Skip to content


‘कहाँ सात महिनामै तुहियो भनेर फालिन खोजेको मानिस सत्तरी काटेर पचहत्तर वर्षको इन्द्रेणी छुन आइपुगेको छु। आफ्नो जीवनयात्रामा पाएको मेरो पहिलो विजयश्री त यही नै हो’, २०६६ सालमा कृष्ण साहित्य सदनका लागि भारत उत्तरप्रदेशस्थित बनारसबाट साहित्य संगमले प्रकाशन गरेको ‘शिखरयात्रा’ नामक आत्मवृत्तान्तमा कृष्णप्रसाद पराजुलीले लेखेका थिए, ‘त्यसपछि पनि म अनेकपल्ट मरेझैं भएर जिउँदै आएको छु। यी सबै सम्झँदा मलाई अक्षरहरूमा छरिन मन लाग्छ, शब्दहरूमा भरिन मन लाग्छ, भावनाका लहरमा पोखिन मन लाग्छ र आफ्ना अनुभव र अनुभूतिलाई सबैतिर बाँड्न मन लाग्छ।’

अनुभव र अनुभूतिहरू त बाँड्न त सफल भए तर पटकपटक काललाई जिस्क्याउने र जित्ने उनै पराजुली यसपटक भने असफल भए। अर्थात् उनले हारे। झन्डै एक दसकदेखि सानेपा ललितपुर बस्दै आएका उनले बिहीबार ठिक सवा आठ बजे स्वर्ग यात्रामा जानै पर्‍यो। मधुमेह, निमोनिया र मृगौला रोगले पीडित ७९ वर्षीय उनको पशुपतिस्थित आर्यघाटमा मध्यरातमा दाहसंस्कार गरियो। जे होस्, पराजुलीले धेरैपटक काललाई झुक्याए। किनकि उनी ‘आगोका फिलिंगा’ थिए।

कमल दीक्षित
साहित्यिक क्षेत्रमा ‘हस्ती’ मानिने कमलमणि दीक्षितले उनलाई यस्तै उपमा दिएका थिए। दीक्षितले एउटा लेख नै लेखेर उनलाई पूर्व १ नम्बर (सुनकोशी क्षेत्र)का लागि नेपाली भाषाको ‘आगोका फिलिंगा’ भनेका थिए। सोही क्षेत्रका भाषासाहित्य सेवी मोहन दुवाल पराजुलीलाई चिनाउने अनि पराजुली दुवाललाई। ‘त्यसैले मलाई लाग्यो पराजुली र दुवाल एउटै सिक्काका दुई पाटा’, दीक्षित भन्छन्, ‘तर यो कुरो जनकप्रसाद हुमागाईलाई मन परेनछ, मैले त देखेबुझेको कुरो लेखेको थिएँ।’

२०१६ सालको कुरो हो। दीक्षित रानी जगदम्बाको सचिवका रूपमा जग्गा हेर्नका लागि बालुवा पञ्चायत, ओजेटार (जिगु खोला आसपास)तिर गएका थिए। बाटोमा कसैबाट सुनेपछि उनको मन थामिएन र हेर्न पुगे पुस्तकालय। ‘जुनियर’ भए पनि उनले पराजुलीको प्रसंशा नगरी बस्नै सकेनन्।

‘मैले खूब उक्साएको थिएँ, राम्रो काम भनेर। हो पनि हामीसँग नभएका पुस्तक खोजेर त्यतिबेला त्यस्तो विकट ठाउँमा त्यत्रो पुस्तकालय खोलका थिए’, भक्तपुरबाट हिँडेर त्यहाँ पुगेका दीक्षित थप्छन्, ‘त्यसपछि हिमचिम बढ्यो। तर अन्तिम अवस्थामा भेट्न पाइनँ। म थप पीडा दिन कुनै पनि बिरामी भेट्न आइसियु वा आइसिसीयूमा कहिल्यै जाँदिनँ।’

घुमाईफिराई एक दुई साहित्यकार पुरस्कार दिने नराम्रो चलनले पराजुलीका नाममा कुनै पुरस्कार स्थापना नगर्न सुझाव दिन्छन् दीक्षित। भन्छन्, ‘नेपाली भाषा र साहित्यको क्षेत्रमा उपलब्धी हुने अरू कुनै पनि काम गरे हुन्छ।’

भमरकोट, काभ्रेमा १९९२ असार २४ गते जन्मिएका पराजुलीले कविता काव्य सातवटा, कथा एकांकी तीनवटा, निबन्ध प्रबन्ध १० वटा, भाषा व्याकरणसम्बन्धी चारवटा, लोकसाहित्य दुई, बालसाहित्य १६ लगायतका ४५भन्दा बढी कृति लेखिसकेका छन्। यसैगरी, करिब दुई दर्जन साहित्यिक पत्रिका, शब्दकोष र ग्रन्थहरूको संयोजन एवं सम्पादन गरिसकेका छन्।

बालसाहित्यमा छुट्टै छाप छोड्न सफल पराजुलीले तीन दर्जन बढी बाल पुस्तक लेखेका छन्।

नेपाली भाषाको कोशेढुंगा मानिएको ‘राम्रो रचना मीठो नेपाली’का लेखक पराजुलीलाई नेपाली भाषासाहित्यमा यही कृतिले चिनायो। २०३० सालको कुरो हो, धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आई एको अनिवार्य नेपालीको प्रश्न बनाउनुपर्ने भयो। अहिले भाषा विज्ञानमा पकड जमाएका प्राध्यापक डाक्टर माधवप्रसाद पोख्रेलसँग त्यतिबेला भाषाविशेषज्ञ बालकृष्ण पोख्रेलको भेट भयो। बालकृष्णले सल्लाह दिए, ‘भाषाव्याकरणको आदर्श पुस्तक छ नि पराजुलीको ‘राम्रो रचना मीठो नेपाली’, हो त्यही पुस्तकलाई आधार बनाएर प्रश्न बनाउनु।’

माधवप्रसाद घिमिरे
पराजुलीले उक्त पुस्तक २०२३ सालमा लेखेका हुन्। उनै माधवले २०६४ सालमा सिफारिस गरे, पराजुलीलाई जगदम्बाश्री दिनुपर्छ भनेर। गोपाल पाण्डे असिम प्रधानाध्यापक हुँदा नेपाली शिक्षा परिषद्मा महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समलगायतले पढाए, पराजुलीलाई।

माधव भन्छन्, ‘पराजुलीले राष्ट्रिय विद्यापीठबाट भारतमा एमए र नेपालमा बिए सरहको साहित्य रत्न पास गरेका थिए। यसैलाई आधार मानेर उनलाई लोकसाहित्य पढाउन त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक बनाइयो। पछि सेवा निवृत्त हुनु १५ दिनअघि सहप्राध्यापक बनाइएको थियो।’ उनका अनुसार, असीमले दुईवटा ब्याकरणका पुस्तक लेखेका थिए। ‘तर पराजुलीले ग्रामीण परिवेशको शक्ति, सौन्दर्य र मीठास थपेकाले राम्रो रचना मीठो नेपाली शीर्षकअनुसारको भएको हो जसले लेखकलाई जीवन दियो, कालजयी बनायो’, उनी थप्छन्।

२६ दिनअघिको प्रसंग हो, ६६ वर्षपछि नेपाल प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ साहित्यकारहरूको ऐतिहासिक जमघट भयो। राष्ट्रकवि माधवप्रसाद घिमिरेले खिचिएको सामूहिक फोटोबारे तत्काल प्रतिक्रिया दिए, ‘आज स्रष्टाहरूको ऐतिहासिक भेला भयो। यी फोटाहरू केहीबेरमै विश्वव्यापी बन्नेछन्। यो ऐतिहासिक क्षण विश्वले थाहा पाउने छ। म आज सबैको साथ बसेर फोटो खिच्दा रोमाञ्चित बनेको छु। गौरवको अनुभूति गरिरहेको छु।’

उनले थपेका थिए, ‘वास्तवमै नब्बे नाघेका स्रष्टासहितको यो भेला सहज विषय होइन, थाहा छैन हामीमध्ये को कति समयसम्म कतिञ्जेल बाँचौंला।’ भयो पनि त्यस्तै, पराजुली त्यही शाश्वत कुरामा समेटिए। घिमिरे जन्म मृत्युलाई चक्रका रूपमा लिँदै भन्छन्, ‘सबैले एक दिन व्यहोर्नै पर्ने कुरो हो, तर पराजुली नेपालीका निम्ति साहित्यिक चिनोहरू छोडेर सधैं ‘आभा’ बनेर जानुभएको छ।’ पराजुली सुनकोशी साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष पनि थिए। उनी जगदम्बाश्री पुरस्कार, सुप्रबल गोरखा दक्षिणबाहु आदिबाट पुरस्कृत र सम्मानित भएका थिए।

जति विशिष्टताले सम्पन्न थिए पराजुली, त्यति नै सरल पनि। ‘सरलताले नै विद्यान पराजुली सर सबैका मनमा बस्न सफल हुनुभएको हो’, साहित्यकार प्रभा भट्टराई भन्छिन्, ‘लुकेका तर क्षमता भएका अनि उत्साही साहित्यकारलाई हौसलाले अघि बढ्न प्रेरित गर्ने उहाँलाई चिन्ने र सम्झने थुप्रै विशेषता छन्।’ एउटा विद्यालयले भानू जयन्तीका अवसरमा सम्मान गर्न लागेको थियो। तर मधुमेहका रोगी पराजुलीका हात लल्याकलुलुक भए।

प्रभा भट्टराई

प्रभा भट्टराई
छेवैमा भएकी प्रभालाई सोधे, ‘ए प्रभा, तिमीसँग चकलेट छ? मेरो त सुगर घट्यो। चकलेट खानेबित्तिकै उहाँ तत्काल तन्दुरूस्त हुनुभयो।’ प्रभा पराजुलीकी विद्यार्थी पनि। २०४५ सालमा त्रिविमा नेपाली विषयको लोकसाहित्यका गुरू पराजुलीसँग प्रभाको पछि पारिवारिक घुलमिल भएको थियो। थप्छिन्, ‘साहित्यिक नाताले बाबुले छोरीलाई गर्ने स्नेह र संरक्षणसमेत पाएको थिएँ। उहाँले धेरैलाई यस्तै छहारी दिनुभएको थियो।’

गीतकार पराजुली बालसाहित्यमा पनि राम्रै जमेका थिए। ‘सुनौला तीन कुरा’ एशियाली उत्कृष्ट बालकथामा छानिएको थियो भने ‘हिमाली डाँफे’ले उत्कृष्ट बालसाहित्य पुरस्कार पाएको थियो।

नेपाली भाषा साहित्यका नाताले नेकपा एमालेका नेता रघुजी पन्त पनि पराजुलीका विद्यार्थी हुन्। २०३४ सालदेखि २०४० सालसम्म ‘झिसमिसे’, ‘संकल्प’ र ‘अनुभूति’ जस्ता साहित्यिक पत्रिका निकाल्दा पन्तले पराजुलीसँग थुप्रै रचना मागेका थिए। भन्छन्, ‘रूपरेखाकै प्रेसमा हामी यी पत्रिका छाप्थ्यौं, रूपरेखाको कार्यालयमा आउँदा त्यही मौकामा उहाँ र उहाँजस्तै अन्य वरिष्ठका रचना पाउँथ्यौं।’

रघुजी पन्त
संविधान सभाको दोस्रो निर्वाचनका क्रममा पन्त भोट माग्न पराजुलीनिवास सानेपा पुगे। तर पराजुलीले गाली गरे। उनी सम्झन्छन्, ‘यति ढिलो आउने हो त? भनेर गाली गर्नुभयो। तर जीतको कामना गर्नुभयो। हार भए पनि म उहाँको सरल र सहज व्यवहार र उहाँको लेखन जीवनभर शिरोधार्य गरिरहने छु।’

पराजुलीलेपछिल्ला दिनमा महाकाव्य तयार पारेका थिए। छोरा शाश्वत भन्छन्, ‘तीन सय पृष्ठको मनमाया नामको महाकाव्य प्रेसमा छ। त्यसबाहेक बालसाहित्य र अन्य गरेर चारवटा पुस्तकका पाण्डुलिपी छन्।’ उनका अनुसार, गत महिना प्रज्ञामा भएको वरिष्ठसाहित्यकारसँगको भेटले आफूलाई साहित्यमा अँझै धेरै केही लेख्न प्रेरित गरेको बुबाले बताउनुभएको थियो। शाश्वत थप्छन्, ‘बुबाको ‘राम्रो रचना मीठो नेपाली’ जस्तै अर्को कुनै कालजयी साहित्यिक कृति पाठकलाई प्रदान गर्ने सपना थियो। थाहा छैन त्यो मनमायाले पुरा गर्छ कि गर्दैन।’

२०७० चैत २२, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *