Skip to content


प्राध्यापक डाक्टर लोकराज बरालको आत्मवृत्तान्तको पुस्तक रोमाञ्चित जीवनलाई अर्का प्राज्ञिक व्यक्तित्व नरहरि आचार्यले ‘निजी कथालाई डोरो बनाएर गत सात दशकभित्र नेपालले तय गरेको राजनीतिक यात्राको वृत्तान्त’ भनेका छन्। तर आचार्यको यस भनाइलाई बरालको पुस्तकले पूर्ण रूपमा पुष्टि गर्दैन्।

आत्मकथाको यो ग्रन्थले त आफ्नो पेसा, दुनियाँदारी र पठन-लेखनको क्षेत्रमा उल्लेख्य रूपमा जमेका प्राध्यापक बरालको जीवनको यात्रालाई स-साना मोड र बाटाहरू सहित सविस्तार पाठकका सामु राखेको छ। तर विगत सात दशकमा नेपालको इतिहासमा घटित युगान्तकारी घटना-दुर्घटना र तिनले नेपाली जातिको जीवनमा ल्याएका विशद् परिवर्तनहरूका बारेमा गहन र अन्तर्दुष्टियुक्त डिस्कोर्स प्रस्तुत गर्न सकेको छैन।

‘रोमाञ्चित जीवन’ आथोपान्त पढिसक्दा यसका नायक र न्यारेटर लोकराज बरालको व्यक्तित्व र जीवन-कहानी पुस्तकको शीर्षकले सुझाउने जस्तो रामोञ्चक र प्रखर लाग्दैन। यसको विपरित बराल औसत रूपले मेधावी, परिश्रम र विषम परिस्थितिमा पनि सन्तुलन बनाइराख्न सक्ने चतुर छविमा उभारमा आउँछन्, पाठकका नजरमा।

यस बाहेक पुस्तकबाट थाहा हुन्छ प्राध्यापक बरालप्रति भाग्यकी देवी जहिले पनि दाहिने रहँदै आएकी छिन्। उनले रोजेको अध्ययनको विषय, पेसा र त्यस वृत्तिमा उन्नतिको मार्ग प्रशस्त गर्न ऊ नले आफूमा विकसित गर्न सकेको अतिरिक्त योग्यता आदि मिलेर बराललाई सफलत म राष्ट्रिय व्यक्तितवका रूपमा स्थापित गराएको देखिन्छ।

प्राध्यापक बराल लोकतन्त्रका आदर्शहरूको अप्रतिम पहरेदारको छवि निर्माण गर्न भने असफल रहेको देखिन्छ। झट्ट हेर्दा उनी प्रजातन्त्रवादी कित्तामै उभिने बुद्धिजीवी झै देखिन्छन्। उनले त्रिचन्द्र कलेजमा पढ्दा ताका छात्र संगठनको चुनाउमा प्रजातन्त्रवादी समूहबाट स्पर्धा गरेको र तत्कालीन प्रधानमन्त्री बी.पी. कोइरालाले तपाईंले हार्नु भनेको म स्वयम्ले हार्नु हो’ भनेको कुरा लेखका छन्।

तर २०१७ साल पुस १ गते राजा महेन्द्रद्वारा गरिएको कू को ५ दिनपछि भारत भ्रमणमा जाने छात्रटोलीमा सरकारको अनुमतिमा यिनी परेको देख्दा पाठकलाई आश्चर्य लाग्न सक्दछ। पुस १ गते लगत्तै पछि विदेश भ्रमणमा जाने छात्र टोलीमा नेपाली कांग्रेसका कारागारमा हालिएका प्रधानमन्त्रीको निकट भइसकेको व्यक्ति सजिलै समाविष्ट हुने एक प्रकारको चमत्कार नै हो । त्यो चमत्कार सहज लाग्दैन।

त्यसपछिका दिनहरूमा पनि अध्ययन र नोकरी दुवै क्षेत्रमा प्राध्यापक बराललाई अवसरहरूले लगातार पछ्याइरहेको देखिन्छ। त्यसमा उनको योग्यता र क्षमताको कति प्रतिशत योगदान छ र व्यवहार कुशलताको कति प्रतिशत, कसैले भन्न सक्दैन। प्रजातान्त्रिक मुख्य, मान्यता र आदर्शमाथि राज्य पक्षबाट प्रहार भएका बेलामा उनको अडान कस्तो रह्यो?

गाह्रा्-साँघुरो परेका बेलामा उनले एकजना निष्ठावान् बुद्धिजीवीका रूपमा आफूलाई कति हदसम्म जोगाएर राख्न सके वा सकेनन्, यी सब विषयमाथि उनले केही पनि नलेखेकाले पाठक अनुमान लगाउँन स्वतन्त्र छ। र अनुमान लगाउनेले उनलाई प्रिय लाग्ने खालको अनुमान लगाउला भन्न सकिदैंन। खासगरी ३२ सालमा त्रिभुवन विश्वविद्यालयले एकै झमटमा दर्जनौं टिचरहरूलाई वर्खास्त गर्दा राजनीतिशास्त्र पढाइरहेका बराललाई केही नगरेको सन्दर्भमा पाठकले बराललाई सम्झौतावादी पेसाकर्मीका रूपमा हेर्न सक्छ।

आफ्नो आत्मवृत्तान्तमा प्राध्यापक बरालले समसामयिक नेपालको राष्ट्रिय जीवनमा कुनै न कुनै रूपमा आफ्नो व्यक्तिगत छाप छोड्न सफल केही व्यक्तित्वका बारेमा आफ्ना अनुभव र धारणा व्यक्त गरेका छन्। वी.पी.कोइराला, सूर्यप्रसाद उपाध्याय, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, प्रो.सूर्यबहादुर शाक्य, बालकृष्ण सम, ईश्वर बराल, शेरबहादुर देउवा, खड्गविक्रम शाह, भुवनलाल जोशी आदिका विषयमा प्रसंगवश प्राध्यापक बरालका धारणाहरू पुस्तकमा आएका छन्।

प्राध्यापक बरालको साहित्यमा पनि गहिरो रुचि भएको र उनले लेखन र सम्पादनमा पनि केही काम गरेको सन्दर्भमा उनले तारानाथ शर्मा लगायत केही कवि लेखकसँग गाँसिएका संस्मरण पनि लेखेका छन्। तर माथिका व्यक्तिहरू मध्ये धेरैसँग सम्बन्धित संस्मरणहरू हल्काफुल्का ढंगले र कति त अपुष्ट र हुवा खालको चित्रित गरिएका पनि बन्न पुगेका छन्।

बी.पी. कोइरालालाई तीन चार ठाउँमा ‘चञ्चल’ स्वभावका लेखेका छन् बरालले। तर बीपीको ‘चाञ्चल्य’ पुष्टि हुने घटना वा अभिव्यक्तिलाई कोट गर्न सकेका छैनन्। पन्ध्र सालको चुनाव प्रचारका क्रममा इलाम पुगेका गणेशमान सिंहले सार्वजनिक मञ्चबाट भाषण गर्दा धेरै पटक अश्लील शब्द प्रयोग गरे पनि भनेका छन् बरालले। तर त्यो शब्द के थियो र त्यो कसरी अश्लील थियो चाहिँ लेखेका छैनन्।

बरालले सबैभन्दा खराब आलोकमा गिरिजाप्रसाद कोइरालाको व्यक्तित्वलई राखेका छन्। कोइरालाले राजाले मानेनन् भनेर बरालाई राजदूत नबनाएको, कोइराला आसेपासेका कुरा सुनेर कसैका पनि बारेमा धारणा बनाउने र कपटी खालका व्यक्ति थिए भन्ने निश्कर्ष छ बरालको।

बरालको निजी अनुभूतिको कुरा भएकाले यसमा टिप्पणी गरिरहन भने जरुरी छैन। बरालले आफूलाइृ भारतको राजदूत पदमा नियुक्त गर्ने शेरबहादुर देउवाको भने राम्र प्रशंसा गरेका छन्। बराल राजा र भारतमुखी भनेर कांग्रेस वृत्तबाट बहुआलोचित सूर्यप्रसाद उपाध्यायका पनि प्रशंसक रहेका छन्।

‘रोमाञ्चित जीवन’ जस्तो अस्पष्ट अर्थ बोक्ने शीर्षक दिइएको प्राध्यापक बरालको आत्मृत्तान्तको सबैभन्दा उल्लेखनीय र महत्वपूर्ण पक्ष भनेको हाम्रो वैदेशिक नीति निर्माण र कुटनीति सञ्चालनका क्षेत्रमा व्याप्त बेथितिको खुलासा नै हो।

बरालले आफू भारतमा राजदूत भएर जानै लागेका बेलामा तत्कालीन परराष्ट्र मन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीले भारतमै राजदूत स्तरकै अर्को कुटनीतिक कर्मचारीका रूपमा युवराज सिंह प्रधानलाई पठाउन खोजेको प्रसंग उल्लेख गरेर डा. लोहनी जस्ता पूर्व पञ्चहरू कस्ता कस्ता निर्णय गर्न अघिरहेछन् भन्ने कुराको दृष्टान्त देखाएका छन्।

प्राध्यापक बरालको लेखन सरल छ। तर आकर्षक छैन। सम्पादन गराएर मात्र प्रकाशनमा ल्याएको भए किताब छरितो र सुन्दर हुन सक्दथ्यो। केही तथ्यगत भूल पनिरहन गएका छन्। दौलतविक्रम विष्टको उपन्यास मञ्जरीलाई लीलाध्वज थापाको लेखिएको छ भने ज्ञानबहादुर याकथुम्वालाई गणेशबहादुर।

२०७० माघ २५, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *