नन्दलाल आचार्यको कथाकारिता

kamagra
PunyaKarki

समकालीन साहित्य लेखनमा लम्कँदै गरेका एक अथक अक्षरयात्री नन्दलाल आचार्यको विषयमा लेख्न बस्ता कहाँबाट सुरु गर्ने आफैँ अलमलमा परेको छु । तथापि उनका कथाकारिताको विषयमा केही लेख्तै छु ।

सरस्वतीका बरदपुत्र नन्दलाल आचार्य नेपाली साहित्याकाशका सुपरिचित मात्र होइन स्थापित भइसकेको नाम हो । मोफसलमा रहेर कष्टसाध्य शारीरिक पीडा र प्रतिकूल परिस्थितिसित संघर्ष गर्दै निरन्तर साहित्य साधनामा लिन रहनसक्नु उनको विशिष्ट परिचय बनिसकेको छ ।

आख्यानकार आचार्यले वि.सं. २०३० सालमा पिता विष्णुप्रसाद आचार्य र माता भगवती आचार्यको माहिलो पुत्ररत्नको रूपमा उदयपुरको जहडामा जन्मेर तपेश्वरीमा बस्न थाले । शिक्षादीक्षा हासिल गर्ने र लेखनयात्रामा कर्मभूमि बनाई लामो समयसम्म राजविराजको माटामा खेल्दै र जीवन झेल्दै हाल सिरहा, गोलबजारमा शिक्षणकर्मका साथ अक्षरसाधनामा सक्रिय छन् । नेपाली विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका आचार्यले सर्वप्रथम २०५४ सालमा ‘कवि देवकोटा’ शीर्षकको कविताबाट साहित्याकाशमा पदार्पण गरेका थिए ।

सर्वप्रथम ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाट्य सङ्ग्रह–२०६७, ‘गरुराहा’ उपन्यास–२०७६ हुँदै ‘अपाङ्ग भगवान्’, ‘इच्छुक बकपत्र’, ‘टुक्के दिदी र उखाने दाइ’, ‘पुण्य कार्कीको कथाकारिता’ जस्ता कृतिसँगै ‘समय शल्यक्रिया’ कथा सङ्ग्रह प्रकाशनको संहारमा उभिएको छ । थोरै कृति प्रकाशन भए पनि उनका धेरै साहित्यिक रचनाहरू राष्ट्रिय स्तरका स्थापित पत्रपत्रिका, रेडियो र अनलाइन मिडियाहरूमा समेत प्रकाशित, प्रसारित भइसकेका र भइरहेका छन् ।

साहित्य लेखनमा बहुआयामिक प्रतिभाका धनी आचार्यमा एउटा विधा र विषयमा सीमित नभई बहुल विधामा समानान्तर ढङ्गले उत्तिकै कलम दौडाउन सक्ने सामर्थ्य रहेको पाइन्छ । उनले ज्यादै राम्रा कथाका अतिरिक्त नाटक, एकाङ्की लेखेका छन् । उनी एक सिद्धहस्त नाटककार तथा एकाङ्कीकार पनि हुन् । त्यत्तिकै सुन्दर कविता लेखेका छन् । उनी कवि पनि हुन् । लालित्यपूर्ण अनुरागले ओतप्रोत अनेक निबन्ध लेखेका छन् । उनी कुसल निबन्धकार पनि हुन् । मधेशको आञ्चलिक परिवेशलाई सूक्ष्म चित्रण गरी उपन्यास लेखेका छन् । उनी कुसल उपन्यासकार पनि हुन् । अनेकौँ स्रष्टाहरूका सिर्जना उपर समालोचकीय दृष्टिबाट समीक्षा लेखेका छन् । उनी एक बुलन्द समीक्षक पनि हुन् । अनेकौँ पत्रपत्रिकामा स्तम्भ आलेख लेख्तै आएका छन् । उनी स्तम्भकार, पत्रकार र सञ्चारकर्मी पनि हुन् । अनेकौँ साहित्यिक संघसंस्थाको नेतृत्व तथा साहित्यिक अभियान अगाडि बढाउने उनी एक कुशल अभियन्ता पनि हुन् । साथै, उनी अहोरात्र विद्यार्थीहरूलाई शिक्षादान गर्ने एक सुयोग्य शिक्षक पनि हुन् । एउटा आयामबाट छामेर उनको व्यक्तित्वलाई उनको कृतित्वलाई न्याय दिन सकिँदैन । उनको बहुआयामिक व्यक्तित्वलाई अलगअलग पाराबाट नापजोख गरेर मात्र समग्रमा सही मूल्याङ्कन फेला पार्न सकिन्छ ।

यस आलेखमा मेरो पाठकीय सतही नजरबाट उनको कथाकारिता उपर नजर लगाउने चेष्टा गरेको छु । ‘समय शल्यक्रिया’ कथा सङ्ग्रहभित्र उनका बाइस वटा कथाहरू समेटिएका छन् । ती हुन्– ‘फूलकुमारी’, ‘इन्द्र–शयन’, ‘रित्तो घर’, ‘साविती बयान’, ‘हेडसरको कोठा’, ‘नयाँ घाम’, ‘समय शल्यक्रिया’, ‘आजकी सीता’, ‘परिबन्दको पासो’, ‘भेटेको मोवाइल’, ‘मातृघृणा’, ‘नयाँ बाबा खै !’, ‘रातो झोला’, ‘छोटो बाटो’, ‘उहाँ’, ‘बँधुवा’, ‘फक्रेको गुलाफ’, ‘चोर बिरालो’, ‘कस्तो यात्रा !’, ‘छप्की दरबार’, ‘नसोध है गरिमा !’ र ‘जिउने उपक्रम’ ।

ती कथाहरू मध्ये केही कथाहरू राष्ट्रियस्तरका कथा प्रतियोगितामा उत्कृष्ट कथाकारको रूपमा छनौट भई पुरस्कृत पनि भइसकेका छन् भने केही कथाहरू फुटकर कथाको रूपमा विभिन्न साहित्यिक पत्रपत्रिकामा प्रकाशित भएका छन् । केही कथाहरू भने यही कथा मार्फत प्रथमचोटि पाठकसामु सार्वजनिक हुँदै छन् ।

कथाकार आचार्य एक युग सचेत कथाशिल्पी हुनुको नाताले उनका कथामा एक शिष्ट विचारको प्रवाह स्पर्श गर्न सकिन्छ । कथातात्विक नजरबाट हेर्दा आख्यान बीजसूत्र भनेकै कथावस्तु हो । अर्थात् घटनाहरूको शुङ्खलाबद्ध इतिवृत हो । त्यसमा पाठकले विचार उद्देश्य र युगबोधको अन्विति माग गर्दछ । उनको कथामा विचारको प्रवाह पनि छ । उद्देश्यको सुस्पष्टतासँगै युगबोधको अनुभूति छ । साथै कथाकार आचार्य पाठकको मनोभावलाई झक्झक्याउन सक्ने; त्यसलाई ब्यूँझाउन सक्ने र आफ्नो चेतन अनुभूति सँगसँगै यात्रा गराउन सक्ने शिल्पी चातुर्यले आरेखित छन् ।

कथाले पाठकको हृदयमा एक उत्सुकता उमार्न सक्नुपर्छ । त्यो उत्सुकता उमार्ने शक्ति उनको कथामा बलशाली बनेर आएको छ । प्राय: सबै कथाको भावभूमि तराई मधेशबाट उठान भएको देखिन्छ । भौगोलिक प्रकृति मात्रै हैन; भाषा, भेषभूषा, रीतिथिति, रहनसहन र जनजीवनका समग्र झाँकीहरू तराई मधेश केन्द्रित छन् ।

त्यसमा पनि पूर्वी मधेशको मिथिलावासी क्षेत्रलाई कथाकारले आख्यानकृत गरेका छन् । र; आचार्यको ‘समय शल्यक्रिया’ कथा सङ्ग्रहले मिथिला नगरीको मैथिल आञ्चलिकतालाई सूक्ष्म प्रतिविम्बन मात्र नगरी पूर्णरुपेण परिपोषण समेत गरेको छ । ‘समय शल्यक्रिया’ कथाकृतिका समग्र कथाहरू हालको दुई नम्बर प्रदेश त्यसमा पनि त्यसको पूर्वी भूखण्डमा अवस्थित मिथिलाबासी क्षेत्रको भूगोल र स्थानीय परिवेश; त्यहाँको सांस्कृतिक मूल्य र भाषा; त्यहाँको मूल सामाजिक जनजीवन वरिपरि केन्द्रित छन् । त्यसैले आचार्यका कथालाई मैथिली भाषी क्षेत्रको आञ्चलिक कथाको कोटीमा हेर्नु उचित हुन्छ ।

कथामा सुसेलिएका धुनले तराई मधेशकै गीत गाउँछन् । कथाबाट निस्किने सुगन्धमा तराई मधेशकै बासना गम्किन्छ । कथा हर लयमा तराई मधेशकै स्वर सुनिन्छ । कथाका हर तालमा तराई मधेशकै नर्तन देखिन्छ । कथामा आवेष्ठित भई आउने सुखमा, दु:खमा, आहामा, आत्थामा, सुन्दरतामा, कुरूपतामा, उत्कर्षमा, अपकर्षमा मधेशकै सुसेलीहरू गुञ्जिरहेको देख्न सकिन्छ । सुन्न सकिन्छ । स्पर्श गर्न सकिन्छ ।

आञ्चलिक कथामा कुनै अञ्चल वा क्षेत्र विशेषको भूगोल उपस्थित हुन्छ । त्यहाँको जनजीवन भाषा उपस्थित हुन्छ । त्यहाँको रीतिथिति र रहनसहन र सामाजिक जीवन उपस्थित हुन्छ । त्यस आधारमा मधेश भूमिका विशेषता मात्रै कथामा छैनन् । त्यहीँको भूखण्ड बोलेको छ । त्यहीँको विशिष्ट परिवेश मुखर बनेको छ । र, त्यहीँको जीवन सत्य प्रकट भएको छ । त्यहीँका मानवीय क्रियाकलापहरू पात्र मार्फत कार्यव्यापारमा उद्घाटित भएका छन् । त्यहीँको सांस्कृतिक वातावरणका यथार्थ घटनाहरू प्रक्षेपित भएका छन् ।

कथाकार आचार्यले कथा मार्फत तराई मधेशको आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक सांस्कृतिक मनोवैज्ञानिक, शैक्षणिक र दार्शनिक आयामलाई स्पर्श र प्रतिविम्बको चेष्टा गरेका छन् । आचार्यका कथामा मधेशको रीतिथिति संस्कृति बोलेको छ । खानपान रहनसहन बोलेको छ । तिज र त्यौहार बोलेको छ । त्यहाँको स्थानीय बोलीभाषा, मनोविज्ञान, आदर्श, आदत, वर्ग विश्वास, भेषभूषा र त्यहाँको चेतनागत अवस्थिति बोलेको छ । साथै त्यहाँका कुरूप विसंगति, विभेद, वेमेल, उत्पीडन र अन्धविश्वासहरू, कुरीति र अन्याय, अत्याचार मुखररूपमा प्रतिविम्बन भएको छ । सारमा भन्दाखेरि कथामा मधेशको कोरा घटनाको स्थूल वर्णन मात्र छैन; मधेशको संश्लिष्ट चित्र हेर्न सकिन्छ ।

सङ्ग्रहको पहिलो कथा ‘फूलकुमारी’ शिक्षा मनोविज्ञानमा आधारित कथा हो । कथाकार स्वय म एक शिक्षक हुन् । त्यसमा पनि तराई मधेशका विद्यालयमा शिक्षणको लामो अनुभव छ । मूलपात्र फूलकुमारी भए पनि प्रथमपुरुष दृष्टिविन्दुमा रचित छ । यस कथाले अहिलेका नानीहरूलाई उनीहरूको इच्छा विपरित जवरजस्ती बोर्डिङ स्कुलमा हालेर घोकन्ते, रटन्ते र बच्चाको सिर्जनशीलता नष्ट गरिदिने शिक्षण परिपाटीमा कैद गरिदिनु घातक छ । बरू बच्चाको मनोविज्ञान अवस्था र रुची बुझेर उनीहरूले रोजे र खोजेको सामुदायिक विद्यालयमा पठाउन उचित हुन्छ भन्ने कुराको सन्देश सम्प्रेषण गर्न कथा सफल छ ।

यस कथामा फूलकुमारीहरूको समस्या मात्र चित्रण गरिएको छैन; कथाकार रूपी म पात्रले फूलकुमारीको बुबालाई कुरा बुझाएर समस्याको समाधान पनि दिएका छन् । तराई मधेशमा छोरीहरू माथि कति ठुलो कडा अनुशासन र कठोर परिवेशमा कैद गरिरहेको हुन्छ भन्ने कुरो कथामा अभिव्यक्त छ । फूलकुमारीको चाहनाबमोजिम आफूले रोजेको; खोजेको सरकारी स्कुलमा पढन पाएपछि उसको ओइलिएको अनुहारमा मुस्कान देखिएको छ ।

दोस्रो कथा ‘इन्द्र–शयन’ हो । यो तराई फत्तेपुर क्षेत्रको कथा हो । तापनि यसमा पहाडेमूलका पात्रहरू प्रविष्ट छन् । यसमा पनि मैथिली भाषाको संवादको प्रयोग भएको छ । इन्द्रलाई दशा लाग्छ । घरमा वृद्ध मातापिता, एउटी शिक्षित पत्नी, छोराछोरीको प्रवाह नगरी सुरासुन्दरीको मोहमा फस्यो भन्ने अरूहरूमा भएको शंकाले जरो गाड्दै जाँदा पारिवारिक कलहको सीमान्तबिन्दुमा पुग्छ । एकबारको जीवन मेटासिट पिएर समापन गर्छ । यसरी जीवनलाई दुरुपयोग गरी आत्महत्या गर्ने हज्जारौँ आत्मघातीहरूको प्रतिनिधि पात्र हो इन्द्र ।

यसमा पनि कथाकार म पात्रको रूपमा सामेल छन् । नवीन शैलीको प्रयोग गरी कथा संरचित भएको छ । कथाकारको चित्रात्मक वर्णन मनमोहक लाग्दछ । इन्द्रको लासलाई पोष्टमार्टम गर्न राजविराज लैजाँदाको कथा बाटोबाटैमा वर्णन गरेर कथाकारले कथा लेखन प्रविधिमा नयाँ प्रयोग गरेका छन् ।

तेस्रो कथा ‘रित्तो घर’ पनि आत्मपरक शैलीमा लेखिएको कथा हो । कथाको मूल पात्रले आफ्नो मुखबाट कथा भनिरहेको छ । ऊ घरपरिवारको सुख र समृिद्धका लागि मात्र नभई बच्चाको गुणस्तरीय शिक्षाको लागि विदेशमा छ । यता उसकी जवान श्रीमती र छोरा अजय मात्रै घरमा छन् । आफू तातो मरुभूमिमा रगत, पसिना बगाएर खुरुखुरु रुपैयाँ पत्नीलाई पठाउँछ । पत्नी भने परपुरुष रामपुकारसित लसपस गरेर पैसा बर्वाद गर्न थाल्छे । छोरालाई विराटनगर बोर्डस् गरेको बहानामा लोग्नेसित पैसा धुत्दै जान्छे ।

ऊ स्वास्नीमाथि अति विश्वास गरेर कमाए जति पैसा पठाउँदै जान्छ । पछि अवधि पुगेपछि घर फर्कदा घरबारी नै रित्तो र उजाड पारेर उसकी पत्नी परपुरुष रामपुकारसित हिँडिसकेकी हुन्छे । ऊपश्चात्तापको अग्निकुन्डमा जल्न थाल्छ । भए भरको पैसा र सम्पत्ति गुट्मुट्याएर ऊ हिँड्छे र यता लोग्नेलाई रित्तो घर मात्र छोड्छे ।

आजकल विदेश गएका सयौँ, हज्जारौँ युवाहरूको कमाइ र सम्पत्ति स्वाहा र नाश पारेर मोजमस्ती गरेर पोइल हिँड्ने प्रतिनिधि पात्र हो; अमेरिका । धेरै लोग्नेहरूको बिल्लीबाँठ भएको कथा हामी फेसबुक, रेडियो, टेलिभिजन, अनलाइनका समाचारहरूमा पनि हेर्न र सुन्न पाउँछौँ । बेलैमा सावधान र सतर्कता अपनाउन नसक्ता यस्ता घटिया घटनाहरू घटिरहेका हुन्छन् । यो पनि तराई मधेशकै आञ्चलिकता प्रतिविम्बित भएको वा घटेको घटनालाई कथाको माध्यमबाट उनले प्रस्तुत गरेर अरू सबैलाई सतर्क हुने सन्देश पनि दिएका छन् । कथाकार आचार्यको प्रथम पुरुष दृष्टिबिन्दुमा स्वगत ढंगले कथा बुन्ने र प्रस्तुत गर्ने कला अति नै सुन्दर छ ।

चौथो कथा ‘साविती बयान’ पनि आत्मपरक शैलीमा नै बुनिएको सुन्दर तथा शिक्षा दिने कथा हो । यो कुलत र कुबाटोमा लागेको शिक्षकको चरित्रहीन क्रियाकलापको सेरोफेरोमा केन्द्रित कथा हो । यस कथाको मूलपात्र अशोक हो जसले यस कथाका बारेमा वयान गरिरहेको छ । आफ्नै रक्स्यहाँ चरित्रको कारण उसकी पत्नीले आत्महत्या गर्न विवश भएर त्यत्ति नराम्रो कदम उठाएकी थिइन् । आखिरमा ससुरालीका खलकले ज्वाइँ नै हत्यारा हो भनेर पुन: पक्राउँछन् ।

हुन त उसले आफ्नी पत्नीलाई आफ्नै हातले मारेको थिएन । तर पुलिस प्रशासनले अनेकौँ साजिस रचेर उसित घुस खाने प्रकरण रचेछ । नेपालको पुलिस प्रशासन र न्याय व्यवस्था कत्ति भ्रष्ट, असभ्य र घुसखोरीमा तैरिँदै वा पूरै डुबेको छ ? त्यो कुरा प्रष्ट्याउँदछ ।

अर्कोतिर दुनियालाई सदाचार, नैतिकता र अनुशासनको पाठ सिकाएर उनीहरूको भविष्य उज्जब बनाउनुको साटो कति नैतिकताहीन र कुलतको शिकार बन्दैछन् नेपालका शिक्षक भन्ने कुराको प्रश्न उठाइएको छ । भनिन्छ, अरूलाई उज्यालो दिनका लागि शिक्षकहरू आफैँ बल्नुपर्दछ र उनीहरूको भविष्य उज्जवल पार्नुपर्दछ । अरूलाई सदाचार र नैतिकतावान् बन्नुपर्छ भन्ने गतिलै विचार यस कथाबाट प्रस्तुत गरिएको छ ।

पाँचौँ कथा ‘हेडसरको कोठा’ शैक्षणिक मनोविज्ञानसित सम्बन्धित कथा हो । भक्तबहादुर राई एक दिन विद्यालयको प्रधानाध्यापक बन्न सफल बन्छन् । अक्सर हाम्रा पुराना स्कुलहरूमा विद्यार्थीहरूलाई कठोर दण्ड दिएर पढाउने प्रचलन थियो । अहिलेको युगमा त्यो रुढ र अवैज्ञानिक प्रणाली हो । दण्डबाट सिकाइ हुन सक्तैन । दण्डबाट असल चरित्रको विकास हुन सक्तैन भन्ने सत्य भक्तबहादुरले आफ्नै विद्यार्थी जीवनको भोगाइबाट सिकिसकेका छन् । र, त्यसै कारण आफू प्रअ बन्ने वित्तिकै ‘सजायमुक्त विद्यालय’ को बोर्ड टाँगेर बालमैत्री स्कुलको निर्माण गर्छन् । यस्तो चलन आम शिक्षक र प्रअहरूमा स्कुल स्कुलमा जन्मिने हो भने स्कुलको वातावरणमा कायापलट हुन सक्छ भन्ने भाव सन्निहित छ । एक आदर्श र अनुकरणयोग्य हेडमाष्टरको विम्ब यस कथामा भेटिन सकिन्छ । र, अरू कथा जस्तो प्रथम पुरुष दृष्टिविन्दुमा संरचित नभएर यो कथा तृतीय पुरुष दुष्टिबिन्दुमा आरेखित छ ।

छैटौँ कथा हो, ‘नयाँ घाम’ । यो कथा पनि प्रथम पुरुष दृष्टिबिन्दुमा संरचित छ । जीवनको आखिरी दिनमा सन्यासी बनेको शिक्षकका मुखारबिन्दुबाट वर्णित छ कथा । पूर्वदिप्ती शैलीमा आरेखित यस कथामा दिनेश नाम गरेका एक शिक्षकले पुनिता नाम गरेकी डोम जातकी युवतीसँग विवाह गरेर समाजमा नयाँ उज्यालो दिने कोशिस गरेका छन् । विद्यालयमा अध्यापन गर्ने शिक्षकका बीचमा दलित र विपन्न वर्गका बच्चाहरूलाई कसरी सुशिक्षित, सभ्य र सुसंस्कृत बनाउने, कुन विधि र बाटो अपनाउने भन्ने विषयमा विचार मन्थन हुँदाहुँदै दिनेश सर र सन्यासी बनेका शिक्षकसित बाजी पर्छ । दिनेशले ठुलो चुनौती मोल्छन् । म पात्रको शिक्षकले गाउँको बौका मरिकका पाँच सन्तानमध्ये एउटालाई सपारिदिने मान्छेलाई आफ््नो अंश पास गरिदिने धमास दिएपछि त्यस धमासलाई स्वीकार गरी दिनेश सरले गौना भइसकेकी पुनितासँग विवाह गरेर जीवनसँगिनी बनाउने संकल्प गर्दछन् । बौका मरिकले पुनितालाई दाइजो दिन नसकेकाले विवाह गर्दिन सकेका हुँदैनन् । चुपचाप पुनितालाई विवाह गरेर शिक्षक सरुवा मिलाएर पूर्वी पहाडतिर लाग्छन् ।

समाजको एउटा ठुलो तप्का आरन चलाउने; कपडा सिलाउने जातीय समुदायका मान्छेको बुद्धिविवेक हुँदैन; यिनीहरू शिक्षित र सुशिक्षित कहिल्यै हुन सक्तैनन् भन्ने अवैज्ञानिक विचारबाट प्रभावित छन् । अर्कोतिर समाजमा अर्को एक जागृत चेतनाले आलोकित पुस्ता पनि छ जसले समाजमा जरा गाडेर बसेको रुढीवादी विचारधारा विरुद्ध जुध्न आफूलाई सक्षम पारेको छ । समाजका कुरीति विभेद र छुवाछुत विरुद्धमा क्रान्तिकारी बाटोबाट सुधारको अभियान दिनेश सरले गरेका छन् ।

वर्षौम्पछि एक शिक्षित सचेत सुसंस्कृत नारी पात्रको रूपमा डोमकी छोरी पुनिता मेडमको रूपमा रूपान्तरित भएको दृष्य देखाइएको छ । यसलाई कथाकारले नयाँ घामको विम्बमा हेरेका छन् । पुरानो घामले हाम्रा रूढी र विमेलहरू, अन्धविश्वास र अन्यायहरूलाई विनाश गर्न सक्तैन । तराई मधेशको सामाजिक विसंगतिलाई मास्नका लागि नयाँ घामको आवश्यकता महसुस गरिएको छ । तर, आचार्यले पात्र दिनेश सरलाई तराईको समाजबाट पलायन गरी पूर्वी पहाड पुर्याएको घटनाले आफ्नो ठाउँमा डटेर समस्यासित जुध्ने र संघर्ष गर्ने कला नभएर हो कि भन्ने आभास मिल्छ । लोकनिन्दा र सामाजिक अबगालसित सत् पात्रले डटेर सामना गरेको दृष्य सुन्दर हुने थियो ।

सातौँ कथा ‘समय शल्यक्रिया’मा तराई मधेशकै दुई युवतीको हुदयबिदारक कथा समेटिएको छ । यसमा जुनु र मुनु नाम गरेका दिदीबहिनी पढाइलेखाइमा लगनशील र प्रतिभाशाली हुन्छन् । उनीहरू समाज र परिवारका सारा छेकबारहरू छिमलेरै इञ्जिनिएर बन्न सफल हुन्छन् । तर दु:खको कुरा तराईबाट काठमाडौँ जाने क्रममा सुरुमा ट्रक डूाइभर र खलासीको फन्दामा परेर उनीहरूमाथि बलात्कारको प्रयास हुन्छ । सहासका साथ प्रतिकार गर्दै उनीहरूलाई मारेर र घाइते बनाएर भाग्न सफल हुन्छन् । तर, पछि प्रहरीको घेराबन्दीमा परेर ज्यान जोगाउनका निम्ति लाचारीका साथ शरीर पुलिसलाई सुम्पन्छन् । सहज ढङ्गलेभन्दा पनि मादक पदार्थ सेवन गराई पुलिसको सईले कामवासना पूर्ति गर्छ । उनीहरूलाई गर्भनिरोध चक्की खुवाई काठमाडौँ पठाउँछ । काठमाडौँ आएर उनीहरूले आफ्नो पाठेघर जाँच गराउँदा गर्भमा भ्रुणहरू हुर्किएको थाहा पाएपछि प्रतिशोधको ज्वाला दङ्कन्छ । उनीहरू सईलाई भेटी विश्वासमा लिएर नाटकीय तवरले हत्या गर्न सफल हुन्छन् । र, प्रहरीसामु आत्मसमर्पण गर्छन् ।

प्रहरी हिरासतमा ती दुई दोजिया युवतीको मानसिक सङ्घर्षको सेरोफेरोमा घुमेको छ यो कथा । उनीहरूले चाहेका भए अहिलेको सहज गर्भपातको सुविधा प्रयोग गरी बच्चा मिल्काएर जीवनको अन्य बाटो रोज्न सक्थे । तर, ती शिक्षित र सचेत नारीहरूको हृदयमा त्यत्तिकै जब्बर मातृत्वको आमारूप स्वाभिमानका साथ ठिङ्ग उभिएको छ । हुन त त्यो कुख्यात बलात्कारी सईकै गर्भ हो तापनि सन्तानको मायाले जितेपछि अरू पक्ष सबै गौण देखिएको अनुभूति हुन्छ । कथाको घटना क्रम हेर्दा नाटकीय मात्र हैन फिल्मी शैलीमा गतिमान छन् दृष्यहरू । मिथिला क्षेत्रका नारीहरू पनि वीरङ्गना बन्ने सामर्थ्य राख्तछन् भन्ने टड्कारो प्रमाण कथाले देखाएको छ ।

सङ्ग्रहको आठौँ कथा ‘आजकी सीता’ तराई मधेशको दहेज प्रथालाई प्रहार गरी लेखिएको कथा हो । यो कथा बेलहावालीको मुखबाट स्वगत कथनमा निस्किएको छ । ऊ एक विवाहित युवती हो । भने जति दाइजो नल्याएको निहुमा सासू झुमनी सदाले उसलाई मादक पदार्थ सेवन गराई मट्टीतेल खन्याई जलाउन खोज्छे र बल्लतल्ल उम्केर माइतीको शरणमा पुग्छे ।

उसको लोग्ने डुमियामा पनि उसलाई साथ दिनेभन्दा सताउनकै लागि आमाबाबुको सहायक बन्छ । पहिलो लोग्ने छाडेर माइत बसेकी उसलाई मगनी गर्न कारिचन सदाको बाबु आउँछ । कारिचन सदाको बाबुले दहेजकै नाममा मोलमोलाई गर्छ । तर युवती पलस टु पास गरेकीले जागृत चेतनाले आलोकित छे । ऊ अब आफ्नो सुझबुझ र विवेकले चल्ने अवस्थामा छे । माइतीको दयनीय आर्थिक अवस्था भएकाले माइतीको सम्पत्ति सिरीखुरी पारेर पुन: विवाह गर्ने उसको इच्छा हुन्न ।

कारिचन पनि पढेलेखेको युवा हो । ऊ एउटा निजी स्कुलमा काम गर्छ । निडर स्वभावकी केटीले आफ्नो सोच र धारणा स्पष्ट रूपमा राखेपछि केटीको व्यक्तित्वबाट प्रभावित हुन्छ । र; बिनादहेज विवाह गरी समाजमा नमूना बन्न चाहन्छ । सदा परिवारका यी दुवै युवायुवती समाजमा नमूना बन्ने बाटोमा अभिमुख भएका छन् । घटनाले कथालाई सुखान्त मोड प्रदान गरेको छ ।

सङ्ग्रहको नवौँ कथा ‘परिबन्दको पासो’ अन्तर्गत जातीय प्रेमकथा वियोगान्तमा टुङ्गिएको घटनासित सम्बन्धित छ । गोकुल्ले सार्कीको छोरो हो भने अस्मिता कार्कीकी छोरी हो । वर्गीय रूपमा पनि अस्मिता धनी बाबुकी छोरी हो भने गोकुल्ले उसकै हलीको छोरो हो । तर प्रेमले न जात हेर्छ; न त धन हेर्छ; न त खान्दान हेर्छ । बालवयदेखि नै उनीहरू सँगसँगै हिँड्ने; सँगसँगै स्कुल जाने; हेलमेल गर्ने भएकाले दुवै प्रेमपासमा पर्छन् । आफ्नै हली जो तल्लो जातिको छ त्यससित छोरीको हेलमेल भएको कुरा अस्मिताको बाबु भवनाथलाई असह्य हुन्छ । छोरीमाथि उसले थप निरगानी र कडाइ गर्छ । आफ्नो चिठीपत्र र मौनरूपमा भए पनि उनीहरूको प्रेम भित्रभित्रै झ्याङ्गिएको हुन्छ । तर एकदिन उनीहरूको प्रेम दुर्घटनामा पर्छ । गोकुल्लेको साथ छुटाउनकै लागि अस्मितालाई उसको दाजुले अमेरिका लग्छ र अर्कैसँग बिहे गर्दिन्छ । यता गोकुल्ले पनि त्रियुगा खोलामा लडेर मृत्युवरण गर्छ ।

हाम्रो सामाजिक यथार्थको एउटा कुबाटोलाई यसले चित्रण गरेको छ । वर्गीय र जातीय असमानता रहेको हाम्रो समाजमा यस्ता प्रेमहरू, रोमान्स र लहडमा मात्र क्षणिक काल जीवित रहन्छ । त्यसपछि कठोर यथार्थको चट्टानमा रुमानी प्रेमहरू ठोक्किएर घायल मात्रै होइन क्षतविक्षत बन्छन् र वियोगको बिन्दुमा विश्राम लिन्छन् भन्ने सत्यलाई कथाले सुन्दर तबरबाट उद्भासित गरेको छ ।

दशौँ कथा ‘भेटेको मोवाइल’मा एक रसिक प्रौढको जीवनकथा समेटिएको छ । यसमा कथाकार स्वय म म पात्रका रूपमा प्रस्तुत छन् । उनले एक दिन अचानक गुड्दो गाडीबाट एउटा मोवाइल झरेको देख्छन् । त्यसलाई टिपेर घर ल्याउँछन् । त्यमा रेकर्ड भएका कुरा सुन्दै र उन्दै जाँदा कथाको प्रारूप तयार भएको छ । कथाकारले आख्यानीकृत गरेको यो कथा उदयपुरका एक जोसिला जिउँदा साहित्यिक स्रष्टाको जीवनसँग अन्तर्सम्बन्धित छ । पत्नी मरेको पीडा, एक्लो जीवन बिताउनु परेको दु:ख, बुढेसकालमा नाति मरेको दु:खान्त घटनाहरू यस कथामा वर्णन भएका छन् । कथा लेखनको पुरातन मोडेल र शैलीभन्दा पृथक कित्तामा उभिएर लेखिएको यस कथाको एउटा बूढो मान्छे प्रदोषकालमा उभिएर जीवनसत्यलाई आत्मसात गरिरहेको छ । आधुनिक प्रविधिको उपयोग गरेर जीवनलाई जीवनको रूपमा भोगिरहेको छ । कथाका प्रसङ्गहरू परिहाँस भावले परिपूर्ण छन् ।

एघारौँ कथा ‘मातृघृणा’ले हरिलारायण जादवको छोरा महावीरले आमा उपर गरेको ज्याजती र अत्याचारको कथालाई वर्णन गरेको छ । साविक उमेरभन्दा तीस वर्ष बढाएर नागरिकता बनाइदिन्छ छोराले । आमाको वृद्ध भत्ताले माछामासुको भोज डकार्छ तर आमालाई भने नूनरोटी र गुवालीको बास गराउँछ । त्यस्ता नराधम पुत्रको कारण आमाहरू कति पीडित छन् भन्ने कुराको यथार्थ खुलासा गरेको छ । साथै कथाले आखिरमा सुनिल सर मार्फत् महावीर नामको असत् वृत्तिको पात्रलाई सबक सिकाउने काम भएको छ । आफ्नी जन्मदातृ आमाउपर अपमान, अवहेलना, घृणा र दुव्र्यवहार गर्नु त्यहाँभन्दा निच र पाशविक कर्म के हुन सक्छ र ! सन्तानले भुलेर पनि मातापिताप्रति दुव्र्यवहार गर्नुहुन्न भन्ने शिक्षा प्रवाह गर्न कथा सफल छ ।

अर्को बाह्रौँ कथा ‘नयाँ बाबा खै !’ अहिलेका नखरमाउली पत्नीहरूको कथा हो । यसमा सरला नामकी नारी छ । अर्थात् ऊ हर्केकी पत्नी हो । हर्के बिमारले थलिएर ओछ्यानमा लम्पसार छ । साथमा बालक छोरो चक्रे पनि छ । ऊ उत्ताउलो यौन आवेगीको लहरमा बगेर परपुरुषसँग चोचोमोचो मात्रै गाँस्तिनँ । एक दिन घरको श्रीसम्पत्ति, गहनापात, रुपैयापैसा कुम्लोकुटुरो पारेर दिउसै पोइल हिँड्छे । बालक छोरालाई दोकानमा ललिपपमा भुल्याएर नाठो पछ्याउने हुँदा उसले पनि श्रीसम्पत्तिको कुम्लोकुटुरो लटिपटी पारेर खोलो पार गर्छ । खोलाको अस्मेल प्रवाहमा सरला एक्लै नदी तर्न सक्तिनँ ।

खोला पारिबाट उसले भन्छ– ‘बिरामी लोग्नेलाई अलपत्र छाडेर मसँग पोइल आउने धोकेबाज आइमाई ! तैँले मलाईं चाहिँ धोका दिन्नस् भन्ने के ग्यारेन्टी ? अब फर्केर जा । छोरालाई डोहोर्याउँदै जा । र, पतिको सेवा गरेर खुशी तुल्या अनि उतै रमा । मसँग घरजम गर्ने सपना बिर्सी दे । यसैमा तेरो कल्याण छ ।’ (कथाबाट)

उसको आशय हुन्छ– विरामी लोग्नेलाई अलपत्र छाडेर मसँग पोइल आउने तँ धोकेवाज होस् । तैँले मलाई पनि धोका नदिने कुनै ग्यारेन्टी छैन । तँ अब घर फर्की र पतिको सेवा गर् । मसँग घरजम गर्ने सपना नदेख् । म तेरो देहको हैन लटीपटीको मात्रै लोभी हुँ । हट्टाकठ्ठा लोग्ने मान्छे देख्यो कि आफ्नो सर्वस्व अर्पण गर्न तँलाई लाज लागेन ? काखको दूधे छोरालाई अञ्जान ठाउँमा छाड्दा तेरो मातृमन दुखेन ?

त्यस पुरुषले उसलाई सपनाबाट यथार्थको धरातलमा खुट्टा टेक्ने बनाइदिन्छ । अरू कुनै विकल्प नभएपछि खुरुखुरु घर फर्केर लोग्नेसित क्षमा याचना गरी शरण पर्छे । लोग्नेले पनि माफी दिन्छ । तर, छोरो भने नयाँ बाबाको खोजी गरिरहन्छ । कथा मार्मिक यथार्थले ओतप्रोत छ । आफ्नो परिवार बालबच्चा भुलेर परपुरुषको रूप, सौन्दर्य र जवानीप्रति विमोहित हुने नारी चरित्रको कुरूप पाटोलाई कथाले पर्दाफास गरेको छ ।

तेह्रौँ कथा ‘रातो झोला’ निकै रोचक र आल्हादकारी छ । बलकवावालाको मुखबाट यस कथाको वर्णन भएको छ । अर्थात् यहाँ पनि कथाकार स्वय म बलकवावालाको भेषमा अवतरण गरी कथा वाचन गरिराखेका छन् । यो एउटा लोभको कथा पनि हो । बजारको लक्ष्मी गल्ला खरिद बिक्री केन्द्र नजिक दाहाल दाइको पर्खालमा एउटा आकर्षक रातो झोला झुन्डिरहेको छ । निकै समय वितिसक्ता पनि कसैले लग्दैन । झोलामा के होला ? कसको झोला होला ? बलकवावाला चौधरीका मनमा अनेकौँ औडाहा उठ्दछन् । जिज्ञासाहरू पैदा हुन्छन् । ऊ एक सामान्य काठ मिस्त्री भएर जीवन चलाउने मान्छे हो । उसलाई त्यो झोलामा सुनचाँदी, रुपैयाँ पैसा या यस्तै केही द्रव्य पो राखेको छ कि भन्ने आशंका मात्रै हुँदैन । उसको मनमा लालचको भाव पलाउँछ । उसले मान्छेका आँखा छलेर पर्खालबाट रातो झोला फुत्काउने ताक हेर्छ । नभन्दै साँझमा सबैका आँखा छलेर झोला लिएर घर पुग्छ । घरमा पनि अति गोप्य तवरले झोला लुकाउँछ र उपयुक्त समयमा झोला खोल्छ । उसको आशा र अपेक्षा विपरित रातो झोलामा कुहेका शंखेकीरा पोक्याएको हुन्छ । त्यत्तिखेर ऊ छाँगाबाट खसेतुल्य हुन्छ । उसको आशामा तुषारापात हुन्छ । मानिसको लोभी चित्त दशालाई यस कथाले सूक्ष्म तवरबाट ओल्टाइपल्टाई नियाल्ने कोशिस गरेको छ ।

सङ्ग्रहको चौधौँ ‘छोटो बाटो’ कथामा धनकुमारी मगरको जीवनसित सम्बन्धित छ । लागू औषध ओसारपसारको अवैध धन्दामा पक्राउ खाएर ऊ भारतस्थित हरि¬¬द्वारको जेलमा कैदी बनेकी छ । आफ्नो गरीबी र अभावले मानिस कसरी अपराधीक कर्ममा लाग्न लाचार र विवश बन्छ भन्ने कुरा कथाले मार्मिक तवरबाट उठान गरेको छ । छोटो बाटोबाट छिट्टै धनी बन्ने लालसाले पनि मानिस अवैध र गैरकानूनी काममा अग्रसर बन्ने सत्यलाई यसले प्रकटीकरण गरेको छ । लागू औषध कारोबारका मालिकहरूले सर्वसाधारण गरीबगुरुवाहरूको विवशतालाई दुरुपयोग गरी कसरी उनीहरूलाई नरकतिर धकेल्छन् ! त्यो कुरा पनि कथाले अति सूक्ष्म तवरबाट प्रतिविम्बित गरेको छ । फेरि नेपाली मूलका मानिस नेपालमा त दु:ख पाएकै छन्; भारतका विभिन्न स्थानमा कन्तबिजोगमा छन् भन्ने कुरा कथाले सुन्दर तरिकाबाट देखाएको छ । यसमा पनि कथाकारले आत्मपरकशैलीको प्रयोग गरेका छन् ।

पन्धौँ कथा ‘उहाँ’ संस्मरणात्मक शैलीमा रचिएको कथा हो । यस कथामा वर्णित पात्र यथार्थ जीवनका जीवित पात्रहरू हुन् । र; यसमा अन्विति भएर आएका घटना सन्दर्भ वास्तविक घटना हुन् । राजविराज क्याम्पसकालको संस्मरणदेखि उदयपुरे स्रष्टा तेजनारायण शेर्पा ‘रञ्जन’सित जोडिएका वास्तविक घटनालाई आख्यानीकृत गरिएको छ । लेखकको स्वास्थ्य संवेदेनशीलतासित केन्द्रित यस कथाले जीवन र कर्मका विविध आयामहरूलाई खोतलेको छ ।

सङ्ग्रहको सोह्रौँ कथा ‘बँधुवा’ हो । यो कथा हालसालै बाह्रखरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी कथा प्रतियोगिता २०७७मा देशभरिका कथाकारबाट प्रेषण गरिएका छ सय कथाहरूमध्ये उत्कृष्ट २५ भित्र पर्न सफल कथा हो । यसमा अहिले पनि तराई मधेशमा गरीब सुकुम्बासीलाई धनी भूस्वामीहरूले कसरी दास बनाएर जोताइरहेका छन् भन्ने यथार्थलाई उदाङ्गो पारिदिएको छ । यो कथा पनि प्रथम दृष्टिविन्दुमा संरचित छ । कथाकार एक माष्टरको भेषमा अवतरित छन् । उनी कारिचरण मगर हुन् । कारिचरण मगरकै मुखबाट गोसैया तेलीको कथा हालिएको छ ।

गोसैया तेली गोविन जिम्दारकहाँ दास जीवन काटिरहेको छ । बूढो छाला, घामपानी, भोकतिर्खा केही नभनी १६/१७ घण्टा मालिककहाँ काम गर्छ । र; पनि उसका बालबच्चाको मुखमा माड पस्तैन । गोसैया र पारोदेवीले भोकभोकै बसेका सन्तानलाई खरानी पानी उमालेर खुवाउनु परेको मन छुने कहालीलाग्दो यथार्थलाई कथाले निख्खररूपमा प्रतिविम्बन गरेको छ । गोसैयाको छोरो बिजुवा भोकले कति आकुलव्याकुल छ । त्यो पढ्दा हृदयमा करुणाभावले छोप्तछ । चरम गरीबी र परिबन्दले कसरी एउटा गरीब मान्छे जिम्दारको घरमा करिया दास बनेर जीवन समाप्त पार्छ भन्ने कुराको आन्द्राभुँडी कथाले उदांगो पारिदिएको छ ।

तराई मधेशका टुर्किया, लालपुर, जमदह लगायत अनेकौँ गाउँठाउँमा यस्ता पात्रहरू परोक्ष रूपमा रहेकै छन् । कथाले तराई मधेशको अमानवीय सामन्ती शोषणलाई पर्दाफास गरिदिएका मात्र छैनन्; अभाव, गरीबी र दासताबाट माथि उठ्नका लागि केही बाटा र विधिको उज्यालो पनि दिएका छन् । मान्छे जबसम्म शिक्षित र सचेत हुँदैन; तबसम्म ऊ शोषण र उत्पीडनको जुवामुनि नारिइरहनुपर्छ । त्यसकारण सर्वप्रथम अँध्यारोबाट उज्यालो दुनियामा आउन बल गर्नुपर्छ; प्रयत्न जारी राख्नुपर्छ । शिक्षाको ज्योतिले बालबालिकालाई आलोकित गर्नुपर्छ भन्ने सत्यलाई पनि कथाले खुलस्त गरेको छ ।

सत्रौँ कथा ‘फक्रेको गुलाफ’ को शीर्षक सांकेतिक छ । गुलावचनको सोचमा आएको परिवर्तनलाई यसले प्रतीकात्मकरूपले देखाउने चेष्टा गरेको छ । करिया चमारको छोरो सुन्दरमान शिक्षित युवा हो । चमार भन्ने वितिक्कै तराई मधेशमा सिनो फाल्ने, जुत्ता सिउने, ढोलक बजाउने दलित जातिको रूपमा अपहेलित जीवन बिताइरहेको जाति हो । यो जाति सामाजिक विभेद, छुवाछुत, र सामाजिक हिंसाको डरलाग्दो चपेटामा परिआएको छ । समाजको यो उत्पीडन र विकृति विसंगतिलाई उच्छेदन गर्न सुन्दरमानले अन्तर्जातीय विवाह गरेर दाइजो प्रथा र छुवाछुतबाट समाजलाई माथि उठाउने सपना देखेको छ । सुरुमा सुन्दरमानको विचारलाई गुलावचनले दिल्लगी गर्छ । उसको सोच उपर खिसीटिउरी गर्छ । तर; पछि उसको प्रगतिशील विचारको समर्थनमा उभिन्छ । यसरी समाज शनै: शनै: प्रगतिशील परिवर्तनको धारतिर अभिमुख हुँदै गएको सुखद यथार्थलाई कथाले देखाएको छ । यो कथा पनि प्रथम पुरुष दृष्टिबिन्दुमा आरेखित छ ।

अठारौँ ‘चोर बिरालो’ कथाको शीर्षक पनि प्रतीकात्मक छ । सधैँ चोरी चोरी दूध खाने बिरालो एक दिन फेला पर्छ भनेझैँ यसमा एक काम पिपासु ससुरो जो चोरीचोरी आफ्नै बुहारी अमिनासित यौनपिपासा शान्त गर्दछ । हुन त ऊ साठी कटेको बूढो मान्छे हो । लड्डूवती नाम गरेकी पत्नी पनि छ । तर पनि जेठो छोरो रामशिवकी पत्नी अमिनालाई बारम्बार यौनहिंसा गर्छ । ऊ जस्ता थुप्रै काम पिपासु पुरुषहरू विद्यमान रहेको समाजमा एक दिन अमिना जस्ता पीडित बुहारीहरू देवकी, फूलकीया, सञ्जा, मंगलीहरूले आफूहरू माथि भएको अत्याचारको विरुद्धमा संगठित विद्रोह बोल्न थाल्दछन् । त्यसपछि अमिनाको ससुराले तेजाव खन्याएर अमिनालाई समाप्त पार्ने योजना पनि नबुनेको होइन । यसमा असफल भएपछि ऊ सिद्धबाबा जागेश्वर महाराजजीको शरणमा गएर आफूले विगतमा गरेका कुकर्मप्रति प्रायश्चित र स्वदण्डको बाटोमा हिँड्छ । आफ्नै मुखबाट आफूले गरे व्यहोरेका कुकर्मको बेलीविस्तार लाउँदै बाँकी जीवन शुद्ध राख्ने संकल्प गर्छ ।

कथाले हाम्रो समाजको अन्तर्गर्भमा छिपेका, लुकेका अपराधीक क्रियाकलापहरूको फेहरिस्त उजागर गरेको छ । सदाचारी मान्छेको मुखुण्डोभित्र कुरूप दुराचारी अनुहार छिपेको हुन्छ । यस कुरालाई कथाले सुन्दर तवरले देखाएको छ । मानिसको ढोंगी र पाखण्डी चरित्रलाई पनि उदाङ्गो पारेको छ । साथै तराई मधेशमा नारी जाग्न थालेको प्रमाण पनि दिन्छ । आफू उपर परिवारकै मान्यजनबाट भएका यौन उत्पीडन र यौन हिंसा अबको पुस्तालाई कदापि स्वीकार्य छैन भन्ने तथ्य पनि कथाले प्रस्तुत गरेको छ ।

उन्नाइसौँ कथा ‘कस्तो यात्रा !’मा ससुराबुहारीको अनपेक्षित पुनर्मिलनको रोचक घटना वर्णन गरिएको छ । बुढाको आफ्नो छोरो बैदेशिक रोजगारीमा गएको हुन्छ । एकदिन मेसिनमा गिँडिएर बाकसमा लास बनेर आउँछ । यता बुहारी विक्षिप्त बन्छे । नाति दिपेश सानै हुन्छ । सासू मनदेवीले बुहारीको स्याहार गर्छिन् । त्यस्तै अवस्थामा उनी बेपत्ता हुन्छिन् । यता पानीमा डुबेर मरेको ठानी काजकिरिया गर्छन् । मानसिक विचलनकै अवस्थामा अज्ञात पुरुषको गर्भ बोकेर अर्कै ठाउँमा पुगी छोरो जन्माउँछिन् । मानसिक अवस्था सन्तुलनमा आएपछि गाउँलेहरूको सहयोगले घरजम गर्छिन् । संस्थाको तालिममा सदरमुकाम जाँदा अनायासै ससुराबुहारीको भेट हुन्छ । दुवैका बीचमा घटनाहरू आदानप्रदान हुन्छन् ।

आफ्नो छोरो दिपेश हुर्की बढीपढी लेखी जागिरे भइसकेको सन्दर्भले नारीमा हर्षको भाव छरिन्छ । सुरुको जीवन दु:खान्त स्थितिबाट गुज्रे पनि आखिरीमा सुखान्त मोडको दर्शन गराएर कथाकारले पाठकको कुतुहललाई सीमान्त बिन्दुमा आरोहण गराएका छन्् । कथाको कलात्मक पक्ष र घटना शृङ्खला बेजोड सुन्दर देखिन्छ ।

बीसौँ कथा ‘छप्की दरबार’ हो । यो कथा सप्तरीमा अवस्थित पोखरेल वंशको ऐतिहासिक दरबार जो अहिले कोशीको गर्भमा बिलाएको छ । त्यही छप्की दरबारमा हुने गरेका इतिवृत्तको वर्णनमा संकेन्द्रित छ । कथाकारले विष्णुप्रसाद पोखरेलको पालामा भोजभत्तेर र मृत्युको लीला कसरी सम्पन्न हुन्थ्यो भन्ने कुराको उपाख्यान जोडिदिएका छन् । यसमा प्रजातन्त्रकालताका म्भारतबाट हतियार ल्याउने तरिका वर्णित छ । चार चार ओटा हतियारको बिटोलार्ई लास बनाएर हतियार ढुवानी हुने दरबारको गुप्ती पाटोलाई त्रासदरूपमा विम्बिकरण गरिएको छ । यसले छप्की दरबारभित्र हुने अनेकन् अज्ञात रहस्यको खोजी गर्नुपर्ने विषय उठान गरेको छ ।

सङ्ग्रहको एक्काइसौँ कथा ‘नसोध है गरिमा !’ हो । यो कथा यथार्थ जीवनको सत्य घटना र वास्तविक पात्रहरूसित मेलखाने कथा हो । यस मानेमा आचार्य सफल कथाकार मानिन्छन् कि उनले वास्तविक जीवनका पात्र/चरित्र र घटनालाई सुन्दर सुकोमल लयमा सजिलै आख्यानीकृत गरिदिन्छन् । अपितु यो कठिन र जोखिमपूर्ण कार्य हो । यद्यपि उनले सफल ढंगले निर्वाह गरेका छन् ।

शहीद जामुनलाल चौधरीका जेठी छोरी–ज्वाइँको सत्य घटनामा आधारित यस कथामा प्रथम दृष्टिविन्दुमा कथाकार म पात्रको रूपमा प्रहरीको भेषमा कथा भनेका छन् । कथामा एकातिर माओवादी विद्रोहको बलिदानी शृङ्खलामा काँधमा बन्दुक भिरेर मुटुभरि प्रतिशोधको ज्वाला बोकेर युद्धमोर्चामा हिँडेकी सुनिताको छापामार सैन्य विम्ब छ भने अर्कातिर तिनको प्रतिरोधस्वरूप राज्यको बफादार सिपाहीको ओजस्वी अनुहार पनि साथै खडा छ । एकअर्कालाई सिध्याउन, मर्न र मार्न तत्पर प्रहरी जवान र छापामार युवती बीचको मनलाई विमोहित पार्ने प्रेमकथा र आखिरमा सफल दाम्पत्य सूत्रमा कसिएको सम्मका घटनाले पाठकको हृदयमा सुखद भावको सञ्चार गर्दछन् । यो कथा युद्धकालदेखि शान्तिकालसम्मको कथा हो । यो कथा प्रतिरोध र प्रतिशोधदेखि प्रेम र प्रणय सूत्रसम्मको कथा हो । प्रेमले जतिसुकै विजातीय स्थितिलाई पनि समत्व प्रदान गर्न सक्छ भन्ने कुरा कथाले सम्प्रेषण गरेको छ ।

सङ्ग्रहको बाइसौँ तथा अन्तिम कथा ‘जिउने उपक्रम’ माओवादी विद्रोहको द्वन्द्वकालीन समयको ग्रामीण यथार्थलाई सटिक र सूक्ष्म रूपमा प्रतिविम्बिन गर्ने समर्थशाली कथा हो । यसमा एक प्रहरी परिवारमा गलत सूचनाले छाएको त्रासदीपूर्ण शोक विह्वल अवस्थादेखि प्रशन्नताको कइरनसम्म आरेखित छ । जीवनाथ र सावित्रादेवी तिमील्सिनाको कान्छो छोरो शारदा प्रसाद प्रहरी सेवामा कार्यरत् छन् । राज्य पक्ष र माओवादी बीचमा भिडन्त, द्वन्द्व र आक्रमण प्रत्याक्रमण चरम शिखरमा पुगेको छ । यस द्वन्द्वबाट समाजको कुनै पनि तप्का अछुतो र अलग छैनन् ।

एक दिन प्रहरी शारदाकी बहिनी सीतालाई हरिमार्फत् अपुष्ट खबर मिल्छ । खानीभञ्ज्याङ प्रहरी चौकी भिडन्तमा कान्छो छोरो घाइते भएको खबरले परिवारजनलाई शोकाकूल बनाउँछ । परिवारका सदस्यहरू खासगरी शारदाकी ममतामयी माताजी आहात र शोकविह्वल बन्छिन् ।

माओवादी विद्रोहप्रति आक्रोसित बन्छिन् । जसको जौँ खानु उसकै जुँगा मोल्नुझैँ जसको घरमा दानापानी खाने त्यसैलाई पीडादिने यिनीहरूको नीति अपराधीक छ भनेर पीडा पोख्छिन् । दाजुहरू घाइते भाइको उद्दारको लागि खानीभञ्ज्याङतर्फ प्रस्थान गर्छन् । यथार्थ बुझ्दा शारदा सारसौँदै हुन्छन् । उनको स्थानमा अर्कै प्रहरी जवान घाइते भएको हुन्छ । शारदा सकुसल अवस्थामा रहेको खबरले धरापमा परेको परिवारको खुशी फेरि फर्की आउँछ । उनीहरूको बेचैनी र विलापमा डुबेको अनुहारमा खुशीको चमक फिँजिन्छ ।

हल्लैहल्ला र भ्रमपूर्ण समाचार फैलिनाले उनीहरू त्यस खालको मासिक परेसानीमा परेर विद्रोहीप्रति तथानाम गाली गर्ने, घृणा ओकल्ने कामसम्म गर्न पुगे । तर आफ्नो छोरो सहिसलामत पाएपछि तिनै विद्रोहीहरूको जयगान गर्नथाले ।

यस कथाले द्वन्द्वकालीन नेपाली समाजको विद्रुप यथार्थ मात्र देखाएको छैन; हिंसा–प्रतिहिंसाको त्रासदीपूर्ण चित्र पनि कोरेको छ । सर्वसाधारण नेपालीमा राज्यपक्ष र विद्रोही पक्षको दोहोरो चेपाइ र आतङ्कमा कसरी बाँचेका थिए भन्ने कुराको स्पष्ट दृष्य कथाले देखाएको छ ।

यी उल्लेखित बाइसओटा कथाहरूको आलोकमा राखेर नन्दलाल आचार्यको कथाकारितालाई पर्गेल्दा उनी समकालीन जनजीवनका यथार्थलाई सर्लक्क टिपेर आख्यानको आकृति कुँद्न सक्ने समर्थशाली कथाकार हुन् । मूलत: उनी आफ्नो कर्मभूमि तराई मधेशको आञ्चलिक परिवेशमा दर्बिलोसित खुट्टा अड्याएर त्यहाँको सामाजिक जीवनका घटना परिघटना, पात्र परिवेश र त्यहाँको मनोविज्ञानको ऊहापोहलाई रिठ्ठो नबिराईकन कथामा पोख्न सक्ने स्रष्टा हुन् । कथाकार आचार्य एक युगसचेत कथाशिल्पी हुनुको नाताले उनी कथामा सामाजिक समस्याको बिस्कुन मात्रै फिँजाउँदैनन्; बरू प्रत्येक समस्याको विधिसम्मत वैज्ञानिक समाधान पनि दिने गर्छन् । समस्याबाट मुक्तिको बाटो पनि देखाउने गर्छन् । उनका कथामा निम्न वर्गीय पात्रहरू, दलित, मुसहर, डोम, चमार र नारीहरूका अथाह पीडाहरू तिनका जीवनका घातप्रतिघातहरू र संघर्षहरू, जीवनका आरोहअवरोहहरूको बगुन्द्र चाप भेट्न सकिन्छ ।

मैथिल समाजका पारिवारिक परिवेशको सग्लो चित्रण दिन कथाकार सक्षम छन् । त्यसमा पनि ग्रामीण निम्न वर्गीय पात्रका ऊहापोहहरूलाई समाख्यानात्मक विधि र दृश्यात्मक दुवै विधिबाट परिवेशको प्रतिविम्बन गरेका छन् । उनका कथामा पात्रहरू आफैँ मुखररूपमा बोल्दछन् । धेरै कथामा त आख्यानकार आफैँ म पात्रका रूपमा मुखररूपले वाणीमा उत्रन्छन् । पात्रका मन र हृदयमा घुसेर संवादको संकथन निर्माण गर्दछन् ।

पात्रको स्तर, अवस्था र त्यस अनुकूलको कथोपकथनले कथालाई चमकपूर्ण बनाएको कुरामा दुई मत हुन सक्तैन । पात्रचयनमा पनि कथाकारले बहुविध पात्रको सन्तुलित उपस्थित गराएका छन् । नारी, पुरुष, पहाडे–मधिसे, उच्च–मध्यम–निम्न वर्ग, अनुकूल–प्रतिकूल, बद्ध–मुक्त, अन्र्तमुखी–बहिर्मुखी, स्थीर–गतिशील, प्रमुख–सहायक–गौण सबै किसिमको पात्रीय तारतम्य मिलाएर कथाको मांशलेपन गरेका छन् ।

दृष्टिबिन्दुका हिसावले आन्तरिक दृष्टिबिन्दुमा बगेर आफ्नै मुखबाट कथा वाचन गर्नु आख्यानकार आचार्यको मूल बैशिष्ट्य हो । प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग गरी कथाको सारा घटना परिघटना आफ्नै लय र वाणीबाट भन्न सक्ने विशिष्ट खुबी छ कथाकारमा । अर्काको मनोभाव, मनस्थिति र मनोदशाालाई आफैँभित्र आरोपण गरी कथा रच्न सक्ने शैली छ । कथाकार आचार्यको भाषाशैलीमा कलात्मक निख्खार आउँदै छ । मधेशको लवज र लयबाट अछुतो भने छैन । कथाको भावभूमि, विषयभूमि, मिथिला क्षेत्र र मैथिल भाषी पात्र भएको कारणले पनि आञ्चलिक स्थानीय भाषाको सुगन्ध हर कथामा सुँघ्न सकिन्छ । विषयवस्तु र पात्र अनुकूलको संवाद, सरल र सुबोध पदावली, मैथिलीमा, बोलिएका निख्खर संवादले कथामा ओज थपेको छ । कथालाई जीवन्त र प्राणवान बनाएको छ ।

कथाकार आचार्यको कथालेखनको अभिष्ट पहिल्याउँदा उनी निरर्थक रूपमा लेख्नका लागि लेख्नुको धन्दाले होइन; समाजलाई, आम पाठक वर्गलाई केही दिनुको प्रयोजनबाट कथा सिर्जना गर्दछन् । त्यो नीतिचेतनाका लागि पनि हो । त्यो आदर्शोन्मुख समाज स्थापनाको उद्देश्यबाट समेत प्रेरित छ । जनजनका मनहरूमा यथार्थबोध गराउने र समाजको प्रगतिशील रूपान्तरण र सुधार गर्ने प्रयोजनबाट पनि कथाकार आख्यान लेखनमा संकेन्द्रित छन् । युगौँयुगदेखि समाज विरूप छ । अनेकन विकृति, विसंगति, विभेद, अन्याय, अत्याचार, रुढीवादी प्रथा, जातीय छुवाछुत र किसिम किसिमका हिंसा र द्वैषभावले समाज आक्रान्त छ । पहिलो कुरा, त्यसलाई पर्दाफास गर्ने, त्यसको मुटुमै प्रहार गर्ने दोस्रो कुरो, ती तमाम बेथितिबाट समाजलाई मुक्त गरी एक समुन्नत, समृद्ध, शिक्षित समतामूलक समाज स्थापनाको सार प्रत्येक कथाको अन्तर्गर्भमा स्पर्श गर्न सकिन्छ ।

सामाजिक यथार्थका उद्बोधन त कथाको मूल उद्देश्य हुँदै हो; त्यसका आलावा मानसिक अन्तद्र्वन्द्व र तत्जन्य समस्यालाई मनोवैज्ञानिक आयामबाट केलाउनु, पर्दाफास गर्नुपनि कथाकारको अभिष्ट रहेको छ ।

कथाकार आचार्य कथामा पात्रको पत्रात्मक शैलीबाट आफ्नो भाव सम्प्रेषण गर्ने तरिका लोभहर्षकारी छ । धेरै कथामा धेरै पात्रहरू चिठी मार्फत् आफ्नो मनको पोयो खोल्छन् र पाठकलाई विचारोत्तेजक मनोभावमा उतार्दछन् ।

मूलत: कथाकार मधेश तराईको जनजीवनका भोक्ता हुन् । प्रयोक्ता समेत हुन् । उनले त्यहाँ नजिकैबाट अवलोकन गरेका, स्पर्श गरेका र अनुभूत गरेका सत्यलाई कथामा ढालेका छन् । त्यसो हुँदा स्वैरकल्पना र अनुमानभन्दा अलग पृष्ठभूमिमा उभिएका छन् कथाहरू । तराई मधेशको जीवन सत्य र यथार्थसित कथाहरू जबरजस्त जोडिएका छन् ।

मैथिल समाजको भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज, सामाजिक मूल्यमान्यता र मनोविज्ञानको प्रतिच्छाँयास्वरूप कथाहरू आआफ्नो ठाउँबाट आलोक दिइरहेका छन् । खासगरी सस्यश्यामला धर्ती मधेश ऊर्वरा शक्तिले भरिपूर्ण प्रदेश । त्यहीँ नै नारकीय शोषणदमन, जिम्दारी र दासप्रथा, त्यहीँ नै अनाचार, दुराचार, पापाचार, पाखण्डी कर्मको व्याप्ति, जातीय छुवाछुत, विभेद र उत्पीडनको चापले सर्वसाधरण जनताको जीवन कष्टकर बनेको कुरा स्रष्टाले नाङ्गो आँखाले देखेका मात्रै छैनन्; त्यही अनुभूतिको राप र चापबाट कथा सिर्जित छन् ।

कथाकार निरन्तर कथालेखनको ऊध्र्वगामी पथतिर अग्रसर छन् । अनेकन समस्या र पीडाका बाबजुत स्रष्टा आचार्य सतिसालजस्तो ठिंग उभिएर सिर्जनकर्ममा साधनारत् छन् । कुनै विजातीय तत्त्वले पनि गलाउन नसकेको उनको कलम अहोरात्र अक्षरयात्रामा दगुरिरहेको छ । नेपाली वाङमयमा उनले अनेकन कृति थप्न सक्ने सम्भावनाको क्षितिज फराकिलो छ ।

यस कृतिले कथा साहित्यको इतिहासमा एक अलगधारको मूल्य निरुपण गर्नसक्छ भन्ने कुरामा म विश्वस्त छु । उनीभित्रको आख्यानपुरुष अँझ अगणित विषयवस्तु र भावभूमिमा आख्यान रच्न आतुर छ । समाजको अन्तर्गर्भमा अहिलेका मौजूद स्रष्टाहरूले छुन र छाम्न नसकेका अनगिन्ती विषयवस्तुहरू छन् । देख्न र लेख्न नसकेका अनगिन्ती घटना र सन्दर्भहरू जसलाई उनका तीखा आँखाले ठम्याइरहेका छन् । र, आगामी दिनमा अँझ शक्तिशाली कथा सिर्जनाको लागि शक्ति मिलोस्, कथाकारलाई मेरो अनन्तकोटि शुभकामना छ ।

पुण्य कार्की
२०७७–०३–२५
मोतीगडा, उदयपुर ।

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

1 thought on “नन्दलाल आचार्यको कथाकारिता”

Leave a Reply

Your email address will not be published. Required fields are marked *