Skip to content


नेपाली साहित्यका विभिन्न विधामा महिलाले पु:याएको योगदानबारे अध्ययन-अनुसन्धान गर्ने सिलसिलामा लेखनाथ पौड्यालकी श्रीमती सत्यवती पौड्यालको कवितासंग्रह नामक कृति प्रकाशित भएको जानकारी प्राप्त भयो। यसले निकै उत्साहित तुल्याएकाले म उनका बारेमा थप खोजी गर्न अग्रसर भएँ।

उनका बारेमा जानकारी प्राप्त गर्न नेपाली कविताका इतिहासको अध्ययन गर्दा कतै पनि यिनको नाम फेला परेन। अग्रज अनुसन्धानकर्ता एवं समालोचकहरूसँग उनीबारे जिज्ञासा राख्दा ‘तपाईंले सत्यवतीको पौड्याल कवितासंग्रह प्रकाशित छ भन्ने कुरा कसरी थाहा पाउनुभयो? तपाईंले साँच्चै उनको किताब देख्नुभएकै हो त?’ भन्नेजस्ता प्रश्नहरू पो आए।

अनेक पुस्तकालयमा यिनको पुस्तक खोजी गर्दा कतै पनि फेला परेन। मदन पुरस्कार पुस्तकालयको वेबसाइटमा उक्त पुस्तक दर्ता भएको देखेपछि उत्साहित हुन पुगेको मन ‘आन्तरिक व्यवस्थापनका कारण केही समय पुस्तक पढ्न नमिल्ने भन्ने’ अनौपचारिक जानकारी पाएपछि भरंग हुनपुग्यो। यो पुस्तक वासुदेव लुइँटेलले प्रकाशित गरिदिएको भन्ने अस्पष्ट सूचना मिलेपछि हास्यव्यंग्यकार स्व. वासुदेव लुइँटेलको निजी संग्रहमा निकै कष्टका साथ खोजी गर्दा पनि फेला परेन।

यसपछि सत्यवतीको परिवारका बारेमा सोधखोज गर्दै जाँदा उनका नाति विजयराज भट्टराईसँग भेट भयो, तर उनलाई पनि आफ्नी हजुरआमाले कविता लेखेर छपाएको कुरा थाहा रहेनछ। आफ्नो कुलकै यस्तो गौरवमय तथ्य अहिलेसम्म आफूलाई थाहा नभएकोमा उनी खिन्न भए र प्रश्न गरे,’हामीलाई पनि थाहा नभएको कुरा तपाईंले चाहिँ कसरी थाहा पाउनुभयो नि।’

कुराकानीकै सिलसिलामा उनले अब यसबारे सोधखोज गर्ने कुरा बताउँदै केही तथ्य फेला परेमा मलाई जानकारी दिने कुरा बताए। अनेकौं प्रयास गर्दा पनि कतैबाट केही जानकारी प्राप्त हुन नसके पनि सोधखोज गर्न छोडिएन। यसै क्रममा सत्यवतीका जेठा नाति बद्रीविनोद ढुंगानासँग सम्पर्क हुनपुग्यो। सत्यवती पौड्यालको बारेमा सोधखोज गर्दा उनले किताब खोजिदिने आश्वासनका साथै अन्य केही जानकारी पनि दिए। यसको निकैपछि बाहिरी गाताको केही भाग च्यातिएको पुरानो किताब र सत्यवती पौड्यालबारे केही जानकारी उनीबाट प्राप्त भयो। खुसी लाग्यो।

सत्यवती पौड्याल कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी श्रीमती हुन्। २०३० सालमा प्रकाशित कविता संग्रहको ‘मेरो केही कुरा’ शीर्षकको भूमिकामा वर्ष ७१ उल्लेख गरिएको हुँदा यिनको जन्म १९५९ तिर भएको हुन सक्ने देखिन्छ। बद्रीविनोद ढुंगानाबाट प्राप्त जानकारीअनुसार यिनको जन्मथलो कास्कीको तारकाङ हो र १९७२ सालमा लेखनाथ पौड्यालले सत्यवतीसँग दोस्रो विवाह गरेका हुन्। वासुदेव त्रिपाठीले लेखनाथ पौड्यालको जीवनी लेख्ने सन्दर्भमा स्रोत व्यक्तिका रूपमा पादटिप्पणी प्रस्तुत गर्दा यिनको नाम ‘सत्यदेवी पौड्याल’ भनेर उल्लेख गरेको पाइए पनि २०३० सालमा प्रकाशित कविता संग्रहमा यिनको नाम ‘सत्यवती पौड्याल’ (कवि-शिरोमणिकी धर्मपत्नी) भन्ने लेखिएको हुँदा यिनको यही नाम नै प्रामाणिक देखिन्छ। २०२२ सालमा लेखनाथ पौड्यालको मृत्यु भएपछि यिनी एकल जीवन बिताउन थालिन्। यसै सन्दर्भमा यिनले कविताको सिर्जना गरिन् र त्यो कृति २०३० सालमा प्रकाशित भयो। कृति प्रकाशन भएको एक वर्षपछि अर्थात् २०३१ साल कात्तिक महिनामा यिनको मृत्यु भएको हो। यिनका बारेमा यसभन्दा बढी जानकारी उपलब्ध छैन।

अहिलेसम्म लेखिएका साहित्यका इतिहासमा सत्यवती पौड्यालको नाम कतै पनि उल्लेख पाइँदैन। लेखनाथको मृत्युपछि एकल जीवन बिताउँदा उत्पन्न भावानुभूतिलाई नातिनातिनाको सहयोगले लिपिबद्ध गरिएको कुरा कविता संग्रहको भूमिकामा उल्लेख गरिएको छ। छोटा आयामका ६१ वटा कविता समाविष्ट प्रस्तुत कविता संग्रहमा सबैभन्दा छोटो कविता ‘मौरीको कल्पना’ चार पंक्तिमा संरचित छ भने ४३ पंक्तिमा संरचित ‘पिँजडाको मैना चरीको बिलौनाÓ शीर्षक कविता लामो कविताको रूपमा रहेको छ। यिनले लेखनाथ पौड्यालका प्रिय वस्तु चरा, वृक्ष, तपस्वी, हिमाल, पृथ्वी, सत्य, चैतन्य, वैराग्यजस्ता विविध सन्दर्भलाई विषय बनाएर कविताको सिर्जना गरेकी छन्। यिनका चरालाई विषयवस्तु बनाइएका कवितामा चराको बारे वर्णन नभएर चरालाई विम्बका रूपमा ग्रहण गरी गर्दै वैराग्यको प्रस्तुतिका साथ आध्यात्मिकतालाई प्रस्तुत गरिएको छ।

सत्यवतीका अधिकांश कवितामा जीवन क्षणिक रहेको र आत्माचाहिँ अमर, अजर एवं सत्य रहेको भावाभिव्यक्ति पाइन्छ। नश्वर देह छोडी एकदिन यो संसारबाट बिदा लिनुपर्ने भाव अभिव्यञ्जित यिनका कवितामा सांसारिक माया, मोह, लोभ, पाप, छलकपट आदिबाट टाढा रहनुपर्ने दृष्टिकोणका साथै वैराग्य भावनाको अभिव्यक्ति पाइन्छ। भाग्यवादी दृष्टिकोणको प्रस्तुति पाइने यिनका अधिकांश कवितामा ईश्वरप्रति अत्यन्त आस्था प्रकट गरिएको छ। मानवीय जीवन, प्रकृति, माया, मोह आदि ईश्वरद्वारा सञ्चालित भएको दृष्टिकोण अभिव्यक्त यिनका कवितामा स्वार्थी संसार देखेर उत्पन्न पीडालाई पनि प्रस्तुत गरिएको छ।

पिँजडाको बन्धनमा रहन बाध्य मैना तथा नियतिले पिँजडामा परेको चरीको बिलौनालाई प्रस्तुत गर्दै चराका माध्यमबाट आत्मा र शरीरको सम्बन्धलाई यिनका कवितामा देखाइएको छ। पारिवारिक आध्यात्मिक वातावरण, उमेरगत दृष्टिजस्ता सन्दर्भबाट हेर्दा यिनका कवितामा भएको वैराग्य एवं आध्यात्मिकताको प्रस्तुतिलाई स्वाभाविक रूपमा लिनुपर्छ। यिनले लेखनाथको ‘पिँजराको सुगा’ शीर्षक कविताका प्रभावमा पनि कविता लेख्नुका साथै लेखनाथको अन्तिम संस्कारका क्षणको सम्झना गरेर पनि कविता लेखेकी छन्। लेखनाथको जन्मभूमि अर्घौं अर्चलेको प्राकृतिक सेरोफेरोको वर्णन गर्दै उनको कुलको स्मरण गरिएका भावाभिव्यक्ति पनि यिनका कवितामा पाइन्छन्। यिनका कवितामा सामाजिक समस्याको प्रस्तुति पाइन्छ।

गरिबीबाट आहत मातृत्वको पीडा, वृद्धावस्थाका पीडा, सडकको दुर्दशाजस्ता सन्दर्भलाई पनि यिनले कवितात्मक अभिव्यक्ति दिएकी छन्। यसका साथै मानिसहरू स्वार्थी हुँदै गएकामा यिनले व्यंग्य पनि प्रहार गरेकी छन्। समग्रमा भन्नुपर्दा सत्यवती पौड्यालका कविताको मूल भाव वैराग्य तथा आध्यात्मिकताको प्रस्तुति नै हो। उमेरगत एवं परिस्थितिजन्य कारण यिनका कवितामा यस प्रकारका विषयवस्तुको प्रस्तुति पाइनु स्वाभाविक नै देखिन्छ। सत्यवती पौड्यालका अधिकांश कविता गद्यलयमा लेखिएका छन्। यिनका कतिपय कवितामा लोकभाकाको पनि प्रयोग पाइन्छ भने कतिपय कवितामा तुकबन्दी आनुप्रासिकताको संयोजन गर्ने प्रयास गरिएको पाइए पनि त्यो त्यति सशक्त र प्रभावकारी देखिँदैन। ‘धन देख्ता बल्छन् महादेवका तीन नेत्र’, ‘बाहिर बोक्रा भित्र खोक्रो’, जस्ता उखान तथा ‘जोरी शत्रु नहुने संसारमा को पो छ र’ भन्नेजस्ता सुक्ति पनि यिनका कवितामा प्रयुक्त छन्।

समग्रमा भन्दा सिद्धहस्त कवि लेखनाथसँग बिछोडिएर एकल जीवन बिताउँदाका कष्टकर क्षणमा उद्बुद्ध अनुभूतिलाई कवितात्मक ढाँचामा आबद्ध गरिएका सत्यवतीका कवितामा लेखनाथीय विषयवस्तुका स्पष्ट प्रभाव पाइए पनि उनको परिष्कृत र परिमार्जित शैलीको प्रभाव भने पाइँदैन। लेखनाथका जीवनकालमा कविता लेखनतर्फ अग्रसर नभएकी निरक्षर प्राय: महिलाले आफ्ना पतिको मृत्युपछिको शोकयुक्त एकांगी जीवन बिताउने क्रममा उत्पन्न अनुभूतिलाई कवितात्मक बान्कीमा ढालेर अभिव्यक्त गर्ने प्रयत्नमा भने लेखनाथका कवि जीवनको प्रभाव रहेको बुझिन्छ। आफूले भनेर नातिनातिनामार्फत लेखाइएका यिनका कवितामा विषयवस्तुगत विविधताजस्तो देखिए पनि मूल स्वर भने आध्यात्मिकता नै रहेको छ। यसप्रकारको अभिव्यक्तिमा लेखनाथको प्रभाव र आफ्नो एकल जीवन भोगाइको पीडादायी अवस्था र उमेरगत अनुभूति रहेको देखिन्छ। कवित्वका दृष्टिले यिनका कविता त्यति स्तरीय नभए पनि एउटी सामान्य गृहिणीले कविता लेखेर भए पनि नेपाली कविता साहित्यको सेवा गर्नु निकै सराहनीय, प्रशंसनीय र अनुकरणीय कार्य हो। जेजस्ता भए पनि जीवनको अन्त्य अवस्थामा आफू अशक्त अवस्थामा पुगिसकेपछि कविता लेखी पुस्तक प्रकाशित गर्नुलाई नै यिनको विशिष्ट योगदान मान्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *