म प्रोफेसर साबको अन्डरमा रहेर समाज विज्ञानमा पिएचडी गरिरहेको थिएँ । मेरो थेसिस हामीकहाँको सामाजिक विभेद र त्यस विरुद्धको जनजागरणसँग सम्बन्धित थियो । यस विषयका धुरन्धर पण्डित प्रोफेसर साबसँग डक्टरेटका लागि प्रयत्नशील पाँच–सात शिक्षार्थीमध्ये एक म पनि थिएँ । अतः यही प्रयोजनका निम्ति उनीसँग बरोबर सम्पर्क गरिरहन्थें म ।
‘गुडमर्निङ सर ।’
‘गुडमर्निङ ।’ ‘काठमाडौं पोष्ट’ले छोपिएको अनुहार देखापर्यो, प्रोफेसर साबको अब ।
‘सरलाई आज फुर्सद छ ?’ म छेउको कुर्सी तानेर बिना अनुमति नै बसेँ ।
केही नभनेर उनको पावरदार चस्मासहितको अर्धगोलाकार टाउको बिस्तारै हल्लियो ।
‘सरलाई कतै जानु त छैन ?’ फेरि उस्तै प्रकृतिको मेरो सोधाइमा केही सोचेर भने, ‘छैन ।’ अनि केही क्षण चुप लागेर भने, ‘बेलुकी छ बजेतिर माननीय शिक्षामन्त्रीज्यूको पिएले केही सरकारी झमेलामा डिस्कस गर्न बोलाउनु भएको छ ।’ सोचनीय मुद्रा कायमै राखेर अन्त्यमा भने, ‘त्यतै जानुछ ।’ प्रोफेसरसाब पर्याप्त मात्रामा गम्भीर भइसकेका थिए ।
‘कुराकानी गर्नलाई डल्लै समय बाँकिरहेछ सर ।’ म मुस्कुराएँ ।
नेपालको शैक्षिक फाँटका एक प्रखर व्यक्तित्व प्रोफेसर साबले दुई विषय– नृविज्ञान र समाज विज्ञानमा डक्टरेट गरेका थिए । यसलाई विश्वविद्यालयका अन्य प्रोफेसरहरू यदाकदा ठट्टाले ‘साढे दुई’ भन्ने गर्थे । उनले ब्रिटेनको एक युनिभर्सिटीबाट अनरेरी डाक्टरको सम्मान पाएका थिए । त्यसैले दुईमा आधा थपिएको हो कि ? मेरो विचारमा यो ठट्टा नभएर उनका समकालीन मित्रहरूको डिपार्टमेन्टलीय ईष्र्या पनि हुनसक्छ । जे होस्, साढे दुई विषयका डाक्टर प्रोफेसरसाब पूर्वीय समाजको मौलिकताबारे लेक्चर दिन समय–समयमा विदेश गइरहन्थे । खास गरेर पश्चिमा देशमा । पेरिसको एक युनिभर्सिटीमा भिजिटिङ प्रोफेसरको रूपमा पनि बसेका थिए रे ! सङ्क्षेपमा उनी आफ्नो विषयका एक मान्यताप्राप्त प्रकाण्ड विद्वान् । मेरो लागि त भगवान् नै । किनभने उनैको सहयोगबाट मलाई डाक्टरको पदवी हासिल गर्नु थियो ।
‘तिम्रो थेसिस कहाँसम्म पुग्यो र ?’ मभन्दा पहिले उनले नै विषयमा हाम्फालेकाले मलाई सजिलो भयो ।
‘केही अगाडि बढेर अड्किएको छ सर ।’ मैले तत्परता देखाएँ, ‘यही विषयमा केही आवश्यक जानकारी लिन आएको हुँ सर ।’
‘ठिक छ, ठिक छ ।’ प्रोफेसर साबको लगभग चिल्लो भइसकेको टाउको झ्यालबाट छिरेको एकटुक्रे उज्यालोमा गजबसँग चम्कियो ।
मैले कागज–कलम अघि सारेर केही सोध्नुभन्दा अघि उनी टेबुलबाट आफ्नो पेटेन्ट कालो पाइप उठाएर सल्काउने चाँजोपाँजो गर्न थाले ।
‘हाम्रो समाजको मूल चरित्र के हो सर ?’ मैले आफूले सोचिरहेको प्रश्न गरेँ ।
‘हुँ ….!’ पाइपको धुवाँ उडाउनमा व्यस्त थिए उनी ।
‘यही प्राथमिक सवालमै अलमलिएको छु सर ।’
‘हुँ …! एक पटक फेरि ध्वनित गरेर प्रोफेसर साबले धुवाँका साथ अगाडिको भित्तामा हेरे । उनको ड्राइङगमको भित्ता तस्वीरै–तस्वीरले ढाकिएको थियो । सामुन्ने गोलो चस्माबाट एकनासले हेरिरहेका महात्मा गान्धी भनेसँगै घना दाह्री–जुँगाका महान् सर्वहारावादी दार्शनिक कार्लमाक्र्स । केही पर दुब्लो–पात्लो कायाका वीपीको निस्फिक्रीसँग मुस्कुराइरहेको तस्वीर थियो भने अर्कोतिर राजदण्डसहित उभिएका महेन्द्र दम्पति । एउटा अपेक्षाकृत ठूलो फ्रेममा राजा वीरेन्द्रसँग उभिएका हँसिलो प्रोफेसरसाब । यसैसँग जोडिएको स्व. गिरिजाप्रसाद कोइरालाको रङ्गीन तस्वीर पनि । याद रहोस्, गिरिजा बाबुको प्रधानमन्त्रीत्वकालमा उनी प्रधानमन्त्री कार्यालयका एक महत्वपूर्ण सल्लाहकार थिए । तर गोप्य प्रकारका । यस सम्बन्धमा हल्ला के चलेको थियो भने प्रधानमन्त्री गिरिजा र उनका पिएहरू प्रोफेसर साबसँग डाइरेक्ट सल्लाह लिइरहन्थे रे ।
म पनि प्रोफेसरसाब सँगसँगै भित्ताका तस्विरहरूको अवलोकन गरिरहेको थिएँ ।
‘हाम्रो समाजको मूल चरित्र के हो सर ?’ केही समयपछि मैले आफ्नो प्रश्नलाई दोहोर्याएर भनेँ, ‘यसबारे म निकै कन्फ्युज्ड छु सर ।’
‘हेर, कुनै पनि समाज बेसिकल्ली पछिल्तिर फर्किएको हुँदैन भन्ने कन्सेप्टमा विश्वास गरेर अघि बढ्नुपर्छ । एकाध समाज पिछडिएको अवस्थामा देखिए तापनि कुरा अर्कै हुनसक्छ । एक्च्युएल्ली, त्यो समाजका नागरिकहरूका अन्कन्सस माइन्डमा अग्रगामी विचार रहेको छ भन्नेमा उनीहरूलाई नै कुनै ज्ञान भएको हो । यो इम्पोर्टेन्ट प्वाइन्टमा एकपटक विचार गरेर हेर । यही हाम्रो पहाडदेखि तराइसम्ममा गाउँ–सहरमा अप्लाई हुन्छ । हामीलाई के थाहा छैन भने हाम्रो समाज प्रोग्रेसिब हुनतिर छिटछिटो लम्केको छ । मैले धेरै सोचेर हेरेँ, यही हाम्रो होल समाजको आइडेन्टिटी हो ।’ उनले पावरदार चस्माबाट मलाई गहिरोसँग हेरेर भने, ‘त्यसैले नेपाली समाज पछि परेको छ भन्ने ननसेन्स थट राख्नेहरूसँग म पूरै सहमत छैन ।’ मेरो प्रश्नको उत्तर लामै प्रकारले दिएर थोरै थाकिएको जस्तो देखिएका प्रोफेसर साबले पाइपको गहिरो सर्को तानेर ड्राइङरुमको सानो आकासमा बाक्लो धुवाँ उडाए ।
‘तर हाम्रो समाज अलिकति फरक छैन र सर ?’ मैले असहमतिको स्वरमा भन्न खोजेँ, ‘हामीकहाँका जातपात, छुवाछूत, अन्धविश्वास आदिले त अर्कै कथा भनिरहेको जस्तो लाग्छ सर ।’ उनलाई चुपचाप पाएर मैले फेरि भनेँ, ‘अहिले पनि बोक्सी भनेर गाउँले महिलाहरूलाई मलमूत्र खुवाउने बारम्बारका घटनालाई के भन्ने सर ?’
‘गुड क्वेस्चन !’ प्रोफेसर साबले मतिर हलुका आँखाले हेरे, ‘तिमीले उठाएको प्रश्न गलत नै हो भनेर म भन्दिन । तर यो सही नहुन पनि सक्छ । हेर, ‘वेन्स ए ट्रुथ अल्वेज ट्रुथ्ु भन्ने कुरालाई मान्ने पक्षमा म छैन । समटाइम आई हेट ट्रुथ । त्यसैले वास्तविकता के हो भने हाम्रो समाज ननप्रोग्रेसिब समाज होइन । यो ओल्ड थिङकिङलाई मैले छाडिसकेको छु । तिमी मेरो विचारको गहिराइमा जाने कोसिस गर । यो जरुरी छ । हाम्रो समाजको होल करेक्टर एग्रेसिब ढङ्गको छ । यो अघिल्तिर फर्किएको छ । सेन्टपरसेन्ट प्रोग्रेसिब छ भन्नु गलत होइन ।’
‘तर सर….।’ मेरो कुरालाई तत्कालै काटेर प्रोफेसर साबले भने, ‘तिमी मोडर्न सोसल साइन्सको बेसिक कुरामै क्लियर छैनौ । तिमीले बढी से बढी अध्ययन–मनन गर्नु आवश्यक छ । म तिमीलाई केही लेटेस्ट किताब सजेष्ट गर्छु, राम्ररी पढ । कन्जरभेटिभ हिसाब–किताबले अघि बढ्ने हो भने तिम्रो थेसिस कम्प्लिट हुने म देख्दिन ।’ प्रोफेसर साबले निभिसकेको पाइपमा आगो दिएर भने, ‘म तिमीलाई आफ्नो कलेक्सनबाट केही किताब दिन्छु ।’
प्रोफेसर साबको ड्राइङरुमको स्टिल र्याकमा सजाएर राखिएका पुस्तकहरूमा मेरो आँखा गयो । त्यहाँ अंग्रेजीका मोटा–मोटा पुस्तकहरू टनाटन भरिएको थियो । उनको निजी पुस्तकालयमा नेपालीको पुस्तकले प्रवेश पाउन सकेको थिएन । केही फ्रेन्च भाषाका पुस्तक पनि थिए । पेरिसबाट फर्किंदा ल्याएका थिए उनले । साहित्य, संस्कृति, अर्थशास्त्र, धर्म, राजनीति, इतिहास, भूगोल, मानवशास्त्र आदिका भए पनि अधिकांश समाज विज्ञानका पुस्तकहरू । मैले भारीभरकम किताबै–किताबले अटेस–मटेस र्याकबाट आँखा झिकेर प्रोफेसर साबतिर हेरेँ । उनको मुखमण्डलमा तनाव थियो । त्यसैले स्थितिलाई सम्हाल्न मैले भनें, ‘सर चाँडै नै अमेरिका जाने भन्ने सुनेको थिएँ, हो र ?’
‘हो, बाल्टिमोर युनिभर्सिटीले मलाई सम्मान गर्ने भएको छ ।‘ उनको बोलीमा प्रसन्नता थियो, ‘म जनवरीमा त्यतातिर……।’ प्रोफेसर साबले यति के भनेका थिए, एउटा कुखुरो सहसा भित्र पस्यो । र ड्राइङरुममा प्वाँख फर्फराउँदै यताउता गर्न थाल्यो । यो देखेर प्रोफेसर साबको मुहुडाको आकृति बिग्रियो । उनले एउटा फोहोर गाली गर्दै भने, ‘हेर न छिमेकीको कुखुरा हो । यसरी खुला तरिकाले नै कुखुरा–सुखुरा पाल्छ ।’ अर्को फोहोर गाली थप्दै भने, ‘तल्लो जातको हो । यस्तै दुःख दिइरहन्छ । यसरी छाडा रूपमा कुखुरा, हाँस नपालभन्दा मान्दै–मान्दैन । साले, अनटचेबल…..।’ नेपालको विश्वविद्यालीय जगत्का कहलिएका समाजविज्ञानी मनिषी प्रोफेसरसाब अत्यन्त क्रुद्ध भएर पाइपको धुवाँ बुङबुङ्ती छाड्न थाले । अहिले प्रोफेसर साबको छिमेकीको कुखुराको भाले ड्राइङरुमबाट निस्केर बाहिर शानले रातो कल्की हल्लाउँदै पर्खालमा बसेको थियो ।
कान्तिपुर
