वैवस्वत मन्वन्तरको अठ्ठाइसौं युगमा
शुम्भ निशुम्भ जन्म लिनन् यसै भूतलमा
दानव हुनन् शक्तिशाली साथै पराक्रमी
ती दुबै मारिने छन् मेरै हातको बलमा
त्यतिबेला मेरो जन्म नन्दगोपको घरमा
यशोदाकी छोरी बनी आउने छु तनमा
मेरो बास हुने छ लौ गइ विन्ध्याचलमा
दैत्यशक्ति नाशगरी शान्ति दिन्छु जनमा
वैप्रचित्त नामका दानव शक्तिशाली हुनन्
अन्याय र अत्याचारले तीनै लोक छुनन्
त्यतिबेला मेरो अवतरण भूतलमा हुन्छ
मेरै हातबाट तिन्ले आफ्नो प्राण धुनन्
मारेर नै कहाँ छोडछु त्यही भक्षण गर्छु
दन्त सबै अनारपूmलको लालीमाले भर्छु
अनारका दानाजस्ता जब दन्त हुन्छन्
रक्तदन्तिका नामले प्रसिद्धि दिन्छन्
यही नाम लिएर सबैले नै पुज्छन्
शान्ति प्रदायिनी भनी सबै ठान्छन्
सय बर्षे खडेरी भविष्यमा पर्नेछ
चारैतिर पानीको अभाव नै हुनेछ
ऋषि मुनि सबले स्तबन गर्लान्
मेरो दर्शन पाएर शरणमा पर्लान
यति बेला मेरा सय नेत्र होलान्
यिनै सय नेत्रले ऋषिलाई छोलान्
त्यतिबेला मेरो नाम शताक्षी होला
मेरो तनको शाकबाट स्वपेट भोर्लान्
जबसम्म बर्षा हुन्न शाक हुन्छ खान
सागबाट प्राणलाई धानी दिन्छु जान
मेरो नाम शाकम्भरी प्रख्यात नै हुन्छ
शाकम्भरी भनि पूजा गर्लान् भगवान
शाकम्भरी अवतारमा जब म त हुन्छु
दुर्गम नामको दैत्यलाई मैले मारिदिन्छु
दुर्गा देवी नाम मेरो प्रख्यात नै होला
भक्तको पूजाबाट मैले प्रसाद लिन्छु
जब मैले भीमरूपमा अवतार लिन्छु
ऋषि मुनि सबलाई शंरक्षण नै दिन्छु
हिमालयका राक्षसलाई भक्षण नै गर्छु
भीमादेवी कहलाई भरण कामलाई धर्छु
जब जब तृलोकमा आपद नै पर्छ
तब तब अवतारले फरक रूप धर्छ
सोही वेला त्यही कर्म मैले गरिदिन्छु
जल थल नभ चर सबको कष्ट टर्छ
अरुण नामको दैत्यले तीनै लोक पीर्छ
उपद्रवय मच्चाउँदै कुकर्ममा गिर्छ
त्यति वेला मैले यहाँ भ्रामररूप धर्छु
युद्ध गर्न दैत्य सँग म नै अघि सर्छु
तीनै लोकमा मेरो नाम भ्रामरी हुन्छ
भक्तजनको पूजापाठले उच्चाइ छुन्छ
जब जब संसारमा दानवीचमा चल्छ
दानवी कर्म भष्म पार्न मेरो नेत्र जल्छ
भजन
जय दुर्गे जय दुर्गे
तृनेत्रधारी जय दुर्गेर्
तिम्रो सारा तन भरी बिजुलीको प्रभा
तिम्रो कर्म न्यायपूर्ण त्यसले छर्छ आभा,
जय दुर्गे…
जब तिमी सिंह माथि विराज मान हुन्छ्यौ
सौम्य तिम्रो भव्यरूपले आकाश नै छुन्छ्यौ,
जय दुर्गे …
तिम्रो सेवा शयलमा हजार कन्या हुन्छन्
साराशक्ति समर्पित भै तिम्रै चरण धुन्छन्,
जय दुर्गे …
चन्द्रमाको आकारको मुकुट धारणवाली
दानव भक्षण गर्न प्रक्ट हुन्छ्यौ काली,
जय दुर्गे..
तिम्रो चक्र प्रतित हुन्छ अन्यायलाई नास्न
गदा तिम्रो प्रतित हुन्छ न्यायलाई नै गाँस्न
जय दुर्गे
तिम्रो तरबारको चम्काइले तिरमिर पार्छ
दानवता दर्शिएमा त्यसले त्यही मार्छ,,
जय दुर्गे …
शक्तिशाली धनुषबाणले त्रिलोक नै भेद्ने
रिपूमर्दन गर्नु पर्दा मुटुलाई नै छेड्ने,
जय दुर्गे …
अस्त्रसस्त्र सारा तिम्रा दानवत्व मास्न
शान्तिी दिइ भक्तलाई पिरतीमा गास्न,
जय दुर्गे …
तिम्रो स्वरूप अग्निमय शत्रू दहन गर्न
हामी भजन तिम्रै गर्छौ भवसागर तर्न
जय दुर्गे …
