पुस्तक अन्नपूर्णाको भोज
लेखक मनु ब्राजाकी
प्रकाशक साङ्ग्रिला बुक्स
पृष्ठ २९८+८
मूल्य रु.३००

‘समर्पण नारीको नैसर्गिक गुण हो। तर युद्ध र प्रेममा के अन्तर छ भने, युद्धमा समर्पित नारीको कुनै मूल्य हुँदैन भने प्रेममा समर्पितको इच्छा नै सर्वोपरि हुन्छ’ कथाकार मनु ब्राजाकीको भर्खरै प्रकाशित कथासङ्ग्रह ‘अन्नपूर्णाको भोज’ मा सङ्ग्रहीत ‘भविष्ययात्रा’ कथाका पङ्क्ति हुन् यी। भविष्ययात्रा राजनीतिक कथा हो। शीर्षकथा ‘अन्नपूर्णाको भोज’ की मूल पात्र अन्नपूर्णाको सहनशील स्वभाव र ‘भविष्ययात्रा’ को शिक्षक तथा उसकी पत्नी मीनालाई पाठकले बिर्सनै सक्दैनन्। राजनीतिक कारणले जेल परेको शिक्षक छुटेर आउँदा पत्नी अर्कैकी भइसकेकी हुन्छे। बालकृष्ण नामको आफ्नै मित्रसँग मीनाले जीवनरक्षाका निम्ति बिहे गर्छे। त्यसपछि शिक्षक एउटा अनिश्चित भविष्यको यात्रामा लाग्छ। ‘सामाजिक व्यङ्ग्य’ को सशक्त नमूना हो यो कथा। ब्राजाकीका अधिकांशः कथाका पात्रहरु यस्तै उतारचढावपूर्ण र कठिन बाटोबाट हिंड्छन्। उनी कौतुहल, रोमाञ्चक र गम्भीर संवादबाट समाजका जटिलताहरुलाई उदाङ्गो पारिदिन्छन्।
ब्राजाकीको कथा सिद्धान्त छ– राम्रो कथा बन्न कुनै ठूलो वा गम्भीर विषय आवश्यक पर्दैन, हाम्रै वरिपरिका झिनामसिना घटनालाई पनि स्तरीय कथाको रुप दिन सकिन्छ। उनका कथामा विषयवस्तु वा उद्देश्यसँग चरित्रहरु यसरी गाँसिएर आउँछन् कि तिनले आ–आफ्नो कार्यव्यापार निकै रोचक ढङ्गमा सम्पन्न गर्दछन्। ब्राजाकी चरित्रहरुको विकासमा बढी ध्यान दिन्छन्, जसले उनका कथाहरु वर्णनात्मक र भद्दा हुनबाट जोगिन्छन्। पाठक घटनाभन्दा चरित्रको विस्तारमा ठोक्किन पुग्छ। चरित्र पाठकले नसोचेको बाटोमा हिंडिदिंदा कथा रोचक बन्छ। ब्राजाकीका चरित्र विशेषगरी स्त्री तथा समाजका निम्न वर्ग नै हुन्छन्– सबार्ल्टन वा सीमान्तकृत। स्त्रीको सहनशीलता, निम्नवर्गको कठोर जीवनगति तथा उच्चवर्गको संवेदनहीनता उनका प्रिय विषय हुन्। कथाका निम्ति उनले छानेका विषयहरु सर्वकालिक हुन्छन्।

महोत्तरीमा जन्मिएका चेतमानसिंह भण्डारी नेपाली साहित्यका मनु ब्राजाकी हुन्। उनले आफू उभिएको जमीनको भाषा तथा सांस्कृतिकतालाई कथामा मनग्ये प्रयोग गरेका छन्। कतिपय कथाहरु विशुद्व आञ्चलिक स्वादका छन्। कथालेखनमा आधा शताब्दीको सफलता हासिल गरिसकेका ब्राजाकी केही समयदेखि लेख्न नसक्ने भएका छन्। यो समग्र नेपाली कथा क्षेत्रका निम्ति हानि हो। अवमूल्यन, आकाशको फल, तिम्री स्वास्नी र म, भविष्ययात्रा लगायत आधा दर्जन कथासङ्ग्रहका स्रष्टा ब्राजाकीको पछिल्लो कृति ‘अन्नपूर्णाको भोज’ मा ३५ कथा छन्।

एउटा सङ्ग्रहका सबै कथाका स्तर एउटै हुँदैन। कथाबारे पाठकैपिच्छे फरक धारणा पनि हुनसक्दछ। र पनि, यो सङ्ग्रहका ‘अन्नपूर्णाको भोज’, ‘भविष्ययात्रा’ जस्ता कथा नेपाली साहित्यमा मानक कथाका रुपमा रहने छन् भन्न सकिन्छ। शीर्षकथाकी पात्र अन्नपूर्णा श्रीमान् र उनका मित्रमण्डलीलाई माछा खुवाउन पाएकोमा खुशी हुन्छे। त्यस क्रममा उसले आफ्नो भाग रित्तिएको पनि पत्तै पाउँदिन। ‘अन्नपूर्णाले मुखको स्वाद फेर्न जसै माछा पकाएको कराहीको बिटमा जमेको फिंज चाटी, उसको मगजमा काँडा झै एउटा प्रश्न आएर रोपियो– के स्वास्नीहरुको मत सुरक्षित छ?’ नारीको सम्मान निम्ति योभन्दा अर्को उपयुक्त वाक्य के हुनसक्ला?

राजेन्द्र पराजुली
हिमाल खबरपत्रिका
१८-२४ साउन २०७१

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *