पात्रहरू
छात्रहरू : नवीन, नरेश र निमेष
छात्राहरू : आयुषी, आभा र प्रिन्सिपल
(शिक्षक अनुपस्थित कक्षाकोठा । अघिल्ला डेक्सबेन्चहरू भाँचिएका छन् । अटेसमटेस भएर विद्यार्थीहरू पछिल्ला डेक्सबेन्चमा बसेका छन् । कक्षामा अरू खाली डेक्सबेन्च भए पनि रित्ता छन् । त्यहाँ कोही बस्न रुचाउँदैन । फराकिलो गरी बसेमा त्यहाँ कसैले हल्लाखल्ला मच्चाउन नसक्ने ठहर उनीहरूको छ ।
कक्षामा थुप्रै विद्यार्थीहरू छन् । तीमध्ये छात्रहरूमा नवीन, नरेश र निमेष अनि छात्राहरूमा आयुषी र आभामात्र बोल्छन् । उनीहरू नै आआफ्ना समूहका लिडर हुन् ।
कक्षा स्पष्टरूपमा दुई भिन्न सोचमा विभक्त छ । छात्रहरू विनाशको पक्षमा छन् । छात्राहरू निर्माणको पक्षमा छन् । छात्रहरू छात्राहरूमा भय सिर्जना गरी कक्षामा तोडफोड र हल्ला मच्चाई विद्यालय प्रशासनलाई चिढ्याउन खोज्छन् भने छात्राहरू राम्रो छाप छाडी गहन तवरले अध्ययन गर्न खोज्छन् । छात्रहरूको रवाफिलो व्यवहारले उनीहरू हैरान छन् । नराम्रो काम देखे पनि नदेखेझैँ गर्न बाध्य छन् ।)
नवीन : (साथीहरूलाई शान्त गराउने बहाना गर्दै) ल, साथीहरू हो । शान्त भएर मेरा कुरा सुन । अब हामीमात्र ६, ७ महिना यस विद्यालयमा पढ्दै छौँ । यो अवस्थालाई अनुपम बनाउनुपर्छ । नौलो इतिहास खडा गर्नुपर्छ ।
नरेश : (सही थाप्दै) एकएक कुरो अविस्मरणीय बनाउनुपर्छ । कतै तोडफोड त कतै केके तर एउटा कुरा ख्याल गर । हामीमध्ये कसैको नाम पनि सार्वजनिक हुनु हुन्न । उपद्रव त मच्चाइन्छ तर त्यो कसले भन्ने कुरा विद्यालय प्रशासनले बिल्कुलै थाहा पाउनु हुन्न । हाम्रो कक्षाभन्दा बाहिर पनि यस्ता गतिविधीहरू हामीजस्तै साथीहरूले मात्र थाहा पाउनुपर्छ, अरूहरूले पाउनु हुन्न । जो पढन्ते भएको नाटक मञ्चन गरिरहेका छन् । तिनीहरूले त पटक्कै थाहा पाउनु हुन्न ।
निमेष : कुन काम र कुरो बिगार्नुछ ? थोरथोरै सबैले बिगार्दै जाऔँ । सबैको सहभागिता हुन्छ । कुनै एउटा विद्यार्थीको नाम पनि आउँदैन । प्रशासनले कसलाई दोषी ठान्छ र ? रेष्टिकेट गर्नुपर्यो भने पनि सबैलाई गर्ने हैन ।
आयुषी : हामीलाई के सुनाउँछौ त ?
नवीन : तिमीहरूको सहयोगविना हामी भयग्रस्त हुन्छौँ । नाम तिमीहरूको पनि हुनुपर्छ ।
नरेश : हो, बाधक यी गर्लहरू छन् । बिगार्ने, भत्काउने काम पनि गर्दैनन् । जसलाई पनि सही सूचना दिन पनि भुल्दैनन् ।
निमेष : संसारलाई जोड्नेभन्दा फोर्ने धेरै छन् भन्ने कुराको हेक्का त यिनीहरूलाई पनि हुनुपर्ने हो ।
आयुषी : छ, छ । सब कुरो थाहा छ । एउटा कुरा बुझ, आमाबुबामा जस्तो आदर्श छ त्यसको धेरै अंश छोराछोरीमा हुन्छ । हाम्रा आमाबुबामा त्यस्तो विध्वंशको नीति छैन । त्यसैले हामी कुनै विध्वंसात्मक कार्यमा संलग्न हुने कुरै आउँदैन ।
आभा : ‘खतिको बेलामा मति आउँदैन’ भन्छन् । मलाई त लागिरहेछ, अहिलेसम्म हामी कतै बदनाम भएका थिएनौँ । अब भने बदनाम हुने भयौँ । हामीलाई नराम्रो काममा नमुछ । बरु तिमीहरू पनि ठीक सोच राख । यो विद्या प्राप्त गर्ने ठाउँ हो । विध्वंस मच्चाउने ठाउँ होइन ।
नवीन : केटीहरूलाई सुख भयो भने मात्तिन्छन् रे । तिमीहरूलाई बडो श्रद्धाका साथ हामीहरूले हेर्दिनाले त हेप्दै छौ ।
नरेश : (छात्राहरूप्रति आक्रोशित हुँदै) एइ गर्लहरू, हाम्रो षडयन्त्र र कामकुरोको पर्दाफास गर्यौ भने तिमीहरू एकएकलाई छाडिने छैन । तिमीहरूको भलो यसैमा हुन्छ, यही ठान कि मसँग खराब कामकुरो सुन्ने कान छैन, मसँग खराब काम भएको हेर्ने आँखा छैन र मसँग खराब कामकुरोको भेद खोल्ने मुख छैन ।
निमेष : आफ्नो भलो भएको ठान्छौ भने उत्पात मच्चाउन हामीलाई मद्दत गर्नुपर्छ । (छात्राहरू डराउँछन् । कानेखुसी गर्छन् । छात्रहरूको क्रियाकलाप हेर्छन् र दिक्क हुन्छन् ।)
आयुषी : (वाक्क हुँदै) हामी अघिल्लतिर बसेका छौँ । पछिल्लतिर तिमीहरू के भन्छौ र के गर्छौ हामीलाई केही थाहा हुन्न । हाम्रो भनाइ मान्ने होइनौ । जे मन लाग्छ गर । हामी पोल पनि खोल्दैनौँ ।
नरेश : तिम्रो कुरो पनि ठीकै छ । थोरै भए पनि तिमीहरू बेन्च हल्लाओ, हामी तोड्छौ । नाम तिमीहरूको काम हामीहरूको ।
आयुषी : हेर, बिगार्न सजिलो छ, तर बनाउन गाह्रो छ । हामी छात्राहरू निर्माणको पक्षमा उभिन्छौँ जहिले पनि । हाम्रो भावना र विचार तिमीहरूलाई पच्दैन भन्ने हामी जान्दछौँ । हामीचाहिँ तिमीहरूको साथमा छैनौँ । र, विरोधमा उत्रन पनि चाहदैनौँ ।
नवीन : (व्यङ्गयात्मक भावले) उसो भए ठीकै छ । हामी स्कुलतिरै अलमलिन्छौँ । सरहरूसित वातचित वा त्यस्तै कुनै वाहनामा रहन्छौँ । तिमीहरू घर जाँदा बाटामा हाम्राबाहिरका साथीहरूले तिमीहरूलाई के गर्छन् । त्यो जिम्मा तिमीहरूकै हो । हामीलाई मुछ्ने आधार तिमीहरूसँग हुन्न ।
आयुषी : (भयभीत हुँदै) हामी छात्राहरूले के विराएका छौँ र ? हामी तिमीहरूको विरोधमा पनि छैनौँ र विद्यालय प्रशासनको समर्थनमा पनि छैनौँ । हामी तटस्थ भएर बस्न पनि नपाउने ? हाम्रो असंलग्न नीति हुँदाहुँदै हामीलाई किन दु:ख दिन्छौ ?
नरेश : बा-बा, तिमीहरू पनि हाम्रै साथी हौ । हामी राक्षस हैनौँ । आफ्नै साथीहरूलाई त्राहीमाम बनाउन चाहदैनौँ तर प्रशासनलाई सबक सिकाउन हामीलाई तिमीहरूको साथ चाहिएको छ । समर्थन लिन गलत कदम चलाउनुपर्छ भने पनि हामी तयार छौँ भन्ने अभिप्रायमात्र हाम्रो हो । गलत काम गर्नेलाई सही कामको पनि ज्ञान हुन्छ । सही काम के हो, त्यो तिमीहरूले भनिरहन पर्दैन ।
आभा : हामीले देखेनौँ, हामीले सुनेनौँ भन्छौँ, हुन्न ? हामीप्रति नराम्रो विचार नराख हामी चुप हुन्छौँ ।
नवीन : ठीकै छ, तिमीहरू निम्छरा छौ । निम्छरो भावनाको कदर गर्नैपर्छ । हाम्रो भेद खोल्यौ भने हामी पनि तिमीहरूको भेद खोल्छौँ । तिमीहरू आफूलाई पनि दोषी ठान । आखिरमा हाम्रो त एउटै मत छ: विग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर ?
निमेष : यो हामी पढ्ने गरेको स्कुल प्राइभेट हो । हाम्रा बुवाआमाको पैसाले स्कुल मोटायो । यहाँ काम गर्ने शिक्षक, कर्मचारीहरूचाहिँ दिनानुदिन दुब्लाउँदै गएका छन् रे । स्कुलले धेरै गरे हामीलाई घोकाउँछ, रटाउँछ र दुई, चार अक्षर जान्ने बनाउँछ । एस.एल.सी. परीक्षामा हामीबाटै पैसा असुलेर सुप्रिटेनडेण्टलाई किन्छ । हामीलाई चिठ चोर्न सिकाउँछ । भनौँ नि चोर्न लगाउँछ । हामी डिस्टिङ्गशन ल्याइहाल्छौँ । बुवाआमा खुसीले गद्गद बन्छन् । हामी पनि मक्ख पर्र्र्छौँ । यदि संस्थापकहरू आर्थिक र बौद्धिक दुवै खाले शोषण गर्छन् भने कम्तीमा हामी पनि आर्थिक क्षति त गरौँ न ।
आभा : शोषितलाई न्याय दिलाउने यो काइदा होइन । मुखैले यसो नगर्नुस् भन्दा भइगयो नि । हामी पढाइएकै छौँ । अरू परीक्षामा चोर्न दिइएको पनि छैन । चोर्नु जीवनकै ठूलो भुल हो भन्ने अवधारणा दिलाइएकै छ । जस्तो देश उस्तै भेषमात्र गरिएको हो एस.एल.सी. परीक्षामा । चोर्नै पर्ने बाध्यता छैन । आफ्नो प्रतिभा देखाउन चाहनेले देखाएकै छन् । दोष स्कुलको छैन ।
नरेश : अँ, हामीलाई सुविधा पनि दिँदैन । मात्र पैसा असुल गर्न जान्दछ । कुरा निकाल्यो भने व्यवस्था हुँदैछ भन्छ ।
निमेष : लोडसेडिङ्गले गर्दा कम्प्युटर प्राक्टिकल नभएको रे । पैसा लिन जानेपछि जेनेटरको व्यवस्था गर्नुपर्ने । कि नसक्नेले पैसा नै नलिनू नि । हामी किन असन्तोष पोख्थ्यौँ ।
नवीन : साइन्स प्राक्टिकल नभएको पनि कति महिना भयो । दुई, चार ओटा सामान भएर कहीँ हुन्छ । सकिएका सामान ल्याउँछु भनेको पनि चार महिना भइसक्यो ।
नरेश : खेलकुदका लागि पैसा लिएको छ । न कहिले खेलाइन्छ । सरहरूलाई भन्दा सामग्री नै छैन, ल्याएपछि खेलाउँछौँ भन्नुहुन्छ । उहाँहरू त शैक्षिक श्रमिक न हो । स्कुलले जे भन्छ त्यही गर्नुहुन्छ ।
निमेष : राम्रो तलबसुविधा दिनसक्दैन । सके पनि चाहदैन । अनि अनुभवी शिक्षकहरू सबै एकएक गर्दै निस्कदै जान्छन् । बिल्कुलै आलाकाँचा नयाँ शिक्षक आउँछन् । यहाँको रीतिथिति बुझ्न उनीहरूलाई मनग्य दिन लाग्छ । अनुभव लिइसकेपछि आफ्नो बाटो तय गरिहाल्छन् ।
नवीन : तिमीहरूलाई थाहा छ ? एकदिन मेरो बुवाले संस्थापकलाई यही कुराभन्दा के जवाफ पाउनुभएछ भने यी प्राइभेट बोर्डिङ स्कुलहरू रेलको प्लेटफर्म हुन रे । सरहरू यात्री हुन् रे । यहाँ केही समय रुक्छन् रे । रेल आउना साथ माया मारेर जान्छन् रे तर सबै खाले सुविधा दिए किन जान्थे अन्यत्र । विचार नै गलत छ ।
नरेश : शोषण प्रवृत्ति हावी भएपछि केके सुन्नुपर्छ, पर्छ । अँ जे होस्, होस् ।
नवीन : मेरो बुवालाई यस्तो कुरा सुनाउँदा तोडफोड गर्देओ न स्कुलसिस्कुल अनि व्यवस्था आफैँ गर्छ भन्नुहुन्छ । अर्थोकका लागि म छु । पछि जे पर्छ, पर्छ ।
आयुषी : त्यसो गर्नु जीवनकै भुल हुन्छ । हामीलाई मन नपरे स्कुल छाडेर जाँदा भइहाल्यो नि । फेरि धनको नास गरेर के फाइदा ? के हामी नासिएको धन पाउँछौँ त ?
निमेष : मनमा आनन्द त आउँछ ।
आभा : राम्रो विचार मनमा ल्याए आनन्द आइहाल्छ नि । तोडफोडले पनि कहीँ आनन्द दिन्छ र ?
नवीन : एकपटक सरिक भएर त हेर । अनि थाहा पाउली ।
नरेश : अँ जोखाना के हेर्नू । यी आदर्शका कुरा थोत्रा भइसके । अब माँग पूरा गराउँन तोडफोड गर्नैपर्छ । डेक्सबेन्च तोडौँ, झ्यालस्याल फोडौँ । स्कुललाई खच्र्याऔँ । अनि बल्ल चेत्छ । (सबै छात्रहरू होहल्लाका साथ तोडफोडमा उत्रिन्छन् । क्षणभरमै कक्षाकोठाको अवस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ । खबर प्रिन्सिपलकहाँ पुग्छ । उनी आइपुग्छन् । कक्षाकोठामा सन्नाटा छाउँछ ।)
प्रिन्सिपल : (व्यवस्थित कक्षाकोठाको अवस्था लथालिङ्ग र भताभुङ्ग देखेर आक्रोशित हुँदै) ए नरेश, भन् यो उपद्रो कसले गर्यो ?
नरेश : (टाउको निहुर्याएर) खै कुन्नि, कसले गर्यो ? मलाई थाहा भएन ।
प्रिन्सिपल : थाहा भएन भन्न कति सजिलो छ ? (झन् आक्रोशित हुँदै) भन आयुषी, यो कसले र किन गर्यो ? आखिरमा तिमीहरू के चाहन्छौँ ?
आयुषी : हामी अघिल्तिर बसेका छौँ । हामीले केही पनि गरेका छैनौँ । कसले के गर्यो हामीले देखेनौँ । आवाजमात्र सुन्यौँ, सर । म त झन् लेख्नमा व्यस्त थिएँ । त्यतातिर ध्यान नै दिइन ।
प्रिन्सिपल : (आश्चर्यचकित हुँदै) जसका मुखबाट आजसम्म असत्य कुरा सुनिएको थिएन । आज सुन्नुपर्यो । आखिरमा यस स्कुलले त्यस्तो के अपराध गर्यो त ? किन यस्तो सजाय भोग्दै छ । दुईचार दिन एउटा विषयको शिक्षक नहुँदा यस्तो अनिष्ट निम्त्याइहाल्नु पर्दैनथ्यो । भन, कोको केके भन्न चाहन्छौ ? मन खोलेर भन तर यस्तो दुष्ट व्यवहार देखाएर हाम्रो धन र प्रतिष्ठामा आँच पुर्याउने कामचाहिँ बन्दै नगर । (केही बेर कोही बोल्दैनन् । सबै मुखामुख गर्छन् ।) जसलाई ज्ञान दिएर यस्तो अवस्थामा ल्यायौँ उनीहरूबाटै स्कुललाई क्षति पुग्ने काम हुँदा हामीले नै ज्ञान दिँन कन्जुस्याइँ गरेछौँ भनेर चित्त बुझाउनुको विकल्प मसँग छैन ।
नवीन : (उठेर शान्त मुद्रामा) सर, हामीलाई सामाजिक शिक्षा विषय पढाउने सर तुरुन्तको तु चाहियो, एक । हामीले खेलकुदमा भाग लिन पाउनु पर्यो, खेलकुदका सामग्रीहरू पर्याप्त रूपमा उपलब्ध हुनुपर्यो, दुई । हाम्रो विज्ञानप्रयोगशाला नाममात्रको छ, कुनै गतिला सामान छैनन्, साइन्स प्राक्टिकल हुनुपर्यो, तीन । र चौथोमा फिस लिइन्छ तर कम्प्युटर प्राक्टिकल गराइन्न । पैसा लिएपछि जेनेटरको व्यवस्था गरेर भए पनि कम्प्युटर प्राक्टिकल गराइनुपर्यो, चार । यति चार माँग पूरा गर्दिएमात्र हामी हाम्रो आन्दोलन रोक्छौँ नत्र यस आन्दोलनलाई हामी ऐतिहासिक नबनाई छाड्दैनौँ ।
सबैजसो विद्यार्थीहरू: (एकै स्वरमा) हो, हो ठीक हो । नवीनको कुरो ठीक हो ।
प्रिन्सिपल : हेर, शिक्षक आउँछ, जान्छ । आएर जानेलाई रोक्न सकिन्न । फेरि शिक्षक भनेको बजारको सागपात होइन । भनेकै बेला पाइने होइन । क्षमतावान् शिक्षक अनमोल हुन्छ । पाउन मुस्किल हुन्छ । म कोसिस गरिरहेको थिएँ । (रिसाउँदै) तिमीहरूको यस्तो क्रियाकलापले म विचलित भएँ । अब म आफ्नै तवरले हिँड्छु । (झोँकिदै बाहिरिने तरखरमा हुन्छन् ।)
नेपथ्यबाट कडा आवाज आउँछ : हामी एक छौँ । हाम्रा माँग पूरा होऊन् । नत्र हामी के गर्छौँ धोषणा नगरीकनै गर्छौँ । (यस कुराले गर्दा प्रिन्सिपल अडिन्छन् र पुन: कक्षाकोठामा प्रवेश गर्छन् ।)
प्रिन्सिपल : (बिस्तारै सहज भावमा तर क्रोधीरूपमा) ए, उसो भए यस स्कुललाई राजनीतिको अखडा बनाउने सोच छ, तिमीहरूको ? तिमीहरूको यस्तो सोच असफल हुनेछ । (केही ठूला आँखा पारेर) के सोच्छौ आफूलाई ? स्कुलले तिमीहरूको के विगार गरिदियो ? किन मात चढिरहेछ तिमीहरूको दिमागमा । शिक्षक आउँछ तर स्कुलले मूल्याङ्कन गरेर आउँछ । उसलाई सुविधा दिन्छ तर जस्तो आम्दानी छ त्यस्तै दिन्छ । अभिभावकबाट जस्तो सुविधा लिएको छ त्यस्तै सेवा दिन्छ । सारा देश लोडसेडिङ्गले आक्रान्त भएको बेलामा कसरी स्कुलले निरन्तर रूपमा कम्प्युटर ल्याबको सुविधा उपलब्ध गराउन सक्छ । बिजुली भएको बेलामा उपलब्ध गराएकै छ । यति धेरै…..। (त्यतिकैमा भाइस प्रिन्सिपलको प्रवेश हुन्छ र प्रिन्सिपलसँगबाहिर आउन सङ्केत गर्छन् । दुवैजना एकक्षण कानेखुसी गर्छन् । एकाएक प्रिन्सिपल प्रसन्न देखिन्छन् । उनको प्रसन्नता प्राकृतिकताभन्दा कृतिमता बढी भएको स्पष्ट झलक मिल्दछ ।) अँ म भन्दै थिएँ । भोलिदेखि नवनिता मिस तिमीहरूलाई सामाजिक शिक्षा पढाउन आउँदै हुनुहुन्छ । (विद्यार्थीहरू खासखुस गर्छन् । सामान्य हल्ला फिँजिन्छ ।)
नवीन : सर, उहाँलाई पढाउन आउँदैन । हामीलाई अर्कै सर चाहिन्छ । (प्रिन्सिपल चारैतिर हेर्छन् । त्यतिकैमा भाइस प्रिन्सिपल सानो चिठ दिन्छन् । प्रिन्सिपल पढ्छन् ।)
प्रिन्सिपल : ल त्यसो भन्छौ भने सुन । आजैदेखि भलिबल खेल्ने समय दिन्छौँ । मर्यादित भएर खेल । क्रिकेट खेलका सामग्री पनि जुटाई दिन्छौँ । मर्यादित भएर खेल । कम्प्युटर ल्यावको समस्या चाँडै निदान हुन्छ । सिर्फ दुई हप्ता लाग्छ । दुई महिनाभित्र साइन्स ल्याव व्यवस्थित हुनेछ र भोलिदेखि नै तिमीहरूकै ज्यादै पुराना साकेस सर सामाजिक शिक्षा पढाउन आउनुहुन्छ, कुरो बुझ्यौ ? (विद्यार्थीहरूमा एक्कासि खुशियाली छाउँछ । कक्षामा फैलिएको त्यो खुशियाली हेर्न लायकको हुन्छ ।)
नवीन : उसो भए सर, अहिले हामी भलिबल खेल्न जाऔँ त ?
(जाओ भन्ने सङ्केतस्वरूप प्रिन्सिपल मुन्टो हल्लाउँछन् । विद्यार्थी बिस्तारै मैदानतर्फ लाग्छन् । पर्दा बिस्तारै खस्छ ।)

नन्दलाल आचार्य
तपेश्वरी-१, गल्फडिया, उदयपुर
हाल: लिट्ल फ्लावर मा.वि., राजविराज-९, सप्तरी

(२०६५/०६/१२)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *