Skip to content


संबिधानसभा निर्वाचनको मत परिणाम हेर्न विशेष व्यवस्था मिलाइएको छ। गाउँबीचको झ्गडिया चौरमा ठूलो टेलिभिजन अघिल्तिर रातो, नीलो र कालो त्रिपाल ओछ्याइएको छ। एकातिर देशी–विदेशी पत्रकार/पर्यवेक्षकलाई ठाउँ छुट्याइएको छ।

“हाम्रा अदक्षे कमरेडले भनेको, ७० प्रतिशतले मतदान गरेको यो चुनाव शान्तिपूर्ण र निष्पक्ष भयो रे! चुनाव सफल पार्ने सबैलाई बधाई नि दिएछन्”, नीलो त्रिपालका कालो सूटधारी घोप्टे जुँगावालले कुम हल्लाउँदै भने, “तिमेर्को बहिष्कार, इस्!”

“चुनावमा भाग नलिइकनै जनताले हाम्लाई जिताइसके भन्नुस्। भोट नहाल्ने ३० प्रतिशत, विदेश गएका ३५ लाख, मतदाता नामावलीमा नाम नलेखाउने ५० लाखले हामीलाई भोट हालिसके, मान्नुस्” रातो त्रिपालका पाका अगुवा जङ्गिए, “तिमेरु सबैका जोड्दा पनि हाम्रो जति पुग्दैन।”

त्यत्ति नै वेला घोप्टे जुँगावालको गौरवशाली पार्टीले चुनावमा धाँधली भएको भन्दै मतगणना बहिष्कारको घोषणा गरेको ब्रेकिङ्ग न्यूज आयो। जुँगावाल च्याँट्ठिए, “हामीलाई मत नदिने नेपाली जनता हुन सक्दैनन्। मतपेटिका साटियो।” राता कार्पेटकाहरू खुच्चिङ शैलीमा खिस्खिस् हाँस्न थालेपछि नीलो त्रिपालका गम्छाधारीले मुख खोले, “के छभन्दा खेरी, हामी सबैले जनादेशको सम्मान गर्नुपर्छ।”

तर, मतगणना अघि बढ्दै जाँदा गम्छाधारी पनि छटपट–छटपट गर्न थाले। हेर्दाहेर्दै उनका उम्मेदवारहरूको नाम स्त्रि्कनमा देखिन छाड्यो। नाकको पोरा फुलाउन थालेका उनको दलले पनि मतगणना बहिष्कार गरेको समाचार आयो। उनी विश्लेषणात्मक ढंगले बिच्किए, “यो धाँधली हो। जुनसुकै व्यवस्थामा मन्त्री बन्ने ल्याकत राख्ने हाम्रा नेताले कसरी हारे?”

अलग समूह बनाएर निस्कन लागेका कालो त्रिपालवालाहरू कराए, “हामीलाई परेको भोटमा मगमग नेपाली बास्ना आउँछ। यथास्थितिवादीलाई परेको भोटमा ठ्वास्स देशी–विदेशी षडयन्त्र गन्हाउँछ।”

“मेरो भट्भटेको हावा खुस्काइदिए।”

“नेतालाई फोन गर्नुपर्थ्यो नि!”

“आफ्नो त हावाजाम गराएर वैरीहरूले फसाद पारे। ग्यास्ट्रिकको बिरामी परियो, सधैं औषधी किन्ने पसलेले समेत त्यो दिन डायजिन गोटी छैन भन्यो। हावा निसेचन हुन नसकेकाले दौडन सकिएन। दुश्मनहरूले यसरी मतपेटिका चुरिझयाप पारे। यो ठूलो डिजाइन हो भन्ने त्यतिवेलै लाग्याथ्यो। वैरीहरूले औषधी पसलेसम्म मिलाउन भ्याएछन्!”

“मने, मतपेटिका लुट्न खोजेको देखेर अत्तालिएका हाम्रा साथीहरूले खल्तीको मोबाइल बिर्सिनुभएछ। दौडिएर काठमाडौं पुग्न नसक्दा मध्यरातमा गणक फिर्ता बोलाउनु परेको स्थिति हो।”

“हाम्रा गान्धीवादी कमरेडहरू सेनाले हप्काएपछि आतंकित भएको मेरो ठम्याइरह्यो।”

“मतपेटिका बोकेको गाडीले एक ठाउँमा हर्न बजायो, अनि घ्याच्च ब्रेक लगायो। जालीहरूले त्यहीवेला गडबड गरेको हुनुपर्छ।”

“भोट खसाल्न बसेका सबै नेपाली थिएनन् कि भन्ने हाम्लाई लागिरा’छ। म अगाडि बस्ने मेस्सी जस्तै थियो।”

“ठिक भन्नु भो, पल्लोपट्टि लाम लाग्ने सिलिक्क परेकी साकिरा नै थिई क्यार!”

“यी सबै कुराबाट प्रमाणित भयो कि देशी–विदेशी षडयन्त्रकारीहरूले जनताको भोट लुटे। हाम्रो गौरवशाली पार्टीका महान नेता हार्ने पनि कहीं निष्पक्ष चुनाव हुन्छ?” सबै एकसाथ चिच्याए, “षडयन्त्रको भण्डाफोर गर्छौं।”

“कसरी गर्नुहुन्छ भण्डाफोर?” मौका हेरिरहेका पत्रकारले सोधे।

“हामी एकएक मतदातालाई निर्वाचन आयोगमा ठिङ्गे लगाएर खडा गराउँछौं र भोटको हिसाब माग्छौं।”

“मताधिकार त गोप्य कुरा हो। सबै आएनन् भने नि?”

“आउन नमानेर धर पाइन्छ? लोकतान्त्रिक ढंगले भनेको मानेनन् भने ठोकतान्त्रिक विधि प्रयोग गरेर भए’नि ल्याउँछौं।”

हिमाल खबरपत्रिका
२३ मंसिर २०७०
8 December 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *