Skip to content


दृष्टि के हो ? यो एक दार्शनिक प्रश्न पनि लाग्न सक्छ । लाग्छ भने पनि ठिकै छ । आखिर दृष्टिमा नै त छ दर्शन !

आँखाको हेर्न सक्ने क्षमता नहुनेलाई हामी भन्छौं दृष्टिविहीन । दृष्टि शब्दको निकै शंकुचित अर्थमा यसको प्रयोग भएको छ । दृष्टि दृश्य हेर्न सक्ने खुबीमा मात्रै सीमित छैन । यो जीवनकै एक अनुभव र यसको सार्थक विश्लेषणका लागि ज्यादा प्रयोग हुने कुरा हो । त्यस अर्थमा आँखाको हेर्न सक्ने क्षमता नभएकालाई दृष्टिविहीन भन्नुमा प्रष्टै त्रुटि देखिन्छ । जसको आँखाले काम गर्दैन, ऊसँग के दृष्टि हुँदैन त ? यसमा कुनै शंका छ भने मेरो सल्लाह छ, तपाई भास्वतलाई भेट्नुस् ।

भन्नुहोला, को भास्वत ? म चिनाउँछु, तर अलिक बेर पख्नुस् । बाहिरबाट हेर्दा भास्वतलाई तपाई दृष्टिविहीनै भन्नुहोला । झुक्किएर मैले पनि सुरुमा भनेँ । तर ऊसँग संगत भएपछि, उसका कुरा बुझेपछि र उसलाई चिनेपछि मलाई लाग्यो, उसप्रतिको मेरो दृष्टिकोण पुरानो ढर्राको रहेछ, भन्छन् नि स्टेरियोटाइपको !

पक्का हो, भास्वत आँखा देख्दैन । तर जीवप्रति उसका पनि दृष्टिकोण छन्, तपाईं हाम्रा जस्तै ।

ऊ पनि उज्यालोको खोजीमा छ । आनन्द, सुख र खुसीले दिने एक भित्री उज्यालो ऊ पनि देख्न सक्छ । ऊ भन्छ, ‘भोग्नु त रहेछ जीवन । कोही सुख भोग्छन, कोही दु:खै दु:ख ।’

के यो एक दृष्टिकोण होइन र जीवनप्रतिको ? मनको आँखाले जीवनलाई देखेरै त उसबाट निक्लेको हो यो कथन ।

अरू भन्छन्, भास्वतले आमाको माया पाएन किनभने उसलाई जन्माउनु बित्तिकै आमाले सिस्नाको घारीमा फालिदिइन् । हुन पनि हो, माया गर्दी हुन् त किन मुटुको डल्लोलाई सिस्नाको घारीमा फाल्थिन् र ?

तर भास्वतको बुझाइ बेग्लै छ । यसमा पनि उसको आफ्नै जीवन दृष्टि छ ।

‘मेरी आमा पनि त्यसबेला मेरो अनुहारमा (हेरेर) धेरै बेर टोलाइन् होला, अनि अलिकति माया पनि पलायो होला’ भास्वत भन्छ, ‘नत्र त खाल्डोमा खनेर पुरे पनि हुन्थ्यो, माया (न)पलाएको भए सिस्नोको झ्याङमुनि किन ?’

आमा कुनै परिबन्दमा थिइन् होला । सायद कुनै रिकुटे बाबुले झुमाजस्ती आमाका गर्भमा भास्वतलाई रोपेर बेपत्ता भएको थियो । इज्जत, मर्यादा, समाज इत्यादि अनेक कारणले आमा उनलाई काखमा राखेर खेलाउन असमर्थ थिइन् । सायद ! त्यसैले उनले भास्वतलाई सिस्नाका घारीमा छाडिन् । तपाइर्ंको यसमा एक दुस्ट्याइँ देख्नुहोला, जो कम्तीमा आमाबाट अपेक्षा गर्न सकिन्न । भास्वत देख्छ यसमा असीम करुणा । सिस्नोमा फालेपछि बच्चा भास्वतलाई पोल्छ । पोलाइले ऊ जोडजोडले रुन्छ । बाटामा हिँड्नेले त्यो सुन्छ र कसैले उसलाई त्यहाँबाट टिपेर लान्छ ।

यस्तो उनकी आमाले ठानिन् होला र सिस्नोमा फालिन् होला भन्ने भास्वतलाई लाग्दो रहेछ । कुरा यसै नहुन पनि सक्छ, हुन पनि सक्छ । तर भास्वत जीवनको उज्याला पक्ष मात्रै देख्छ । आमाको दुर्गुण हुन्छ भन्नेमा उसलाई विश्वासै छैन । के यो एक दृष्टिकोण होइन र ? यस्तो हुन आँखाले देख्नै पर्छ र ?

जसरी झ्याल हुँदैमा देखिने होइन । भित्र हेर्ने कोही हुनुपर्छ, अनि पो झ्यालबाट देखिन्छ । झ्याल आफैंले त के देख्दो हो ! मलाई लाग्छ, आँखा पनि झ्यालै हो । भित्र हेर्ने कोही हुनुपर्छ आँखाबाट देख्नलाई । तर झ्यालै छैन भन्दैमा भित्र हेर्ने मान्छेको अस्तित्व नै छैन भन्न कहाँ मिल्छ ? मिल्दैन भने भास्वतको अस्तित्वमा यहाँ कुनै कमी छ भन्न मिल्दैन । यत्ति हो, ऊ झ्यालबाट हेर्न सक्दैन । तर जीवनमा पूरापुर अस्तित्वमान छ ऊ ।

प्रेम, घृणा, मिलन, विछोड इत्यादि जीवनका सबै रंगहरूमा भास्वत अरूजत्तिकै खुलेको छ । भित्री आँखाले ज्यादा काम चलाउनु पर्नाले होला, उसको जीवनदृष्टि अझ बढी नै सूक्ष्म छ ।

यतिका भनिसकेपछि अब मलाई भास्वतको असली परिचय खुलाउनुमा थप सुविधा भएको छ । मैले सीधै उसलाई भेटेको होइन । लेखिका मनीषा गौचनको यसमा पूर्ण भूमिका छ । सामान्यत: साहित्यले बिर्सिएको एउटा वर्ग जो आँखा देख्न सक्दैन (यहाँनिर मलाई दृष्टिविहीन भन्नुमा एक तथ्यगत त्रुटिको अनुभव बढी प्रष्ट भएको छ ।) का बारेमा औपन्यासिक परिवेशमा कलम चलाउने मैले थाहा पाएको पहिलो मान्छे हुन् मनीषा । भर्खरै मुदि्रत ‘ह्वाइट केन’ त्यसको दसीप्रमाण सबै हो ।

पहिलो कुरो त, विपरीतलिंगीको भाव र दृष्टि दुरुस्त हो जस्तो गरी लेख्नुमा हमेसा एक कठिनाइले पच्छ्याउँछ लेख्नेहरूलाई । त्यसमा पनि रंग र आकार, वस्तु केही पनि नदेख्ने आँखा बोकेको मान्छेको भावदशा उतार्नुमा झनै कष्ट छ । यी दुवै कठिनाइ पार गर्न मनीषाले एक हदको कला जानेकी रहिछन् । उपन्यास पढ्दा यसको आभास पाठकलाई सजिलै हुन्छ ।

बाहिरी दृश्य देख्ने सुविधा नभएका भास्वतहरू हिँडडुल गर्न एक सेतो सिर्कनो प्रयोग गर्छन् । ह्वाइट केन त्यसैलाई भनिन्छ र उपन्यासको न्वारन यसैबाट गरेकी छन् मनीषाले ।

शीर्षक आफैंमा एक उपमाजस्तो, एक विम्बजस्तो छ । आँखा देख्नेलाई पनि अघि बढ्न कुनै सहारा चाहिन्छ । सहारा प्रेमको हुन सक्छ, पैसाको हुन सक्छ, यौनको हुन सक्छ वा हुन सक्छ कुनै पद र प्रतिष्ठाको ।

भास्वतले बिताएको जीवन र ऊसँग आएका पात्रहरू धेरै अर्थमा उसका ह्वाइट केन अर्थात् भएका छन् भिन्न भिन्न समयमा । ती पात्रले बाँच्न गरेको संघर्ष र अघि बढ्न लिएको आड पनि ह्वाइट केन नै हो भिन्न अर्थमा ।

‘वल्लीको डायरी’ पछि भास्वतलाई ह्वाइट केन बनाएर मनीषाले आफ्नो औपन्यासिक यात्राको दोस्रो जँघार तरेकी छन् । रफ्तार र जाँगर हेर्दा के लाग्छ भने, पाठकले आउने दिनमा अरू पनि पढ्ने चिज मनीषाबाट पर्याप्त पाउने छन् ।

ह्वाइट केन
विधा : उपन्यास
लेखक : मनीषा गौचन
प्रकाशक : सांगि्रला बुक्स
मूल्य : रू. ३७५

कान्तिपुर कोसेली
२०७१ वैशाख ६ ११:०४

1 thought on “ह्वाइट केनः एक दृष्टि”

Leave a Reply

Your email address will not be published. Required fields are marked *