Skip to content


साँझ झर्नै लागेको थियो । पश्चिमतिर सेलाउँदो सूर्यको लालिमा पोतिदै थियो । चराहरू चिर्बिराउदै आफ्ना गुँडतर्फ हान्निदै थिए । गाईवस्तु फाट्टफुट्ट गोठतर्फ लम्किँदै थिए । मानवहीन वस्तीझैँ झ्याउँकीरी कराइरहेका थिए ।

म एउटा जीर्ण छाप्रो अगाडि पुगेर टक्क रोखिएँ । यताउता हेरेँ । कतै मानव चालचुल थिएन । वातावरण शान्त थिए ।

छाप्रो पनि सुनसान थियो । पहेँलिएको घामले छाप्रो अझैं उराठलाग्दो देखिन्थ्यो । गोठ खाली थियो । न दाम्लो थियो, न त गाईवस्तु ! न गोबर थियो, न त गोबरगहुँतको गन्ध ! मानवहीनझैँ लाग्ने घरआँगनले मलाई खाउँलाझैँ मुख बाइरहेको थियो ।

म अल्मलिएँ-यही घरआँगन हो त मेरो अहिलेको गन्तव्य ?

‘आमा ! आमा !’ बोलाएँ हतास ! फेरि बोलाएँ । चाइँचुइँ भएन घर बाहिर-भित्र कतै !मन ढक्क फुल्यो । अत्यासले सतायो । हातको कुम्लो आँगनमै फ्यात्त मिल्काएर हुरिँदै पिँढीमा उक्लिएँ ।

‘आमा ! आमा !’ ढोका ढक्ढकाएँ । भित्र कुनै चाइँचुइँ थिएन । ढोकामा ताल्चा पनि लगाइएको थिएन । ढोका ठेलेँ सुस्तरी ! घरक्क खापा खुल्यो । भित्र अँधेरो थियो । केही देख्न सकिँदैनथ्यो ।

केही बेर आँखा मिच्दै अँध्यारोलाई पछ्यारहेँ । अन्धकारमय जीवन आँखामा सल्बलाउन थाल्यो । आतङ्कवादी अन्धकारमा चुर्लम्म डुबेझैँ थियो वातावरण ! आतङ्कवादी धङ्धङी अझैँ हटिसकेझैँ लागेन । त्रसित देखिन्थ्यो गाउँवस्ती !

म बाटोमा हिँड्दा पनि त्रसित गाउँवस्तीका आँखाहरू ! नौलो व्यक्तिको आगमनमा शङ्कालु र त्रसित आँखा र मनमस्तिष्कहरू अझै सल्बलाएका देखिन्थे । विद्रोही मानिने समूह नै अचेल सत्तामा पुगिसकेको अवस्थामा पनि किन गाउँवस्ती यति त्रसित र आतङ्कित छन् म बुझिरहेको थिइनँ ।

भन्न त भन्थे साथीहरू ‘आतङ्कित परिवेश अझैँ सेलाएको छैन गाउँवस्तीमा ! गाउँवस्तीमा मात्रै हैन सहरबजारमा पनि छ्याङ्ग फाट्न सकेको छैन आतङ्क !’

हो पनि, राजधानीको मुटु मानिने दर्वारमार्गमै दिनदहाडै गोली हानी हत्या हुन्छ नागरिकको ! सुरक्षापोस्टकै सामुन्ने समेत निर्धक्क गोली ठोकिन्छ । हत्यारा लमक्लमक हिँड्छ बीच सडकमा निर्धक्क ! तर सुरक्षाकर्मीहरू केही गर्न सक्दैनन् । कस्तो बिडम्बना ? अहिले त झन् राज्यहीन हुन पुगेझैँ बन्यो परिवेश ! न गाउँमा, न त सहरमा नै रह्यो सुरक्षाको अनुभूति ! म अन्यौलमा परेँ । आतङ्कले ग्वाम्लम्म मलाई अँगालो मार्न पुग्यो । मन थरर काम्न थाल्यो । सम्भाव्य आतङ्कको हुरी चल्यो । ‘आमा !’ मन आत्तियो बेजोड !

अँध्यारो कोठाको एक कुनामा केही सल्बलाएको आभास भयो । मैले नियालेर हेरिरहेँ । हत्तपत्त एक छेऊको सानो झ्याल उघारेेँ । अलिकति उज्यालो छिर्‍यो कोठामा !

आम्मै ! आमा पो इन्तु न चिन्तु भएर लडिरहनुभएको रहेछ । म दौड्दै आमा छेऊमा पुगेँ ।

‘आमा ! आमा ! के भयो ? किन यसरी लडिरहनु भएको ?’ म आमालाई सुस्तरी हल्लाउन थालेँ । आमाले पुलुक्क हेर्नुभयो । केही चल्मलाउन र केही बोल्न खोज्नु भयो तर एकैछिनमा आमाले आँखा चिम्लनु भयो ।

‘आमा !’ म चिच्याएँ । अँगालो मार्न पुगेँ र सुक्सुकाउन थालेँ ।

‘बाबु ! तँ आइस् ?’ झीनो स्वर सुनेँ मैले । मैले होस् सम्हालेँ । आमालाई सुम्सुमाएँ । आमाको यो हालत देखेर म अधीर हुन पुगेँ । छोरो भएर आमाको यस्तो हालत हुँदा पनि केही गर्न नसकेको र यस्तो हालतमा पुर्‍याउन आफू एक्लै घर छोडेर हिँडेको क्षणलाई धिक्कार्न थालेँ ।

हो, त्यतिबेला गाउँमा टिक्ने अवस्था नै रहेन । गाउँका युवकयुवतीहरू दोहोरो मारमा पिल्सनु परेको थियो । विद्रोही पक्षले भेटे आफ्नो समूहमा बलजफ्ती सामेल गराउन खोज्थे भने राज्यपक्षकाले प्रत्येक युवकयुवतीलाई विद्रोही ठान्थे र कारबाही गर्न पछि पर्दैनथे । यस्तो अवस्थामा युवकयुवतीहरू कसरी गाउँमा टिकिरहन सक्थे र !

मलाई अझै झल्झली आइरहेछ त्यो त्रासदी क्षण ! भयङ्कर अँध्यारो रात ! स्यालको आवाजले अझै डरलाग्दो बनाइरहेको थियो । म झसङ्ग ब्यूझिएँ । बाहिर कुकुरको भुकाइले आतङ्कित फैलाइरहेको थियो । त्यत्तिकैमा ढोकामा ढकढकको आवाज आयो । म डरले कालो नीलो बने । बाबाले को हँ ? भनेर सोध्नु भयो । ढोका ढकढकाएको आवाज झन् चर्को भयो । बाबा टुकी बत्ती बालेर ढोकातिर जानुभयो र ढोका खोल्नु भयो । बाहिर अन्धकार थियो ।

‘ऐया आमा, मार्‍यो नि !’ बाबाको आवाज सुनेर म तर्सिएँ । आमा हुत्तिँदै ढोकामा पुग्नु भयो । बाबा ढोकाकै सङ्घारमा छट्पटाइरहनुभएको रहेछ । आमाले के भयो भन्दै बाबालाई उठाउन थाल्नु भयो तर बाबा रगतको आहालमा डुबिसक्नुभएको रहेछ । आँगनबाट केके भुल्भुताउँदै दुई आकृति जाँदै गरेको मैले पनि देखेँ तर बुबा उठ्न सक्नु भएन । हारगुहार गर्दा पनि गाउँलेहरू कोही पनि आएनन् । हामी आमाछोरा रातभर बाबाको निर्जीव शरीर रूँगेर बस्यौँ । बिहान गाउँलेहरू त्रसित अनुहार लिएर देखा परे । बाबाको सद्गत गर्न पनि डराए । कोही प्रहरीलाई खबर गर्न कुदे । हाम्रो बिचल्ली भयो ।

बाबाको हत्याले आमा नराम्रोसँग थला पर्नुभयो । तैँपनि आमाकै मन न हो ! मलाई किन त्यस्तो माखेसाङ्लोमा बाँधेर राख्नसक्नु हुन्थ्यो र ! मलाई गाउँबाट पलायन हुन सधैँ घच्घच्याइरहनुभयो ।

‘म बूढी ! काल पर्खेर बस्ने त हो नि ! जसरी पनि बाँचुला । म घरबारी स्याहारेर बस्न सकिहाल्छु । तँ गैहाल तुरून्तै ! तैले बाँच्नुपर्छ भविष्यका लागि ! देशका लागि तैँले बाँच्नैपर्छ । जा बाबु जा ! मेरो पीर नगर । मिले छ भने पछि आउलास् मेरो हेरचाह गर्न ।’ आमाले भनेको उद्गार कहिल्यै बिर्सिन । अहिले आमाको यो हाल देख्दा मन थाम्न सकिनँ, भक्कानियो मन !

आमाको अवस्था साह्रै दयनीय थियो । सम्भवतः केही दिनदेखि खानासमेत खानुभएको थिएन सायद ! ज्वरोले ग्रस्त बूढ्यौली शरीर कसरी धानिएको थियो ? कल्पना गर्नु नै कहालिलाग्दो थियो ।

मैले बत्ती बाल्न खोजेँ । टुकी बत्ती त भेटियो तर न मट्टतिेल थियो, न सलाई । म विखलबन्दमा परेँ । ‘एकैछिन है आमा !’ भन्दै म बाहिरिएँ । आफ्नो व्यागबाट लाइटर र मैनबत्ती झिकेँ । भित्र गएर मैनबत्ती बालेँ । कोठा उज्यालियो ।

कोठाको स्थिति देखेर रून मात्र सकिनँ । सबै अस्तव्यस्त थियो । एक गेडा अन्न पनि रहेनछ । आमालाई हेरेँ । मन कटक्क काटियो ।

आमालाई आड दिएर अलिकति उठाएर राखेँ । अशक्त, भोको र बूढो शरीर लल्याकलुलुक थियो । साथमा ल्याएको विस्कुट पानीमा चोपेर अलिअलि खुवाउन थालेँ । आमाको अलिअलि होस आउन थालेको थियो । अनुहारमा चहक देखिन थाल्यो । मैले यस्तो गएगुज्रेको अवस्थासँग जम्काभेट होला भन्ने सोचकै थिइनँ ।

अब त गाउँमा पनि घाम लागिसकेको होला । डरत्रास निमिट्यान्न भइसके होलान् । गाउँमा भाइचाराको लहर फैलिसकेको होला भन्ने ठानेको थिएँ तर खै ? म अल्मलिएँ ।

साँझ झमक्कै भइसकेकाले गाउँतर्फ लाग्न पनि उचित लागेन । अनि पानी तताएर तातोपानीसँग केही बिस्कुट खाएरै रात बितायौँ । अरू उपाय पनि थिएन ।

बिहान घाम झुल्कियो मधुरो । गाउँको एक फन्को मार्न घरबाट निस्किएँ । केही तल एक दुई वटा घर छाप्राहरू देखिए । त्यहाँ पनि बूढाबूढी र ससाना बच्चा बोकिरहेका आइमाईहरू मात्र देखापरे । युवकयुवतीको अत्तोपत्तो थिएन ।

नमस्ते काका ! म वीरे । चिन्नु भयो ? माथि घरकी माइली बज्यैको छेारो ।’ एकजना बृद्धलाई चिनेचिनेजस्तो लागेर सोधेँ । यहाँ नआएको पनि त धेरै समय भइसकेको थियो । कसरी ठम्याउनु र ! सबै बूढाबूढीहरू ज्यादै चाउरी परिसकेका थिए । आइमाईहरूलाई बुढ्यौलीले गाँजिसकेको थियो । साना केटाकेटीहरू मरन्च्यासे देखिए भने युवकयुवतीहरू पलायन भएकाले सिला खोज्दा पनि भेटिने अवस्था रहेनछ ।

ए, तिमी वीरसिंह बाबु पो ? आश्चर्य मान्दैसँगै बसेकी बृद्धाले मुख खोली ।

‘हो काकी ! म वीरसिंह नै हुँ । हिजै मात्र आइ पुगेको । घरमा आमा त साह्रै बिरामी पो हुनुहुँदोरहेछ ।’

‘के गछौर्ं त बाबु, गाउँमा तन्नेरीहरू हराइ हाले । पटक्कै फर्केर आएका होइनन् । हामी बूढाबूढीहरू र लालाबालाहरूले के नै गर्नु र ! खेतीपाती पनि धान्न सकेका होइनौँ । अन्नपातको जोहो गर्नु नै गाह्रो भयो । बिचरी माइली भाउजू, बिरामीले थला परेकी कयौँ दिन भइसक्यो । छोरो आउँछ भन्ने घिट्घिटोले बाँचिरहेकी थिई । बल्ल तिमी आयौ । अब बाँचे पनि मरे पनि सन्तोषले सास फेर्न पाउने भई । आफ्नो त खै, कहिले हो ?’ बृद्धाले लामो सास तानी ।

मलाई त्यहाँ एकछिन पनि टिक्न गाह्रो हुन थाल्यो । यहाँ के खाएर बाँच्ने र कसरी बस्ने ? म रनभुल्लमा परेँ । मैले आमालाई तुरून्तै आफूसँगै लिएर सहर जाने विचार गरेँ ।

‘बाबु ! अब तिमी आयौ, हामी ढुक्क भयौँ । गाउँको कुनै छोरो त फर्केर आयो । हामी बूढाबूढीको सहारा बन्ने भयौ । बाबु अब तिमी तुरून्तै त र्फकंदैनौ नि हगि !’ आशलाग्दो पाराले बृद्धाले भने । सबै बृद्धबृद्धाको अनुहारमा आशाको किरण चम्किरहेको थियो बिहानीको घामजस्तै ।

म किंकर्तव्यविमूढ भएँ । केही जवाफ नदिएर म अझ केही तल ओर्लिए । त्यहाँ एउटा सानो पसल रहेछ । एउटी मगर्नी दिदीले मुसुक्क हाँस्दै स्वागत गरी । मलाई रमाइलो लाग्यो । त्यस्तो उराठ वस्तीमा पनि पसल थापिएको रहेछ । बुझ्दा उनी एक्लैले पसल धानेकी रहेछिन् । आतङ्कारीको आरोपमा आफ्ना लोग्ने गुमाएकी एउटी नारीको आँट र अठोट न्यानो लाग्यो ।

म केही खाने सामल किनेर उभो लागेँ । आमालाई केही तातो त खुवाउनु नै थियो । खाना पकाएर खुवाएँ र खाएँ । अनि आँगनमा बसेर घोत्लिन थालेँ ।

अब मेरो कर्तव्य के हो त ? आमालाई सँगै लिएर सहर जाने वा यहीँ बसेर आमाको स्याहार गर्ने र गाउँको विकासमा तल्लीन रहने ? म अन्योलग्रस्त हुँदाहुँदै पनि मुस्कुराएँ । बाटोमा झुत्रेझाम्रे केटाकेटीहरूका साथ आफू पनि किताबका झोला बोकेर हाँस्दै उफ्रदै स्कुलतिर गएका हेरिरहेँ ।

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *