पात्रहरू : श्रीमान्, श्रीमती, बहिनी र छोरी ।

(सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीनजना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एउटा कुनामा पाँच बर्से छोरी खेल्न थाल्छे । श्रीमान् श्रीमतीको ठाकठाकठुकठुक परेको आभास मिल्ने कुराहरू मनग्य छन् । रङ्गमञ्चको भित्ता कतै पानको रङले राताम्य छ भने कतै कालाम्य छ । कतै रङ्गमञ्च सुक्खा छ, कतै पानीले हिलाम्य छ । ऊ बोल्दै जान्छे, रङ्गमञ्चमा रौनक थपिँदै जान्छ । रङ्गमञ्चमा एकप्रकारको जिज्ञासा सर्वत्र छाउँछ ।)

बहिनी : आदरणीय दाजुभाउजू र मेरी प्यारी नानी ! भोलिका पुस्ताका निम्ति यही धर्तीमा रहने र हिँड्ने पूर्वाधार आजै बनाउन वादविवादको अन्त्य गरौँ । वादविवादविनाको अवस्थाका लागि मुखमा ताल्चा लगाउनेचाहिँ हैन, ठिक ठाउँमा मुख खोलौँ, बेठिक ठाउँमा मुख खोलेर समय र शक्तिको अपव्यय नगरौँ । हरेक दिन पटकपटक विवादमा फस्नुभन्दा समय निकालेर एकैपटक विवाद गरौँ र ठोस निष्कर्षमा पुगौँ ।

श्रीमती : सपना सजाउने छुट मान्छेलाई हुनुपर्छ । किनभने सपना सजाएर मान्छे बाँच्छ । सपनामै जताततै पुग्छ र भविष्यका लागि वर्तमानमा पाइला चाल्छ । सपनाको महल ठड्याउन नसक्ने वर्तमानकै हुलमा हराउँछ ।

श्रीमान् : (सामान्य कपडामा सजिएको छ) मान्छे वर्तमानका लागि बाँच्छ, भविष्य त उसको बसभन्दा बाहिर छ । वर्तमान सप्रिए भविष्य स्वत: सप्रिन्छ ।

(श्रीमती उसलाई ठेल्दै अघि सर्छे र जोडजोडले बोल्न थाल्छे ।)

श्रीमती : वर्तमान–भविष्य, भविष्य–वर्तमान यी सबै मान्छेकै लागि त हुन् । विवादलार्ई तन्काउँदै तपार्इं त भन्नुहुन्छ– इहलोक सपार्नुछ भने वर्तमान सपार, परलोक भन्ने कुरो कल्पना हो तर म भन्छु, यो जगत् ईश्वरीय लीला हो । त्यसैले इहलोक र परलोक दुवै सपार्न ईश्वरको साथ चाहिन्छ । ईश्वरसँग अलौकिक शक्ति छ ।

श्रीमान् : देवता, ईश्वर, परमेश्वर आदि कहीँकतै छैनन् । छन् भने केही मान्छेको कल्पनामा सीमित छन् । (केही आक्रोशयुक्त स्वरमा) मानिसले बनाएका, मानिसले कल्पना गरेका कुनै कुरा पनि कहीँ अलौकिक हुन्छन् र ? तिमीले भन्ने गरेको अलौकिक शक्ति भन्ने कुरो पनि कल्पनासिवाय अर्थोक होइन ।

श्रीमती : सानो वस्तु निर्माण गर्न नसक्ने मान्छेले ईश्वर छैनन् भन्नु नून गुलियो हुन्छ भन्नु बराबर हो । उसो भए मान्छे आफैँ ईश्वर हुनुपर्छ । लौ, त मान्छेले अर्कै पृथ्वी सृष्टि गरोस् त ?

श्रीमान् : मान्छे चन्द्रमामा बस्ती बसाल्दै छ । अन्य ग्रहउपग्रहमा प्राणीको अस्तित्व खोज्दै छ । चन्द्रमाको बाटो भएर मान्छे यात्रा गरिरहेको छ । तिम्रो प्रश्नको जवाफ आजको मान्छेले नै दिइरहेको छ । वैज्ञानिक चमत्कार भित्रिनु नै पृथ्वीले नयाँ स्वरूप धारण गर्नु होइन र ? ईश्वरीय अस्तित्व र स्वर्ग–नर्कको कुरा मान्छेको कोरा कल्पना हो । स्वर्ग–नर्कको कुरा गरेर महात्मा भनाउँदाहरूले आफ्नो प्रभुत्व जमाउन खोजेको कुरा तिमी किन बुझ्दिनौ ?

श्रीमती : ईश्वरले नै लालनपालन गरेका छन् । यो ब्रह्माण्ड संसारलाई अस्तित्ववान् पारेका छन् । ईश्वरको कृपा हुन्नथ्यो भने यस धर्तीमा ठमठम्ती हिँड्न सकिन्थ्यो र ?

श्रीमान् : (अघि सर्दै) भ्रम, यो सबै भ्रमबाहेक अर्थोक केही हैन । संसारमा ईश्वरको नाममा अन्धविश्वास जन्मिरहेछ, भ्रान्ति फैलिरहेछ, अहङ्कार झाङ्गिरहेछ, जिद्दीपन बढिरहेछ । तिम्रै ईश्वरीय

विश्वासलाई नियाल्ने हो भने पनि तिमीमा ईश्वरको नाममा भ्रम र त्रास फैलिएको मात्र देखिन्छ ।

श्रीमती : यो मान्छेले गरेको विश्लेषण हो । मान्छेले भनेको कुरा सबै ठिक हुन्छ भन्न सकिन्न । झुटको खेती गर्ने पनि धेरै छन् यहाँ ।

श्रीमान् : हो, अहिले भने ठिक बाटामा आयौ । यति कुरा बुझ, ईश्वरीय लीलाको वकालत गर्ने पनि मान्छे नै हुन् । मान्छे झुट हुन सक्छ भन्ने तिम्रो कुरालाई म स्वागत गर्छु । अधोगतितिर लम्केका साधुमहात्मा भनाउँदाहरूले स्वर्ग र नर्कको कल्पना गरी ईश्वरीय सत्ताका झुटा कथा सुनाएर जनतालाई ठगिरहेछन् र आफ्नो स्वार्थ सिद्ध गरिरहेछन् । हाम्रो बुद्धि बिगार्न, हामीमा भ्रान्ति पैदा गर्न र हामीलाई धार्मिक कट्टरपन्थी बनाउन ईश्वरको प्रपञ्च रचिएको हो । मिलेर हामी अघि बढ्न सके विष्णुको अङ्श मानिएका राजाहरूलाई त सत्ताच्युत गरी सामान्य नागरिक बनाइदिन सक्ता रहेछौँ भन्ने कुरो हाम्रो व्यवहारले प्रमाणित गरिसकेको छ । अँझै विष्णुको अस्तित्वलाई स्वीकार गर्नु बोक्रे आस्तिकतामात्र हो ।

श्रीमती : मसँग दह्रो विश्वास छ, ईश्वरीय लीला अनमोल छ । गल्ती गर्नेलाई सजाय ईश्वरले नै दिन्छन् । गल्ती सामान्य नागरिकले गरोस् या राजाले । ईश्वरले पनि सङ्कट भोग्नुपरेका थुप्रै घटनाहरू छन् । विश्वका हरेक कुरामा रहस्य छ । सृष्टिको संरचना सन्तुलित छ । समुद्रको पानी पृथ्वीभरि पुग्छ । पृथ्वीभरि छरिएको पानी अन्ततोगत्वा समुद्रमै मिल्न पुग्छ । ओहोरदोहोर भइरहन्छ । यी सबै ईश्वरीय लीला हुन् ।

श्रीमान् : हो, समुद्रको पानी खेतखेत पुग्छ, खेतखेतको पानी समुद्रमा मिल्न आउँछ । यी सबै प्राकृतिक नियम हुन् । प्रकृतिले नै सम्पूर्ण कुराको तारतम्य मिलाएको हुन्छ । तारतम्य बिग्रियो कि भूकम्प जान्छ, बाढी–पैह्रो जान्छ, महामारी फैलिन्छ । यस्ता विनाशकारी अवस्था सिर्जना हुन्छन् तर तिम्रो मत भिन्न छ । के यी सबै ईश्वरीय अनुकम्पाका प्रतिफल हुन् त ?

श्रीमती : (उत्साहित हुँदै) जरुर ! जब अधर्म बढ्छ, अन्यायीका हातबाट न्याय मर्छ, ईश्वरले नै यी सबै घटना घटाउँछन् । घटनापश्चात् धर्म र न्यायको स्थापना हुन्छ ।

श्रीमान् : (मुस्कुराउँदै गिल्ला गर्ने ढाँचामा) हो, तिम्रो कुरा मनासिब हो ! पूर्वी नेपालमा ०६५ भदौ २ गते सप्तकोसी बाँध भत्केर हजारौँ जनताको उठिवास भो, लाखौँजनाले महिनौँ कहर काट्नुपर्यो ।

पश्चिम नेपालमा फैलिएको हैजाले सयौँजनाको ज्यान लियो, सयौँ परिवारलाई बिचल्लीमा परे, अन्य क्षेत्रको बाढीपहिरोको कहिरन गरीसाध्य छैन । यी सब कुरा ईश्वरले धर्म र न्याय स्थापनार्थ गरेका हुन् होला, हैन ? धनसम्पत्ति गुमाउने, मर्ने र दु:ख पाउने सबैजना अधर्मी थिए, अन्यायी थिए, हैन ?

श्रीमती : त्यो त एकाधले गरेको गल्तीको प्रतिफल सबैले भोगेकोमात्र हो ।

श्रीमान् : उसो भए चिन्दै नचिनेको, जान्दै नजानेको मान्छेले गल्ती गर्छ भने त्यसको सजाय तिमी भोग्छौ ?

श्रीमती : (केही उत्साहित हुँदै) हँ, त्यसो गर्न त म तयार छैन ।

श्रीमान् : उसो भए अन्याय र अधर्म त तिम्रै ईश्वरबाट हुँदो रहेछ भन्ने यो ठोस प्रमाण हो, हैन र ?

श्रीमती : (एकक्षण घोरिन्छे) तपाईं जे ठान्नुस् । ईश्वरको लीला अपरम्पार छ, त्यसै भनिएको हैन ।

श्रीमान् : उसो भए अँझै वादविवाद छ । (सहज हुँदै) सुन, मानिसमा हुने आत्मबल, मानिसले देखाउने उदारता, मानिसले गर्ने प्रेम र इमान्दार भएर देखाउने सुकर्म नै धर्म हो । यस्तो धर्मले सबैको

कल्याण गर्छ बरु यस्तो धर्मलाई नै ईश्वरको नाम दिएकी भए हुन्थ्यो । बुझ, प्रकृतिले कसैको अहित गर्दैन । हो, जब मानिसले प्रकृतिलाई बिगार्छ, तब प्रकृतिले पनि मानिसलाई बिगार्छ । प्रदूषण बढाएर होस् या अन्य खाले अहङ्कार थोपरेर होस्, मानिस दिनानुदिन गलत कदम चाल्दै छ । त्यसबाट प्राकृतिक र भौतिक वातावरण बिग्रन गई असन्तुलित वातावरण देखा पर्छ । त्यसैको परिणामस्वरूप अनिष्टकारी अवस्था जन्मिएको हो ।

श्रीमती : उसो भए शान्ति खोई त ?

श्रीमान् : शान्ति पाउन ईश्वरको आराधना हैन, कर्मशील बन्नुपर्छ, वर्तमानको उपासक हुनुपर्छ । यसले नै मानिसलाई जीवनबोध गराउँछ, आत्मबल दिन्छ, कर्ममुखी बनाउँछ र शान्ति दिन्छ । यसका लागि मैले फूल, अगरबत्ती, धूपदीपको सट्टामा कलम, कुचो र खुर्पाको प्रयोग गर भनेको हुँ ।

श्रीमती : उसो भए गर्ने के त ?

श्रीमान् : आजैदेखि आफ्नै हातमा सबथोक रहेछ भन्ठानी आफूलाई सरिक गर्ने हो भने एक दशकमै चमत्कार भित्रिन्छ ।

श्रीमती : आपत् पर्दा ईश्वरलाई पुकार्ने र सुख पाउँदा अहङ्कार देखाउने त आजका मानिसको स्वभाव नै बनेको छ । हेर्नुस्, प्राणीमा पाइने चेतना नै ईश्वरीय सत्ताको प्रमाण हो । फेरि तपाईं एक दशकमै चमत्कार भित्रिन्छ भन्नुहुन्छ । त्यो कसरी सम्भव हुन्छ ?

श्रीमान् : सही रूपमा प्रगति गर्नका लागि प्रथमत: मानिसमा अहङ्कार, ईष्र्या, पश्चगामी र यथास्थितिवादी सोचको मृत्यु हुनुपर्छ । कर्मशील पाखुरीको विकास गर्नुपर्छ । आफ्नो बौद्धिक स्तर उकासेर मनमा परिवर्तन ल्याउनु जरुरी हुन्छ । न्यायको स्थानमा उभिने प्रण गर्नुपर्छ । शरीरमुखी हैन, श्रममुखी हुनुपर्छ । मनमा आउने अलौकिक कुराहरूकोपछि दगुर्नु हुन्न । यसो गर्न सक्यौ भने तिमी सप्रन्छौ । तिमीजस्ता एकएक मान्छे सप्रिए पूरै मानव समुदाय सप्रिन्छ ।

श्रीमती : यी सब मनगढन्ते कुरा हुन सक्छन् । प्रमाण पनि हुनुपर्यो नि । विनाप्रमाण पत्याउने कुरा पनि भएन ।

श्रीमान् : तिम्रो जिज्ञासा शतप्रतिशत सत्य छ । विनाप्रमाण लादेको कुरा ढोङ हो । विज्ञानले पनि प्रमाण खोज्छ । ईश्वर छन्, ईश्वरीय अनुकम्पाले यो चराचर जगत् चलेको छ भन्ने कुराको प्रमाण कहीँ भेटिन्न । न यसलाई विज्ञानले नै समर्थन गरेको छ । विज्ञानको समझबाहिरको कुरा हो यो तर यति कुरा बुझ, यस विश्व परिवेशमा जेजति सद्गुणी, विद्वान् र विलक्षण प्रतिभायुक्त मानिस थिए र छन् ती सबैले धेरथोर कर्मशील पाखुरीको विकास गरेका थिए, आफ्नो बौद्धिक स्तर उकासेर संसारिक जगत्का कुराहरूको बोध गरेका थिए । वस्तुले दिलाएको पाठ धोकेका थिए । जहिले पनि न्यायको स्थानमा उभिने र श्रममुखी भई कर्मपथमा निरन्तर सक्रिय हुने काम गरेका थिए । हरेक व्यक्तिमा हरेक किसिमका प्रतिभा र क्षमता अकर्मण्यरूपमा लुकेका हुन्छन्, जुन ऊ स्वयम्लाई थाहा हुन्न । त्यो सुषुप्त अवस्थाको प्रतिभा र क्षमतालाई सक्रिय पार्ने मुख्य काममा उसलाई उसकै निरन्तर अभ्यासले मद्दत गर्दछ । आत्मबल र सकारात्मक सोचका साथ कर्मपथमा अघि बढ, प्रमाण तिमी स्वय म हुन सक्छौ ।

श्रीमती : हामी अस्तित्ववान् छौँ, प्रकृतिका हरेक वस्तुमा अस्तित्व छ । यही कुराको प्रमाण नै ईश्वर हो । ईश्वरीय सत्तालाई मिथ्या कल्पना भनी धज्जी उडाउनु वैज्ञानिक यथार्थ हैन । ईश्वरको कृपा हुँदा जो पनि प्रतिभाशाली हुन्छ ।

श्रीमान् : (हाँस्दै र जिस्क्याउने पाराले) उसो भए त कर्म नगरीकनै ईश्वरीय आराधनामा संसार जुटे भइगयो नि त ।

श्रीमती : कर्म नगरीकनै फल पाउने अभिलाषा राख्नु मिथ्या कुरा हो ।

श्रीमान् : अनि विनाकर्म, विनाअभ्यास–साधना कसरी प्रतिभा प्रस्फुटन हुन्छ त ?

(त्यतिकैमा छोरी आमाको बुई चढ्छे ।)

छोरी : मामू ! मलाई ईश्वरसँग भेट गराइदिनुस् न । म ईश्वरलाई पापा दिन्छु । म ईश्वरसँग कुरा गर्छु । उसलाई साथी बनाउँछु । ईश्वर त जाती हुन्छन् भन्नुहुन्छ, हजुर । जाती ईश्वरले मसँग मित्रता गर्छन् नि, मामू ?

श्रीमान् : (मुस्कुराउँदै) अब देऊ उत्तर छोरीलाई । मनगढन्ते कल्पनाको महल बनाउन सिकाऊ छोरीलाई । आफूझैँ दुर्बल नारी बनाऊ छोरीलाई ।

श्रीमती : (झर्किंदै) आफूसँग कति रौँ छन् भन्ने कुरो बताउन नसक्नेले नास्तिक बन्नुको कुनै तुक छैन ।

श्रीमान् : मानव समुदायमा भ्रष्टाचार व्याप्त छ । रूढिवाद, अन्धविश्वास र नचाहिँदो अविश्वास बढ्दो छ । यी सम्पूर्ण कुराले अराजकता फैलाएको छ । अँझ दण्डहीनता बढाएको छ । जताततै

अहङ्कारीहरूको साम्राज्य फैलिएको छ । अहङ्कारले विवेकको ढोका थुनेको छ र मानिस तेस्रो विश्व युद्ध निम्त्याइरहेछ । यस अनिष्ट घडीमा तिम्रो ईश्वर किन आफ्नो अलौकिक चमत्कार देखाउँदैनन् । निराकार रूपमा रहेका भनिएका तिम्रा ईश्वर कल्पनाको तरङ्गमा रहेको मिथ्यापनबाहेक अर्थोक केही हैनन् भन्ने त स्वयम्सिद्ध छ नि ।

श्रीमती : (आक्रोशयुक्त वाणीमा) हो–हो । तपाईंकै अनुसार म यस जगत्मा पूरै स्वतन्त्र छु भने म जसलाई जे मानूँ । कटाक्ष गर्ने र धज्जी उडाउने तपाईंको हक छैन ।

श्रीमान् : तिम्रो कुरो पनि सही हो । मेरो कसैलाई तल पारेर आफू माथि उक्लने सोच कदापि हैन । वादविवादमा उत्रेपछि एक पक्ष तल र अर्को पक्ष माथि हुन्छ नै । खेलको सिद्धान्तमा पनि यी कुराहरू आउँछन् ।

(छोरी आफ्नै धुनमा खेलिरहेकी हुन्छे । आमाबुबातिर उसको ध्यान जाँदैन । आक्रोशयुक्त वाणी सुनेर बहिनी भने झस्किन्छे । वादविवाद निष्कर्षमा नपुगेको ठम्याएर ऊ आफैँ अघि सर्छे ।)

बहिनी : भो अब । अहिलेलाई भने वादविवादलाई निष्कर्षतिर लैजाऔँ । यी कुरामा वर्षौंदेखि बहस हुँदै आए पनि आजसम्म पूर्ण निष्कर्षमा पुग्न सकिएको छैन । निष्कर्षमा पुग्नेहरू थोरै होलान् । भान्सामा खाना पाकिसकेको छ । समयमा घरको काम सकेर कर्मपथमा सरिक भयौँ भनेमात्र सबैजना खुसी हुन्छन् । विनाकर्म अर्थ पाइन्न । विनाअर्थ व्यवहार चल्दैन । विनाव्यवहारको मानिस कहलिन गाह्रो छ । मानिस हुन पनि कर्म गर्नै पर्छ । मन्दिर पसेर आराधनामै समय खेर फालेर, गुफा पसेर तपस्यामै लिप्त भएर वा भाषणबाजीमा खरो उत्रेरमात्र व्यवहार चल्दैन । व्यवहार चलाउन सबैको राम्रो विचारको कदर हुनु जरुरी हुन्छ । अघोरै खराबलाई चाहिँ ठाडै खराब भन्नै पर्छ । अर्काको आस्थालाई जबरजस्ती खण्डित गर्दै आफ्नो आदर्शको भारी बोकाउनु किमार्थ उचित हुन्न । पूर्ण स्वतन्त्र जन्मेको मानिसलाई स्वतन्त्र नै रहन दिनुपर्छ । अर्काको स्वतन्त्रताको धज्जी उडाउने स्वतन्त्रता कसैलाई पनि छैन । भो, अब भो । खाना खान ढिला भो । आजको बसाइ जे भो उत्तम भो !!!

(सबै मुस्कुराउँछन् । मञ्चबाट बाहिरिने तरखर गर्छन् । पर्दा बिस्तारै खस्दै जान्छ ।)

(०६६/०५/२९)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *