लामो अनबन पछि बल्ल-बल्ल प्रमुख दलका शीर्ष नेताहरूको कुनै रिसोटमा गोलमेच बैठक बस्यो ।
सबैका अगाडि टेबलमा मिनरल वाटर र ग्लास राखिएको छ । बेला बेला चिया पनि आइरहेछ । खाजा पनि टन्न खाइसके । दिनभर गरमा गरम बहस चलिरह्यो । तर कोही पनि आफ्नो प्रस्ताबभन्दा बाहिर टसमस भएनन् । सहमति, वीसको उन्नीस पनि हुन सकेन । सबै आ–आफ्नो स्वकीय लाभको विषयमा अडिग रहे । “रातभर करायो दक्षिणा हरायो” भने झै भयो ।
आखिर अर्को दिन फेरि बैठक बस्ने भनी निर्णय भयो । बाहिर निक्लनुअघि बाहिर पत्रकार, मिडियालाई के भनेर भुलाउने भनी उनीहरूको फेरि छलफल भयो ।
“हदैसम्मको लचकता अपनाउदै हामी सहमतिको नजिक नजिक पुगिसक्यौ । थोरै कुरामा विमति छ, त्यो पनि चाँडै मिलाउछौ । जनताको मर्म र भावना बुझ्दै हामी सबैको सोच एकदम सकारात्मक छ भन्ने कुरा भनी दिने भन्ने निर्णय भयो ।”
ठूलै बाघ मारे जस्तै गरी सबै जना मुहारमा गर्विलो मुस्कान छर्दै बाहिर आए । जहाँ पत्रकार, मिडियावाला लामो पर्खाइपछि केही ठोस कुरा सुन्न पाइन्छ कि भनी अधैर्य भई कुरिरहेथे ।
सुशीला देउजा
पुनर्जागरण २०६९ बैशाख १२ गते
