२०६६ माघ १९।
त्यो दिन कुन बार पर्यो, सम्झिनँ। बिहान साहित्यिक मित्र सावित्री मल्लले फोन गर्नुभएको थियो, दिउँसो एकछिन मकहाँ आउन मन लाग्यो भनेर। मैले हार्दिक स्वागत गरेकी थिएँ, सानो चराको गुँडजस्तो घर थियो त्यो। प्राय: धेरैले मन पराउने घर। कलाकार, साहित्यकारले झनै मन पराउने हात्तीगौंडाको त्यो सानो घर।
त्यति बेला दिउँसोको समय लेखन र घरकै काममा लगाइरहेकी थिएँ। विश्व भाषा क्याम्पसमा १२ वर्षजति चिनियाँ भाषा पढाएर अर्धविरामका रूपमा आफैंले छुट्टी लिएर बसेकी थिएँ, पिएचडी सिध्याउने निहुँमा। घरमा बसिरहँदा अरू कामको सोच र अफर पनि नआएको होइन तर आफ्नो भित्री मन मानिरहेको थिएन।
पिएचडीका निम्ति सक्रिय भएर लाग्न सकिरहेकी थिइनँ। पुन: दर्ता गरेर अब त जसरी पनि सकाऔं भनी सोच्दै थिएँ।
सावित्रीजी आफ्नो पिएचडीको थेसिस सिध्याउने कोसिसमा हुनुहुन्थ्यो। करिबकरिब सकिनै लागेको थियो। एकछिन ‘ब्रेक’का निम्ति मेरो ठाउँ रोज्नुभएको थियो। दिउँसो अशेष मल्लजी लिन आउनुभयो। त्यति बेलासम्ममा सरोज पनि घर फर्कनुभयो।
अँझै रमाइलो भयो घर। हामी चारजनाबीच साहित्यिक कुरामात्र भएन, सरोजले मलाई पहिला कहिल्यै नसुनाएको एउटा प्रेम कविता पनि सुनाउनुभयो। हामी हाँस्यौं सँगसँगै। अशेषजीहरू फर्कनुभएपछि खालीजस्तो भयो घर।
अचानक मेरो फोनमा एसएमएसको घन्टी बज्यो। हेरेँ- तपाईंलाई बधाई छ। फेरि तुरुन्तै अर्को यस्तै एसएमएस। उही बेला सरोजलाई पनि त्यस्तै एसएमएस आइरहेको रहेछ। मलाई लाग्यो, कुनै साहित्यिक पुरस्कार कतै घोषणा भयो कि? ५ बज्न पाँच मिनेट अगाडिमात्र रेडियो नेपालकी समाचारवाचिका मित्र प्रमिला उप्रेतीको फोन आयो। उहाँको फोन पनि उही बधाईबाट सुरु भयो।
केको बधाई होला? ए तपाईंलाई थाहा छैन? सरप्राइज ! ल उसो भए अहिल्यै रेडियो सुन्नुस् भनेर फोन राखिदिनुभयो। तुरुन्तै ‘यो रेडियो नेपाल हो, प्रमिला उप्रेतीबाट समाचार सुन्नुस्’ आवाज सुनिन थाल्यो। नेपाल प्रज्ञाप्रतिष्ठानको खाली प्रज्ञासभा र परिषद्मा नयाँ नियुक्तिमा साहित्यकारको नाम सुन्न थालेँ। मेरो नाममा अलि जोड दिएर भनेजस्तो लाग्यो किनभने समाचारवाचिकालाई मैले रेडियो सुनिरहेको कुरा थाहा थियो।
एउटा रमाइलो संयोग। मैले कहिल्यै आशा नगरेको नेपाल प्रज्ञापरिषद्को सदस्यमा नियुक्ति। जीवनमा धेरै किसिमका काम गरेँ, फलको आशा नगरी गरेँ। कतै कहिल्यै मलाई काम देऊ भन्न गएको पनि छैन। समयले दिएको जिम्मा पूरा गर्दै हिँडेँ। स्वविवेकले हिँडिरहेँ। त्यो एउटा साँझले भने मेरो सामाजिक र साहित्यिक जिम्मेवारीमा केही नयाँ हलचल ल्याइदियो। त्यो १९ माघको साँझ यसरी सम्झेँ।
भोलिपल्ट छुट्टीको दिन थियो। पर्सिपल्टमात्र नेपाल प्रज्ञाप्रतिष्ठानबाट विधिवत् रूपमा नियुक्तिपत्र लिन बोलाइयो। अफिसबाट गाडी पठाइदिन घरको लोकेसन पनि सोधे। जीवनमा सायद पहिलो चोटि होला, राज्यले सम्मानका साथ अफिसको गाडीमा प्रज्ञाप्रतिष्ठान पुर्याएको। पहिले पनि बरोबर गइरहेको प्रज्ञाप्रतिष्ठान। तर, त्यो दिन कर्मचारीहरू फूल लिएर स्वागत गर्न बसेका थिए।
एकछिन स्वागतको काम सकेपछि शपथग्रहण पनि भयो कुलपतिज्यूबाट। शपथग्रहणमा सामेल भएका कुलपति, उपकुलपतिलगायत प्राय: सबै सदस्य चिरपरिचित थिए। तराईबाट नियुक्त भएका डा. सञ्जिता बर्मा र रामभरोस कापडी दुईजना भने मेरानिम्ति नयाँ अनुहार थिए। सदस्यसचिव र सदस्यको ठाउँ वैशाखमा मात्र भरियो।
सुरुमा केही समय के गर्ने, कसो गर्ने, कहाँबाट काम सुरु गर्ने आदि विभिन्न कुरा मनमा थियो; जुन स्वाभाविक पनि थियो। मैले लामो समय पढाउने काम गरेँ। यो फरक काम थियो। सुरुदेखि नै यसबारे अलि गम्भीर हुन थालेँ।
किशोरावस्थादेखि नै जीवनलाई राष्ट्रको हितको काममा लाग्न मनभरि सपना त थियो। मेरो सबभन्दा नजिकको मान्छे सरोज पनि मेरो काननिरै बसेर फुस्फुसाइरहेको सुन्थेँ, ‘चार वर्ष भनेको तुरुन्तै जान्छ है सुलो, राम्रो प्राज्ञिक काम हुनुपर्छ तिमीबाट।’
एक महिनाबीच विभागको जिम्मा बाँडियो। मैले मातृभाषा साहित्य विभागको जिम्मा पाएँ। यो मेरोनिम्ति नयाँ चुनौती थियो। जाति र भाषाबारे ठाउँठाउँबाट असन्तुष्टिको धूवाँ निस्कन खोजिरहेको बेला पनि थियो त्यो। नयाँ नेपालको सुन्दर अनुहार हेर्न हतारिएको बेला पनि थियो। देश त अँझै दुखिरहेकै थियो।
२१ फेब्रुअरी। अन्तर्राष्ट्रिय मातृभाषा दिवस अगाडि आइरहेको बेला थियो तर मैले १९ फेब्रुअरीमा मात्र थाहा पाएँ। हतारमा कुलपतिज्यूसँग सल्लाह गरेँ- भाषासाहित्यसँग सम्बन्धित यो दिवसका दिन मातृभाषी स्रष्टाहरूबीच एउटा समसामयिक छलफल गोष्ठी गर्न पाए कस्तो होला भनेर।
हतारमा कार्यक्रमको तयारी पनि भयो र त्यही दिनदेखि औपचारिक रूपमा कार्यक्रमको ढोका खुले जस्तो भयो। हिमालदेखि तराइसम्म, मेचीदेखि महाकालीसम्मका विविध भाषा, जातिमा सम्मान र समानताका साथ साहित्यमा रंग खोज्दै अगाडि बढ्ने अवसर प्राप्त भयो।
सन् २०१२मा पुग्दा मातृभाषामा राष्ट्रिय कविता महोत्सव नै भयो। राष्ट्रप्रमुखको प्रमुख आतिथ्यमा सुरु भएको यो महोत्सव अब राष्ट्रिय पर्वका रूपमा हरेक वर्ष अगाडि बढ्नेछ। यो एउटा ऐतिहासिक फड्को थियो। अर्को कुरा, हाम्रो देशमा एक सय २३ वटा भाषा अँझै जीवित छन् भने कतिपय भाषा लोपोन्मुख अवस्थामा छन्। तर, पुर्खाले छोडेका असल निधिहरूको बेवास्ता गरी तिनलाई नष्ट गर्दै जानु न्यायोचित थिएन।
साहित्य भएको भाषाले लामो आयु प्राप्त गर्छ भने साहित्यमा गति हराएपछि भाषा आफैं मर्दै जानु स्वाभाविक पनि हो। यो विषयमा यी चार वर्षको बीचमा धेरै काम अवश्य भएका छन्। मेरोनिम्ति नयाँ विश्वविद्यालयको थेसिसजस्तै हो; जुन कुनै दिन पुस्तकका रूपमा निस्कन्छ र सबैको हुनेछ।
नेपाल प्रज्ञाप्रतिष्ठानका सकारात्मक, नकारात्मक प्रश्नहरू बरोबर सुन्ने गरेकी छु। सबैको काममा म जवाफ दिन सक्दिनँ। म आफ्नो कामको मात्र समीक्षा गर्न सक्छु। तर, देशको अत्यन्तै महत्त्वपूर्ण र चुनौतीपूर्ण कामको जिम्मा लिएको हाम्रो विभागले अत्यन्तै ठूलो एउटा मुद्दालाई न्यायोचित ढंगले सम्बोधन गरेको छ। दुखेको देशमा साहित्यको माध्यमबाट सुन्दर तरिकाले मलमपट्टी लगाएको छ। हाम्रो देश साझा फूलबारी हो, यसलाई व्यवहारले पुष्टि गराउने काम भएको छ।
पहिले प्राय: एउटैमात्र भाषामा काम भइरहेको ठाउँमा आज ५५ वटा भाषासम्मका स्रष्टालाई अगाडि ल्याइएको छ। मेचीदेखि महाकालीसम्मका विविध भाषाभाषीका नागरिकले आत्मसम्मानका साथ आफ्नो मातृभाषामा कविता लेख्नु र सुनाउन पाउनुले देशलाई टुक्र्याउने होइन, आपसमा सद्भावले जोड्ने काम भएको छ।
यस्तो सुन्दर जिम्मा मैले पाएको रहेछु, अहिले फर्केर हेर्दा खुसी लाग्छ। यो जिम्मेवारीका लागि योग्य ठानेर त्यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैप्रति म आभारी छु। यो पनि त नयाँ नेपालको अनुहार हेर्ने एउटा ऐना त हो नि, होइन र?
अन्नपूर्ण पोष्ट
२०७० फागुन ३, शनिबार
