साक्षरता शिक्षाका आधारभूत पक्षहरू

  • by


परिचय

साक्षरता शिक्षा भन्ना साथ निरक्षरबाट मुक्त बनाई साक्षर तुल्याउनका लागि दिइने शिक्षा भन्ने बुझिन्छ । विद्यालयीय शिक्षा प्रणालीमा एकल समय–सीमा, कठोर प्रकृतिको पाठ्यक्रम र तोकिएको पाठ्यपुस्तक हुन्छ । साथै, कक्षा उक्लन निर्णयात्मक मूल्याङ्कन गरी उत्तीर्ण भएमा उपाधि समेत दिइन्छ । तर, साक्षरता शिक्षा प्रणाली अनौपचारिक प्रकृतिको हुन्छ । यसमा सिकारुहरू आफ्नै सिकाइ गतिमा सिक्ने र विशेष सिकाइको चरणमा प्रवेश गर्न उन्मुख हुन्छन् । यस खाले शिक्षा तत्कालीन आवश्यकता पूर्ति गर्ने दिशामा बढी केन्द्रित हुन्छ । यसमा शैक्षिक उपाधिको अभिलाषाभन्दा पनि व्यावसायिकता र जीवन स्तर सुधारका क्षेत्रमा विशेष जोड दिइन्छ । सामाजिक आर्थिक पछौटेपनलाई हटाई समाजमा समायोजित हुन सक्ने नागरिक पैदा गर्ने खास लक्ष्यका साथ साक्षरता शिक्षामा सिकारुहरूलाई सहभागी गराइन्छ ।

साक्षर भएमा सर्वस्व पाइने होइन । निरक्षर बनिरहँदा भने जीवनका कतिपय खुट्किलामा ठक्कर खानुपर्ने हुन्छ । हुन त अनुभवले खारिएको निरक्षर व्यक्तिले साक्षरको भन्दा कैयौं गुना उत्तम काम गर्न सक्छ । जीवनका आधारभूत सीपहरू मध्ये साक्षर हुनु पनि एक सीप हो । हातमा सीप छ, पाखुरीमा तागत छ भने त्यो सजिलै बाँच्न सक्छ । अझ ऊ साक्षर समेत छ भने उसले कम समय, कम लगानी र कमै परिश्रमबाट अत्यधिक लाभ आर्जन गर्न सक्छ । वास्तवमा पुगिसरी आएकाहरू विद्यालयीय शिक्षाबाट बञ्चित हुँदैनन् । सम्भ्रान्त वर्गको हकमा कुनै खास परिस्थिति बाहेक निरक्षर हुनुपर्ने वाध्यता आउँदैन । तर, आर्थिक रूपले विपन्न र सामाजिक/सांस्कृतिक रूपले पिछडा वर्गहरू नै विवशतापूर्वक निरक्षर रहनुपर्ने भएको र उनीहरूले नै आर्जन गर्नुपर्ने भएको हुँदा साक्षरता शिक्षालाई जनप्रिय शिक्षा भनेर पुकार्दा अन्यथा हुँदैन ।

साक्षरता अभियान प्राज्ञिक तहसम्म पुर्याउनुपर्छ भन्ने छैन । हामीकहाँ प्राज्ञिक क्षमतावाला व्यक्तिले समेत आफूमा भएको प्राज्ञिक क्षमताको उपयोग गरी जीवन रथ हाँक्न सक्ने अवस्था छैन । अतः घरायसी कामकाज गर्न, सामान्य ज्यालामजदुरीमा दक्ष हुन र रुढीबादी–अन्धविश्वासी धारणा हटाई वैज्ञानिक सुझबुझ बढाउन सक्षम हुने खालको शिक्षा दिइएमा त्यो नै साक्षरता शिक्षाका लागि पर्याप्त हुन्छ । तर, यो शिक्षा पार गरिसकेका सिकारुहरूले विद्यालयीय शिक्षा आर्जन गर्न रुची राख्न सक्छन् । त्यसैले यस शिक्षाले उनीहरूको रुची र आवश्यकतालाई समेत सम्बोधन गर्न सक्नुपर्छ । यसमा प्रायः पिछडिएका वर्ग तथा समुदाय, सीमान्तकृत समूहहरू नै पर्ने हुनाले जीवनस्तर उकास्न आवश्यक परामर्श दिन सक्षम प्रकृतिको पाठ्क्रम हुनु जरुरी हुन्छ । साथै, यसको व्यवस्थापन, नियन्त्रण र रेखदेखमा समुदायकै सुयोग्य अगुवाहरूलाई परिचालन गर्नु उत्तम हुन्छ । समाजको जिम्मेवार संस्थालाई निरक्षरलाई साक्षरता शिक्षा दिन (शिक्षक) तोक्न सकिन्छ । त्यस्तो काम व्यक्तिलाई नभई संस्थालाई जिम्मा दिने कुरा हो ।

साक्षरता शिक्षाको महत्व ः

निरक्षर रहनु विरलैको इच्छा होला । अधिकांशको वाध्यता हुुन्छ । पारिवारिक/सामाजिक/भौगोलिक आदि कारणले साक्षरता सीप प्राप्त नै नगरी बीचैमा विद्यालय छाड्नु, गए पनि निरन्तर जान नसकी सिकाइ उपलब्धि न्यून रहनु जस्ता अवस्था एकातिर निरक्षरहरूको छ भने अर्कातिर विद्यालयको आँगन नै टेक्न नपाई निरक्षर हुनुको पीडा बोकिरहेकाहरूको जमात छ । यी दुबै थरीलाई एकै किसिमको शिक्षा दिएर साध्य हुन्न । अर्कातिर हाम्रो समाजमा तीन थरीका निरक्षरहरू भेटिन्छन्– बाल निरक्षर, तन्नेरी निरक्षर र प्रौढ निरक्षर । यिनीहरूमध्ये पनि बाल र तन्नेरी निरक्षरहरूलाई साक्षर तुल्याउन सहज र सम्भव छ । त्यस्ता वर्ग साक्षर भए भने परिवार, समाज र राष्ट्रले आफ्नै लगानीभन्दा कैयांै गुणा ज्यादा मुनाफा कमाउँछन् । त्यस्तै प्रौढलाई साक्षर तुल्याउन भने फलामका चिउरा चपाउनु नै हुन्छ । अतः प्रौढ वर्गलाई वाध्यात्मक अवस्था सिर्जना गरेर साक्षर तुल्याउन खोज्नु प्रत्युत्पादक ठहर्दछ । स्वतःस्फुर्त रूपमा अध्ययन गर्न रूचाउनेलाई स्वागत गर्नुपर्छ ।

पारिवारिक रथको कुसल सारथि बन्न होस् कि वैज्ञानिक युगको चेतनशील नागरिक कहलिन होस् जो कोही पनि शिक्षित हुनैपर्छ । त्यसो हुन नसके पनि कम्तिमा साक्षर हुनैपर्छ । कसैबाट ‘कालो अक्षर भैंसी बराबर’ भएकै कारणले ठगिन नपरोस्, घरपरिवार चलाउन गाह्रो नपरोस्, आफ्ना मनका विचार लिखितरूपमा समेत प्रकट गर्न सकियोस् र वैज्ञानिक युगको सामान्यतया चेतनशील नागरिक बनी रहन सकियोस् भन्नाका खातिर साक्षर हुनु जरुरी छ ।

साक्षरता शिक्षाका उद्देश्यहरू ः

नेपाल जस्तो बहु भाषाभाषी भएको देशमा सञ्चार सम्बन्ध स्थापित गर्न, बहुसांस्कृतिक समाजमा एकता र आपसी सद्भाव बनाइराख्न नागरिक साक्षर हुनैपर्छ । यहाँ सन् १९७० को दशकदेखि ‘राष्ट्रिय प्रौढ शिक्षा’ नाम गरी साक्षरता अभियानले गति पाउन थालेको हो । कामदारहरूको शैक्षिक गुणस्तर वृद्धि भएमा उत्पादन बढाउन सकिन्छ भन्ने विश्व जनमानसको मत रहिआएको छ । त्यसैले विश्व समुदाय पनि न्यूनत्तम मात्रै लगानी हुने साक्षरता शिक्षामा जोड दिन पछि नपरेको देखिन्छ । वर्तमान नेपालको परिप्रेक्ष्यमा साक्षरता शिक्षाका राष्ट्रिय उद्देश्यहरूलाई निम्नानुसार समेट्न सकिन्छ ः

– निरक्षरमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासका सम्भावनालाई प्रस्फुटित गर्ने,

–व्यवहारिक र सामाजिक जीवन पद्धतिभित्र समायोजन हुन सक्ने नागरिक तयार पार्ने,

–वैज्ञानिक समझयुक्त र राष्ट्रनिर्माणमा सहयोगी मानव संसाधनको विकास गर्ने,

–आफूभित्र खारिएका अनुभव कथ्य र लेख्य माध्यमबाट व्यक्त गर्न सक्षम जनशक्ति तयार पार्ने,

–राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिप्रति चासो राखी सुझबुझ बढाउन सक्षम नागरिक तयार पार्ने,

–आफ्ना मौलिक सम्पदा जान्न, बुझ्न र तिनको संरक्षणमा हेक्का राख्न सक्षम तुल्याउने ।

साक्षरता शिक्षाको संरचना ः

यो शिक्षा १० देखि ४० वर्ष उमेर समूहलाई दिन सकिन्छ । ४० भन्दा माथिका प्रौढहरू स्वैच्छिक तवरले संलग्न हुन सक्छन् । उनीहरूको हकमा बाध्यात्मक स्थिति सिर्जना गरिनुुहुन्न । यसलाई पाँच श्रेणीमा विभक्त गरी निम्नानुसार देखाउन सकिन्छ ः

–पहिलो श्रेणी ः यस श्रेणीमा सिकारु नेपाली र अङ्ग्रेजीका वर्ण स्तरका कुराहरू भन्न, चिन्न र लेख्न सक्ने हुनुपर्छ । त्यस्तै गणितीय सङ्ख्या, सामान्य जोड/घटाउ वारेका समस्या भन्न, जान्न र लेख्न सक्षम रहनुपर्छ । सिकारुमा अन्धविश्वासी र रुढिग्रस्त विचार/भावनाहरू छुट्याउन सक्ने सोच उत्पन्न भएको हुनुपर्छ ।

–दोश्रो श्रेणी ः यस श्रेणीमा सिकारु नेपाली र अङ्ग्रेजीका शब्द स्तरका कुराहरू भन्न, चिन्न र लेख्न सक्षम हुनुपर्छ । अङ्ग्रेजीको हकमा भने प्रयोग व्यवहारमा उपयोग भइरहने शब्दहरू जानेमा पर्याप्त हुनेछ । त्यस्तै गणितीय पहाडा, हात लाग्ने जोड/घटाउ र सामान्य गुणन/भागका नियम र प्रयोग भन्न, जान्न र लेख्न सक्नुपर्छ । सिकारु वैज्ञानिक चेतनायुक्त विचार सत्य र अन्धविश्वासी/रुढिग्रस्त विचारहरू मानवीय भ्रम भएको रहस्य जान्न र बुझ्न सक्ने हुनुपर्छ ।

–तेश्रो श्रेणी ः यस श्रेणीमा सिकारु नेपाली र अङ्ग्रेजीका वाक्य स्तरका कुराहरू भन्न, चिन्न र लेख्न सक्ने हुनुपर्छ । अङ्ग्रेजीको हकमा भने प्रयोग व्यवहारमा उपयोग भइरहने वाक्यहरू जानेमा पर्याप्त हुनेछ । त्यस्तै गणितीय पहाडा प्रयोग र गुणन/भागका कठिन स्तरको उपयोग भन्न, जान्न र लेख्न सक्षम रहनुपर्छ । वैज्ञानिक चेतना अभिवृद्धिमा ठोस कार्य हुनुपर्छ । हरेक कार्यकलाप वैज्ञानिक नियमका कारण सम्पन्न भएको वारे ठोस जानकारी र अवधारणा उपलब्ध गराउन सक्नुपर्दछ ।

–चौथो श्रेणी ः यस श्रेणीमा सिकारु नेपाली भाषामा लेखिएका कथा, कविता, निबन्ध, चिठी, उपन्यास आदि विधाका कुराहरू पढ्न, सुनाउन र विधागत कुराहरू बुझ्न सक्ने हुनुपर्छ । आफूले सुनेका, बुझेका र अनुभव गरेका कुराहरू मौलिक शैलीमा कथ्य र लेख्यरूपमा अभिव्यक्त गर्न सक्षम हुनुपर्छ । अङ्ग्रेजी भाषामा भने विद्यालय स्तरमा समायोजन हुन सक्ने हिसावले आधारभूत ज्ञान दिलाउनु पर्छ वा व्यवसायिक मर्यादा पालनमा उपयोग हुने कुराहरू सिकाइनु उत्तम हुन्छ । त्यस्तै गणित विषयका हकमा भने सिकारु आफ्नो गन्तव्यमा समायोजन हुन उन्मुख बनाउन चाहिने गणितीय कुराहरूको ज्ञान दिलाउनुपर्छ । त्यस्तै सिकारु पूर्ण वैज्ञानिक चेतनायुक्त हुनुपर्छ र उसको गन्तव्य प्राप्त हुन उन्मुख विज्ञान विषयका कुराहरू सिकाउनुपर्छ ।

–पाँचौं श्रेणी ः यस श्रेणीमा सिकारु आफ्नो गन्तव्यमा समायोजित हुन्न सक्षम हुनुपर्छ । बाल सिकारुले कक्षा ५ सम्म नाम लेखाएर पढ्न पाउने व्यवस्था हुनुपर्छ । तन्नेरी र प्रौढ सिकारुको हकमा भने कक्षा सातसम्म समायोजन हुन सक्षम पार्ने गरी वा उनीहरूले चाहेको/गर्दै आएको पेशामा सिपालु बनाउने किसिमका आधारभूत ज्ञान र अवधारणा दिलाउनुपर्छ । साथै, सिकेका कुराहरूको उपयोग गरिरहन उत्प्रेरित गरिनु उत्तम हुन्छ ।

साक्षरता शिक्षा पाठ्यक्रमको ढाँचा ः

नेपाली, गणित, अङ्ग्रेजी र विज्ञानमाला गरी चार विषय क्रमशः पूर्णाङ्क १००, १००, ५० र ५० को व्यवस्था गर्नु उपयुक्त हुन्छ । त्यस्तै पाठ्यभारको हकमा प्रत्येक दिन नेपाली र गणितका लागि १/१ घण्टा र अङ्ग्रेजी एवं विज्ञानमालाका लागि ३०/३० मिनेटको समय निर्धारण गरिनु फलदायी हुन्छ ।

विशेष गरी कृषि क्षेत्रमा संलग्न सिकारुहरू नै साक्षरता शिक्षामा आबद्ध हुने भएकाले उनीहरूलाई फुर्सद हुने समय पुस १५ देखि बैशाख १५ सम्म हो । प्रत्येक श्रेणीका लागि ५० दिन (लगभग दुई महिना) समय छुट्याउनु उपयुक्त हुन्छ । पाँचौं श्रेणीका लागि भने चार महिना छुट्याउनु जरुरी हुन्छ । यो पाँचौं श्रेणी उत्तीर्ण सिकारुहरूले विद्यालयमा नाम लेखाउन अर्थात् समकक्षता हासिल गर्न सक्षम हुने वा अन्य पेशागत कार्यमा पोख्त हुनु परेकोले यसको समयावधि चार महिनाको बनाउन उत्तम हुन्छ । यस प्रकार जम्मा बाह्र महिना अर्थात् लगभग ३०० दिनको समयावधि साक्षरता शिक्षालाई छुट्याउनु हरतरहले उपयुक्त ठहर्छ ।

मूल्याङ्कन प्रक्रिया ः

यसमा निम्नानुसार निरन्तर र निर्णयात्मक मूल्याङ्कन प्रक्रिया अपनाउनु वेस हुन्छ ।

निरन्तर मूल्याङ्कन ः कक्षागत सिकाइकै अङ्गका रूपमा कक्षाकार्य, गृहकार्य, सामूदायिक कार्य, समस्या समाधान कार्य आदि जस्ता कार्यकलाप अपनाएर सिकारुका सिकाइका कमजोरी हटाई निरन्तर मूल्याङ्कन प्रक्रियाले साकार रूप प्राप्त गर्नुपर्छ ।

निर्णयात्मक मूल्याङ्कन ः प्रत्येक श्रेणीमा २५/२५ दिनमा प्रारम्भिक र अन्तिम गरी दुई थरीका परीक्षा लिई निर्णयात्मक मूल्याङ्कनलाई मूर्तरूप दिनुपर्छ । पहिलो र तेश्रो श्रेणी अनुत्तीर्णले क्रमशः दोश्रो र चौथो पढ्न पाउने तर पाँचौंमा पढ्न सबै श्रेणी उत्तीर्ण हुनैपर्ने नियम राख्दा उत्तम हुन्छ ।

साक्षरता शिक्षाको माध्यम ः

सिकाइको लिपी देवनागरी रहनुपर्छ तर शिक्षा भने सम्भव र सहज भए नेपाली भाषामा नै दिनुपर्छ । त्यो असहज भएमा मातृभाषामा पनि शिक्षा दिन सकिन्छ । यसको छनोट गर्ने अधिकार सिकारुलाई नै दिँदा वेस हन्छ । अङ्ग्रेजी विषयको आधारभूत सामान्य ज्ञान भने रोमन र देवनागरी संयुक्त लिपीमा हुनुपर्छ । भाषाका कारणबाट सिकारुले कुनै किसिमको समस्या झेल्नुहुन्न ।

साक्षरता शिक्षाका अन्य विविध कुराहरू ः

दैनिक निरीक्षण–अनुगमनको जिम्मा स्थानीय सामाजिक अगुवा र कक्षा सञ्चालनको जिम्मा चाहिं स्थानीय युवा क्लवलाई दिँदा उत्तम हुन्छ । स्थानका हकमा पाइक पर्ने विद्यालय वा त्यस्तै सार्वजनिक स्थल (निजी भए पनि भाडा तिर्न नपर्ने) छान्नुपर्छ । समय बिहान वा बेलुका दैनिक ३ घण्टाका दरले पुस–१५ देखि बैशाख–१५ सम्मको समयावधि तोकिँदा सबै निरक्षरहरूलाई समेट्न सकिन्छ । यसको पूरा अवधि भने १२ महिना अर्थात् लगभग ३०० दिन रहँदा उपयुक्त ठहर्दछ । विद्यालयमा शिक्षा लिँन नगई साक्षरता शिक्षामा मात्र सीमित रहेका सिकारुहरूको हकमा भने प्रत्येक पाँच/पाँच वर्षमा छोटो समयका लागि पुनर्ताजगी तालिम सञ्चालन हुनु जरुरी हुन्छ ।

शिक्षण विधिको हकमा प्रश्नोत्तर, व्याख्यान, छलफल, कथाकथन, परियोजना कार्य, समूह कार्य आदिको उपयोग गर्न सकिन्छ । लेखपढको वातावरण बाल/तन्नेरी/प्रौढ मैत्री हुनुपर्छ । साक्षरता शिक्षाका पाठहरूले सिकारुको वातावरण, अनुभव तथा ज्ञानस“ग आबद्धता जनाउनुपर्छ । उनीहरूका वास्तविक समस्याहरूको सम्बोधन हुने खालका सूचनाहरू प्रवाह गरिनुपर्दछ । सकेसम्म सिकारुको सरोकारभित्रैबाट विषयवस्तुको छनोट तथा सङ्गठन गरिनुुपर्दछ । उनीहरूकै अनुभवजन्य सिकाइमार्फत व्यक्तिगत तथा सामुहिक समस्या समाधानमा हुनुपर्र्दछ । फुर्सदको समय उपयोग गरी व्यक्तिलाई जिम्मेवार र सिर्जनशील बनाई रचनात्मक कार्यमा उत्प्रेरित गराइराख्न साक्षरता शिक्षाले सघाएन भने त्यसको उपादेयिता समाप्त भएर जान्छ ।

अतः हरतरहले जीवनोपयोगी बनाउने उपायहरू सुझाइएका विषयवस्तु समेटिएका पाठ्यपुस्तक हुनुपर्छ । पाठ्यपुस्तकमा कृषि उत्पादनमा वृद्धि गर्ने, त्यसलाई आधुनिकीकरण गर्ने प्रविधिको प्रयोग गर्ने, कृषि पद्धतिका बारेमा तालिम दिने र सहजीकरण गर्न सक्ने तर्फ उन्मुख भएका सामग्रीहरू समेत समाविष्ट गरिनुपर्दछ । यस्तो पाठ्यपुस्तकले सिकारुमा सहकार्य, सामूहिक पद्धतिको अनुशरण, सहकारिता जस्ता कौशल प्रदान गराउन सक्नुपर्दछ ।

उपसंहार

भौगोलिक विकटता, आर्थिक दुर्बलता र राजनैतिक अस्थिरताका बाबजुत पनि नेपालको साक्षरता प्रतिशत ७० रहनु पक्कै पनि निराशजनक होइन । साक्षरता शिक्षामार्फत सिकारुलाई विद्यालयीय शिक्षाको मूलधारमा प्रवेश गराउनु वा उसको व्यवसायिक क्षेत्रमा सक्षमताका साथ कार्य फत्ते गर्न जागरुक र योग्य तुल्याउनु हो । विश्वव्यापीकरणको सन्र्दभलाई समेट्न साक्षरता पाठ्यक्रममा जीवनोपयोगी सीप, कार्यमूलक सीप, मानव अधिकार, समावेशीकरण, वातावरण संरक्षण, सचेतना, सूचना तथा प्रविधिजस्ता पक्षहरूलाई समेट्ने काम गरिँदा अझ उपयुक्त हुन्छ । यो शिक्षा सैद्धान्तिक कम र प्रयोगात्मक ज्यादा हुनुपर्छ । अनौपचारिक प्रकृतिको भए पनि यसले औपचारिक शिक्षामा प्रवेश पाउने थप विकल्पयुक्त अवसरहरू बढाएको कारणले औपचारिक शैक्षिक प्रणाली निकट रहनुपर्छ । सिकारु शैक्षिक रूपले अपरिपक्व भए पनि मानसिक र शारीरिक रूपले परिपक्व हुने हुँदा साक्षरता शिक्षाको पाठ्यक्रम/पाठ्यपुस्तक र यसका नीतिहरू केही कठोर हुनु पनि जरुरी हुन्छ । कम्तिमा निरन्तर उपस्थित भई राम्रो नतिजा ल्याइरहेकाहरू सिकारुलाई प्रोत्साहनस्वरूप पुरस्कारको व्यवस्था हुनुपर्छ । आर्थिक विपन्नताका कारण समय दिन असक्षमहरूको विवशता बुझी दैनिकरूपमा न्यूनत्तम पारिश्रमिक उपलव्ध गराउन सके चाहिँ बाल र तन्नेरी वर्गलाई यस साक्षरता शिक्षा लिनु नै पर्ने बाध्यात्मककारी अवस्था सिर्जना गर्न सकिन्छ ।

नन्दलाल आचार्य
–लिटिल फलावर मा.वि. राजविराज–९, सप्तरी
[email protected]

‘शिक्षक मासिक’ कार्तिक २०६९ बाट

(‘शिक्षक मासिक’, जावलाखेल, ललितपुरले २०६९ असार/साउन अङ्कमा घोषणा गरिएअनुसार सञ्चालन गरेको ‘पूर्ण साक्षर नेपाल’ लेखन प्रतिस्पर्धामा पुरस्कृत लेख ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *