Skip to content

संस्मरण : श्रद्धाञ्जली धर्मराज थापाप्रति


लोकभाका र लयका सुरिला सर्जक धर्मराज थापा अमिट, अचुक नियतिका सहभागी बने। ०७१ असोज २८ मंगलबार सखारै धर्मराज यमराजका प्रमुख अतिथि बनेर लोप भए। यमलोकको विचरणमा धर्मराज आफ्ना मोहक कष्ठनाद फुक्दा हुन्। अमर गाथाका लाक्षणिक लक्षण अनन्तताका अविरल आस्था हुन् र बन्छन्। धर्मराजले जे गरे धर्मै गरे। धर्मका अनन्त आयाम छन्। आयामिक धर्मकर्म सत्कर्मका क्षितिज बोक्छ। थापा कुलका धर्मराजका धर्मकर्म आयामिक रहे। उनका चेतन शृंखलाले लोकभाका र लोकलयलाई जीवन-पहल बनाए। जीवन पहल त्यो थापाका जनकविकेशरीका महक बने। दिवंगत राजा महेन्द्रले ठम्याएका उनका सर्जकीय क्षमताका प्रत्यक्षीकरण बन्यो ‘जनकविकेशरी’ टीको।

जनताका कवि जनकवि। कविका कवित्ववाद सिर्जनाका महक सुवासिन्छ। सुवास जन घ्राणसम्म सुँघिन्छ, सुँघियो पनि। केशरी सुँघिने महक हो- मग्मगाउँदो सुगन्ध। जनताका कवि लोककवि !लोककवि जनता लोक। लोक जनता। शब्दरचनाका खेलमात्र हुन्- प्रजा, जनता, लोक, गण आदि। मातृकोषबाट प्रजनन भए गरिएका सबै प्रजा। जनजन मिली बनेका यावत् जमात-जनता, जनजनका एकता वाचका शब्द जनता। आलोकित जनता लोक। लोक पृथ्वी। लोक चन्द्रलोक। यावत् ग्रह नक्षत्र सबैसबैमै लोक। असल, सुकिला कार्यदल-गण। गण जे पनि बन्न सक्छ। देवगण, प्रजागण, हरगण, जनगण। जनकविकेशरी धर्मराज थापा लोकभाका, लोकलयका लोकगण।

थापाका जनकविकेशरी यमलोकमा पनि नेपाली लोकभाका र लोकलय हाल्दै होलान्। इन्टरनेट, वेबसाइट, आइफोन, आइप्याड, सेलो फोन सबै यमलोकभेदी सञ्चारमाध्यम हुन्। ‘सर्व कार्यसु सर्वदा’ संस्कृत वाक्यांश लोकमय छ। सबैखाले काममा सदासदा। सधैंभरि उत्तिकै उपयोगी वस्तु। विज्ञानका चमत्कार। विश्व ज्ञानविज्ञान। विश्लेषणयुक्त ज्ञानविज्ञान। यिनकै माध्यम धर्मराज थापाका लोकधर्मलाई लोकमा सञ्चार गर्न सकिन्छ। स्वनामधन्य सञ्चारधर्मी युवराज घिमिरेज्यूलाई दिवंगत धर्मराज थापाका जीवन्त हस्ताक्षरमा लेखी दिनुभएको दुई गीत लोक सञ्चारका निम्ति सुम्पेथेँ। धर्मराज थापाज्यूको निष्ठाछें प्रवेशक्रमहरूका एक अवसरमा सो हस्ताक्षरमा तिनलाई सुम्पनुभएको नितान्त स्मरणीय छ। निष्ठाछें, सूर्यविनायक प्रवेशका निशानसित धर्मकाराज कण्ठ लल्कार्छ।

धर्मराज थापाका धर्म लोकभाका, लोकलयमा मात्र परिमित छैन। २०२२ सालमा रामपुरमा कवि राजा महेन्द्रद्वारा समुद्घाटित देशव्यापी साहित्य सेमिनारको माध्यम राष्ट्रव्यापीकरण भएथ्यो। कवि व्यथितको अध्यक्षतामा संयोजित देशव्यापी साहित्य सेमिनार काठमाडौं उपत्यका-इनारबाहिरका सम्मेलन थियो। धर्मराज थापाका धर्मकण्ठभाका सुरेलिएको अहिलेझैं लाग्छ। नेपालका यावत् साहित्य, संगीत, कला, संस्कृति साधकहरूका साप्ताहिक अभियान समापन अवसर देवघाटको त्रिवेणीमा तीनवटा यामान ढुंगा एकैमा समायोजन गरी बेलुकी पेट्रोमैक्सहरू बालेर गरिएथे। थापाको सुरिलो स्वर गुञ्जन मुखरित क्षण आल्हादक रहेको अझै उस्तै ताजा छ। थापाको मिलनसार भावुकता थापीय संस्कार ठान्छु। उनीसितका बसोबास सधैं मधुरमा अझै सुमधुर रहेथ्यो। २०२४ सालको हिउँदतिर। हामी थुप्रै नेपाली साहित्य संस्कृति अनुरागीहरू कैलाली पुगेथ्यौं। एक टहरामा बास भएथ्यो। उहाँसितका सहबास लोकभाका, लोक लयमय बनेथ्यो। अब ती सब स्मृति सन्देश बनेछ- निधनले उहाँको। सम्भवत: उहाँ तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा सहसदस्य हुनुहुन्थ्यो।

‘निधन’ शब्द विश्लेषण चाहँदो छ।’नि अक्षर त उपसर्ग पो रहेछ धन शब्दको। जीवनदर्शनमा धन त प्रसाद बन्छ। देह त प्राणको अखडा। देह=आश्रय। धन=प्राणआत्मा। नि=नहुनु संस्कृत भाषामा। निधन=धन हराउनु प्राण उड्नु, आत्मा बिलाउनु। धर्मराजको निधन उनको सक्कली धर्म बित्नु। सक्कली धर्म उनको स्वर गुञ्जनकर्म=लोक भाकामा लोकगीत लोकलयमा गाउनु। उनको निधनमा नेपाली लोकलय, भाका र गीतका धन लोप हुन पुगेको छ : मात्र उनैका सस्वर नादहरू। उनले आफ्ना यी सार्थक कण्ठवाद छोरीमा प्रतिष्ठापन गरेका छन्। अनेक नयाँ पुस्ता र पुस्ताका कण्ठ मुखरनभरि। धर्मराज थापाले पालन गरेका स्वधर्मका नालीबेली यस्तै छन्। लोकभाका, लोकगीत, लोकलय अनि लोकाचार अब नयाँ पुस्तामा नि:सृत छन्। सरे सारिएका छन्। प्रतिष्ठापन भएका छन्। लोकलय, लोकभाका, लोकगीत नयाँ कण्ठका धनी पुस्ताले फेरि पनि पुस्तान्तरण गर्दै गराउँदै निरन्तर राख्न दिवंगत आत्माको अमूर्त तर सार्थक प्रेरणा नि:सृत हुँदो हो। यस्तै रहँदा हुन् यी क्रियाकलापका गतिविधि।

२०७१ कार्तिक १ शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *