Skip to content

सिंहवाहिनी -१३- तेह्रौं अध्याय (देवी र दानवसेना बीच लडाइँ)


दुबै थिए यथास्थान शक्तिपूर्ण रूप
अब युद्ध चल्न थाल्यो दुबैबाट खुप

देवी थिइन् शक्तिशाली सर्बेसर्बा पनि
शक्तिशाली बाहुबल सबै थोकमा धनी
त्यसो हुँदा देवीले यथास्थान लिइन्
दानवका सेना सबै एक एक गनी

महिषासुरको सेनानायक चिक्षुर नै थियो
त्यसले पनि देवीलाई लड्ने हाँक दियो
दानव थियो शक्तिशाली अस्त्रशस्त्र धारी
डटी डटी कम्मरकसी आफ्नो स्थान लियो

महिषासुर सँग थिए असंख्य नै वीर
सबै वीर लड्नलाई भएका थिए थिर
चतुर्रङ्गी सेनासहित लड्न आयो चामर
काटमार ठूलै भयो काटिन गए शीर

चारैतिर हाहाकार बन्न गयो समर
लड्न सब तयार छन् छैन धरमर
उदग्र आयो लड्न साठी हजार रथी
देवी अघि सरिन् रण काम्यो थरथर

दानवका सेना थिए हेर कति कति
दानव जति सबैको विग्रन गयो मति
अर्कोतिर बाट आयो महाहनु दानव
एक करोड रथी र सेना कति कति

उसले भन्ने गर्थ्यो म छु शक्तिशाली
साँचो सत्य कुरा गर्न आएको हुँ खाली
मान देवी तिमीले शुम्भदेबलाई पति
तिम्लाई पुर्याउँ छु सहज यसै पाली

शरीर तरबार जस्तै रौंले ढाकिएको
मदमस्त घमण्डमा मस्त मात्तिएको
मानेमान सजिलेरी लड्न परे लढ्छु
यति भन्दै देवीतिर उ त तात्तिएको

असिलोमा नामक दैत्य किन पछि पर्थ्यो
पाँच करोड रथीसहित लड्न अघि सर्थ्यो
युद्ध कौशलता पूर्ण थियो भइ मदमस्ति
लड्न लाग्यो देवीसँग किन ऊ त डर्थ्यो

जता हेरो रथैरथ पूर्ण रणभूमि
सबै दैत्य तम्तयार अस्त्रसस्त्र चूमि
कालले धज्बहाली निमन्त्रण दिंदा पनि
मदमस्त थिए दानव लड्न घुमी घुमी

साठी लाख सैनिक शक्ति राखी वरिपरि
वाष्कल नामक दैत्यले हेर्थ्यो घरिघरि
त्यो पनि अघि सर्यो लड्नलाई हेर
देवी माथि बाण फ्याँको अति थरिथरि

हात्ती सवार चढी कन आए पारिवारित
देवीसँग भन्दै थियो बन्छ्यै युद्धहारित
हेर लासैलास रक्त नदी भरित रणभूमि
हेर्नै लायक थियो त्यहाँ रण चमत्कारित

घोडा सवार साथै थिए धेरै सैन्यदल
एक करोड रथी थिए अनगिन्ति बल
यिनीहरू पनि बडे लड्न देवी तिरै
देवी पनि कस्सिएकी छैनन् हलचल

विडाल दैत्य लड्न तयार भयो
पाँच अरब रथीले सजिएर गयो
कुरुक्षेत्र भयभित अस्त्रशस्त्र सित
हुङ्कारित शब्द गुञ्जारित रह्यो

दानवका सारा शक्ति एकतृत भए
दलबल साथलिइ लड्नलाई गए

थरीथरी अस्त्रशस्त्र परहार गर्न लए
देवी शक्ति देखेपछि अचम्मित भए

दुबैतिर बाट हेर अस्त्रशस्त्र चले
रणभूमि खचाखच कतित्यहीं ढले

कोही फ्याक्ने तोमर त कोही फ्याक्ने मूसल
कोही फ्याक्ने भिन्दीपाल अस्त्र छैनन् कमसल

खड्ग परशुपट्टिस साथै ठूलो थियो शक्ति
असुरजति घमण्डीमा थिएन कुनै भक्ति

कोही फ्याक्थे पासो भने खड्ग फ्याक्थे कोही
देवीले पनि काटि दिन्थिन् जस्तो आयो सोही

ठूलो शक्ति एकातिर देवी एक्लि थिइन्
अक्षय साहास थियो मोर्चा कसिलिइन्

कसैका शीर क्षेदन कसैका लौ हात
आक्रामक देवी थिइन् सिंह थियो मात

रक्तमय भयो भूव काटमार गर्दा
रुवाबासी बढ्न गयो युद्धमा मर्दा

देवी जब क्रोधमय हुन्थिन् रणस्थलमा
दैत्य जति सखाप हुन्थे हेर पलपलमा

असुर पनि त्यहाँ हेर कहाँ कमी थिए
गीड समेत लत्री लत्री हाँक पनि दिए

पर्खी पर्खी सखाप पार्छु भन्थे देवीलाई
बाण लाग्थ्यो देवीको भन्थे मरें हाई

चारैतिर लासै लास भयो खातै खात
अन्धकार चारैतिर दिवा बन्यो रात

दैत्यजति सखाप पार्ने थियो देवीहात
पुष्पष्ृष्टि त हून गयो आनन्दको साथ

गुञ्जिन गो रण–भूमि विजयको गान
बढ्न गयो देवगणको अति राम्रो शान

देव गण खुसी भए नभमार्ग धाए
पुष्पबृष्टि गर्दै गर्दै भजन पो गाए

भजन

जय दुर्गे जय दुर्गे
महिषासुरका सेना वध गरेऊ तिमीले

कान्ति तिम्रो सूर्य समान, रातो रातो सारी
अति शोभित दर्शिएको मुण्डमाला धारी,
जय दुर्गे जय दुर्गे

रक्तचन्दन लेपले लेपित स्तनका भाग
करकमलमा जपमाला कहीं छैन दाग
जय दुर्गे जय दुगे…

तीन नेत्रले सुशोभित छ ललाटको बीचमा
चन्द्रमा र मुकुट जडित शोभा दिने शीरम
जय दुर्गे जय दुगे

सारा तिम्रा कर्मजति जीवरक्षा गर्ने
भक्तिभाव राखेमात्र सारा कष्ट हर्ने
जय दुर्गे जय दुगे

अन्याय र अत्याचार जब जब देख्छेऊ
भार हर्न भनेर नै अवतार लिन्छेऊ
जय दुर्गे जय दुगे

Leave a Reply

Your email address will not be published. Required fields are marked *