मन्त्री बन्नासाथ सबै विसयका ज्ञाता सम्झि हरेक सभामा मन्त्रीलाई निम्ता गरिन्छ । यस्तै एक विदेशबाट आयात गरिएको नयाँ नयाँ प्रविधिबारे चलेको गोष्टीमा मन्त्रीको नाताले मीनबहादुर मुख्य अतिथि भई गोष्टीमा पुगे । उनेले त्यहाँ जोडदार भाषण दिए । दर्शकहरूले ध्यानमग्न भई भाषण सुने र तरर जोडको ताली बजाए ।
साँझपख प्रमुख खबरको रुपमा हरेक टि.भी. च्यानलहरूले त्यो भाषण प्रसारण गरिरहेथ्यो । मीनबहादुरका बुढा बुबा ट्वार ट्वार हुक्का तान्दै छोराको भाषण सुनिरहेथे । त्यसै वेला मन्त्री मीनबहादुरले कोठामा प्रबेश गरे । बाबु चाहिले छोरालाई पुलुक्क हेर्दै सोधे – “हैन ए मीने तँ कहिले देखि यति बुद्धिमान भइस हँ…? तैले पढाई पनि पुरा गरेको थिइनस । पढने वेलामा नेता बन्दैमा ठीक्क भयो । तर आज जुन सुकै सभामा जुन सुकै विषयमा पनि भाषण दिन पुगेको देख्छु । म त छक्क परिरहेछु तैले कुन वेला यी सबै विसय अध्यन गरिस होला भनेर ।”
ती मन्त्रीले मुस्कुराउदै हल्का र बेपरवाहसँग भने, “आ…के गाह्रो छ र बुबा भाषण गर्न ? यसो ब्यानरतिर हेर्यो, एक दुई शब्द त्यसको बारेमा भनिदियो । अनि बाँकी उही आफ्नै कुरा फलाक्यो । जति सक्दो जोड दिदै दुई तीन कुरा भन्न चाहिँ छुटाउनु हुदैन । जस्तै शान्ति, सहमति, सहकार्य ईत्यादि कुरा कन्ठ पार्नु पर्छ अनि त भै हाल्यो नि ! सबै विषय किन जानिरहनु पर्छ र ?”
बाबु चाहिँ छोराको बुद्धिमत्ता सुनी गदगद भए । छोरा कसको भन्दै जुँगामा ताउ लगाउदै थिए ।
सुशीला देउजा
पुनर्जागरण भाद्र २० २०६८
