Skip to content

हर बासन्ती पालुवामा तिम्रै आभा देख्छु म त,
हर जुनेली रातहरुमा तिम्रै छाया देख्छु म त ॥

लेक – बेंशी, कन्दरामा तिम्रो निश्‍वास जस्तो वतास,
बुकी -फूलको सु-वासना तिम्रै साथ जस्तो आभाष ।
कोइलीले ‘कोहो ! कोहो !’ तिम्रै स्वरमा गाए जस्तो,
इन्द्रेणीले सातै रंग तिम्रै रुपमा पाए जस्तो ॥

हर कोपिला तिम्रै निम्ति फक्रिएको देख्छु म त,
हर जुनेली रातहरुमा तिम्रै छाया देख्छु म त ॥

पहरामा छंगिएकी स्वच्छ, निर्मल, कञ्‍चन झरना,
वन – पाखा हरियाली, तिम्रो मात्र तिम्रो बर्णन ।
फेवा – तालमा माछापुच्छ्रे तिमीले ऐना हेरे जस्तो
नागवेली मेची – काली तिमीले जुल्फी कोरे जस्तो ॥

बिहानीको पहिलो झुल्को तिम्रै स्पर्श पाउँछु म त,
हर जुनेली रातहरुमा तिम्रै छाँया देख्छु म त ॥

गुलाबले फक्रीएर तिम्रो अधर याद दिलाँउछ,
गोधूँलीको श्याम रंग तिम्रै नयन याद आउँछ ।
साउनको कालो बादल तिमीले गाजल लाए जस्तो,
चौतारीको शीतल छाँया तिम्रै माया पाए जस्तो ॥

रोशी – खोलो कल्कलाँउदा तिम्रै ध्‍वनी सुन्छु म त,
हर जुनेली रातहरुमा तिम्रै छाँया देख्छु म त ॥

घाँस, दाउरा, मेलापात तिम्रो मात्र झझल्को छ,
दिलभित्र च्याई हेर तश्‍वीर तिम्रै बसेको छ ।
समुन्द्रका ज्वारभाटा मेरै ह्रदय उर्ले जस्तो,
पूर्णिमाको जूनले पनि आज मलाई पोले जस्तो॥

तिमी बिना जगै छैन सत्य – स त्य भन्छु म त,
हर जुनेली रातहरुमा तिम्रै छाँया देख्छु म त ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *