मेरा प्रिय आत्मन्,
एउटा छोटो कथाबाट आजको प्रश्नोत्तरको यो चर्चा सुरू गर्छु ।
एउटा असाध्यै अँध्यारो रात थियो र एउटा मरुभूमीय पहाडको एउटा सानो सरायमा एउटा ठूलो व्यापारीक दल आएर रोकियो । त्यो व्यापारिक दलमा यस्तै सय ऊँट थिए । व्यापारीहरू यात्रामा थिए र थकित भएर आधारातमा त्यो स–सानो पहाडी सरायमा विश्रामका लागि आइपुगेका थिए । उनीहरू आरामले विश्राम गर्न चाँडो–चाँडो ऊँट बाँध्ने किला गाड्न थाले । तर, आखिरी ऊँट बाँध्ने बेलामा उनीहरूको किला र डोरी कम भएको थाहा भयो । उनान्सय ऊँट बाँधिसकिएको थियो । एउटा ऊँट बाँध्ने डोरी र किलो हराएको थियो । त्यस्तो अँध्यारो रातमा त्यो ऊँटलाई नबाँधेरै छोड्नु खतरनाक हुन्थ्यो, भट्किने डर थियो । त्यसैले उनीहरू सरायको बूढो मालिक नजिक गए र भनेँ, एउटा ऊँट बाँध्ने किलो र डोरी पाए ठूलो कृपा हुने थियो । हाम्रो हरायो ।
त्यो बूढो मालिकले भन्यो, डोरी र किलो त मसँग छैन तर मलाई एउटा उपाय थाहा छ जसले ऊँट डोरी र किलो बिना पनि बाँध्न सकिन्छ । तिमीहरू जाओ र किलो गाड र डोरी बाँध । ऊँटलाई बस्न भन । त्यो सुत्नेछ । उनीहरू हाँस्न थाले, उनीहरूले भने, कतै तपाईं बहुलाउनु त भएको छैन ? किलो र डोरी भएको भए त हामी आफैंँ बाँधी हाल्थ्यौं नि । कुन चाँहि किलो बाँध्नु ? त्यो बूढोले मानिसले भन्यो, त्यस्तो किलो गाड जुन तिमीहरूसित छैन तर किलो गाडेजस्तै ध्वनि निकाल्नुपर्छ । भुईं खन, किलो गाड । झुट्टा किलो नै भए पनि कुनै फिक्री नगर । अँन्धकारमा तिमीहरूले सक्कली किलो गाड्यौ कि नक्कली, ऊँटले के थाहा पाउँछ ? गाड किलो । घाँटीमा हात लगाऊ र डोरी बाँधेजस्तो गरेर बाँध । नक्कली नै डोरी भए पनि । त्यसलाई बाँध भन– बस्, सुत् । उनान्सय ऊँट सुतिसकेका हुँदा सयौं ऊँट भाग्ने सम्भावना असाध्यै कम हुन्छ । त्यो सुत्छ । मानिससम्म त भीडको पछि हिँडछ भने त्यो त ऊँटै भयो ।
बाध्यता थियो । किलो थिएनँ, कुरा मान्नेै पर्यो । बाध्यतामा, विश्वास त उनीहरूलाई भएको थिएन, त्यस्तो झुट्टा किलोमा ऊँट बाँधिन्छ भन्ने । तर, बाध्यता थियो, किलो थिएन, बाँध्नै पर्ने थियो । प्रयोग गरेर हेरौं भन्ने सोचे । उनीहरू गए, उनीहरूले त्यस्तो किलो गाडे जुन कतै थिएन अनि उनीहरूले त्यस्तो डोरी बाँधे जसको कतै अस्तित्व थिएन । अनि उनीहरूले ऊँटलाई भने– बस्, उनीहरू छक्क परे, ऊँट बस्यो । उनीहरू हाँस्दै, जिस्किदै गएर सुते ।
बिहान भयो, उनीहरू गए, दलले नयाँ यात्राको तयारी सुरू गर्यो । ऊँटहरू खोलिए, किलाहरू फुस्काइए, डोरीहरू खोलिए तर जसको बाँधिएको थियो तिनैको । जसलाई बाँधिएकै थिएन त्यसको कुन किलो निकाल्नु, कुन डोरी फुकाल्नु ? त्यसैले बाँधिएका उनान्सय ऊँटहरूका किलो निकालियो, डोरी फुकालियो र दल हिँड्न तयार भए । तर, सयौं ऊँट उठ्न राजी भएन । उनीहरू यसलाई के भयो भनेर हैरान भए । उनीहरूले त्यसलाई घचेडे, पिटे तर ऊँट उठ्दै उठेन । उनीहरू डराए, त्यो सरायको बूढो मालिकले कुनै गडबडी पो गरेको होइन भन्ने शङ्का त उनीहरूलाई राती नै परेको थियो । कुनै जादु, कुनै मन्त्र त गरेको होइन ? कुनै चमत्कार पो देखाउँदै छ कि ? किलो बिना नै ऊँट बाँधिएको थियो र अहिले त्यो उठ्दा पनि उठ्दैन ।
गए र ती बूढालाई ठूलो गडबड गर्यौ भनेर भने । त्यो ऊँटलाई उठाउनुस् अब । के गर्नुभयो तपाईंले ? त्यो ऊँट उठ्दै उठ्दैन । ती बूढाले भने, पहिला त्यसको किलो त निकाल, डोरी त फुकाल । उनीहरूले भने, कुन चाँहि किलो, कुन चाँहि डोरी ? उनले भने, जुन राती गाडिएको थियो । जुन किलो राती गाडिएको थियो त्यसलाई खन र निकाल । र, जुन डोरी बाँधिएको थियो त्यसलाई खोल, अनि ऊँट उठ्छ । उनीहरू गए, उनीहरूले त्यो किलो खने जुन छँदै थिएन अनि त्यो डोरी खोले जसको कुनै अस्तित्व थिएन । उनीहरू छक्क परे । ऊँट उठ्यो । त्यो दल हिँड्यो ।
त्यो सरायका ती बूढा मालिकले यो कथा मलाई भने । मैले उनलाई भनेँ, तिमी ऊँटको कथा भन्छौ । म तिमीलाई मानिसको कथा भन्छु । सबै मानिसहरू त्यो ऊँट बाँधिए जसरी नै बाँधिएका छन् । तथापि ऊँट त ऊँट नै हो, तर मानिसलाई देख्दा असाध्यै दया लाग्छ । उनीहरू त्यस्तो किलोमा बाँधिएका छन् जसको कुनै अस्तित्व छैन र ती डोरीका दास भएका छन् जुन कतै छँदै छैन । अनि, उठ्ने हिम्मत गर्न सक्दैनन्, उभिएर हिँड्ने साहस गर्न सक्दैनन् । किनकि ऊ भन्छ, म त बाँधिएको छु ।
यता दुई दिनदेखि हामी तिनै किला र डोरीका कुरा गरिरहेका छौं । भोलि अन्तिम किलो र डोरीको कुरा गरौंला । दुई किलाहरूको चर्चा हामीले दुई दिन गर्यौं । एउटा त ज्ञानको किलो, जुन पूर्णरुपमा झुट्टा हुन्छ, त्यसमा मानिस बाँधिएको छ । र, अर्को, कर्ता हुनुको कर्मको किलो, त्यसमा मानिस बाँधिएको छ, त्यो पनि पूरै झुट्टा हुन्छ । यी दुईको हामीले कुरा गर्यौं, भोलि तेश्रोको कुरा गर्नेछौं ।
यी दुई झुट्टा किलाका सम्बन्धमा धेरै प्रश्नहरू आएका छन् । धेरैजनालाई अस्तित्व नै नभएको चिजले आफू बाँधिएको थाहा पाउदा दुःख लागेको छ । यो दुःखलाई बिर्सिने दुई उपाय छन्– एउटा त के हो भने जुन सिक्रीबाट हामी बाँधिएका छौं, ती केवल मानसिक सिक्रीहरू हुन्, तिनको कुनै सत्ता, तिनको कुनै यथार्थता, तिनको कुनै ठोस अस्तित्व छैन भन्ने आँखा खोलेर हेरौं । र, अर्को बाटो के हो भने कि त त्यो आँखा बन्द नै राखौं र तिनको अस्तित्व छ भन्ने मानिरहौं । त्यसैले म कसरी छुट्नु ?
त, मैले यी काल्पनिक बन्धनका कुरा गर्दा मनमा धेरै किसिमका कुरा आउँछन् । सबैभन्दा पहिला त के आउँछ भने हामी झुट्टा किलोमा बाँधिएका छौं भनेर मान्न हाम्रो अहङ्कार राजी हुँदैन । त्यो ऊँटलाई पनि कसैले मित्र तिमी एउटा हुँदै नभएको किलोमा बाँधिएका छौ भनेर सम्झाएको भए ऊ हाँस्ने थियो र भन्ने थियो, के म बहुला हु र ? किन वाहियात कुरा गर्छौ ? म बाँधिएको छु, यो किलो यथार्थ हुनुको प्रमाण हो । त्यो ऊँटले भन्ने थियो, म बाँधिएको छु, यो किलो यथार्थ हुनुको प्रमाण हो ।
हामी पनि त्यही भन्छौं किनकि म पूजा गरिरहेको छु, म जसको पूजा गरिरहेको छु, त्यो भगवान्् यथार्थ हुनुपर्ने कुराको प्रमाण हो । होइन भने म पूजा नै किन गर्थें ? त्यो ऊँटले पनि भन्ने थियो, होइन भने म बाँधिन्थे नै किन ? र, हजारौं वर्षदेखि हामी पूजा गरिरहेका छौं, त्यसैले भगवान् झन् नै यथार्थ हुनुपर्छ ।
तपाईंले पूजा गरेर भगवान्् यथार्थ हुँदैन, न त तपाईंले प्रार्थना गरेर, न त ऊँट बाँधिएर किलो यथार्थ हुन्छ । झुट्टा किलोमा ऊँट बाँधिन सक्छ र झुट्टा भगवान््को पूजा हुन सक्छ ।
एक मित्रले सोध्नुभएको छ, यी सव झुट्टा भगवान्् हुन् भनेर तपाईं भन्नुहुन्छ, त्यसो हो भने यथार्थ भगवान्् कुन चाहिँ हुन् ?
मनुष्यले जुन भगवान््लाई निर्माण गर्छ, त्यसलाई म झुट्टा भगवान्् भन्छु । त्यो भगवान्् जसलाई मनुष्यले बनाउँछ, त्यो झुट्टा भगवान्् हुन्छ । खासमा हामी भगवान््लाई जान्दा पनि जान्दैनौं, कसरी बनाउँन सक्छौं ? जुन मुर्तिहरू हामीले बनाएका छौं, ती भगवान््का मुर्तिहरू हुन् ? कि हाम्रै मुर्तिहरू हुन् ? एउटा चिनियाले आफ्नै मुर्ति बनाउँछ भगवान््को । थाहा छ, कस्तो बनाउँछ ? त्यसको गालाको हड्डी मास्तिर निस्केको हुन्छ, नाक थेप्चिएको हुन्छ । किन त्यस्तो बनाउँछ भगवान््को मुर्ति ? के भगवान्् चिनिया हुन् र ? निश्चित । एउटा निग्रोले भगवान््को मुर्ति बनाउँदा कस्तो बनाउँछ ? कालो रङ्गको बनाउँछ । ओठ मोटा हुन्छन्, घुम्रेका कपाल हुन्छन् । निग्रोलाई सोध्नुस्, भगवान्् कुन रङ्गका छन् ? उसले भन्छ, कालो, निख्खर कालो ।
निग्रोलाई सोध्नुस्, दुष्टको कुन रङ्गको हुन्छ ? उसले सेतो भन्छ । अङ्ग्रेजलाई सोध्नुस्, भगवान््को रङ्ग, उसले सेतो भन्छ । अनि, डेविल, दुष्टको रङ्ग ? उसले भन्छ, कालो । अचम्मको कुरा छ । हिन्दूलाई सोध्नुस्, हिन्दूले आफ्नै अनुहारको बनाउँछ । यदि घोडाहरूले भगवान्् बनाउँन चाहने हो भने, तपाईंलाई कस्तो लाग्छ, कस्तो अनुहारको बनाउँलान् ? मानिसको अनुहारको ? घोडाकै अनुहारको बनाउँछन् । कुनै घोडाले मानिसलाई भगवान्् बनाउने जतिको योग्य सम्झिदैनँ ।
हामी आफ्नै अनुहारमा बनाउँछौं भगवान््लाई । हामी आफूलाई नै भगवान््को ठाउँमा राखेर पूज्छौं । हाम्रो भगवान्् हाम्रै प्रतिरुप हो । भन्नलाई त भगवान््ले मनुष्य बनाए भनिन्छ तर यो कुरा यथार्थभन्दा परको कुरा हो, सत्य त के भएको छ भने मनुष्यले नै भगवान् बनायो । आफ्नै अनुहारमा बनाउँछौं, आफ्नै कल्पनामा, आफ्नै आकांक्षाले निर्मित गर्छौं हामी । यस्तो भगवान्् झुट्टा हुन्छ । किनकि मनुष्य, जो पूरै अज्ञान र अन्धकारमा छ, उसले भगवान्् बनाउने हो भने त्यो भगवान्् कसरी यथार्थ हुन सक्छ ? त्यसमा उसैको प्रतिफल, उसैको प्रतिफल, उसैको रिफ्लेक्शन, उसैको छवी अंकित भएको हुन्छ । त्यसैले जति सङ्कीर्ण हामी छौं त्यति नै सङ्कीर्ण हाम्रा भगवान्् पनि हुन्छन् । हामी जुन भाषा बोल्छौं, त्यही भगवान्् पनि बोल्छन् ।
पछिल्लो महायुद्ध भयो । पछिल्लो महायुद्धमा जर्मनी अघि बढदै गयो र फ्रान्सको फौज हार्दै गयो । एउटा अंग्रेज जनरलसँग एउटा फ्रेन्च जनरलले सोध्यो, कुरो के हो ? के भगवान्् हामीसित रिसाएका छन् ? हामी प्रत्येक दिन हार्दै जाँदै छौं। अंग्रेज जनरल बडो धार्मिक थियो । प्रायः हत्यारा र पापीहरू धार्मिक हुन पुग्छन् । किनकि हत्याबाट असाध्यै भय भएको हुन्छ र त्यो भयबाट उनीहरूलाई भगवान््सिवाय अरु कसैले पनि जोगाउन सक्ने हुँदैन । अनि संसारका जनरल, सेनापति, राजनीतिज्ञ, यीभन्दा ठूला मर्डरर्स, यीभन्दा ठूला हत्याराहरू अरु कोही हुन्छन् ? त्यो जनरल धार्मिक हुनु स्वभाविक थियो । ऊ सधैं भगवान््को प्रार्थना गर्थ्यो । उसले भन्यो, कतै भगवान््को प्रार्थना नगरेकै कारणले त तिमीहरू हारिरहेका होइनौं ? हामी भगवान््को प्रार्थना गर्छांै, त्यसैले त हामी हारिरहेका छैनौं । हेर, इङ्ग्लेण्डको सूर्य अस्ताउँदैन र भगवान््को कृपाले नै हाम्रो राज्य यति विस्तीर्ण हुन पुगेको छ । यहाँ सूर्य कतै अस्ताउँदैन । तिमीहरू शायद भगवान््को प्रार्थना गर्दैनौं । त्यो फ्रेन्च जनरलले भन्यो, प्रार्थना त हामी पनि गर्छौं । हार्न थालेपछि त झन नै बेस्सरी गर्छौं । हार्न थालेपछि बेस्सरी प्रार्थना गरिन्छ । मर्न आँटेको समूदाय भगवान््–भगवान्् भनेर चिच्याउन थाल्छ । बेस्सरी प्रार्थना गर्दै छौं हामी, तर कुनै प्रभाव परेजस्तो लाग्दैन । त्यो अंग्रेज जनरल मुस्कुरायो, अनि उसले भन्यो, कुनै भूल भएजस्तो छ । कुन भाषामा प्रार्थना गर्छौ ? फ्रेन्चमा ? बहुलाएका छौ ? भगवान्् अंग्रेजी सिवाय अर्को कुनै भाषा बुझ्दैनन् । यहीं गडबडी भएको छ । तिमीहरू प्रार्थना गर्दै जाँदै छौ, ऊ बुझिरहेको छैन । ऊ अंग्रेजी बुझ्छ, फ्रेन्च होइन ।
हामीलाई हाँसो उठ्छ यो कुरामा । तर, पाँच हजार वर्षदेखि हामी पनि त यसैलाई दोहोर्याइरहेको छौं नि । संस्कृत दिब्य वाणी हो, भगवान््को वाणी हो । के यो मुर्खतामा कुनै फरक छ ? अंग्रेजीका लागि हाँसो उठ्छ, किनकि त्यो अंग्रेजको मुर्खता हो । तर, हामी यतिका दिनसम्म के गरिरहेका छौं ? संस्कृत दिब्य वाणी हो, भगवान््को वाणी हो । त्यसो हो भने अंग्रेजी पनि भगवान््को वाणी हुन सक्छ र चीनिया पनि र पाकिस्तानी पनि र अरु पनि कुन–कुन । यथार्थमा जसको जुन भाषा छ, त्यही भगवान््को वाणी हो । उसको आफ्नै भाषाको अहङ्कार, आफ्नो जातिको, आफ्नो रङ्गको अहङ्कार, अनि आफ्नै प्रतिछवीमा भगवान्, भगवान्को सृष्टि ।
त्यसैले म जुन भगवान्लाई झुट्टा भनिरहेको छु, त्यो भनेको जसलाई हामी निर्मित गर्छौं, जसलाई हामी बनाउँछौं, त्यही हो । त्यसोभए यथार्थ भगवान्् कुन चाहिँ हो त ? यथार्थ भगवान्् त्यो हो जसलाई हामी निर्मित गर्न सक्देैैनौं बरु हामीले आफूलाई पूर्णरुपमा मेटाउने हो भने, गुमाउने हो भने, शून्य हुने हो भने त्यसलाई जान्न सक्छौं । जस्तो कुनै थोपा सागरमा हराउने हो भने त्यसले सागरलाई जान्दछ, सागरका साथ एक हुन जान्छ । अनि उसले थाहा पाउँछ, सागर के हो भन्ने । त्यसरी नै कुनै व्यक्तिले आफ्नु अहङ्कारलाई विलीन पारेर शान्त र शून्य हुने हो भने त्यसलाई जान्नेछ, जुन सबैमा फैलिएको हुन्छ र ब्याप्त हुन्छ । भगवान््लाई बनाउन सकिदैन, जान्न सकिन्छ । जान्न पनि के सकिन्छ र ? भगवान््का साथ एक हुन सकिन्छ । र, उसका साथ एक हुनु नेै उसलाई जान्नु हो । तपाईंले उसलाई जान्दा मुखामुख उभिएर कुराकानी हुन सक्नेजस्तो कुनै रुप छैन उसको । यी केटाकेटी कुरा छाडनुस् ।
भगवान््का अघिल्तिर उभिन सकिदैन किनकि हामी भगवान्् जान्न निस्किदा हामी स्वयम् नै हराउँछौं, ऊ मात्रै बाँकी रहन्छ । कविरले भन्नुभएको छ, प्रेमको गल्ली असाध्यै साँघुरो हुन्छ, त्यसमा दुई अटाउँन सक्दैनन् । त्यसमा कि त भगवान्् हुन सक्छन् कि त हामी हुन सक्छौं । कि त म हुन सक्छु र म रहिरहेसम्म भगवान्् हुन सक्दैनन् । किनकि म नेै त बाधा हुन्छु ऊ हुनुमा । र, म हराउने हो, मेटिने हो भने अवश्य नै ऊ हुन सक्छ । जति–जति मात्रामा मेरो अहङ्कार, मेरो इगो, मेरो अस्मिता हराउँदै जान्छ र विलीन हुँदै जान्छ, त्यति–त्यति मात्रामा ऊ म नजिक आउँदै जान्छ र एक हुँदै जान्छ । तर, ऊ अगाडि उभिए जसरी उसको दर्शन हुँदैन । भगवान्् कुनै व्यक्ति होइन, भगवान्् त समस्तभित्र छिपेको ऊर्जा, समस्तभित्र छिपेको शक्ति, समस्तभित्र छिपेको जीवन्त प्रवाह हो । त्यो जुन लिविङ–कन्ससनेश छ, त्यो जुन सबैतिर छाएको जीवन छ, त्यही त हो भगवान्् । त्यसको कुनै रुप ? त्यसको कुनै आकार ? अहँ ! न कुनै रुप, न कुनेै आकार, न कुनै नाम । नाम सबै हामीले दिएका हौं, अनि हामी, जसलाई आफ्नै केही थाहा छैन, हामी नेै भगवान््लाई नाम दिने प्रयास गरिरहेका छौं भने त्यो बहुलठ्ठीपन हो ।
एउटा सन्यासी सारा संसारको यात्रा सकेर भारत फर्कियो । कुनै सानो राज्यमा पाहुना भयो । त्यो राज्यको राजाले त्यो सन्यासीलाई भन्यो– स्वामी, बीस वर्षदेखि एउटा प्रश्न सोधिरहेको छु । कुनै उत्तर पाएको छुइनँ । के तपाईं मलाई उत्तर दिनुहुन्छ ? स्वामीले भन्यो, अवश्य नै दिन्छु । त्यो राजा हाँस्यो, उसले भन्यो, यति निश्चय, यति आश्वासन नदिनुस् । त्यो स्वामी, त्यो सन्यासीले भन्यो– होइन, आज तिमीले खाली, उत्तर विना फर्किनु पर्दैन । सोध । त्यो राजाले भन्यो, म ईश्वरसँग भेट्न चाहन्छु । र, पहिला नै भनुँ, कृपा गरेर गीताका श्लोक पढेर सम्झाउने प्रयास नगर्नुहोला, त्यो मैले धेरै सुनिसकेको छु । उपनिषद् र वेदका कुरा सुन्ने मेरो कुनै इच्छा छैन, ती सबै मैले पढिसकेको छु । ईश्वरलाई सम्झाउने प्रयास नगर्नुहोला । म सोझै भेट्न चाहन्छु । सक्नुहुन्छ भने हुन्छ भन्नुस् । सक्नुहुन्न भने सक्दिनँ भन्नुस्, म फर्किन्छु । यही कुरो उसले अनगिन्ती सन्यासीहरूलाई सोधिसकेको थियो ।
जहिल्यै पनि सन्यासीहरू अचम्भित भएका थिए होलान् तर यस पटक भने राजाले नै अचम्भित हुनुपर्यो । त्यो सन्यासीले भन्यो, अहिले नै भेट्न चाहनुहुन्छ कि केही समय पछि ? यसको पनि आशा थिएन, अपेक्षा थिएन । राजा अलिक चिन्तित भयो, उसले सोच्यो, सम्भवतः मेरो कुरा बुझेन होला । कुनै ईश्वर नाम भएको मानिसलाई भेटाउने कुरा पो बुझ्यो कि ? उसले भन्यो, क्षमा गर्नुहोला, शायद तपाईंले बुझ्नु भएन होला । म परम–पिता परमात्माको कुरा गरिरहेको छु । कुनै ईश्वर नामको मानिसको होइन, जुन तपाईं अहिले नै भेट्ने हो कि एक छिन पछि भनेर सोधिरहनु भएको छ । सन्यासीले भन्यो, महानुभाव, बिर्सिने त कुरै छैन । म त चौबीसै घण्टा परमात्मासित भेटाउने नै काम गर्छु । अहिले नै भेट्ने हो कि केही समय पछि, सिधा जवाफ दिनुस् ।
त्यो राजाले कहिल्यै सोचेकोसम्म थिएन कुनै मानिस यति चाँडै भेटाउन तयार हुन्छ भनेर । त्यसो त तपाईंले पनि कसैलाई भेट्ने हो र झ्वाट्टै अहिले नै भेट्ने हो कि पछि भनेर उसले सोध्ने हो भने तपाईं पनि भन्नुहोला, म घरमा सोधूँ कि, श्रीमतीलाई, केटाकेटीलाई । केको हतार ? भेटिँदा कस्तो परिणाम हुने हो, के थाहा ? त्यो राजा पनि थोरै चिन्तित भयो । सन्यासीले भन्यो, किन यति चिन्तित, बीस वर्षदेखि भेट्न उत्सुक थियौ, आज समय आएको छ, भेट । राजाले पनि हिम्मत जुटायो, उसले भन्यो, ल त, म अहिले नै भेट्न चाहन्छु, भेटाउनुस् । सन्यासीले भन्यो, कृपया यो सानो कागतमा आफ्नु ठेगाना लेख, जसले गर्दा म तपाईं को हो भन्ने भगवान्सम्म पुर्याउन सकूँ । राजाले भन्यो, यो ठीक कुरा भयो, मसँग पनि कोही भेट्न आउदा सोध्ने गर्छु, नाम, ठेगाना, परिचय ।
राजाले आफ्नु नाम, आफ्नु महल, आफ्नु परिचय, आफ्नु उपाधी लेख्यो र दियो । त्यो सन्यासीले भन्यो, महाशय, तपाईंले कागतमा लेखेको यी सबै कुरा मलाई पूरै झुट्टा र असत्य भएजस्तो लाग्यो । राजाले भन्यो, तपाईं मानिस गडबड हुनुहुन्छ भन्ने मलाई पहिला नै शङ्का लागेको थियो । भगवान््सँग भेटाउने कुरा त्यति सजिलै ! कल्पनासम्ममा पनि थिएन । त्यति बैला नै मैले बुझिसकेको थिएँ कि त यो मानिस बहुला छ कि त मै बहुला छु । यो के हुँदै छ, यहाँ भगवान््सँग भेट गराउने काम हुँदै छ । यही मेरो परिचय हो । मैँ हुँ यो राज्यको राजा । यही नै मेरो नाम हो ।
त्यो सन्यासीले भन्यो, मित्र, यदि तिम्रो नाम फेर्ने हो भने के तिमी फेरिन्छौ ? तिम्रो नाम ‘ए’ बाट ‘बी’ पार्दा केही फरक पर्छ ? तिम्रो चेतना, तिम्रो सत्ता, तिम्रो व्यक्तित्व के अर्कै हुन जान्छ ? त्यो राजाले भन्यो, अहँ ! नाम फेरिदा म फेरिदिनँ । नाम, नाम हो, म म हुँ । त्यो सन्यासीले भन्यो, त्यसोभए एउटा कुरा निश्चित भयो, नाम तिम्रो परिचय होइन किनकि त्यो फेरिदाँ तिमी फेरिदैनौं । आज तिमी राजा छौ, भोलि गाउँको भिखारी भयोै भने फेरिन्छौ ? त्यो राजाले भन्यो, अहँ ! राज्य जाला, भिखारी होउँला तर म किन पो फेरिन्छु र ? म जे हुँ, हुँ । राजा भएर जे छु, भिखारी हुँदा पनि त्यही हुन्छु । घर नहोस्, राज्य नरहोस्, धन–सम्पत्ती नरहोस्, तर म ? म त त्यही रहन्छु, जे म हुँ ।
अनि सन्यासीले भन्यो, दोश्रो कुरा पनि निश्चित भयो, राज्य तिम्रो परिचय होइन । राज्य गुमे पनि तिमी फेरिदैनौं । तिम्रो उमेर कति भयो ? उसले भन्यो, चालीस वर्ष । सन्यासीले सोध्यो, पचास वर्षको हुँदा के तिमी अर्कै हुन्छौ ? बीस वर्षको हुँदा के तिमी अर्कै थियौ ? केटाकेटी हुँदा अर्कै, युवा हुँदा अर्कै र बूढो हुँदा अर्कै हुन्छौ ? त्यो राजाले भन्यो, अहँ ! उमेर फेरिन्छ, शरीर फेरिन्छ, तर म । म त केटाकेटीमा जे थिएँ, जे मभित्र थियो, आज पनि त्यही छ । भोलि पनि रहने छ । म त एउटा सातत्य हुँ । म त एउटा कन्टीन्यूटी हुँ । मभित्र त कुनै एउटा निरन्तर कोही छ, चेतना वा अरु जे भन्नुस्, जीवन छ, म त्यही हुँ ।
त्यो सन्यासीले भन्यो, त्यसोभए उमेर पनि तिम्रो परिचयभ एन, शरीर पनि भएन । त्यसोभए तिमी को हौ ? त्यसलाई लेख्यौ भने म पुर्याउनेछु भगवान््सम्म । नत्र भने म पनि तिमीसँगै झुट्टा हुनेछु । यो कुनै पनि परिचय तिम्रो भएन । राजाले भन्यो– बडो अफ्ठ्यारो पर्यो । त्यसलाई त म पनि जान्दिनँ । जे म हुँ, त्यसलाई त म पनि जान्दिनँ । म त यसैलाई मेरो हुनु हो भन्ने जान्दछु । त्यो सन्यासीले भन्यो, त्यसो हुँदा त बडो अफ्ठ्यारो पर्छ, किनकि म जसको परिचय दिनै नसकुँ, को भेट्न चाहन्छ भनेर भन्न नसकुँ, भगवान्ले पनि कसलाई भेटाउन खोजेको हो भनेर सोध्नुहोला । त्यसैले जाऊ, तिमी को हौ, पहिला त्यसलाई खोज । र, म तिमीलाई भनिरहेको छु जुन दिन तिमी को हौ भन्ने तिमी थाहा पाउनेछौ, त्यो दिन तिमी भगवान्् खोज्न जानेछैनौं । किनकि स्वयम्लाई जान्दा, जुन परमात्मा हुन्छ त्यसलाई पनि जानिन्छ ।
मुर्तिहरूमा छैन त्यो, न त नामहरूमा छ र न त चित्रहरूमा, न रुपहरूमा । मन्दिरहरूमा । जसले उसलाई त्यहाँ खोज्छ, ऊ एउटा झुट्टा भगवान््को पछि दौडिरहेको हुन्छ, जुन मानिसद्वारा बनाइएको हुन्छ । मानिसद्वारा बनाइएको भगवान्् मानिसभन्दा ठूलो हुन सक्दैन । त्यसमा मानिसका सबै क्षुद्रताहरू, मानिसको दुष्ट्याईँ हुन्छ त्यो । त्यसैले त मानिसले बनाएको भगवान््को नाममा झगडा, उपद्रो, चिन्ता भइरहेको हुन्छ, हुँदैछ । यो सारा धरती हिन्दू, मुस्लिम, जैन, ईसाईमा टुक्रिएको छ ।
मानिस टुक्रिएको छ, खण्डित भएको छ । कोबाट ? मानिसद्वारा बनाइएको भगवान् ! मानिसद्वारा बनाइएका भगवान्् मानिसलाई टुक्र्याउने माध्यम बनेका छन्, जोडने होइन । तर, जुन परमात्मा छ, जुन सत्य छ, जुन हामी सबैको जीवन छ, यदि त्यसलाई हामीले जान्ने हो भने मनुष्य टुक्रिने छैन, जोडिने छ । त्यसलाई हामीले जान्ने हो भने प्रेमको एउटा धारा सारा जगत्मा ब्याप्त हुन जानेछ । त्यसलाई हामीले जान्ने हो भने जीवनको अर्थ, जीवनको अभिप्रायः केही अरु नेै हुन जानेछ । त्यो भगवान््लाई कसरी जान्न सकिन्छ भन्ने बारे यताका तीन दिनसम्म हामी कुरा गर्नेछौं ।
हामी जे हौं त्यसलाई हामीले बुझ्नुपर्छ भन्ने प्रश्न नउठने भएर नै हामीले त्यसलाई छोडिरहेका छौं । त्यसैले नै म को हुँ भन्ने विचार गर्न हामी पूरा प्रयास गरिरहेका छौं । यसलाई कसरी जान्ने ? सच्चा धर्मको सम्बन्ध मनुष्यको सत्यलाई जान्नुसित छ । सच्चा धर्मको खोज, मनुष्यभित्र जे छिपेको छ, त्यसलाई चिन्नुसित छ र एकपल्ट त्यसलाई चिन्ने हो भने त्यही नै अन्त्यमा परमात्माको चिनारी सिद्ध हुनेछ । यसका अतिरिक्त अरु कतै कुनै परमात्मा न त जानिएको छ, न त जान्न सकिन्छ । जो स्वयम्लाई नै जान्दैनँ उसले अरु के जान्ला ? हामी स्वयम्लाई जान्दछौं ? चिन्दछौं ? परिचय छ हाम्रो कुनै ? जसका साथ, जुन जीवनका साथ हामी रहिरहेका छौं, जसका साथ हामी सास लिदैँ छौं, त्यसलाई हामी चिन्दछौं ? के हो त्यो ? को छिपेको छ भित्र ? अहँ ! पूर्णरुपमा अपरिचित । अनि भगवान््को विवाद गरिरहेका छौं, कस्ता–कस्ता छन् भगवान्् ? आफ्नु कुनै खोजखबर छैन, भगवान््को विवाद गरिरहेका छौं । यो विवादको पक्कै पनि कुनै अर्थ हुनुपर्छ । यसको अर्थ के हो भने, जो स्वयम्लाई चिन्नबाट जोगिन चाहन्छ, उहि नै हजारौं किसिमका व्यर्थका कुरा जान्नतिर लाग्छ, जसले गर्दा स्वयम्लाई जान्नबाट जोगिन सकियोस् ।
स्वर्ग छ कि छैन भनेर जसले तय गरिरहेको हुन्छ, उसैले प्रश्न सोध्छ, पुनर्जन्म हुन्छ कि हुँदैन ? मरेपछि आत्मा रहन्छ कि रहँदैनँ ? रहने हो भने कहाँ पुग्छ ? मोक्ष छ भने कहाँ छ ? यी सबै प्रश्नहरू सोध्छ तर एउटै पनि म को हुँ भनेर प्रश्न सोद्धैनँ । असाध्यै अचम्मको कुरा । सारा देशमा म घुम्छु । यता लाखौं मानिसहरूसँग सम्पर्क भएको छ, एउटै पनि मानिसले अहिलेसम्म मलाई सोधेको छैन, म को हुँ ? यसका लागि सोचविचार गरौं । अहिलेसम्म मलाई एउटै प्रश्न सोधिएको छैन, म को हुँ ? मानिसहरू सोद्धछन्, भगवान्् के हो ? स्वर्ग के हो, नर्क के हो ? आकाश, पाताल, अरु पनि के–के, के–के सोद्धछन् । तर, म को हुँ भनेर कोही सोद्धैनँ ।
सम्भवतः हामीले स्वयम्लाई त जानेकै छौं नि भन्ने हाम्रो सोचाइ होला । जसलाई जानिएको छैनँ, त्यसलाई सोधौं । तर, यथार्थ के हो भने हामी आफूलाई सबैभन्दा थोरै जान्दछौं, जान्दै जान्दैनौं । र, स्वयम्लाई नजान्नेले के जान्न सक्ला ? र, यसरी आफूसँगै अपरिचित, अन्जान, उसैले बनाउँछ भगवान््, मन्दिर, मस्जिद । ती खतराका अड्डा बन्न पुग्छन्, अरु केही हुँदैन । त्यसैले मैले मनुष्यद्वारा निर्मित सबै भगवान्् झुट्टा हुन् भनेर भनेँ । हो, मनुष्यले आफूलाई जान्ने हो भने ऊ स्वयम्द्वारा त्यसलाई पनि जान्न सक्नेछ, जुन सारा जगतमा ब्याप्त छ । उसको जीवनको एउटा ताल्चा खुल्ने हो भने समस्त जीवनको ताल्चा खुल्न जान्छ ।
एउटा थोपालाई कसेैले बुझ्दा सागर बुझिन्छ । प्रकाशको एउटा किरणलाई कसैले बुझ्दा सारा सूर्य बुझिन्छ । एउटा ढुङ्गालाई कसैले बुझ्दा सारा पृथ्वी बुझिन्छ, किनकि विराटमा छिपेको सबै, अणुमा विद्यमान हुन्छ । त्यसैले कसैले आफूभित्रको एउटा ताल्चा खोल्ने हो भने उसले जीवनको द्वार खोल्नेछ । आफूलाई खोलेर उसले सबैको द्वार खुलेको पाउनेछ । त्यहीँ छ, त्यहीँ छिपेको छ, त्यहीँ बसेको छ । बडो अनौठो ठाउँ खोजेका छन् भगवान््ले आफू लुक्ने । कुनै अरु नै सजिलो ठाउँ रोजेको भए असाध्यै सजिलो हुने थियो । कुनै मन्दिरमा लुकेको भए हामी पर्खाल आदि तोडेर कुनै न कुनै उपायले उन
लाई खोज्ने थियौँ । कुनै शास्त्रमा लुकेको भए हामी घोल बनाएर पिउने थियौं त्यो शास्त्रलाई, त्यो भगवान््लाई खोज्ने थियौं । कतै अन्यत्र नै लुकेका भए, आकाशमा, पातालमा, कुनै चिन्ता हुँने थिएनँ, हाम्रा वैज्ञानिकहरूले जेट बनाउने थिए र त्यहाँ पुगेर पत्ता लगाउने थिए । तर, उनले पनि यस्तो ठट्टा गरे, यस्तो ठाउँमा लुकेर बसे, जहाँ पुग्ने हाम्रो चाहना नै हुँदैन । उनी हामीभित्र लुकेर बसे ।
त्यसो त कथा असाध्यै पुरानो हो । कति सम्मको सत्य छ, थाहा भएन् । कथाहरूको कुनै भरोसा पनि हुँदैन । एउटा कथा सुनेको छु मैले । भगवान्ले संसार बनाए, एक–एक चिज बनाए, झाडी, विरुवा, पशु, पक्षी बनाए । किरा–फट्याङ्ग्रा बनाए । धेरै ठुलो जाल रचे, सबै बनाए । कथा हो भनेर मैले भनिसकें । फेरि कहिले बनाए, कसरी बनाए भनेर नसोध्नु नि । होइनँभने भोलि फेरि तपाईंको त्यही प्रश्न आउन सक्छ, किनकि प्रश्न आउन कुनै समस्या नै छेैन । भगवान्ले यी सबै बनाए र अन्त्यमा मानिस बनाए । मानिस बनाए पछि उनले अरु केही बनाएनन् । अनि, देवताहरूले सोधे, अरु केही बनाएनौं ? सबै बन्द गर्यौ ?
उनले भनेँ– मानिस बनाएर भूल गरियो । अब फेरि अर्को केही बनाउन मन डराउछ । अरु चिज बनाउदा, बनाउनुको स्वाद थियो, मानिस बनाएर म झन्झटमा परेँ । ठूलो समस्या के हो भने मानिस मैले यस्तो बनाएँ, जो आफैंँ नै चिज बनाउन सक्ने भयो, ऊ आफैंँ चिज बनाउने भयो । मेरो कुनै आवश्यक्ता नै नपर्ने भयो, एउटा कुरा । अर्को कुरा, यो मानिससँग म असाध्यै डराएको पनि छु । किनकि यो भगवान््को पनि खोजी गर्ने भयो । कुनै दिन भेट्यो भने के गर्ने हो ? बेइज्जत पो गर्ने हो कि । हामीलाई पाउने हो भने के गर्ला यसले ? कस्तो व्यवहार गर्ला ? कुनेै निश्चित अनुमान त लगाउन सकिदैनँ यसको व्यवहारको, किनकि जे अरु मानिसलाई गर्छ, त्यस्तै व्यवहार हामीलाई पनि त गर्ला । अनुमान त त्यस्तै छ । मानिस के गरिरहेको छ अरु मानिससँग । यसले हामीलाई भेट्ने हो भने हामीसित पनि त्यस्तै केही गर्ला, योसँग डर लागिरहेको छ ।
त्यसेैले यस्तो ठाउँको खोजीमा छु, जहाँ उसले मलाई पाउन नसकोस् । अनि, उसले देवताहरूलाई सोध्यो, मलाई म लुक्ने कुनै ठाउँ बताऊ ? धेरै ठाउँहरू भनियो । कसेैले भन्यो, यो ठाउँमा लुक, कसैले आकाशमा, कसैले पातालमा । उसले भन्यो, यी सबै ठाउँहरू असाध्यै साना छन्, मानिससँग दिमाग छ, ऊ पुग्ने छ । उसले खोज्ने छ, उसले बाटो बनाउने छ, उसले नर्कसम्म सुरुङ खन्नेछ र स्वर्गसम्म सिढीँ लगाउने छ । अनि एउटा बूढा देवताले भने, त्यसोभए एउटै मात्र उपाय छ, तपाईं मानिसभित्र नै लुक्नुस् । उसलाई आफूभित्र खोज्ने विचारसम्म आउँदैन । उसले सारा धरती खोज्ने छ र तपाईं शान्तिले बसिरहनु होला । त्यसैले, त्यतिखेर देखि भगवान्् मानिसभित्र बसिरहेका छन्, उपायले काम गर्यो । मानिस प्रत्येक ठाउँ खोजिरहेको छ, एक ठाउँ छोडेर, जहाँ ऊ छ । त्यहाँ हामी खोजौं भन्ने हामीमा कुनै विचार आउँदैनँ । किनकि हामीलाई भ्रम छ, स्वयम्लाई त हामी जान्दछौं नै, त्यहाँ के नै छ र ?
म तपाईंलाई निवेदन गरुँ, जे तपाईंभित्र छिपेको छ, त्यसभन्दा ठूलो रहस्य अन्यत्र कतै छेैन । यो सानो देह, यो सानो खप्पर, यो सानो जीवनमा धेरै–धेरै विराट छिपेको छ । वैज्ञानिकहरूले एटमलाई नटुक्र्याउँदासम्म, अणुलाई नटुक्र्याउँदासम्म सानो कणको टुक्र्याइमा यति शक्ति, यति ऊर्जा लुकेको होला भन्ने कसैमा विचारसम्म पनि थिएनँ । एउटा सानो एटमको विष्फोट । नागासाकी, हिरोसिमामा एक लाख मानिस केही पलमा नै जलेर खरानी भए । अब त ठूला एटम बम, हाइड्रोजन बम हामीले आविस्कार गरिसक्यौँ । ती के हुन् ?
सानो अणुलाई टुक्र्याउँदा जुन शक्ति उपलब्ध भएको छ, ती त्यस्ता साना अणुहरूमा जसलाई आँखाले देख्न सकिदैनँ । त्यति साना अणुहरूमा, जसलाई यदि एकमाथि अर्को गरि खामेर एक लाखवटा राख्ने हो भने मानिसको कपालको मोटाइ जति हुन्छ । त्यति सानो अणुमा, कपालको मोटाइको एक लाखको एक अंशमा । त्यति सानो अणुमा, छिपेको यति ऊर्जा उपलब्ध हुनगयो । यदि त्यसको विष्फोट हुने हो भने करोडौं मानिस, करोडौंको जीवन तत्क्षण खरानी हुने छ । एउटा सानो अणुमा यस्तो छिपेको होला भन्ने सोचाइसम्ममा पनि थिएनँ । यस्तै मनुष्यको चित्तका पनि अणु हुन्छन् । पदार्थका अणुलाई हामीले खोजीसक्यौं, त्यहाँ परमाणुको शक्ति भेटियो ।
मनुष्यका चिद् अणु छन्– मनुष्यभित्र चेतनाका अणु छन् । यदि हामीले तिनीहरूलाई खोल्ने हो भने त्यहाँ परमात्माको शक्ति भेटिनेछ । पदार्थको अणुमा छिपेको छ पदार्थको शक्ति, मनुष्यको चेतनाको अणुमा छिपेको छ परमात्माको शक्ति । दुबै उनकै शक्तिहरू हुन्, त्यसैका दुई रुप । सानो छैन मनुष्यको यो मन । यो सानो मनमा धेरै छिपेको छ । यसको उपेक्षा नगर्नुस्, आफूलाई उपेक्षा नगर्नुस् । धार्मिक मानिस म त्यसलाई भन्छु जसले आफूलाई उपेक्षा गर्दैनँ । र, अधार्मिक मानिस त्यो हो जसले जीवनभरि आफूलाई उपेक्षा गर्छ । बाँकी सबै चिजको चिन्ता गर्छ, आफूलाई उपेक्षा गर्छ र म जान्दछु, स्वयम्लाई जान्दछु भन्ने सम्झिन्छ, कुरा सकियो । अध्याय बन्द भयो । म त जान्दछु, यो हो मेरो नाम, यो हो मेरो ठेगाना, फलानोको छोरो हुँ, यो हो मेरो घर । चिनिसकें मैले आफूलाई, कुरा सकियो । कुरा सकिएको छैन, यो अध्यायलाई खुल्ला राख्नुस्, यसलाई क्लोज नगर्नुस्, यसलाई बन्द नगर्नुस्, यो खुल्ला छ ।
त्यसैले मेैले यताका दुई दिनदेखि भनेको छु, सच्चा भगवान््को खोज, सत्यको खोज मनुष्य निर्मित धर्मबाट हुँदैन बरु त्यो चेतनाको प्रवेशबाट हुन्छ, जुन परमात्माकै अंश हो ।
केही अरु प्रश्नहरू सोधिएका छन् ।
एक मित्रले सोध्नुभएको छ, भक्तिले, पूजा र प्रार्थनाले, भगवान्को उपलब्धी हुँदैन ? के भक्ति भगवान््सम्म पुग्ने मार्ग होइन ?
भक्ति र भगवान्को घनिष्ठ सम्बन्ध हुन्छ, हामी यस्तै सुन्दै आइरहेका छौं । तर, बडो दुःखको कुरा, मैले तपाईंलाई सत्य भन्नेै पर्ने हुन्छ । भक्ति र भगवान््को कुनै सम्बन्ध छेैन । थोरै पनि सम्बन्ध छैन । भक्ति त मनुष्यको कल्पना हो र भगवान््को मनुष्यको कल्पनासित केको सम्बन्ध ? यथार्थ त के हो भने मनुष्यका सारा कल्पनाहरू शान्त र तिरोहित हुँदा मात्रै भगवान्् वा सत्यको अनुभव हुन्छ । तर, हामी कल्पना गरिरहेका हुन्छौं । र, आफ्ना मनका कल्पनाहरू आविष्कार गरिरहेका हुन्छौं । र, मनको कल्पनाहरूको अनुभव पनि हुनसक्छ । किनकि मनुष्य सपना देख्न असाध्यै समर्थ छ । मनुष्य सपना देख्न, इमेजिनेशन गर्न असाध्यै समर्थ छ ।
हामीबिचमा केही मानिसहरू बढी इमेजिनेटिभ हुन्छन् । स्त्रीहरू बढी काल्पनिक हुन्छन् । पुरुषहरूमध्ये पनि स्त्रेैण चित्त भएकाहरू पनि बढी काल्पनिक हुन्छन् । जस्तो– कवि असाध्यै काल्पनिक हुन्छन्, यी सबैजना भगवान््को भक्ति गरेर झन नै छिटो दर्शन पाउन सक्छन्, यिनीहरूलाई समय लाग्दैन, अफ्ठ्यारो पर्दैन । किनकि जसको कल्पना सपना देख्न जति प्रखर हुन्छ, जो जति गहिरो गरि प्रवेश गर्न सक्छ, ऊ त्यति नै चाँडो भगवान््को दर्शन गर्न सक्छ ।
लियो टल्सटयको नाम सुन्नुभएको होला तपाईंले– ठूला लेखक, विचारक थिए रुसका । असाध्यै कल्पनाशिल थिए । एक रात मस्कोको एउटा पुलमाथि पुलिसले उनलाई समात्यो । उनी एउटा पुलमाथि थिए, खतरनाक पुलमाथि, जहाँ जहिल्यै पनि एउटा पुलिसको पहरा हुने गर्थ्यो । त्यो पुल आत्महत्या गर्नेहरूका लागि खास थियो, त्यसैले एउटा पहरा हुने गर्थ्यो । मर्न चाहनेहरू त्यही पुलबाट हाम्फालेर आत्माहत्या गर्थे र मर्थे । त्यसैले त्यो एउटा स्थायी सुसाईट प्वाइंट थियो मस्कोको । आत्महत्या गर्नेहरूको अड्डा थियो । युनिवर्सिटीको परीक्षा भर्खरै सकिएकोले पनि नियमितरुपमा पुलिस त्यहाँ रहेको हुनसक्थ्यो ।
टल्सटय रातको दुई बजे त्यहाँ समातिए । पुलिसले आएर हेर्यो, यो मानिस आफ्नु लवादा लगाएर चीसो रातमा घुमिरहेको छ । एक–दुई पल्ट उसले हेर्यो, तेश्रो पल्ट उसले काँधमा हात राखेर भन्यो, महानुभाव, के छ चाहना ? टल्सटयको आँखामा आँशु थियो । उनले भने, महाशय, तपाईंले केही ढीला गर्नुभयो, आत्माहत्या गर्नेले गरिसक्यो, म त पुर्याउन आएको थिएँ । त्यो पुलिस डरायो, ऊ त्यहीँ थियो । ऊ झन्झटमा पर्नसक्थ्यो, किनकि ऊ ड्यूटीमा थियो र कसेैले आत्महत्या गरेको थियो । उसले सोध्यो, को मर्यो ? टल्सटयले भनेँ, पोल्यावाना नाम भएकी स्त्री मरि । तिमीलाई थाहा भएन ? दुई दिनदेखि यहाँ घुमिरहेकी थिई, तिमी के गरिरहेका थियौ ? ऊ त झन नै डरायो । टल्सटयलाई समातेर पुलिस थाना लिएर गयो ।
पुलिस थाना पुग्दा–नपुग्दै टल्सटयको दिमाग अलिक शान्त भयो । उनी थोरै कविताबाट तल ओर्लिए । पुलिस थाना पुगेपछि हाँस्न थाले । उनीहरूले सोधे, किन हाँसेको ? उनले भनेँ, खास कुरा के हो भने म एउटा उपन्यास लेखिरहेको छु, त्यो उपन्यासमा पोल्यावाना नामकी एउटी स्त्री छे । त्यो उपन्यासमा ऊ यही पुलमा आएर आत्महत्या गर्छे । उसले आज राती आत्महत्या गरि, मैले यो काल्पनिक कुरा हो भन्ने नै बिर्सिएँ । म उसकै पछि–पछि आएको थिएँ । उसले हाम्फाली, म त्यहीँ बसेर दुःखी हुँदै थिएँ । पात्रा थिई उपन्यासकी, जसलाई उनी लेखिरहेका थिए । तर, कवि र लेखकहरू आफ्ना पात्रका साथ बाँच्न थाल्छन् । यति यथार्थ हुन पुग्छन् उनीहरू । कल्पनाहरू यति प्रगाढ हुन जान्छन् ।
टल्सटय एकपल्ट सिढि चढिरहेका थिए लाइव्रेरीको । उनीसँगै एउटी महिला पनि चढिरहेकी थिइन्, काल्पनिक महिला, जोसँग उनी कुराकानी गरिरहेका थिए । उनी र उनकी उपन्यासकी पात्रा थिइन् । उनीहरू दुबैजना सिढी चढिरहेका थिए । सिढी साँघुरो थियो । दुईजनाका लागि ठाउँ पुग्थ्यो । माथिबाट एकजना सज्जन तल ओर्लिदैँ थिए, तीनजनाका लागि ठाउँ पुग्दैनथ्यो । महिलालाई माथिबाट ओर्लिनेको ठेस लाग्ने हो कि भनेर टल्सटय छेउ लागे । छेउ लाग्दा चिप्लिएर तल झरे र खुट्टा भाचेँ । माथिबाट ओर्लने मानिसले भन्यो, महानुभाव, तपाईं किन छेउ लाग्नुभयो ? हामी दुईजनाका लागि त पर्याप्त ठाउँ थियो । छेउ लाग्ने आवश्यक्ता नै थिएनँ ।
टल्सटयले भने, दुई ? अनि मसँग भएकी तेश्री महिला कहाँ हराइन् ? कुनै तेश्री महिला त्यहाँ थिइनन् । मानिसहरूले भनेँ, त्यहाँ कुनै तेश्री महिला थिइनन् । टल्सटय अचम्भित भए । अनि उनले भनेँ, ओहो ! ठूलो भूल भयो, माफ गर्नुहोला । मैले त बिर्सिएँ । मेरी एउटी पात्रा मसँगै हिँडिरहेकी थिइन् । म उनीसँग कुरा गरिरहेको थिएँ । उनी घचेडिने हुन् कि भनेर छेउ लाग्दा ब्यर्थैमा खुट्टा भाँचियो । हुँदै नभएकी महिलाका लागि हुँदा–खाँदाको खुट्टा भाँचियो ।
एलेक्जेन्डर ड्युमाको नाम सुन्नुभएको होला । उनी अर्का ठूला नाटककार थिए । उनले पेरिसमा आफ्नु डेरा सारे । पहिला जुन ठाउँमा बसेका थिए त्यहाँका मानिसहरू उनीसित, उनको पागलपनसित परिचित भइसकेका थिए । तर, डेरा सारे । अर्को डेरातिरका मानिसहरूलाई केही थाहा थिएनँ । राती, टोलका मानिसहरूको आधिरातमा निद्रा खलवलियो । कुनै ठूलो झगडा भएको थियो । नयाँ मानिस आएको थियो, उसको कोठामा यस्तो लागिरहेको थियो, कुनै हत्या होलाजस्तो । दुईजना मानिसहरू झगडा गरिरहेका थिए । तरवारको ठ्याङ–ठ्याङको आवाज आइरहेको थियो । दुईजना मानिसको आवाज आइरहेको थियो । एक–अर्कालाई गाली गरेको दुई भिन्ना–भिन्नेै आवाज आइरहेको थियो । कुनै झगडा भएको थियो । ढोका सबैतिरबाट बन्द थिए । टोलका मानिसहरू भेला भएका थिए, उनीहरूले पुलिसलाई खबर गरे । ढोका फुटाएर भित्र पस्नु पर्यो ।
अलेक्जेन्डर ड्युमा एक्लै तरवार लिएर ढोकामा उभिएका थिए । अर्को मानिस कहाँ छ भनेर सोधियो । ड्युमाले भनँे, कुन चाँहि अर्को मानिस ? मानिसलाई देखेर उनी थोरै शान्त भए । असिन–पसिन भएका थिए । तरवार लिएका थिए । उनले भनेँ, माफ गर्नुहोला, तपाईंहरू जानुस्, म आफ्नु नाटकको एक पात्रका साथ द्वन्द्वयुद्ध गरिरहेको थिएँ । मानिसहरूले सोधे– दुई किसिमको आवाज आइरहेको थियो त ? उनले भनेँ– म पूरै जोशमा आउँदा आफ्नुतिरबाट पनि बोल्छु र ऊतिरबाट पनि बोल्छु । के हुँदै छ भन्ने मलाई थाहासम्म पनि हुँदैन । तर, मैले यसरी कुनै घटनालाई जिउँदा मात्रै म लेख्न सक्छु, त्यतिबेला मात्रै त्यो जीवित हुन्छ, होइनभने मुर्दा हुन जान्छ । बसेर म लेख्न सक्दिनँ । असिन–पसिन थिए । तरवार लिएर उभिएका थिए ।
यस्ता मानिसहरूले यदि भगवान््को दर्शन गर्न चाहने हो भने समय लाग्ला ? यिनीहरूलाई थोरै पनि समय लाग्दैन । यिनीहरूले चाहना गर्नासाथ मुरली बजाउने भगवान्् यिनीहरूका सामुन्ने प्रकट हुन सक्छन् । चाहना गर्ना साथ धनुर्धारी राम प्रकट हुन सक्छन् । कोही पनि प्रकट हुन सक्छन् । यिनीहरूको कल्पनाको आविष्कार र यिनीहरूको यत्रो भावाविष्ट मन ! यत्रो इमेजिनेटीव ! यिनीहरू कुनै पनि कुराको अनुभव गर्न सक्छन् तर त्यो कुनै भगवान््को अनुभव भने हुँदैन । त्यो प्रोजेक्शन हुन्छ । मनको प्रक्षेपण । मन समर्थ छ कल्पना गर्न । त्यसैले भक्ति केवल एउटा कल्पना हो र भक्तिद्वारा तपाईं चाहे बमोजिम भगवान््लाई देख्न सक्नुहुनेछ । तर, त्यो भगवान्् तपाईंको कल्पना सिवाय अन्यत्र कतै हुँदैन ।
र, के हुन सक्छ भने, एउटा रामको भक्त, एउटा कृष्णको भक्त र एउटा क्राइष्टको भक्त, तीनजनालाई नै कुनै रात एउटा कोठामा थुनेर राखौं, कृष्णको भक्तले कृष्णलाई बाँसुरी बजाइरहेको देख्नेछ त्यो कोठामा । त्यहीँ रामको भक्तले धनुर्धारी रामलाई देख्नेछ । त्यही कोठामा क्राइष्टको भक्तले सूलीमा झुण्डिरहेको क्राइष्टलाई देख्नेछ । र, के तिमीले अरुको भगवान्् देख्योै भनेर सोध्ने हो भने ऊ हाँस्नेछ, कहाँ अरुको भगवान््, मेरा भगवान्् थिए, अरुका त थिएनन् भन्नेछ । तीनैजना विवाद गर्न थाल्नेछन् । तेरो भगवान्् कहाँ थिए ? मैले त देखिनँ । आ–आफ्नै भगवान्् मात्रै तीनैजनाले देख्नेछन् । अरुका भगवान्् देखिँदैनन् ।
आफ्नै कल्पना हुन्छ । आफ्नै कल्पनाको लोक हुन्छ र हजारौं वर्षसम्म धर्मलाई यही कल्पनासँग जोडेको कारणले नै धर्म एउटा विज्ञान, एउटा साइन्स बन्न सकेनँ । आज संसारभरि नै साइन्सको अघाडि धर्मले हार खानु परिरहेको छ । त्यसको पछाडि यही कल्पनाको सारा जाल छ । आज पाँच हजार वर्षमा कल्पनाबाट धर्मलाई जोगाउन सकेको भए, तथ्य र सत्यको खोजमा एउटा वैज्ञानिक बिधिलाई विकसित गर्न सकेको भए आज धर्म विज्ञानसँग पराजित हुनुपर्ने कुनै कारण हुने थिएनँ ।
विज्ञानका सामु धर्म पराजित हुँदैछ । प्रत्येक दिन हारिरहेको छ । प्रत्येक दिन आफ्नु धरातल गुमाइरहेको छ । त्यसको एकमात्र कारण हामीले ठड्याएको धर्म, त्यो पूरै कल्पनामा आधारित भएर भएको हो । सत्यमा, यथार्थमा, विज्ञानको बिधिमा होइनँ, मनको कवितामा ठडिएको छ । कविता धर्म होइन । काब्य बनाउनु एउटा कुरा हो । सुन्दर हुन्छ काब्य । कल्पना गर्नु एउटा कुरा हो, सुन्दर हुन्छन् कल्पनाहरू । त्यसमा आनन्द पनि आउँछ । सपना सुखद् पनि हुन सक्छ तर सुखद् भएर मात्र कुनै सपना सत्य हुन सक्दैन ।
मेरो निवेदन छ, एउटा समय धरतीको इतिहासमा आइसकेको छ । एउटा समय आइसकेको छ मनुष्यको चेतनामा, त्यस्तो धर्मको जन्म होस्, जुन भक्ति नहोस्, विज्ञान होस्, साइन्स होस् । त्यस्तो धर्मको जन्म होस्, जुन कल्पना नहोस्, सत्य होस् । हाम्रा आशा र इच्छाहरूमा होइनँ, हाम्रा कल्पना र विचारहरूमा होइनँ, बरु हाम्रो प्राणको सिधा साक्षात्कार र अनुभवमा ठडिएको धर्मको जन्म होस् । सजिला छन् यी सारा कुराहरू । कल्पना गर्न सजिलो छ र अनुभव गर्न पनि । अनि, यी अनुभवका लागि सहाराको खोजी पनि भइसकेको छ । के तपाईंलाई थाहा छ, संसारमा भक्तहरूको, सन्यासीको एउटा ठूलो भागले गाँजा, अफिम, रक्सी र अरु पनि के–केको नशा गरिरहेको छ । किन ? के तपाईंलाई थाहा छ ? के यो अकारणै हो ? यो अकारणै भएको होइनँ, त्यो टाढा मेक्सिकोमा होस् वा तिब्बत वा भारत वा चीन वा यूनानमा नै किन नहोस्, संसारका कुना–कुनामा यस्ता काल्पनिक भगवान््का खोजी गर्नेहरूले नशाको उपयोग गरेका छन् । किन ?
नशामा कल्पना सजिलो गरि हुन्छ । नशामा कल्पना प्रखर हुन पुग्छ । होस हराउँछ, कल्पना तिव्र हुन जान्छ । जति तिव्र नशा हुन्छ, त्यति नै कल्पना तिव्र र सजिलो हुन जान्छ । अनि त्यो कल्पनाको लहरमा जे पनि देख्न सकिन्छ । भाँङले, अफिमले, गाँजाले । अरु पनि नयाँ–नयाँ आविष्कार हुँदैछन् अमेरिकामा । अमेरिकामा नयाँ भक्तहरूको सम्प्रदाय बनिरहेको छ । अल्डुअस हक्सले उनीहरूका नेता हुन् । त्यहाँ भक्तहरूको एउटा सम्प्रदाय बनिरहेको छ । उनीहरूले नयाँ वैज्ञानिक आविष्कार गरिसकेका छन् । मेक्सलिन नामक इन्जेक्शन बनाइसकेका छन् र एल.एस.डी. नामक एसिड तयार पारिसकेका छन् ।
मेक्सलिनको इन्जेक्शन लगाउनुस्, छ घण्टासम्म भगवान््को दर्शन गर्नुस् । किनकि मेक्सलिन शुद्धतम् नशा हो, प्रशोधित । त्यसलाई तपाईंको नशामा छिराइन्छ, छ घण्टाका लागि मस्त हुनुस् । समाधीमा पुग्नुस्, नाच्नुस्, उफ्रिनुस्, खुव भगवान््को किर्तन गर्नुस् र खुव आनन्द अनुभव गर्नुस् । अनि जस्तो चाहनु हुन्छ, भगवान््लाई त्यस्तै देख्नुस् । व्रिmश्चियनलाई लगाउने हो भने क्राइष्ट देखिन्छन्, अनि हिन्दूलाई लगाउने हो भने कृष्ण देखिन्छन् । मेक्सलिन बडो अद्भूत् छ । जस्तो चाहनु हुन्छ, त्यस्तै भगवान्् जन्मिन्छन् ।
खासमा, जुन कल्पना तपाईंको मनमा हुन्छ, नशाले त्यसलाई जीवन्त पार्छ । त्यसलाई तपाईंको चिन्ताबाट निकाल्छ । रिलिज गर्छ त्यसलाई । त्यो तपाईंसामु देखिन्छ । नशामा मानिस अरु चिज त देख्छन् नै । अरु पनि धेरै कुरा देख्छन्, भगवान्् पनि देख्छन् । त्यसैले पश्चिममा ठूलो फेड जन्मिएको छ । मेक्सलिन लगाऔं । हुनसक्छ, आउदा दिनहरूमा हिन्दूस्थानमा पनि यी औषधीहरू भेटिने हुनसक्छ । कति नै समय लाग्ला र ? अमेरिका र हिन्दूस्थानमा दुरी नै कति छ र ? फेरि, अमेरिकाका ठूला–ठूला मानिसहरू असाध्यै सजिलो छ भनेर त्यसको बखान गरिरहेका छन् ।
अल्डुअस हक्सलेले पुराना साधुहरूलाई भनेका छन्, विचराहरूले कति दुःख गर्नुपर्थ्यो । वर्षौ तपश्चर्या गर, यो गर, त्यो गर, सिधा उब्भ, बाङ्गो उब्भ, योगाशन गर, टाउको तल, खुट्टा माथि, व्रत बस, कति दुःख गर्नुपर्थ्यो । हामीले बढी राम्रो एउटा उपाय निकालेका छौं । मेक्सलिन लगाऔं र समाधीमा आनन्दित, मगन होऔं । अल्डुअस हक्सलेको भनाइ के छ भने, जस्तो पूरानो जमानामा मानिसहरू गोरु गडामा हिँड्ने गर्थे, धेरै समय लाग्ने गर्थ्यो । यस्तै किसिमका भक्तिका पनि उपायहरू थिए । यो नयाँ तरिका हो । यसमा सीधा जेट प्लेनजस्तो लामो यात्रा एकै क्षणमा गर्नसक्नु हुन्छ । दुबैमा कुनै फरक छैन । कल्पनामा ठडिएको धर्म, त्यो नशाको उपयोग नै हो । कल्पना स्वयम् नै एउटा नशा हो ।
तपाईंले थाहा पाउनुभएको छ, तपाईंको चित्त कल्पनाले भरिँदा कसरी नशामा रम्नु भएको हुन्छ ? कुनै कल्पना मनले गर्दा कस्तो इनटाक्सीकेट अनुभव गर्नुहुन्छ ? नशाजस्तो हुन थालेको हुन्छ, मग्न हुनुहुन्छ, मस्तीजस्तो भएको हुन्छ । आज अरु पनि उपायहरू निकालिएका छन्, जसको ठीक–ठीक हिसाव गर्न असाध्यै अफ्ठ्यारो छ । कुनै मानिसले लामो व्रत बसे हामी ठूलो तपश्या गर्दै छ भन्छौं । तर, तपाईंलाई थाहा छ, लामो व्रतपछि पनि कल्पना सजिलो गरी हुन्छ । नशामा सजिलो भए जस्तै । लामो व्रतमा शरीरको शक्ति कम हुन जान्छ । शक्ति कम हुँदा कल्पना तिव्र हुन जान्छ ।
यदि तपाईंलाई लामो समयसम्म ज्वरो लागेको छ र खान पाउनुभएको छैन भने, तपाईंलाई थाहा होला । लामो समयको ज्वरोमा खान पाउनुभएको छैन भने खाट उडन सक्छ, देवी–देवताहरू देखिन सक्छन् । अरु पनि सबैथोक हुन सक्छ । कमजोरीमा चित्त काल्पनिक भएको हुन्छ । शक्ति हुँदा चित्त काल्पनिक हुँदैन । त्यसैले जति कमजोर मानिस हुन्छ, ऊ त्यति नै राम्रो भक्त हुन सक्छ । शक्तिशाली मानिसका लागि भक्ति अलिक कठिन नै हुन्छ । त्यसैले कोही शक्तिशाली छ भने व्रत बसाएर उसलाई कमजोर पार्ने उपाय छन् । अनि ऊ सजिलै भक्त हुन सक्छ । त्यो कमजोरीमा, चित्त जहाँ कमजोर हुन्छ, त्यहाँ कल्पना प्रवल हुन पुग्छ । अनि, त्यो कल्पनाको प्रवलतामा जे देख्न चाह्यो, त्यो देख्न सकिनेछ ।
यो किर्तन, भजन र भक्तिले कतै पुर्याउँदैन । हो, थोरै समयका लागि राहत दिन्छ, शान्ति दिन्छ । केही क्षण मन बहलाउने साधन बन्छ, एस्केप बन्छ । पलायन पाइन्छ, केही समयका लागि वचाव पाइन्छ । यसभन्दा वढी अरु केही हुँदैन । तर, जसले साँच्चै नै परमात्माको खोजीमा आँखा उठाउनु छ, जसको मनमा सत्यलाई खोज्नु छ भन्ने सोचाइ छ, उसले चित्तको सारा कल्पनाको जालोलाई टुटाउनु पर्छ । ती झुट्टा र कल्पनाका किलाहरूलाई उखेल्नु पर्छ । जसको कुनै अस्तित्व छैन, ती डोरीहरू काटनु पर्छ । अनि, त्यो सत्यलाई खोज्नु पर्छ जुन छ । त्यो सत्यको हामीले कल्पना गर्ने कुनै आवश्यक्ता छैन । यदि त्यो छ भने शान्त हुनुस्, त्यसलाई हामी देख्नेछौं । र, यदि त्यो छैन भने त्यसलाई खोज्नु पर्छ, निर्मित गर्नु पर्छ ।
एकजना व्यक्ति आजै मसामु आउनुभयो र भन्नुभयो– म त सबै ठाउँमा व्रह्म छाएको छ, सबै ठाउँमा व्रह्म ब्याप्त छ भन्ने भाव निरन्तर राख्छु । मैले सोधेँ– यदि व्रह्म सबै ठाउँमा ब्याप्त छ भन्ने अनुभव भएको छ भने भाव गर्ने आवश्यक्ता नै के छ र ? कुनै मानिस विहान उठेर दिनभरि म पुरुष हुँ भन्छ भने कतै ऊ आफैंँ लाई त म पुरुष हुँ भन्ने शङ्का त छैन भनेर तपाईंलाई शङ्का हुन सक्छ । यदि ऊ पुरुष भएको भए दोहोर्याउने आवश्यक्ता नै हुँदैनथ्यो । यदि यो हो भने कुरा सकियो । यदि कसैलाई सबै ठाउँमा भगवान्् ब्याप्त छन् भन्ने अनुभव भएको छ भने त्यसलाई सबै ठाउँमा भगवान्् ब्याप्त छन्, सबै ठाउँमा भगवान्् ब्याप्त छन् भनेर दोहोर्याउने कुनै आवश्यक्ता नै छैन । जसले यसलाई दोहोर्याईरहेको छ, उसलाई अनुभव भएको छैन । त्यही अनुभव होस् भनेर नै ऊ दोहोर्याईरहेको छ । र, भगवान् सबै ठाउँमा ब्याप्त छन् भन्ने दोहोर्याई–दोहोर्याई कल्पना गरिरहेको छ । यस्तो कल्पना उसले गर्ने नै हो भने पनि त्यो कल्पना भगवान््को अनुभव हुँदैन । त्यो हाम्रै कल्पनाको अनुभव हुन्छ ।
आजको चर्चामा म अन्तिमरुपमा के भन्न चाहन्छु भने, मनुष्यको चित्त जब सबै किसिमका कल्पनाहरूलाई छोडेर शान्त हुन्छ, जब कुनै कल्पना चित्तमा रहँदैन, अनि मात्र त्यो निर्दोष र शान्त क्षणमा, त्यही तालजस्तो मोैन चित्तमा, जे हो, त्यसको दर्शन हुन्छ । यदि जे हो त्यसलाई जान्ने हो भने जे हामीले कल्पना गरैका हुन्छौं त्यसलाई छोड्नुपर्छ । अनि मात्रै सत्यको अनुभव हुन सक्छ । त्यसैले मैले किलोको कथा भनेँ । हामी धेरै किसिमका किलाहरूले बाँधिएका छौं, ती हाम्रै आविष्कारहरू हुन्, जसको कतै अस्तित्व छैनँ । ती सबै कल्पनाका किलाहरू हुन्, कल्पनाका जाल हुन् । र, तिनीहरूलाई नै धर्म भनिदैँ आइएको छ । त्यसैले आज मैले तपाईंलाई धर्म छैन भन्दा असाध्यै चोट लाग्छ । चोट लाग्नु स्वभाविक हो ।
त्यो ऊँटलाई पनि कसैले पागल, तँ जहाँ बाँधिएको छस्, त्यहाँ कुनै किलो छैन भनेको भए ऊ पनि रिसाउने थियो र कुनै तिख्खर ऊँट भएको भए झगडा गर्न तम्सिने थियो । कुनै सिद्धान्तवादी ऊँट भएको भए तर्क गर्न थाल्नेथियो । त्यो त विचरा ऊँट मात्रै थियो, त्यसलाई न त कसैले भन्यो र न त झगडा भयो, न त यस सम्बन्धमा ऊँटको के विचार थियो भन्ने नै थाहा हुनसक्यो ।
तर, तपाईं त कल्पनाले बाँधिएको हुनुहुन्छ भनेर तपाईंलाई कसैले भन्यो भने तपाईं रिसाउनु हुन्छ, किनकि हामी हाम्रो अहङ्कारले, हाम्रो कल्पनाले बाँधिएका छौं भन्ने स्विकार गर्दैनौं । हामी त सत्यका साथ छौं भन्ने नै हाम्रो सोचाई हुन्छ । तर, तपाईं सत्यकासाथ भएको भए तपाईंको जीवनमा आनन्दको वर्षा हुनुपर्ने थियो, तपाईंको जीवनमा प्रकाश वर्षिनु पर्नेथियो । तपाईंको जीवन मङ्गलले भरिएको हुनेथियो । तपाईंको जीवनमा दुःख–पीडा विलीन भएको हुनु पर्नेथियो । तपाईंको जीवनमा विसङ्गति हुँदैनथ्यो । तपाईंको जीवनमा आउने थियो एउटा सुगन्ध, आउने थियो एउटा सङ्गीत, आउने–जाने वायुहरू जसले तपाईंलाई मुक्त पार्ने थिए ।
तर, त्यो त कतै देखिदैनँ । न त त्यो सङ्गीत सुनिन्छ जीवनमा, न त त्यो ताजा वायु जीवनमा भएजस्तो लाग्छ, न त त्यो आल्हाद, न त त्यो आनन्द, न त कुनै अर्थ, न त कुनै प्रकाश, न त नृत्य, न त कुनै पुलक, केही पनि त भएजस्तो लाग्दैन । अनि, कसरी सत्यका साथ तपाईं हुनुहुन्छ भनेर मान्नु ? हामी कुनै बगैंचामा पुग्ने हो र त्यहाँ कुनै सुगन्ध नआउने हो , शितल वायु नचल्ने हौ, कुनै हरियाली नदेखिने हो र कसैले, तपाईं बगैंचामा हुनुहुन्छ भनेर भन्यो भने हामी भन्छौं, कहाँको बगैंचा ? न त कुनै शितलता छ, न त कुनै शितल वायु भएजस्तो लाग्छ, न त कुनै सुगन्ध, कस्तो बगेैचा हो यो ? अनि उसले, यो यस्तो बगैंचा हो जसमा कुनै विरुवा आदि छैनन्, फूल आदि छैनन्, यस्तो बगेैचा हो यो भनेर भन्ने हो भने चाहिँ कुरा अर्कै हो ।
जुन सत्यका साथ मनुष्य जाति छ, यदि त्यो कुनै आनन्द नभएको, कुनै सौन्दर्य नभएको, कुनै स्वतन्त्रता नभएको सत्य हो भने ठीकै छ । यदि त्यो कुनै विरुवा, फल–फूल नभएको बगैंचा हो, केवल नाम मात्रैको बगैंचा, मरुस्थलजस्तो । यस्तो कुनै सत्यका साथ हामी छौं भने कुरा अर्कै हो । तर, जाँच्नुस्, परीक्षण गर्नुस्, खोज गर्नुस्, हामी जेलाई सत्य भनिरहेका छौं, यदि त्यही नै सत्य भएकोभए हामी अर्कै मानिस भइसकेका हुन्थ्यौं । तर, हामी त किरा–फट्याङ्ग्राको जस्तै–जस्तै जीवन बिताइरहेका छौं । त्यसैले निश्चितरुपमा नै यो हामी सत्यको नजिक नभएको प्रमाण हो । हामी कुनै असत्यलाई सत्य मानिरहेका छौं, त्यसैले हाम्रो सम्पूर्ण श्रम व्यर्थ भएर गएको छ । हाम्रो सारा साधना व्यर्थ भएर गएको छ, हाम्रो सारा खोज व्यर्थ भएर गएको छ । हामी कतै पुग्देैनौं । हामी कतै केही पाउँदैनौं । एउटा तेल पेल्ने कोलको गोरुको जस्तो घेरा छ, त्यसमा हामी घुमिरहन्छाँै, घुमिरहन्छौं र समाप्त भएर जान्छौं । त्यसैले मेरा कुराले तपाईंलाई चोट पुर्याउँछन् भन्ने थाहा पाउँदा–पाउँदै पनि म ती कुराहरू भन्न तयार छु । तिनले कतिपय समयमा तपाईंको मनमा हिंसा गरेजस्तो, दुःख पुर्याएजस्तो, चोट पुर्याएजस्तो हुन्छ । तर, कतिपल्ट के हुन्छ भने घाउ निको पार्न पनि चोट पुर्याउँनुपर्छ, जसलेगर्दा त्यो फुटोस् र बगोस् । र, कतिपल्ट के पनि हुन्छ भने, तपाईंलाई प्रेम गर्नेले नै तपाईंको सर्जरी पनि गर्नुपर्ने हुन्छ । म जे भनिरहेको छु, मेरो प्रेमले गर्दा भनिरहेको छु, अर्को कुनै कारण छैन । अर्को कुनै सरोकार पनि छैन । मलाई जे कुरा ठीक लाग्छ, त्यो तपाईंलाई भनिरहेको छु । तपाईंलाई चोट परोस्, थाहा छ चोट पुग्छ । चाहन्छु, पुग्नुपर्छ । सम्भवतः चोट पुग्यो भने तपाईंभित्र विचार जन्मिन्छ । शायद कुनै घचेड्याईँ………..तपाईंको निद्रा खुलोस् ।
तपाईं आफूलाई घचेडेर निद्रा खोल्नेसित रिसाउनु हुन्छ, किनकि निद्रा टुटनु कसैलाई पनि मनपर्ने कुरा होइन । कुसमयमा निद्रा टुटाउनेसित तपाईं रिसाउनु त हुन्छ । भर्खरै त तपाईं राम्रा–राम्रा सपना देखिरहनुभएको थियो, यसले जगायो । जति नै राम्रो सपना भएपनि जागरणको तुलनामा त्यो केही पनि हुँदैन । भाँचिने र जागरण आउने हो भने जति नै मधुर सपना भएपनि, जाग्नासाथेै सपना झुट्टा थियो, जागरण सत्य हो भन्ने तपाईं पाउनु हुन्छ । तपाई त्यसैको खोजी गरिरहनु भएको थियो ।
भोलि अन्तिम दिन अरु, अन्तिम सूत्रहरूका बारेमा तपाईंहरूसित कुरा गर्नेछु । त्यो जागरण कसरी फलित हुन सक्छ, जसले सारा कल्पनाहरूबाट मुक्त पारोस् र सत्यसम्म पुर्याओस् । पुर्याओस् त्यहाँ, जहाँ परमात्मा छन्– त्यसको हामी भोलि अन्तिम कुरा गर्नेछौं । अहिले अझै अरु केही प्रश्न छन्, तिनलाई म भोलि लिउँला ।
अब हामी रात्रीको ध्यानका लागि पन्ध्र मिनेट बस्नेछौं । थोरै कुरा रात्रीको ध्यानका सम्बन्धमा तपाईं बुझ्नुहोला । अनि फेरि अलिक छुट्टिएर बस्नुहोला ।
तपाईंहरू पहिला नै छुट्टिएर रहनुहोला, टाढा–टाढा । ध्यानका लागि पल्टिनुपर्ने हुन्छ, त्यसैले पहिले नै आ–आफ्नु ठाउँ बनाउनुहोला ।
मूल लेखक– दार्शनिक ओशो
भावानुवाद– लक्ष्मी रिजाल, रूपनगर–७, प्रगतिटोल, सप्तरी
