Skip to content

राजविराजमा खुल्ला कविता प्रतियोगिता सम्पन्न

20150220_NandaLalAcharya-News


राजविराज, ७ फागुन २०७१ ।

६५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार राजविराजमा आयोजित खुल्ला कविता प्रतियोगितामा इन्द्रबहादुर थापा प्रथम हुनुभएको छ ।

सगरमाथा साहित्य परिषद्ले राष्ट्रिय प्रजातन्त्र दिवस समारोह जिल्ला समिति सप्तरीको सहयोगमा जिल्ला विकास समितिको सभाकक्षमा आयोजना गरेको प्रतियोगितामा ३० जनालाई उछिन्दै थापा प्रथम हुनुभएको हो ।

यसैगरी सत्येन्द्रनाथ चौधरी द्वितीय, बुद्ध लक्ष्मणरेखा तृतीय तथा सरिता पण्डित र इन्दुकुमारी मेहता सान्तवना पुरस्कारले पुरस्कृत हुनुभएको छ । पुरस्कृत कविहरूलाई शुक्रबार जिविसमा आयोजना हुने समापन समारोहमा नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिने छ ।

परिषद्का अध्यक्ष मनोहरकुमार पोखरेलको अध्यक्षता एवं समारोह समितिका संयोजक स्थानीय विकास अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा ३० जना प्रतियोगी र १४ जना अप्रतियोगीले नेपाली, मैथिली भाषामा कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।

प्रतियोगितामा प्राध्यापकद्वय भुवनहरि कोइराला, विनोद सुबेदी र परिषद्का उपाध्यक्ष साधना झाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

परिषद्का सचिव नन्दलाल आचार्यद्वारा सञ्चालित कार्यक्रममा स्थानीय विकास अधिकारी धमला, ससापका अध्यक्ष पोखरेल, उपाध्यक्ष झा, सचिव आचार्य, देवेन्द्र मिश्र, मीना ठाकुर, मन्जु श्रेष्ठ, विवेकानन्द मिश्र, पुनम ठाकुर, करुणा झा, शिवकान्त सुमन, शम्भु श्री, सागरवीर कडारी, नरेन्द्र देवले अप्रतियोगी कविता प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा परिषद्का निवर्तमान अध्यक्ष वैद्यनाथ झा, पूर्व कोषाध्यक्ष मोहनप्रसाद उपाध्याय, मैथिली महासंघका अध्यक्ष बिष्णु मण्डल, सगरमाथा यातायात संघका वरिष्ठ उपाध्यक्ष जगदीश अर्याल, मालपोत कार्यालयका अधिकृत सरयुगलाल दास, सशस्त्र प्रहरी नायव उपरीक्षक निरकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष व्यासशंकर उपाध्याय, मैमपका अध्यक्ष सविता दास, प्राध्यापक बन्दना मिश्र, पत्रकार गणेशलाल देव, सेभ द सप्तरीका अध्यक्ष धु्रव देवलगायत सञ्चारकर्मी र साहित्यकर्मीको उपस्थितिरहेको थियो ।

बजरंगबली कला केन्द्रद्वारा कार्यक्रमका बीच–बीचमा सांस्कृतिक कार्यक्रम प्रस्तुति गरिएको थियो । कैलाश झा, केशव झाद्वारा गीत र जीवछ दासद्वारा हास्य व्यङ्ग्य कला प्रस्तुति गरिएको सांस्कृतिक कार्यक्रममा वाद्यवादनतर्फ राजेश साह, सत्यदेव यादव, कुमार बब्लु र शालिग्राम रजकले साथ दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *