नेपाली लेखक तथा इतिहासकारहरूले सन् १८१४–१८१६ को नेपाल–कम्पनी युद्धबारे १०० वर्षपछि मात्र लेख्न शुरू गरे। युद्धकालमा आदान–प्रदान भएका चिठ्ठी–पत्र, रिपोर्टिङ, दस्तावेज र अरू ऐतिहासिक विवरणहरू दुवै पक्षसँग धेरथोर सुरक्षित थिए। त्यसैका आधारमा विभिन्न अनुसन्धानमूलक कामहरू भए र हुँदैछन्, तर किंवदन्ती अनि आग्रह–पूर्वाग्रहले भरिएका कथाहरू पनि उत्तिकै प्रचलित रहिरहे।

गोर्खाली वीरताका ती कथाहरू २०० वर्षदेखि नेपाली राष्ट्रियताको पर्यायको रूपमा नेपाली मानसमा रह्यो। पाठ्यपुस्तकले यो धारणालाई अमिट बनायो। यसरी लेखिएका वा व्याख्या गरिएका कतिपय ऐतिहासिक सामग्रीहरू अपुरो, अस्पष्ट तथा त्रुटिपूर्ण थिए। केही इतिहासकारहरूले त्यो महसूस गरेर ऐतिहासिक घटनाक्रमको पुनर्व्याख्या तथा संशोधनको प्रस्ताव सहित काम थाले। उनीहरूले यसरी धेरै महत्वपूर्ण व्याख्याहरू सार्वजनिक गरे पनि कैयौं अपव्याख्या पनि चलिरहेकै छ।

संशोधन मण्डल

नेपालमा पढिने–पढाइने र चर्चामा रहेका इतिहासका सामग्रीमा खोट देखेर इतिहासकार तथा ज्योतिषशास्त्री नयराज पन्तले देशको ‘शुद्ध–पूर्ण इतिहास तयार गर्ने’ भन्दै १ वैशाख २०१८मा ‘संशोधन मण्डल’ स्थापना गरे। ‘विद्याको क्षेत्रमा विदेशीको अन्धानुकरण हटाउने’ उद्देश्य समेत बोकेको संशोधन मण्डलको प्रयत्न पछि नेपाली इतिहासको व्याख्यामा नयाँ आयाम थपिए। त्यसैले ल्यायो, ऐतिहासिक घटनाक्रमलाई तत्कालीन आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक पक्षसँग जोडेर विश्लेषण गर्ने चलन। युद्धको कारण र राजनीतिक, सामाजिक–आर्थिक–सांस्कृतिक सम्बन्धहरूमा त्यसले पारेको प्रभावहरूको विश्लेषण गर्ने यो अभ्यासलाई महेशचन्द्र रेग्मी, मेरी डेस चेन, प्रत्यूष वन्त आदिले पछ्याए।

विदेशी र त्यसमा पनि खास गरेर अंग्रेजहरूले लेखेको नेपाली इतिहासमा ‘कोलोनियल’ प्रभाव रहेको अनुभव गरेर पुराना चिठ्ठीपत्र, ऐतिहासिक स्तम्भ, ताम्रपत्र, इस्तिहार–आदेश आदिलाई अध्ययनको मुख्य आधार बनाउनुपर्ने तर्क गर्दै इतिहासलेखनलाई अगाडि बढाउने पुरानियामा पारसमणि प्रधान (वि.सं. १९५५–२०४२) र सूर्यविक्रम ज्ञवाली (वि.सं. १९५५–२०४२) थिए। नेपाली पाठ्यसामग्री उनीहरूको लेखनीबाट निकै प्रभावित छ। विद्यालयमा पढाइने जीवनी, नेपाल–अंग्रेज युद्धको वर्णन तथा नेपाली वीर गाथाका आधार यी दुई अग्रजका पुस्तकहरू नै हुन्भन्दा फरक पर्दैन। यद्यपि, उनीहरूको काममा मौलिक सामग्रीको प्रयोग कमै भएको देखिन्छ।

नयाँ धारको रूपमा आएको संशोधन मण्डलले नेपालभित्रका स्रोतहरूलाई इतिहासको आधार बनाउँदै एक किसिमबाट बगिरहेको संकथनलाई फरक धारमा बगाउने कोशिश गर्नुका साथै नयाँ बहसहरू पैदा गर्‍यो। संशोधन मण्डलले विदेशी स्रोतलाई पनि उपयोग गर्दै इतिहासलाई सच्यायो। नेपाल–कम्पनी युद्धबारे पूर्णिमा मासिकमा छापिएका लेखहरूमा स्थानीय स्रोतलाई मूल पाठ मानेर इतिहासको व्याख्या गरिएको छ। पूर्णिमा (वर्ष १ अंक २) को एउटा लेखमा जर्नेल भीमसेन थापा र काजी रणध्वज थापाले काजी बखतबारसिंह बस्न्यातलाई वि.सं. १८७१मा लेखेको पत्रबाट तानिएको मूल पाठको एक अंशः

“पाल्पा बुटौल तर्फ फिरंगीका पल्टन समेत आइ हाम्रा तरफका थानेदारलाई धम्की देशाइ उठाउन्या र आफ्ना थाना राषन्या काम गर्न्या डवल् गर्‍यो।”
उक्त लेखमा नेपाल दरबारले कम्पनीसँग युद्ध हुनु अगाडि सीमा क्षेत्रबाट कसरी खबरहरू लिइरहेको थियो र आन्तरिक तयारी कस्तो थियो भन्ने संकेत दिन्छ। पूर्णिमा (वर्ष १ अंक ४)मा १ मंसीर १८७१मा नालापानीबाट बलभद्र कुँवरहरूले काठमाडौंमा राजा गीर्वाणयुद्धलाई पठाएको पत्रको अंश :

“उप्रांत अघि कुइर्‍यासँग लडाई भै हटायाको ८ साहेब पर्‍याएको बिस्तार अघिका अर्जीवाट जहार भयो हो। देहरामा गै बसिरहेछ। दिनही उसको फौज षजाना तोप थपिंदैछ। उस दिनदेषी जोरीन ६ आयाको छैन।”

गोर्खाली फौजले कम्पनीको प्रारम्भिक आक्रमणहरूलाई कसरी विफल तुल्यायो भनेर जानकारी दिने युद्धको मोर्चामै खटिएका अफिसरहरूले पठाएका यस्ता विवरणहरूले नेपाली इतिहासका घटनाक्रमलाई थप स्पष्ट पार्नुको साथै अर्धसत्यहरूलाई सच्याउन सघाएको छ। यस कालखण्डका कैयौं सामग्री अँझै फेला नपरेको सन्दर्भमा यस्ता व्याख्याका लागि थप काम गर्नुपर्ने अवस्था रहे पनि युद्धसँग गाँसिएका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक वा अन्य विषयवस्तुप्रति रूचिका साथ उत्खनन् सक्रियता पनि बढेको छ।

इतिहास प्रकाशन

वंशावली, शिलालेख, हस्तलिखित सामग्री, चिठ्ठीपत्र, तमसुक आदिलाई छाड्दा १८७८ (सन् १८२१) को बाइबलदेखि २००७ सालसम्म नेपालीमा ३२ वटा इतिहासका पुस्तक प्रकाशित भएका देखिन्छन्। यिनीहरूले ‘इतिहास विधा’का सबै विशेषता नबोके पनि ‘इतिहास’का पुस्तकका रूपमा लिन सकिन्छ। तीमध्ये १९९० देखि २००७ सालबीच प्रकाशित २५ पुस्तक ‘नेपाली वीरता’सँग सम्बन्धित वा हिन्दी भाषाबाट नेपालीमा रूपान्तरित इतिहासका पाठ्यपुस्तक हुन्।

नेपाली भाषालाई भारतीय विश्वविद्यालयहरूमा समावेश गराउने अभियानमा लागेका पारसमणि प्रधान र सूर्यविक्रम ज्ञवालीले भारतका इतिहासका कैयौं सामग्री नेपालीमा अनुवाद गरे। यसक्रममा उनीहरूले कम्पनी–नेपाल युद्धको विषयमा लेखिएका सामग्रीहरूको अनुवाद गर्दै त्यसका नायकहरूको विषयमा सोधखोज पनि गरे। युद्धका खास–खास पात्रका विषयमा अंग्रेजी, बङ्गाली र हिन्दीका सामग्रीहरूलाई जस्ताको तस्तै अनुवाद गर्दा न्याय नहुने ठानेर ‘नेपालीकरण’ अभियानमा लागे, प्रधान र ज्ञवाली।

ज्ञवालीले अमरसिंह थापाः नेपालका प्रसिद्ध योद्धा र राजनीतिज्ञको जीवनचरित्र (२०००) लेख्दा बंगाली, हिन्दी वा अंग्रेजीमा उपलब्ध पुस्तक, लेख र गजेटहरूलाई आधार बनाएको देखिन्छ। यद्यपि, पुस्तकको भूमिकामा ‘अप्रकाशित कागजपत्र, शिलालेख तथा अरू अनेक प्राचीन र अर्वाचीन पुस्तकहरूका अध्ययनका आधारमा यो पुस्तक लेखिएको’ उल्लेख भए पनि ज्ञवालीले ‘स्थानीय स्रोत’ वा चिठ्ठीपत्र, शिलालेखको सूचना प्रयोग गरेको देखिंदैन।

तत्कालीन परिवेशमा भारतीय र अंग्रेजहरूले नेपाल तथा नेपालीका विषयमा लेखेका सामग्रीलाई जस्ताको तस्तै अनुवाद गर्दा ‘कोलोनियल प्रभाव’ परेको आरोप लाग्ने हुनाले अमरसिंह थापामाथिको पुस्तकको भूमिकामा ज्ञवालीले विविध अनुसन्धानलाई एकीकरण गर्नुपर्छ भनेर व्याख्या गरेका छन्।

ज्ञवालीले फरक भाषाका पुस्तक तथा लेखका आधारमा नेपालीकरण गरेका लेखनका विषयमा नीरविक्रम प्यासीको यो भनाइ अर्थपूर्ण छ– “वीर बलभद्र पुस्तकमा उहाँको ‘वीर बलभद्र’ शीर्षकको लेख साथै उहाँबाट अनूदित रायबहादुर जलधर सेनको ‘कलुङ्गाको लडाइँ’ र विश्व प्रसिद्ध वैज्ञानिक जगदीशचन्द्र बोसले नालापानीको युद्ध र त्यसमा नायक बलभद्र कुँवरलाई लिएर लेखेका लेख ‘अग्निपरीक्षा’ पनि समावेश छन्। ती दुवै लेख अनूदित भए पनि ज्ञवालीज्यूले तिनलाई यसरी प्रस्तुत गर्नुभएको छ ज्वलन्त नेपालीमा कि ती नेपाली माटोकै उपज सावित भई नेपाली माटोमै भिज्न पुगेका छन्।”

ज्ञवालीले प्रयोग गरेका सन्दर्भ सामग्रीहरू जहाँको र जसको भए पनि त्यसका आधारमा लेखिएका वा पुनर्लेखन गरिएका इतिहासका सामग्रीहरू नेपाली माटोमा भिजेर फैलिए। अंग्रेजहरूले लेखिदिएको भारतीयहरूको इतिहास भारतको पक्षमा नभएको वा पूर्वाग्रही र अपूर्ण भएको भन्ने भारतीय विद्वानहरूको तर्कसँग ज्ञवाली र प्रधान सहमत थिए। त्यही प्रभावबाट उनीहरू फरक र पूर्ण इतिहास लेखनमा अगाडि बढे। उनीहरूले नेपाल, नेपाली राजा–महाराजा, नेपालले लडेका युद्ध तथा त्यसका विरहरूका विषयमा लेखेर पत्रिकामा छपाउने र पुस्तकका रूपमा प्रकाशित गर्ने काम थाले।

कम्पनी र इतिहासको यथार्थ

‘इष्ट इन्डिया कम्पनी’सँग पाँच मोर्चा (मोरङ–विजयपुर क्षेत्र, बारा–पर्सा–मकवानपुर, बुटवल–स्युराज, कुमाउँ र गढवाल क्षेत्र)मा लडेको नेपाल दुई ठाउँमा मात्र पराजीत भएको थियो। सुदूरपश्चिममा पराजीत कुमाउँ र गढवाल क्षेत्रको एउटा किल्ला नालापानीमा बलभद्र कुँवर सरदार थिए। अंग्रेजहरूले उनलाई वीरको रूपमा प्रस्तुत गर्दा नहारेका नेपाली योद्धाहरू नेपाली इतिहासको पाठ्यसामग्रीबाट हराउँछन्। त्यसैले हो, ‘संशोधन मण्डल’ले नेपाली इतिहासलाई अपुरो मानेको।

नेपाली भाषाका पुस्तकहरूमा नेपाली ‘जाति’ को अवधारणा देखा पर्नुअघि हिन्दीका तत्कालीन विद्वानहरूले ‘राष्ट्र’ र ‘जाति’ शब्द चलाइसकेका थिए। बङ्गालमा सन् १८८० तिरै बंगाली जातीय इतिहास लेखिनुपर्नेमा आवाजहरू उठिसकेको थियो। बंकिमचन्द्रको प्रसिद्ध भनाइ आयो– ‘हाम्रो इतिहास छैन, हाम्रो इतिहास हुनैपर्छ।’ यो भनाइले विगत सम्झ्ने र आफैं लेख्ने परम्परा स्थापित गरायो। बंगालको राजधानी कलकत्तामा पढेका पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली लगायतका नेपालीहरू त्यसबाट प्रभावित नहुने कुरै भएन। उता बनारसमा पनि हिन्दी र हिन्दू जातीय इतिहासको कुरा जोडतोडले उठेको थियो।

इतिहासलेखनको प्रकृयामा फरक–फरक स्रोत सामग्रीबाट फरक व्याख्या आउँछ। नेपाल–कम्पनी युद्धको परिप्रेक्ष्यमा कम्पनीका कमान्डरले आफ्ना हाकीमलाई दिएको विवरण वा नेपाली सेनापतिले काठमाडौं पठाएको विवरण दुवै इतिहासलेखनका महत्वपूर्ण आधार हुन्। नेपालको इतिहासमा ब्रिटिशहरूले वीर भनिदिएको वा मानिदिएका भरमा नेपालीहरूले वीरताको गाथा गाउनु र अन्य जानकारी खोज्न नसक्नु वा नचाहनु आफैंमा आफ्नो इतिहासप्रति जानकार नहुनु वा अपव्याख्यालाई मान्नु हो।

गोर्खा–कम्पनी युद्ध हुँदा भारतमा ब्रिटिश सरकारको औपचारिक शासन थिएन। अहिले त ब्रिटिश साम्राज्य नै खुम्चिएर निकै सानो भइसकेको छ। स्कट्ल्याण्डले समेत ग्रेट ब्रिटेन अन्तर्गत रहने कि नरहने भन्ने विषयमा जनमत संग्रह गर्ने तयारी गरिरहेको सन्दर्भमा नेपालले अंग्रेजहरूसँग युद्ध लडेको थियो भनेर गर्व गर्नुभन्दा २०० वर्ष पुरानो युद्धले जन्माएको सामाजिक, आर्थिक, क्षेत्रीय वा राष्ट्रियताका संकथनका विविध पाटाहरू केलाउनु बढी बुद्धिमानीपूर्ण हुन्छ। जोन पेम्बलले ब्रिटिश अभिलेखालयका अभिलेखहरू अपुरो रहेको तथ्य सार्वजनिक गरिरहेको सन्दर्भमा हाम्रो इतिहास अपुरो छ भन्नेतर्फ सचेत हुनैपर्छ। बनाउन वा देखाउनका लागि मात्र लेखिएको इतिहासमा यथार्थ हुँदैन। हाम्रा इतिहासका केही घटनाक्रमहरूको वर्णन वा व्याख्याले त्यही सङ्केत गरेका छन्।

(मार्टिन चौतारीमा आयोजित ‘क्रमभङ्गता र संभार’ शीर्षकको कार्यशालामा प्रस्तुत कार्यपत्रको संपादित अंश।)

हिमाल खबरपत्रिका
७ पुस २०७०
22 December 2013

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *