पलपल
गनिरहेछ मान्छे
समयका रेसाहरू
केलाइरहेछ मान्छे !
समयले
बाँधा बनाइरहेछ मान्छेलाई !!
धर्ती सबै
आफ्नै बनाउन चाहन्छ
आकाश पनि सबै
आफ्नै होस् ठान्छ
चाहना र कामनाको थुप्रोभन्दा
अर्थोक रहेनछ मान्छे
आशा र प्रतीक्षाको पुजकभन्दा
फरक भएनछ मान्छे !
मान्छे समयको साधक हो
मान्छे समयको बाधक हो
मान्छेले नै समयको कुलो र नहर खन्छ
मान्छेले नै समयको आँगन र डहर खन्छ !
चाहन्छ मान्छेले समयलाई डोहोर्याउन
चाहन्छ मान्छे समयमै रमाउन
ऊ असीम उत्कण्ठाको खेतीमा लाग्छ
ऊ समयलाई आफ्नो काबुमा राख्न चाहन्छ
र, समय आफ्नै गतिबाहेक
अरूसँग हिंड्न सक्दैन भन्ने थाहा हुँदाहुँदै पनि
समयसँगै पौंठेजोरी खेल्न तम्सिन्छ
समयसँगै नसकीनसकी भिड्न लम्किन्छ
फगत समयका खातिर मान्छे
कहिले एक्लैएक्लै बस्ती चहार्छ
कहिले लाजै नमानी आफन्त गुहार्छ
बुझी नसक्नु छ समयको खेल
बुझेर पनि बुझ पचाउने छ हामी मान्छेको झेल
मान्छे जब समयविरुद्ध चल्छ
समय पनि झन् उल्टै चल्न खोज्दोरहेछ
समयले पनि आफैँ डाँडो काट्न लाग्दोरहेछ !
समयले इतिहासमा कसलाई पख्र्यो र ?
समयले इतिहासमा कसलाई छोड्यो र ?
आखिर समयले मान्छेलाई आश देखाउन खोज्दोरहेछ
आखिर मान्छेले समयलाई दास बनाउन खोज्दोरहेछ
लाग्छ, समय र मान्छे समकक्षी हुन्
समय र मान्छे सहोदर हुन् !!
चेतनाथ कणेल ‘हरित’
