Skip to content


श्रावण २५, २०७० –
डा. ध्रुवचन्द्र गौतम नेपाली आख्यानमा सिद्धहस्त नाम हो । कथामा होस् या उपन्यासमा विशेषतः प्रयोगको शैली स्थापित गर्ने उनी एक अग्रणी कलमजीवी हुन् । पहिलो उपन्यास ‘अन्त्यपछि’ नै एउटा नौलो प्रयोग थियो । त्यसपछिका चर्चित ‘डापी’देखि समीक्ष्य उपन्यास ‘एक पुनर्निर्मित प्रेमाख्यान’सम्म आइपुग्दा उनले आफ्ना उपन्यासहरूमा फरक फरक विषय र भावभूमिमा धेरै प्रकारका प्रयोगहरू गरेका छन् ।

कहिलेकाहीँ हामी कनीकुथी लेख्न प्रयत्नरत व्यक्तिलाई पनि लाग्छ- गौतमले वर्ष नबिराई कसरी उपन्यास लेख्न सकेका होलान् । तर हामीले आश्चर्य मानेर के हुन्छ र ? उनी हरेक वर्ष नेपाली आख्यान क्षेत्रलाई गर्भिणी पार्छन् र नवजात स्वस्थ उपन्यास-शिशु जन्माउँछन् । त्यसैले उनलाई आख्यान-पुरुषको संज्ञा नै दिइएको छ ।

प्रयोग तर सरल भाषामा, उनको विशेषता हो । प्रायः हरेक लेखकले आफूले भोगेका, अनुभव गरेका र सुनेका विषयमै कमल चलाउने हुन् । यसैमा आख्यानको खाका बुनिने पनि हो । धेरैजसो औपन्यासिक कृतिहरूमा पूर्ण यथार्थ नभए पनि पात्र र घटना प्रायः वास्तविक हुन्छन् । यस्तोमा कृतिलाई आकर्षक बनाउन र आकार बढाउन कल्पनात्मक सिँगारपटार गरिन्छ । उनले यही सिद्धान्तमा ‘डापी’ र ‘अलिखित’जस्ता उपन्यासलाई सिँगारेका छन् । यी दुई कृतिका बीचमा जन्मेका हरेक उपन्यास र कथाहरूमा पनि उनले नौलो प्रयोग नै गरेका छन् । अझ ‘अलिखित’ त नेपाली उपन्यास विधामै प्रयोगको एउटा बेजोड नमुना नै सिद्ध भएको छ । ध्रुवचन्द्र गौतमको स्वभाव के हो भने उनी मुख र कलमले कसैलाई बिझाउँदैनन् । कसैको संस्मरण लेख्नुपर्‍यो भने पनि उनी त्यस व्यक्तिको गुण-बखान मात्र गर्छन्, कमजोरी या आलोचनात्मक पक्षलाई छुँदै छुँदैनन् । त्यसैले उनलाई भद्र लेखकका रूपमा पनि स्विकारिन्छ । तर उनका मनमा पनि लाग्दो हो, यस्ता कुरालाई लिपिबद्ध गरिनुपर्छ । त्यसैले उनले प्रयोगको अर्को पाटो समाते । समाते पनि के भन्नु, उनले नयाँ पाटो उद्घाटित गरे- अनुभवन्यासमार्फत । आफूले प्रत्यक्ष भोगेका घटना र पात्रहरूलाई उनले अनुभवन्यासमा ठ्याक्कै उतारेका छन् । ‘बाढी’ र ‘घुर्मी’ यस प्रयोगधारामा जन्मेका अनुपम उपन्यास हुन् ।

उनको पछिल्लो उपन्यास ‘एक पुनर्निर्मित प्रेमाख्यान’ त नितान्त प्रयोग हो । यो सिङ्गो उपन्यासभरि उनले झन्डै ९० प्रतिशत भाग संवादमा लेखेका छन् । पचास वर्षअघिका घटना र परिवेशलाई यसमा उतारेका छन् । उनले यसलाई अनुभवन्यास नभने पनि यो अनुभवन्यासको निकट छजस्तो लाग्छ । सायद अनुभवन्यासभन्दा अप्ठ्यारो पर्ला कि भन्ने सोचेर होला लेखकले यसलाई उपन्यास मात्र भनेका हुन् । यसमा पुरुष पात्रका कतिपय स्वभाव र आनीबानी उपन्यासकारसँग ठ्याक्कै मेल खान्छन् । लेखकले आफ्नो यस पक्षलाई लुकाउने पटक्कै प्रयत्न गरेका छैनन् ।

त्यसो त यसमा वणिर्त नायिका शतायु पनि सक्कली लाग्छे । यसको आधार के हो भने उनको पहिलो अनुभवन्यास ‘बाढी’मा उनले जुन ‘श’को उल्लेख गरेका छन्, त्यही ‘श’ यस उपन्यासमा पूर्ण नामका साथ उपस्थित भएकी छ- शतायु । यसले ‘घुर्मी’मा लेखकले पहिलो प्रेमिका भन्ने उल्लेख गरिएकी ‘श’ कतै यही ‘एक पुनर्निर्मित प्रेमाख्यान’की शतायु त होइन ? आशंका र अनुमान गर्न बाध्य हुन्छ पाठक ।

संवादैसंवादमा एउटा सिङ्गो उपन्यास लेख्नु सजिलो कुरा होइन । उपन्यासमा उपन्यासकारले पात्र-पात्रा, पृष्ठभूमि, घटना आदिको वर्णन व्याख्यात्मक शैलीमा गर्छन् । जस्तो ः यस्तो भएको थियो, यस्तो गरेको थियो या गरेकी थिई या घटना यसरी घट्यो आदि । तर ‘एक पुनर्निर्मित प्रेमाख्यान’मा यी सारा प्रसंगहरू संवादमा हुन्छन् । कुनै नाटक या चलचित्रको संवाद पढेजस्तो अनुभूति हुन्छ उपन्यास पढुन्जेल । यहाँ उनको नाटककारको छवि बढी प्रवल भएको देखिन्छ ।

डा.गौतमले यस उपन्यासमा संवादको कतिसम्म सटीक प्रयोग गरेका छन् भने उपन्यासकी नायिका अर्थात् लेखककी पूर्वप्रेमिकासँग लामो कालखण्डपछि भेट हुँदा गरेको रतिक्रियाको वर्णन पनि संवादमै हुन्छ । यो बढो घतलाग्दो र कामोत्जनक प्रसंग छ । र, यही प्रसङ्गमा पुगेर डा. गौतमको यो उपन्यास अलि हल्का भएको जस्तो लाग्छ । यद्यपि यो पनि प्रयोग नै हो । किनभने सम्पूर्ण उपन्यासको खाका नै संवादमा बुनिएकाले यो एउटा प्रसङ्ग मात्र किन व्याख्यात्मक शैलीमा प्रस्तुत गर्ने भन्ने लेखकलाई लाग्यो होला । कसैकसैले यसलाई यस खण्डले उत्तेजना पनि उत्पादन गर्न सक्छ र कसैकसैलाई अलि बढी नै भयो कि भन्ने अनुभूति पनि हुन सक्छ । तर सम्पूर्ण उपन्यास नै संवादशैलीमा लेखिएकाले कुर्कुरे बैँसालुहरूलाई यस खण्डमा वणिर्त संवादले निश्चय नै राम्रो खुराक प्रदान गर्न सक्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

विषयवस्तुका दृष्टिले अलिअलि राजनीतिको मिसावटबाहेक सम्पूर्ण उपन्यास प्रेम-प्रणयमा सीमित छ, त्यो पनि खालि दुई पात्रहरूबीचमा भएको । उमेरले यसै वर्ष ७० टेकेका लेखकले पचास वर्षअघि अर्थात् आफू २० वर्षको पट्ठो युवक हुँदाको विगतलाई उधिनेर उपन्यास लेखेका छन् । यसबाट त्यस कालखण्डका विभिन्न प्रसङ्गहरूको पनि छनक पाउन सकिन्छ । त्यसैले यसलाई डा. गौतमको नितान्त नौलो प्रयोग भन्न सकिन्छ ।

अब आउँछ उपन्यासको स्तर या गुणवत्ताको कुरा । यसमा दुईवटा कुरा हुन सक्छन् । पहिलो, प्रेम र युद्धमा सब कुरा ‘जायज’ हुन्छ भन्ने मान्यतालाई आधार मान्ने हो भने यो उपन्यास प्रेम-प्रसङ्गमै बुनिएकाले अतिशयोक्ति मान्नुपर्ने ठाउँ छैन । उनले प्रेममा हुने हरेक ‘जायज’ कुराको फाइदा उठाएका छन्, ‘एक पुनर्निर्मित प्रेमाख्यान’ मा । त्यसमा कामवासना पनि पर्छ । यस मान्यताको धरातलमा उभिएर भन्नुपर्दा यो उपन्यास पूर्ण ‘जायज’ छ । दोस्रो कुरा, यदि प्रेममा सबै कुरा जायज हुँदाहुँदै पनि प्रेमी-प्रेमिकाबीच ओछ्यानमा हुने घटनालाई सङ्केतमा मात्र वर्णन गर्नुपर्छ भन्ने मान्यतालाई स्विकार्ने हो भने त्यो एउटा प्रसङ्ग अलि बढी नै भएको भान पर्छ । तर, यो निर्णय गर्ने अधिकार त उपन्यासकारको हो । प्रेममा प्रेमी-प्रेमिकाले झैँ लेखनमा पनि त लेखकले सबै कुराको छुट त पाउँछ नै । डा. गैतमले ‘एक पुनर्निर्मित प्रेमाख्यान’ मा यही छुटको प्रयोग गर्दै प्रेमका सबै सीमाहरू भत्काएका छन् । कुरा यति हो ।

कान्तिपुर कोसेली
प्रकाशित मिति: २०७० श्रावण २६ १०:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *