Skip to content


एकैघरका तीन दाजुभाइ मध्ये, कुनै वेला जवानीको मादले लठ्ठिएको जोधाहा ‘क’ पुरानो मक्किइसकेको थोत्रो घर ढाल्नु पर्छ । समाजमा परिवर्तन ल्याई अधिकारको लागि लडनु पर्छ भन्ने अभियानमा लागेको थियो । कतिले उसको विश्वास गरी बाटो पहिल्याएथे, भने कति उसको उग्र रुप देखेर डराउथे । गाँउघरमा उसको मनपरि चल्थ्यो । उसको विरुद्धमा कोही चुक्क पनि गर्न सक्दैनथे । कसैलाई सराप्नु पर्यो भने “तेरो घरमा ‘क’ पसिहालोस” भन्थे रे ।

परिवर्तित समयले उसलाई विलाशितातिर ढल्काउदै लग्यो । आफूले गरेको प्रतिबद्वता, खाएको कसम जम्मै भुलिदियो । उमेर ढल्कदै गयो । शक्ति पनि क्षीण भयो । अब ऊभन्दा महसूर जवान जोधाहा ‘ए’ को आगमन भयो । ‘क’भन्दा यो झन उजन्ड र क्रान्तिकारी । ‘क’सँग अभ्यस्त भैसकेका गाउँले ‘ए’सँग त्राहिमाम भए । कुन वेला के हुने हो भयमै दिन बिताए । बिस्तारै यिनी पनि संसारिक मायामोहमा फसे । सिध्दान्तलाई पाखा लगाउदै आफ्नै दूनो सोझ्याउदै गए । गाउँले यसमा पनि अभ्यस्त भए ।

त्यसपछि आयो ‘म’ । यो त झन महाउग्र जोधाहा । मान्छेलाई मान्छे नै न गन्ने । उसले बोल्यो कि पुग्नै पर्ने । विरोधको “ब” पनि सुन्न नसक्ने एक्सनमा आईहाल्ने । निरीह गाँउले फरक फरक नामका जोधाहाबाट पेलिएका पेलिएै छन । शीर ठाडोसम्म पार्न पाएका छैनन् ।

अधिकार पाए पछि ‘म’ पनि ‘क’ र ‘ए’ को बाटोतिर नै अग्रसर भयो । धन आर्जन र रमाइलोमा दिन बित्न थाल्यो । गरिब दुखीलाई दिएका बाचाबचन सबै भुली दियो । के के न होला भन्ने सोचेका गाँउले, आजित भई आफ्नो भाग्यलाई दोष दिदै भन्न थाले ” अब फेरि कति नयाँ नयाँ जोधाहाहरूको पेलानमा परिने हो । आखिर जुन जोगी आए पनि कानै चिरेका त हुने होलान, सबै आफ्नै सुख सयलमा भुल्ने । बिशाल परिवर्तन भन्नु नाम मात्र त फरक रहेछ । आखिर सबै “एकै ड्याङका मुला” पो रहेछन भन्ने निष्कर्षमा सारा जनता पुगे ।

सुशीला देउजा
अभिव्यक्ति पूर्णाङ्क १६७ भदौ असोज २०७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *