Skip to content


आख्यानकार नयनराज पाण्डेले डेढ दशकअघि ‘उलार’ उपन्यास मार्फत प्रस्तुत गरेको नेपाली राजनीतिको एउटा व्यङ्ग्यचित्र निकै प्रशंसित भएको थियो। उनको कथासङ्ग्रह ‘चकलेट’ पनि विसङ्गत राजनीतिक वृत्तमा घुमेको छ। पूर्वप्रकाशित २७ कथा समाविष्ट यो सङ्ग्रहलाई राजनीतिक कथा संगालो भन्न सकिन्छ। सबै कथा वेगवान गतिमा अघि बढेका छन् र केही न केही सार्थक सन्देश दिएर टुङ्गिएका छन्। कथाहरू छोटा छन्। विषयले गति लिंदै गर्दा कथा सकिन्छ र पाठकको धित मर्दैन।
‘चकलेट’का सबै कथा उत्कृष्ट छन् भन्ने होइन, तर उतिसारो कमजोर पनि छैनन्। साले बलबीरे, निदाएँ जगदम्बा, हिटलर, भिडन्त, रेड वाइन, सुकुमेल, हे नर्मदे लगायतका कथा पढेपछि पाठक विस्मित हुन्छन्। किनकि, पाठकले यी कथाका पात्रहरूमा आफैं वा आफ्ना चिनजानका मान्छेहरू पाउँछन्। नेपाली कथाको संसारमा पाण्डेलाई कुशल कथाकारका रूपमा स्थापित गर्न यी कथा पर्याप्त छन्। पाण्डेका कथाले विश्वविख्यात कथाकार सआदत हसन मन्टोका भनाइलाई चरितार्थ गरेका छन्। मन्टोले भनेका छन्– ‘म त्यो संस्कृति र सभ्यतालाई किन नङ्ग्याउँ, जो आफैं नाङ्गो छ। म त्यसलाई लुगा लगाइदिने प्रयत्न पनि गर्दिनँ।’

पाण्डेले राजनीतिक पाखण्ड, केन्द्रमुखी शासनसत्ता र शहरको संवेदनहीनतामाथि कडा प्रहार गरेका छन्। केही कथामा आञ्चलिकताको स्वाद छ। कथाका विषय खोज्न उतिसारो माथापच्चिसी नगर्ने पाण्डेले मामूली जस्ता लाग्ने विषयलाई कलात्मक लेप दिएर रोचक र गम्भीर बनाएका छन्। अखबारी शैलीका छोटा वाक्य संरचनाले कथालाई आकर्षक बनाएको छ। पाण्डे चलचित्र लेखक पनि भएकाले कथाहरू दृश्यमय छन्। केही कथालाई भने ज्यादा ‘फिल्मीपन’ले कम विश्वसनीय बनाएको छ। चकलेट, रावण र पोशाक कथा शीर्षकलाई पुष्टि गर्ने प्रयत्नको शिकार बनेका छन्। अधिकांश कथा प्रतीकात्मक र व्यङ्ग्यात्मक शैलीमा लेखिएका हुनाले विषयज्ञान नभएका पाठकलाई बुझ्न कठिनाइ हुन सक्छ। हरेक कथा निराशा र अनिश्चयमा टुङ्गिएका छन्। राजनीतिक बेइमानीको शिकार बनेका निम्नमध्यम र मध्यमवर्गीय विवश पात्रहरू जान्नेबुझ्ने भनिएकाहरूबाट पीडित छन्।

चकलेट
लेखकः नयनराज पाण्डे
प्रकाशकः साङ्ग्रिला बुक्स
मूल्यः रु.२५०, पृष्ठः १६६

हिमाल खबरपत्रिका
२ भदौ २०७०
18 August 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *