Skip to content


माघ महिनाको कठा्याङग्रिने जाडोमा श्रीस्वस्थानी परमेश्वरीको एक महिने कठोर ब्रत बस्ने भनेको लाग्छ नेपालमा मात्र होला । महिना दिनसम्म गरेका आराधनाले प्रशन्न भएका आरध्य देव महादेव र माता पार्वती कैलाश पर्वतबाट भक्तहरूलाई आर्शिवाद दिन नेपाल आई पुगे । लामो समय पछि यस भूमिमा पाईला टेकेकी पार्वतीले यस पुण्य भूमिको एक फन्को मारि चारैतिर हेर्ने इच्छा व्यक्त गरिन । भगवनलेपनि हुन्छ भनी खुसी व्यक्त गरे । पुष्प विमानमा बसी दुवै चारैतिरको सुन्दर छटा रमाइलो मानी अवलोकन गर्दै थिए । त्यतिकैमा उनीहरूको नजर गाडीको आवतजावत रोकी सडकमा लामो रातो ताती, सँगसँगै मानिसको भीडभाड देखे ।

माताले अचम्म मान्दै सोधिन ‘भगवन त्यो के हो ?’

भगवनले उदास मुद्रामा भने ‘यो खाली ग्यासको सिलिन्डर हो’ ।

‘किन त्यसरी सडकमा राखेको ?’

भगवनले भने, ‘आजको आधुनिक युगमा ग्यास नभए चुल्हो बल्दैन । मानिसहरू भोक भोकै पर्छन ’।

माताले दुःखी मनले सोधिन ‘अनि त्यो सिलिन्डर किन सडकमा राखेको त ?’

‘तिमीलाई थाह नै रहेनछ । अहिले बजारमा ग्यासको कस्तो हाहाकार छ भनेर । ग्यास नपाएर कति दिन देखि मानिसहरू भोक भोकै परेका छन । सुत्केरीलाई त चीउरा र चाउचाउ खान दिइरहेछन रे । अरुको त के कुरा । एक भरिएको ग्यास सिलिन्डर पाउनु भनेको चीठ्ठा परे जतिकै भएको छ रे । सभ्य तरिकाले डिपोबाट ग्यास लिन त अब खै कति समय कुर्नु पर्ने हो । आजित भएका वासिन्दाहरूले अनि यो उपाय अपनाएका हुन । ग्यास उद्योगबाट भरिएका ग्यासका सिलिन्डर ट्रकमा राखी डिपोसम्म लैजान यही बाटोबाट ल्याइन्छ । ट्रकलाई बलजफत यही बाटोमा रोकि ग्यास सिलिन्डर यहीबाट घर घरमा लैजान सिलिन्डर सहित मानिसहरू ट्रकलाई कुरी बसेका हुन ।’

लामो सुस्केरा हाल्दै माताले दुःखी मनले भनिन ‘कठै विचरा जनताले एक गाँस खान पनि कति संघर्ष गर्नु परेको रहेछ हगी । फेरि सित्तैमा दिने पनि त हैन होला । पैसा हालेर किन्न पनि यति गार्हो ? यो के भएको प्रभु ?’

प्रभु गहिरो सोचमा थिए ।

केही वेरमा टाढाबाट ट्रक आउदै गरेको देखियो । भोक र पर्खाईले लस्त परेका मानिसमा अचम्मको स्फुर्ति आयो । जुरमुराउदै सबै ट्रकको बाटो रोक्न पुगे । ट्रक रोकियो । कोही ट्रक माथि चढेर ग्यास सिलिन्डर झार्न थाले । बल पुग्नेहरू खोसाखोस गर्दै सिलिन्डर लिन सफल भए । अलि कमजोरहरू तर्सिएर टाढाबाट हेरेको हेर्यै भए । यस्तै होहल्ला बिच खै कताबाट हो पुलिसहरू आई पुगे । भोका मानिसका मजबुरी देखि बेखवर अन्धाधुन्ध भीडमा लठ्ठी वर्षाउन थाले । अचम्म र विलखवन्दमा परेका महादेव पार्वती ‘यो के गरेको’? भन्दै यी सव तमासा तर्सिएर हेर्दै थिए ।

कति मानिस ठूलै खजाना हातपारेझै खुसी खुसी घर फर्किर्दै थिए भने कति निराश निराश । यी सब तमासा नियाल्दै गरेका भगवनलाई कुनवेला दिनकरले कालो पछ्योरी ओढिसकेछन यादै भएन । यताउता अलमल गर्दागर्दै झमक्क रातनै परेछ । जताततै निष्पट्ट अँध्यारो । यस्तो अँध्यारोमा अब हामी कहाँ र कसरी जाने भनी माता आत्तीन थालिन । भगवनले आश्वस्त पार्दै भने ‘पिरनगर जूनकीरीको सहायताले भएपनि गन्तव्यसम्म त पुगौला’ ।

‘किन र भगवन के यहाँ विजुली बक्ती छैन र ’?

‘खै छ भन्ने कि छैन । चाहिने वेला आउदैन । नचाहिएको वेला आएर के काम । खीन्न मनले भने ‘अ एउटा कुरा थाहा छ तिमीलाई ? अब त विदेशतिर नेपाललाई जूनकीरीको देश पो भन्न थालेछननी’ । चीन्तामा परेकी माता आफ्ना सन्ततिको दुःख हेर्न नसकि भगवनलाई प्रश्न गर्छिन ‘भगवन के यस संकटबाट दूर हुने कुनै उपाय छैन’ ?

घोरिएर सोचमा डुबेका भगवनले भने ‘छ किन छैन । तर यसका लागि जनता आफै सजक, सवल, मेहनती, इमान्दार र कृयाशील हुनु पर्यो । दुरदृष्टि राख्दै विकल्पको खोजी आफ्नै देशमा हुनु पर्यो । यसका लागि देशको बागडोर हातमा लिएकाहरूको ठूलो भूमिका रहन्छ । निस्वार्थ र सबैको भलो हुने सोच राख्नु पर्यो । तर खै.. आज यस देशमा के भएको हो छली कपटीहरूको मात्र संख्या बढदै छ । स्वार्थी र भ्रष्टाचारीहरूको अखडा बन्दै छ देश । उस्तै परे देश बेच्न पनि पछि नपर्लान जस्तो लाग्छ । अजम्वरी पो ठानेका हुन कि धन र अधिकारको मादले आँखाँमा जालो लागेको भविष्यको विकराल समस्या देख्न सक्दैनन् । आज आफूले सुख सयलको झुलामा झुलेको परिणाम भोलि आफ्ना सन्ततिले कहाँ कस्तो खाडलमा बजारिएर चुकाउने हुन । यसको हेक्का त हुनुपर्ने हो । तत्कालको फाईदा मात्र देख्छन । दिर्घकालीन समस्याको समाधानको बाटो कोही रोज्दैनन् । सधै अर्काको भरमा परे यस्तै दुःख पाइन्छ ।’

मातालाई पनि भगवनका कुरा मनासिव लाग्यो । दुःख पाएकाहरूलाई देख्दा मायालागे पनि आफ्नो घर भित्रको समस्या आफैले समाधान गर्नु पर्छ भन्ने सोच बनाइन । त्यस पछि खल्लो मन पार्दै दुवै अन्धकारमा छामछाम छुमछुम गर्दै वासस्थान तर्फ लागे ।

सुशीला देउजा
रचना २०६९ असार साउन पूर्णाङ्क ११९

Leave a Reply

Your email address will not be published. Required fields are marked *