रामेछाप चिसापानी-४ का ५२ वर्षीय शम्भुप्रसाद भुसालले पञ्चै बाजा बजाउन थालेको चार दशक पूरा भएको छ। बाबुबाजेले गरिआएको पेसा धान्ने उद्देश्यले बाजा बजाउन थाले पनि पछि संस्कारसमेत जोगिने बुझेपछि उनी यसैमा लागी परे। तर, उनी एक दसकयता पछुताइरहेका छन्। राजधानीमा भेटिएका उनले भने, ‘पहिले धेरै काम पाइन्थ्यो, जहाँ पनि बोलाउँथे तर अहिले औंसी-पूर्णिमाजस्तो हुन्छ काम पाउन।’

सुरुमा दुई दिन पञ्चै बाजा बजाउँदा पाँच रुपैयाँ पाउने उनी अहिले एउटा समारोहमा बजाएको एक हजार रुपैयाँ पाउँछन्। ‘तर काम नभएपछि दरमात्र बढी भनेर खुसी हुने अवस्था छैन। सबै थोक महँगिएको छ’, उनले भने, ‘यो बाजा बोकेर गएपछि चार हात पर बस्दिनुपर्छ। कसैले पनि नामथरले बोलाउँदैनन्, जातित्वले बोलाइन्छ।’ उनीसँगै भेटिएका ५० वर्षीय पदमबहादुर स्याओले पेसा संकटमा परेकै कारण युवापुस्ता यो कला र प्रतिभालाई अँगाल्न तयार नभएको बताए। ‘बूढाबूढी छन् भने विवाह आदिमा बोलाउँछन्, युवा छन् भने ब्यान्ड बाजालाई महत्त्व दिन्छन्’, उनले सुनाए।

केही समयअघिसम्म पञ्चै बाजा र नौमती बाजालाई सबैजसो शुभ कार्यमा बजाइन्थ्यो। तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा ब्यान्ड बाजा नेपाल भित्रिएको मानिन्छ। त्यसलाई युद्ध क्षेत्रमा बजाउने बाजाका रूपमा भित्र्याइएको थियो। तर, एक दशकयता यो बाजाले विवाहजस्ता शुभ समारोहमा महत्त्व पाउन थालेपछि पञ्चै र नौमती बाजा संकटमा परेको संस्कृतिविद्को भनाइ छ।

युनेस्कोको काठमाडौं अफिसको सहयोगमा नेपाल लोकसांस्कृतिक अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय पञ्चै बाजा तथा नौमती बाजासम्बन्धी लोकसांस्कृतिक सम्मेलनमा रामेछाप पञ्चै बाजा समूहमा २३ वर्षीय सुवास परियार पनि सहभागी भए। देउराली-८ का उनले भने, ‘सँगैका साथी बिदेसिए, पुख्र्यौली बिँडो थाम्ने मेरो भविष्य अलपत्र देख्छु।’ संस्कृति जोगाउन लागिपरेका युवालाई सरकारले रोजगार दिएर हौसला प्रदान गर्नुपर्ने उनको भनाइ छ।

संस्कृतिविद् सत्यमोहन जोशीले अनुसन्धानदाता र विदेशीले समेत ‘नेपालको ढुकढुकी’ भनेको पञ्चै र नौमती बाजालाई सरकारले उचित संरक्षण नदिएको बताए। ‘सरकारले यी बाजालाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा सूचीकरण गर्न पहल गर्नुपर्छ किनकि यी बाजा विश्वकै सम्पदा हुन्। बेलैमा महत्त्व बुझ्न नसके बाजा लोप हुन्छन्, बजाउने पनि भेटिन्‍न’, जोशी भन्छन्।

संस्कृति मन्त्रालयको संस्कृति महाशाखाका प्रमुख भरतमणि सुवेदीले यी बाजा अमूर्त सांस्कृतिक सम्पदा भएकाले युनेस्कोको सूचीमा राख्न पहल गर्ने बताए। ‘कुनै पनि अमूर्त सांस्कृतिक सम्पदा सूचीकरण गर्न चारदेखि पाँच वर्ष लाग्छ। सरकार यसलाई जोगाउन जीवनसँग जोड्ने प्रयासमा छ’, सुवेदीको भनाइ छ।

संस्कृतिविद् एवं राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नालले सम्मेलनमा प्रस्तुत गरेको ‘पञ्चै बाजालाई फर्केर हेर्दा’ शीर्षकको कार्यपत्रमा पञ्‍चै बाजा हिन्दू धर्ममा वैदिक युगदेखि चल्दै आएको मेचीदेखि महाकालीसम्म बजाइने लोकप्रिय बाजाका रूपमा रहेको बताए।

पञ्चै बाजालाई विस्तृत रूप दिन पछि नरङ्क्षसगा र कर्णाल अनि एकएकवटा दमाहा र सहनाई थपेर नौमती बाजा बनाइएको हो। दर्नालले भने, ‘नौमती बाजाको पुख्र्यौली पञ्चै बाजा नै हो। नेपाली संस्कारमा जन्मदेखि व्रतबन्ध, विवाह, चाडबाड, जात्रामात्रा, मेलापात, तिथिपर्व, पूजाआजा आदि हरेक उत्सवमा घन्काइने भएकाले यिनको विशेष संरक्षण गर्नैपर्छ।’ लोकबाजा संग्रहालयका प्रमुख रामप्रसाद कणेलले पञ्चै बाजा पञ्चतत्त्व र नौमती बाजा नौ ग्रहसँग सम्बन्धित भएकाले यसको समाजमा ठूलो महत्त्व र प्रभाव रहेको बताए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *