ऊ मादक माधुर्य र रोमाञ्चक दृश्यानुभूति गर्न थाल्छ । पूरै दुनियाँ नै उसलाई एक सुरम्य रङ्गमञ्चझैँ लाग्न थाल्छ हर कुरालाई ऊ रोमाञ्चकारी नजरले पान र विश्लेषण गर्न थाल्दछ त्यतिबेला ऊ स्वयम् नै एक रोमाञ्चकारी पात्रको मुख्य भूमिकामा देखा पर्दछ । जसरी वनमा पालुवा चढिसकेपछिको हरियाली हरितवस्त्रमा सजिइएकी कोभलाङ्गिझैँ मादक हुँदै बढ्छ एक किशोर वा किशोरीमा पनि बैँसको मादक प्याला भरिइदै सरर्र चढ्छ ।
सृष्टिको सुरूआतदेखि नै यो जगत्मा दुई प्रजाति रहिआएका छन् । भाले पोथी वा पोथी भाले, नारीपुरुष वा पुरुषनारी ती दुईको समागम वा मिलनबाटै आजसम्म नयाँ सृष्टि हुँदै यो जगत् चलेको छ र अनन्तसम्म चलिरहनेछ । यी दुई आ-आफूमा भिन्दै भए पनि एउटा कुरा भने यी दुवैमा चरमरूपमा हावी भएको पाइन्छ । त्यो हो, यौन र यौनिकता फरक यत्ति हो कि यौनको इच्छा, अभिलाषा, परिपूर्तिको तौरतरिका भने व्यक्ति तथा प्राणीपिच्छे नै फरक हुन सक्छन् तर दुवैमा प्रणयमिलनका लागि भने आतुरी र व्यग्रता पाउन सकिन्छ । अन्य प्राणी भन्दा मान्छेको यौनिकता अलि जटिल तर सबल, सक्षम एवम् सक्रिय रहेको पाइन्छ । प्रत्येक व्यक्ति स्वयम् एक ज्यूँदो यौनप्रतिमा हो भन्ने कुरालाई नकार्न सकिन्न । अन्य प्राणीभन्दा मानिस यौनमा बढी आशक्त वा लिप्त रहन पनि सक्छ मयुरले नाचेर, कुखुरोले आकर्षक तवरले तनक्क घाँटी तन्काइ बाँसेर, हरिणले आकर्षक चुलबुलता प्रदर्शन गरेर, झिँगोले फनफनी घुम्दै उडेर, कछुवाले गाला र गोहीले पिठयूँ सुम्सुम्याएर आफ्ना यौनिकताको प्रदर्शन गर्ने गर्दछन् तर मानव प्रजातिहरू विपरीत लिङ्गीसँग प्रथमतः मृदु वाणीमा बोलेर जिस्केर, आँखा सन्काएर वा झिम्काएर वा नशालु तवरले लठ्याउँदै हेरेर तथा कविता, गीत लेखेर, चित्रकला तथा विविध नाच वा हाउभाउद्वारा यौनिकताको अभिव्यक्ति दिन्छन् । यसप्रकार दुई विपरीत लिङ्गीहरू चुम्बकका दुई विपरीत ध्रुवझैँ एकअर्काकाप्रति आकिर्षत हुन्छन् र प्रणयमिलनका लागि आतुर भै खिचिँइदै जान्छन् । फलतः अन्तमा यिनको मिलन हुन्छ परिणतिमा दुई विपरीत शक्तिबाट नयाँ ऊर्जा उत्पन्न हुन्छ । त्यसकारण यौनलाई एक यस्तो प्रखर ऊर्जा मान्न सकिन्छ, जसमा आकर्षण वा आशक्ति, उत्प्रेरणा, ज्ञान, कला, चरम सुखानुभूति, खुसी सफलता तथा प्रेमभावको कडी पाउन सकिन्छ । यसमा नै ‘सत्यम् शिवम् सुन्दरम्’ को भाव लुकेको हुन्छ । जानेर वा नजानेर हामी यही भावले देवादिदेवको शिवलिङ्गमा पूजा गर्दछौँ ।
आजको यो एक्काइसौँ शताब्दीमा पनि हाम्रो यो पूर्वीय समाजमा पश्चिमा समाजमा जस्तो यौनमा पूर्ण खुलापन र उदारत छैन अचेल प्रणयी जोडीहरू साथै घुमफिर, हँसीमजाक र संसर्ग गरेको केही मात्रामा देखिइए तापनि हाम्रो समाजमा अझै सङ्कीर्णता कायम छ कसैले पनि खुलारूपमा यौनका कुरा गर्दैनन् र त्यस्ता आशय प्रकट गर्दैनन् । यदि त्यस्तो गरिएको पाइएमा तीनलाई अश्लील र छाडाका उपमासहित कुलुषित नजरले हेरिन्छ । यद्यपि यस्ता व्यवहारहरू लुकीचोरीमा भने प्रशस्त गरिन्छन् । ज-जसले यौनको उपभोग र परिपूर्तिका साथ पूर्ण सन्तुष्टि पाउँछन् तिनलाई यो कुनै समस्याको कुरो भएन तर जसका लागि त्यो स्वैरकल्पना सावित भैदिन्छ त्यसका लागि यौन एक दमित कुण्डा र उत्तप्त प्रज्वलित चाहनाको पराकाष्ठा भैदिन्छ । ती हरघडी आफूलाई एक हताश व्यग्र सिंहझैँ महसुस गर्छन् । जो कुनै सिकारलाई भेट्नासाथै एकै झपटमा भोकको ज्वाला शान्त पार्न आतुर हुन्छन् । यस्तो बेलामा यदि उसले आत्मसंयम कायम राख्न सकेन भने फलतः ऊ आत्मरतिमा रमाउन बाध्य हुन्छ वा कुनै यौन अपराधी बन्न पुग्छ, जसले मानव त के पशुलाई पनि बाँकी राख्दैन ।
प्रकृतिले स्त्री र पुरुषलाई फरक लिङ्गीको रूपमा त बनाइदिएको छ नै, यिनको यौन आवेग र तृप्तिमा पनि भिन्नता दिएको पाइन्छ । सामान्यतः पुरुषहरू स्त्रीभन्दा छिटो आवेगमा आउँछन् र छिट्टै तृप्त हुन्छन् । यिनको शुक्रकीट पनि डिम्बभन्दा लाखौँको सङ्ख्यामा सक्रिय रूपमा रहन्छ तर सामान्यतया महिलाहरू विस्तारै आवेगमा आउँछन् र तृप्तिपछि पनि धेरैबेरसम्म आनन्दानुभूति गर्न सक्छन् तर व्यक्तिमा रहने हर्मोन र रसायनहरूको वैयक्तिक भिन्नताको कारणले गर्दा यौन व्यवहार तथा स्वभावमा पनि वैयक्तिक भिन्नता पाइन्छ । महिलाहरूलाई यौनबाट पुरुषको भन्दा दोहोरो फाइदा एवम् झन्झट दुवै छ यौनबाट एक त महिलालाई परमसुख मिल्छ भने अर्को उनलाई आमा बन्ने महान् गौरवमय सौभाग्य, जुन पुरुषले प्राप्त गर्न सक्दैन । साथै, उनलाई पुरुषको तुलनामा दोहोरो जिम्मेवारी पनि वहन गर्नुपर्ने हुन्छ । पुरुषले त एकपटकको तृप्तिपश्चात् शुक्रकीट छोडेर जान्छ, स्वच्छन्द महशुस गर्दै तर स्त्रीले एकपटकको तृप्तिको बदलामा गर्भमा सन्तान पालेर अत्यन्त कष्टका साथ जन्म दिएर पनि आफ्नै शरीरको स्तनपान गराउनुपर्ने हुन्छ, जुन पुरुषले पर्दैन । यदि प्रकृतिले बच्चाको जन्मपश्चात् पिताले स्तनपान र हेरचाह गर्नुपर्ने जिम्मामात्रै दिएको भए पनि स्त्रीले त्यति कष्ट गर्नुपर्ने थिएन र दुवैको समान सहभागिता हुन सक्थ्यो तर प्रकृतिले नै नारीलाई ठगेको छ फेरि हाम्रो समाजमा नौ महिनासम्म अनेक प्रताडना सहेर भारी जीउ लिई उकुसमुकुस र अटेसमटेसको सहन गरी अत्यन्त कष्टका साथ जन्म दिइकन दुःखले हुर्कार्एको सन्तानको आधिपत्य उसको पितालाई दिइन्छ । स्त्रीलाई उर्वर भूमि र पुरुषलाई त्यसको भूमिपति भन्ने सङ्कीर्ण विचार हाम्रो समाजमा रहेको पाइन्छ । मेरो स्त्रीमनले कुनै पुरुषको चाहना गरे पनि हाम्रो समाजमा व्याप्त पैतृसत्ता, पुरुषदम्भ, शोषण तथा उत्पीडनको आभाष र आमा बनेपछि पाइने खुसीभन्दा महान् हण्डर, कष्ट तथा प्रताडनाको बोधले म झल्याँस्स हुन्छु । किनभने जत्ति दुःख बच्चाले आमालाई दिन्छ, त्यति बाउलाई दिँदैन बच्चाको हर आवश्यकता पूर्तिको साधन बन्नुपर्ने हुन्छ विचारी आमा नामकी ती जन्तुले जुनबेला रोए पनि फकाइ फुल्याउ, रातभर नसुती काखमा लिई हल्लाउ मलमूत्र सफा गराउन तथा आफूले खाइनखाइ पनि बच्चालाई खुवाउ गर्दा कम्ती झन्झट हुँदैन यदि आफ्नो जीवनसाथी वा पुरुष आफूलाई माया गर्ने स्त्रीलाई जुता नभई शिरको ताज बराबर सम्मान दिने, हर दुःखसुखलाई आफ्नै सरह ठानी त्यसमा समान सहभागिता जनाउने आफ्नी स्त्रीको हरपल खुसी चाहने तथा उसको भावनाको कदर गर्ने रहेछ भने त बेसै हुन्छ तर यदि ऊ यसको विपरीत नराधम रहेछ भने त्यस्तो पुरुष स्त्रीका लागि कलङ्क वा अभिशाप बन्न पुग्छ ।
आजको यो युगमा हरेक स्त्रीहरू सबै पक्षमा सबल, सक्षम, आत्मनिर्भर तथा दूरदर्शी हुनुपर्ने बेला छ समाजमा आफ्नो छुट्टै पहिचान बनाउनुका साथै आफ्नो जीवन आफैँ धान्नुका साथै परिवारलाई पनि आर्थिक सहायता गर्नसक्ने हुनुपर्दछ । यतिमात्र नभएर महिलाहरूले पुरुषसँगै काँध मिलाएर देश विकासमा अग्रसर हुनुपर्दछ । त्यसका लागि पहिले स्त्री आफू सम्पूर्ण तवरले सक्षम हुनुपर्दछ । पढाइ, बुझाइ, गराइ र कमाइमा पनि आफू पूर्ण सक्षम नभइकन बिहे गर्नु, अझ आमा बन्नु भनेको कच्चा माटोको घैलोमा पानी खन्याउनुसरह हो । मेरो उमेर, पढाइ, बुझाइ, गराइ र कमाइमा पूर्ण दक्षता नपुगिसकेकाले कल्पनीको सुरम्य रङ्गमञ्चमा रम्दै बिहे गरूँ गरूँ लागे पनि म अहिले नै बिहेचै गर्दिनँ भन्ने दृढ अठोट गरेकी छु । किनकि मैले अझै उच्चशिक्षा हासिल गर्नु छ, आत्मनिर्भर हुनु छ सम्पूर्ण तवरले सक्षम भै देशका लागि केही गर्नु छ । त्यसकारण यदि अहिले नै कोही मेरोसामु प्रणयमिलन वा बिहेको प्रस्ताव लिइआएमा म जवाफ दिनेछु ”नाइँ.. गर्दिनँ म त बिहे !”
– डोल्लु-७, फर्पिङ
मधुपर्क जेठ, २०६९