पन्ध्रौँ तलाको अपार्टमेन्ट


राति त्यत्रो हल्लीखल्ली हुँदा पनि नब्यूँझिने सानूसँग उनी आजित थिइन् । उनको खाटमुनि भुसको बोराझैं अचेत रहेरै उसले रात गुजार्‍यो । मानौं उनले आफ्नो स्लिपिङ ट्याब्लेट उसैलाई खुवाएर रेशमी च्यादर सपक्क ओढाइदिएकी होउन् ।

बिहानमात्रै आँखा खोलेर आङ तन्कायो । उठेर पुच्छर डुलाउन थाल्यो । यो कोठा र त्यो कोठा चहार्‍यो । मायालु आँखा बनायो । म्यामलाई देखेन । उनको दिनचर्या थाहा पाउने उही त थियो । उनी त्यतिबेला कहाँ के गरिरहेकी हुन सक्थिन् भन्ने नालीबेली उसैलाई हुन्थ्यो । घरको दोस्रो सदस्य । जति हुर्किए पनि उसले एउटै नामको माया पाउँदै आएको थियो ।

भुस्यहा कुकुर हुन् भने भुक्न कुनै निहुँ चाहिँदैन । त्यस्ता कुकुर कतै सिन्को खस्यो भने पनि झस्किहाल्छन् । खस्याकखुसुक सुने त न्वारानदेखिको बल लाउँदै उफ्रिहाल्छन् । कुनै छाया लम्क्यो भने पनि कान थापिबस्छन् । बंगलातिर भने तिनको पहुँच हुँदैन । अग्ला पर्खालभित्रका गतिविधिबाट प्राय: बेखबर रहन्छन् । सडकछेउछाउका टोलै ठिक छ । तिनलाई खास मानमनितो पनि चाहिँदैन ।

यो घरभित्र कुकुर छ भन्ने सचित्र सूचना टाँसेर के लछारपाटो लाग्यो र ? दाह्रा निकालेको, अहिल्यै कोपरौंलाजस्तो अनुहार लाएको अजङ्गको फोटो गेटमै झुन्डिएको थियो । आपद् पर्दा भने भुसतिघ्रे सुतेको सुत्यै गरिदियो । त्यस्तो आक्रामक भनेको फोटो सामान्य हाउगुजी पनि बन्न सकेन । भलाद्मी कुकुर तर्साउनलाई काम लाग्दो रहेनछ । तीन दिनमा एकपल्ट न्यानो पानीले शरीर पुछपाछ पारिदिने, कैला रौं कोरिबाटी गरिदिने, छिसिक्क घाउ लाग्यो कि मल्हमपट्टी हालिहाल्ने । उसको शौच र आची गर्ने भाँडो दैनिक सिनित्त सफा गर्ने र पशु चिकित्सककहाँ नियमित देखाउन लग्ने अरूलाई ईष्र्या लाग्ने स्याहार उसैले पाएको थियो । तैपनि उसको घ्राणशक्ति बढेको होइन ।

टोलभरिका कुकुरमध्ये भीमकाय जीउडालको भएर पनि नभुक्ने नाम यसैले कमाएको थियो । लाडप्यार बढी पायो, खान्की बेसी भयो, बोसो लाग्यो, म्यामको देखभाल गर्ला भनेको उसकै रखवारी गर्नुपर्ने भयो भनेर उसको कुरा काट्नेहरू भइसकेका थिए । तर उनीहरूको यो घरमा आउजाऊ थिएन । सँधियारहरू पनि दूरीमै रहन रुचाउँथे । वा इसारा म्यामको नजिक पर्न डराउँथे । बाहिरतिर हम्मेसी देखिइन् भने उनीहरू तर्केर हिँड्थे । छतबाट देखिनु एउटा कुरा । यो घरमा के गुज्रिएको छ भनेर आँखा लाउनेहरू कम्ता थिएनन् । फुर्सदिला छिमेकीहरूलाई आफूमाझको आलिशान घरकी एक्ली सदस्य र उनको सहारारूपी कुकुर अहोरात्र चर्चाको आकर्षण थिए । तिनले आफ्ना छत वा झ्यालबाट दुरबिन जोडिएजस्ता आँखा चनाखा पार्ने गरेका थिए । कहिले जुम गर्थे, कहिले आफैंमा व्यस्त हुन्थे । लोडसेडिङ छैन भने पनि टेलिभिजनमा गतिलो धाराबाहिक वा हास्यव्यंग्य कार्यक्रम नआउँदा धेरैको ध्याउन्न ठूलो बगैंचा भएको यही घरतिर हुन्थ्यो । आँखा टहलाउन पनि त खुला परिवेश चाहिन्छ ।

सानू भनेर म्यामले मायासाथ बोलाउँछिन् भन्ने आसमा टक्क अडिएर उसले केही बेर यताउता हेरिमात्र रह्यो । म्यामको हस्याङफस्याङको तात्पर्य उसले बुझ्न सकेको थिएन । प्रहरीलाई फोन गर्नुअघि उनले आफ्नो घरबाट के चोरियो थाहा पाइसक्नुपर्थ्यो । एकेक हरहिसाब देखाउनुपर्थ्यो । यस्तो चार, पाँचपल्ट भइसक्यो । प्रहरीले त के चोरियो भन्न सक्नुहुन्न भने अब हामी आउन्नौँ भनिसकेका छन् । चोरीको कथा कल्पेको बातसमेत लगाइसकेका छन् । चरा आए पनि चोर चोर भन्दै कराउनुहोला जस्तो भइसक्यो भन्दै गएका थिए पछिल्लोपल्ट प्रहरी ।

बेचैनी बढ्छ मोबाइल थिच्न खोज्छिन्, रोकिन्छिन् । हात काँपेको होइन । जाडो बढेको पनि होइन ।

काठमाडौंमा यत्तिको ठिहिरो सामान्य हो । बादलले नृत्यकला प्रस्तुत गरेन भने दिन नबिराईकन घाम लागिहाल्छ । दिउँसो त डाम्ने गरी पोल्न सक्छ । बिहानमात्र हुस्सुले सिरक बनेर उपत्यकालाई अँगालोभरि कस्छ । धूलोले अत्याउने क्रम भने बढेको छ । आकाश नीलो देख्न पाइँदैन । धूलोका कणले क्षितिज धमिलो भइरहेको हुन्छ । नदी पनि नीलो हुँदैन । नदी खोला भए, खोला खोल्सा भए, खोल्सा नाला भए, नाला फुटेर छ्याल्लब्याल्ल्ल… । धमिलो जे पनि र धूलो जता पनि । उनले मोबाइल फोनको स्क्रिन सफा गर्ने रुमालले पावर चस्मा पुछिन् र बाहिर हेर्न छाडेर फेरि तल झरिन् ।

कुन सामान कहाँ छ भन्ने उनलाई मोटामोटी हेक्का छ । गरगहना जति एउटा दराजमा कोचेर ताल्चा लगाएकी छन् । उनीसँग भएका लुगाफाटा बढी हुन् । मौसमअनुसार तह–तह मिलाएर राखेकै छन् । भाँडावर्तन किचन, डाइनिङमै छन् । लालपुर्जा, सरकारी कागजपत्र, अरू पुराना कागजात, अभिलेख, प्रमाणपत्र एउटा दराजमा छन् । बुवा, जिजु बुवा, त्यसअघिका पुर्खाले सुम्पेका सामान पुरानो फलामे बाकसमा बन्द गरेर राखेको कहिल्यै खोल्ने कुरा भएन । विदेशबाट आएका किम्ती उपहार टिलिक्क पारेर लम्मेतान सिसाको दराजमा टल्काएकी छन् त्यो कसैले फोड्न सक्दैन । टेबल कम्प्युटर, काखे कम्प्युटर, क्यामरा, भीडियो क्यामरा, नयाँ, पुराना मोबाइल फोनजस्ता विद्युतीय सामान उनकै रोहबरमा रहन्छन् प्राय: । तर कुन सामान कहाँ छैन भन्ने उनी पत्ता लाउन सक्दिनन् । चोर आएर केही नलाने गुन्जायस हुन्छ र ? उनले आफैंलाई सोधिन् । केही नचोर्ने हो भने चोर किन आउँछ ?

उनलाई पछ्याउँदै आएको सानूसँग सक्ने भए उनले बात मार्ने थिइन् । ‘ल भन् त, तैंले किन केही थाहा पाइनस् ?’ उनले निहुरिएर उसको कान समात्दै भनिन् । कान समात्दा पनि उनले चिमोटेको होइन, फूल समातेझैं हलुका स्पर्श गरेकी थिइन् । सानू उनीसँग लुट्पुटियो । लुट्पुटिँदा पाउने स्नेह महसुस गरेन । अँगालोमा कस्ने, सुम्सुम्याउने, कन्याइदिने, फुक्र्याइदिने, पुल्पुल्याइदिने गतिविधिका सन्देश उसलाई त्यसै थाहा हुन्छ । त्यस्तो मात्मा पल्केको हो । तर सधैं कहाँ एकनाश हुन्छ र ?

म्याम गम्भीर बनेको चाल पाएपछि अनुहार हेर्‍यो र केही समस्याको गन्ध पायो । तर के हो उसले खुट्याउन सक्ने थिएन । ‘लाटोबुङ्गो,’ उनले सानूलाई लाडे स्वरमा हप्काइन्, ‘हिजो राति पनि तेरो घर फोरियो ।’

राति आएको चोर होइन भने को हो ? को किन आयो ? त्यो छाया सर्दै–सर्दै अर्को कोठातिर लम्कियो र उनले चिच्याउनुअघि त्यसले कुमदेखि कम्मरसम्म लत्रिएको झोला कसेर कुलेलम ठोक्यो । उनले चिच्याएको सुन्ने त्यही चोरमात्र होला ।

छायाको फोटो खिच्न मोबाइल सोझ्याएजस्तो भएछ । चोरको चाल कसरी कैद हुन्थ्यो र त्यो सानो जिनिसमा ? त्यो पनि जिरो वाटको बल्बको प्रकाशमा ? उनले छतमा उभिएर टाढा अग्लिँदै गरेको अपार्टमेन्ट बिल्डिङको फोटो खिच्याजस्तो सजिलो थिएन । त्यो बिल्डिङ कहिले ठडिसक्ला र सरौंला भन्दाभन्दै तीन हिउँद यही छतमा घाम तापेर बिते । मोबाइलमा बिल्डिङको फोटो खिच्छिन्, आफूले बुक गरेको पन्ध्रौँ तलाको छेउपट्टिको फ्ल्याटमा दुइटा औंला फटाएर जुम गर्छिन् । कामदारहरू कोही झुन्डिएको, कोही चढेको, कोही निहुरिएको, कोही पसारिएको, कोही ठिङ्ग त कोही फटाफट् लम्किएको देखिन्छ । पिल्लर छ, छ्याप्प छ्याप्प्प सिमेन्ट पोतेको देखिन्छ, तर बिल्डिङ अँझै अस्थिपञ्जरजस्तो ठिङरिङ्ग उभिरहेको छ । फोटो जति तन्काए पनि बिल्डिङ छिटो बन्ने होइन, त्यो पोजलाई फेरि खुम्च्याएर साविक साइजमा संकुचित पार्छिन् । अघिल्लो दिनको फोटोभन्दा फरक छैन । अघिल्लो महिनाकोभन्दा पक्कै फरक छ । तर फरक छुट्याउने खुबी छैन । यस्तो गर्दागर्दै बिल्डिङले पूूर्ण कदको जीउ हाल्न र पोस लिन समयलाई पट्यारलाग्दो बनाइसकेको छ । यता राति–राति चोरको छायाले छोडेको होइन ।

‘रानीसाहेब,’ कसैले छिमेकी घरको छतबाट बोलायो । उनले सुनिनन् । उनलाई घाम तापिबस्ने फुर्सद छैन । छतमा उभिएको बेला कहिलेकाहीँ यसरी बोलाउने उही एउटै छिमेकी हुन् जसले सोध्ने भनेकै ‘सन्चै होइसिन्छ’ भन्ने हो । सन्चो नभए म्याम छतमा आउँथिनन् । सन्चो छैन भनिदिए ती छिमेकी भेट्न आउनेवाला पनि होइनन् । त्यति सुन्ने गरी भन्न पनि चर्को बोल्नुपर्छ, नत्र सुनिँदैन, बित्थामा कोही किन बिहान बिहानै गर्जोस् ? अरू छिमेकी त फुटेका आँखाले पनि हेर्दैनन् । खासमा नदेखेको झैं गर्ने हुन्, लुकेर रातविरात हेरिरहेका हुन्छन् ।

तलको कुन कोठा फोरियो भन्ने सुर्ताले उनी बेसुराझैं सिँढी उक्लिने ओर्लिने गरिरहेकी छन् । उनलाई यो अढाई तले घर ठूलो भइसकेको छ । कोठा धेरै भए । सामान पनि धेरै । आफूसँग बस्ने त्यही एउटा कुकुर पनि अब त धेरै भएजस्तो भयो ।

घन्टी बज्यो । धून उही मंगल । चाहे मलामी जाने खबरै किन कसैले नल्याओस् । जीवन जिउने तरिका । अरूले भनेको उनी मान्छिन् र ? हन्डर खाइएला, हरेस खानु हुँदैन भन्छिन् । हात खुट्टा चलुन्जेल मोज गर्ने हो, चल्न छाडेपछि हरि नाम जप्दै मस्ती गरौँला । आराम हराम हो । यस्तै उस्तै सुक्तिको जुक्ति लाउँदै उनी एक्लै भुत्भुताउने गर्छिन् ।

गेट खोल्न जानेसमेत अर्को कोही नभएपछि उनी जति भुत्भुताए पनि आफैँसँग हो । उनले बिहानी चियाको चुस्की पनि लाउन भ्याएकी होइनन् । बाहिर निस्कन लाग्दा सानूले कुर्ताको फेर समात्दै उनलाई रोक्न खोज्यो । ‘धत् पाजी,’ उनले हप्काइन् । त्यो ढोकाछेवै बसिरह्यो । ‘पख्, अहिले खान दिन्छु,’ उनले भनिन् र गेटतिर लम्किइन् । सुस्त हिँड्दा सय पाइला त लागिहाल्छ ।

‘ए, प्रहरी पो ?’ उनी छक्क परिन् । कतिखेर फोन गरिछु भन्ने सोच्न खोजिन् । मोबाइल आफैं दाबिएछ कि भन्ठानिन् । कहिलेकाहीँ खेल्दाखेल्दै डायल भएर कहाँ कहाँ पुग्छ । ‘आउनोस्’ भन्दै भित्र्याइन् । इन्सपेक्टरै आएका थिए । उनको पछिपछि दुईजना पसे । इन्सपेक्टरले कति भव्य बंगला रहेछ भने । ओठ र जुँगा दुवै चलाए । दुबो र फूलको लहराको प्रशंसा गरे । ड्रइङ रूममा राखेर उनी चिया, कफी के पिउनुहुन्छ भन्ने सत्कारको प्रश्न गर्नपट्टि लागिन् । घरमा अरू कोही भए नभएको लख काट्न मग्न भइरहेका बेला उनीहरूले भित्ताभरि पुराना पारिवारिक तस्बिरका फ्रेम मिलाएर सजाएको देखे । नियाल्न नजिक भने गएनन् । के सोचेर गएनन् थाहा भएन । गएको भए उनको मनलाई सन्तोष हुन्थ्यो । उनले गर्वसाथ केही बताउन पाउँथिन् । आजकलका उरन्ठेउलाहरू त फुईं लाएकी भनेर उनलाई उडाउन बेर छैन ।

प्रहरीहरू ड्रइङ रूमको भव्यता चित् पर्दै हेरिरहेका थिए । सुनगाभा चित्रांकित मखमली खोल भएका फराकिला लचकदार सोफामा उनीहरू टुसुक्क बसेका थिए । मानौँ अटेसमटेस बसभित्र कोच्च्चिन उनीहरूले मुडामात्र पाएका होउन् । बस्ने सोमत पनिरहेनछ भन्ने उनले ठानिन् ।

‘तपाईंले टेक्नुभएको छाला बाघकै त हो ?’ इन्सपेक्टरले सोधे ।

‘तपाईंलाई लाग्छ मेरो बुवा नक्कली बाघको सिकार गर्नुहुन्थ्यो ?’ उनले उभीउभी प्रतिप्रश्न गरिन् । उनी किन उभिरहेकी थिइन् भने प्रहरीहरू उनलाई नसोधीकन बसेकोमा चित्त नबुझेको देखाउनु थियो । छालासँगै बाघको सकल टाउको जोडिएको नै थियो । उनी त्यही बाघ जिउँदो हुँदाझैं गर्जिन पनि सक्थिन् । प्रहरीसँग किन त्यसो गर्नु र ? अलि बेराँ तिनकै सहयोग लिनुपर्नेछ । दुर्लभ जन्तुमाथि उभिएको ज्यानलाई अलिकता पर सारिन् ।

चोरले राति के लग्यो होला भन्नेमा फेरि गम खान थालिन् । अब यी प्रहरीले पक्का पनि त्यही सोध्नेछन् भन्ने सुर्ताले उनी ढलपल होलिन्जस्तो भयो । तर मुटु दह्रो पारेर उभिरहिन् । शरीरले सन्तुलन छोड्ला भन्ने पीरबीच चोरिएको कोठा कुन हो भनेर कता देखाउने भन्नेमै उनी घोरिइरहिन् ।

इन्सपेक्टरले अवाक् हुँदै इसारा म्यामलाई हेरे । उनको अवयव, हाउभाउ र शरीरमा गहिरो दृष्टि दिए । केस्राकेस्रा केलाएझैँ गरे । उनलाई कसैले पनि ८० वर्षकी सोच्न सक्दैन । ठाँटबाट हेर्दा उनको छरितो शरीरसँग ईष्र्या गर्दै उमेर लुकेको छ । हरेक बिहान एक डेढ घन्टा त कपाल सजाउनै लाग्छ । आजमात्र खज्मजिएको हो । सुनकेस्राजस्ता कपाल भन्छन् । सुनकै रङमा फैलिएका छन् । उनका आँखा लाम्चा र चम्किला छन् । अनुहार चायाँमुक्त, आभायुक्त छ ।

दुइटा दाँतमा सुन हालेकी छन् । अरू टमक्क र टिलिक्क छन् । अगाडिको तल्लोपट्टिका दुइटा दाँतको बीचमा खाली ठाउँ भरेदेखि उनको आवाज फाट्न पाएको छैन ।

अघिल्ला वर्षहरूसम्म जिम कोठामा आधा घन्टा व्यायाम गर्ने र अर्को आधा घन्टा योगासन लिने नित्य दैनिकी थियो । खानामा उनको पथपरहेज कायम छ । खानपिनको नियमित तालिका अनुसरण गर्छिन् । राति डेढ पेग सिङ्गल माल्टको बानी बदलिएको छैन । निख्खर । दिनभरि कहिले जिन्जर टी कहिले जस्मिन टी । तारेको, भुटेको, पोलेको खान्नन् । उसिनेको, उमालेको, बफाएको खान्छिन् । बाहुनीले ताजा साग, तरकारी, अण्डा, चामल आदि इत्यादि किनमेल गरेर ल्याउँछिन् अनि अब केही बेरमा आएर पकाएर तातोमा राखिदिन्छिन् । दिनको एकपल्ट पाकेको खाना उनलाई दुई तीन फेरलाई पुगिहाल्छ । ब्रेकफास्ट भनेको क्या हो र अण्डा उसिन्ने, पहेँलो निकालेर फाल्ने, सेतो सेतो भाग चम्चाले निकाल्दै निल्ने । तातो दूधमा कर्नफ्लेक्स हाल्ने । एक चम्चा मह थप्ने, बस् । गलेपछि सप्पासप । बाहुनीले भान्छासँगै, लुगा धुने र घर सफा गर्ने काम एक घन्टामा फत्ते गरेपछि सुइँकुच्चा ठोकिहाल्छिन् । घर फेरि उनकै मनमौजीमा निर्लिप्त ।

प्रहरीले उनलाई गौर गरेर हेरिरहेकै बेला उनको हातमा मोबाइलले अलार्म मेसेज दियो । साढे दस बजे ब्युटिपार्लर र दुई बजे डेन्टिस्टकहाँ एपोइन्टमेन्ट आजै परेको रहेछ । उनले दुवै मेसेज तत्काल ड्राइभरलाई फरवार्ड गरिन् । सानूले चाख दिएर हेर्‍यो । बाहिर जाने भनेपछि ऊ त्यसै बुर्कुसी मार्थ्यो । कारको पछाडि सिटमा उनीसँगै बसेर झ्यालबाट बदलिँदो सहरका छटा हेर्न ऊ मग्न भइरहन्थ्यो ।

मोबाइलले त्यसरी एलर्ट गरिदिएन भने त उनी भुसुक्क बिर्सिहाल्छिन् । त्यसले कुनै दिन घरको सामानको रेखदेख गर्ने सिसिटिभीको पनि काम गरिदेओस् भन्ने उनको मनसुवा छ । भीडियो क्लिक गर्ने बेला भने उनको आँखा तिरमिराउँछ । उज्यालो पुगेर आँखा तिरमिर नगरेको भए राति उनले त्यो चोरको भीडियो क्लिपै बनाउने थिइन् । प्रहरीले बल्ल पत्यार गर्ने थिए । उनले त्यो प्रिय मोबाइल अर्को हातमा सारिन् ।

उनले सानूलाई जत्तिकै सुम्सुम्याउने त्यही मोबाइललाई हो । स्क्रिनमा सानूको फोटो छ । कुकुर तिहारको दिन माला लगाएको । सानू भने पक्का पनि त्यही मोबाइलको ईष्र्या गर्छ किनभने इसारा म्याम त्यसैलाई छेऊमा राखेर सुत्छिन् । उठ्दा पनि आफूसँगै राख्छिन् । उनका लाम्चा औँलाहरू त्यसमै झुत्तिरहेका हुन्छन् । जबकि उनले खासै कसैलाई फोन गर्ने होइन । कसैले उनलाई फोन गरिरहने पनि होइन । तर उनी मोबाइलकी अम्मली हुन् । मोबाइल फोन एउटा हातबाट अर्को हातमा सार्ने र हरक्षण आफूसँगै राख्ने उनको काइदा हो । मोबाइलले उनलाई शक्ति दिएको छ र साथ पनि दिएको छ । त्यो नहुँदो हो त उनी बुङ्गो देखिने थिइन् । इन्सपेक्टरले हेर्दाहेर्दै उनले केहीपल्ट त्यसलाई बायाँ हातबाट दायाँ र दायाँबाट बायाँमा सारिन् । आईफोन, मोडल भने दुई वर्ष पुरानै हो ।

गैँडाको खाग, हात्तीको बङ्गरा, जरायोका बाह्रै सिङ…। कोठा हेर्दा जीवजीवात् संग्रहालयको छाँट देखिन्थ्यो । प्रहरीहरू ती सबै सामान हेर्‍याहेर्‍यै भए । इसारा म्याम ढोकाछेउ कतिखेर उभिन पुगिछन्, इन्सपेक्टरतिर हेर्दै भनिन्, ‘म त तपाईंहरूलाई फोन गरूँ कि नगरूँ दोधारमा थिएँ ।’

‘किन हजुर ?’

‘चोर त आएको हो र झोलाभरि सामान खाँदेर लगेको पनि हो,’ उनले भनिन्, ‘तर के लग्यो मेसो पाउन अँझै सकेकी छैन ।’

‘मूल्यवान सामान थाहा नपाउने चोर रहेछ,’ इन्सपेक्टरले ठोकुवासाथ भने । ‘किन ?’ उनले सोधिन् ।

‘यो कोठाबाट त केही उठाएको छैन नि ?’ उनले सोधे ।

‘त्यसको हिम्मत ?’ उनी जंगिइन् ।

‘हजुरकहाँ चोर आइरहँदो रहेछ, के चोरियो थाहा पनि हुँदैन,’ इन्स्पेक्टरले भने, ‘यी मूल्यवान खरखजाना यसरी जतन हुँदैन, हामी लगेर चौकीमा राखिदिन्छौं, निश्चिन्त बसिबक्स्योस् ।’

‘मेरो बुवाका नासो हुन् यी,’ उनले भनिन् ।

‘त्यही भएर मैले यिनको सुरक्षाका लागि भनेको,’ इन्स्पेक्टरले थपे ।

‘बाघको छाला नभए त मलाई निद्रै लाग्दैन,’ उनले भनिन् ।

‘यही छालामा सुत्नुहुन्छ र ?’

‘घरको शोभा सिद्धिन्छ,’ उनले भनिन्, ‘नियास्रो लाग्छ । आफ्नो घरजस्तै लाग्दैन ।’

‘बाघको छालाले घरको शोभा दिँदैन म्याम, हजुर आफैं यो घरको शोभा हुनुहुन्छ,’

‘हाम्रो खानदानको पहिचान हो,’ उनले जिरह गरिन्, ‘म यसैमा हुर्केकी हुँ । यो नभए घर त रित्तो हुन्छ ।’

‘श्रीपेच त संग्रहालयमा पुग्यो,’ इन्स्पेक्टरले भने, ‘अब बाघको छालामा रजाइँ गर्ने दिन रहेनन् ।’

‘के भन्नुभयो ?’ उनले झर्किंदै सोधिन् ।

‘चोरको बिगबिगी छ,’ इन्स्पेक्टरले अर्थ्याए, ‘हजुरलाई बुवाको नासोको सुरक्षाको चिन्ता छ कि छैन ?’

‘तपाईंहरूको कर्तव्य हाम्रो सामान सुरक्षित बनाउने हो,’ उनले भनिन्, ‘असुरक्षित छ भनेर तर्साउने होइन ।’

‘त्यसो भए किन तर्सिरहनुभएको छ त ?’ इन्स्पेक्टरले भने, ‘चोरले यो छाला उडाएको राति हजुरलाई निद्रा पर्छ त ?’

‘अरू जे सुकै लतारोस् मलाई त्यति चासो छैन,’ उनले भनिन्, ‘योचाहिँ त्यसले नछोओस् भन्ने चाहन्छु ।’

‘हजुरको चिन्ता र चासो यसमै छ, त्यहीकारण हामी यसलाई सुरक्षित थान्कोमा राखिदिन्छौँ, ल साथी हो, यसको प्रबन्ध गर,’ उनले आदेशात्मक लबजमा भने ।

उनले हुन्छ भन्न नभ्याउँदै ती तीनजना मिलेर सबै हाडखोर, छालाका सामान प्लास्टिकले बेरेर झ्याल्टाम झुल्टुम पार्न थाले । सबै सिकार मकै भुत्ल्याएजस्तो पारे । उनले नरम स्वरमा भनिन्, ‘ख्याल गर्नुस् है, कुनै टुट्फुट नहोस्, जस्तो थियो त्यस्तै रहोस् । एउटा रौँ पनि नहल्लोस्, एउटा भुत्ला बराबर पनि फरक नपरोस् । बाबुबाजेको अमानत हो । बुझ्नुभयो होइन ?’

सानूले भने म्यामको सारीको फेर समात्दै कुइँकुइँ गरिरह्यो । उसले प्रहरीहरूतिर दाह्रा किटिरहेको म्यामले हेक्कै राखिनन् ।

अदब छैन, मिजास छैन । आजकल प्रहरी सडकछाप भइसकेका छन् । उनी सोच्दै, हेर्दै, अक्क न वक्क बन्दै अपलक हेरिरहेकी थिइन् । प्लास्टिक पनि ल्याएका रहेछन् । मतलब उनीहरू ती सामान उठाउने तयारीमै आएका थिए । सात फिट लामो बाघलाई समेत कर्‍यापकुरूप पारे । दुईजना सिपाहीले सकिनसकी बोके । इन्सपेक्टरले गैँडाको खागको झोला भिरे । ड्रइङ रुम त भत्ल्याङभुत्लुङ पारेजस्तो भयो । शून्य, सुनसान । भित्तामा सिकार गर्दै गरेका तस्बिरमात्र बचे ।

‘अब तीन महिनापछि फर्काइदिनुहोला,’ उनले भनिन्, ‘म त्यो अपार्टमेन्ट बिल्डिङ सर्दैछु, त्यहाँ सुरक्षा हुन्छ ।’

‘त्यतिबेला चौकीमा सम्पर्क गरिबक्सेला,’ इन्सपेक्टरले भने । उनले ‘धन्यवाद, केही परे फोन गरिबक्सेला’ भन्दै बिदाइका हात हल्लाए । इसारा म्याम मनभरि खिन्नता साँचेर भए पनि सामान सुरक्षित रहने उनीहरूको वचनमा ढुक्क भइन् । दोमनमै गेट बन्द गरिन् ।

तिनको वचन कति फोस्रो थियो जाँच्ने रत्ति शंका उब्जेन । अपार्टमेन्ट बिल्डिङ ढिलो बनेकाले यसरी आफ्नो जायजेथारूपी नासो चौकीमा राख्न पठाउनुपर्‍यो ।

एकछिनलाई त्यो बिल्डिङतिर हेर्न मन गरिनन् । एउटा बिल्डिङ ठड्याउन कति वर्ष लगाउने हुन् कुन्नि ? तिनका बाजेको… ।

सानू न्याउरो अनुहार लाउँदै भित्र ढोकामा कुक्रुक्क बसेको थियो । भोकाएर होला भन्ने उनले ठानिन् ।

इन्सपेक्टरले प्रशंसा गरेको दुबो फुङ्ग थियो । पानी हाल्नुपर्ने भइसकेको थियो । फूलको लहरा भन्नुमात्र थियो । फूल मुर्झाउने याम थियो । बाघको छाला पनि नचिन्ने प्रहरीरहेछन्, साँच्चैको बाघको छाला हो भनेर सोधेकामा उनी ताज्जुब मान्दै थिइन् । प्रहरी पनि कति चाँडै फेरिन्छन् । नयाँ अनुहार आइरहन्छन् । हिसी परेका हुँदैनन्, हिस्स गर्दै आउँछन् ।

केही पाइला सर्दा नसर्दै उनले सोचिन्, यसपटक प्रहरीसँग गाडी त थिएन । भन्ने हो भने गेटबाहिर कुनै गाडी नै थिएन । केमा आए र केमा गए तिनीहरू ? निको चालो त होइन यो । ए रात्तै, उनी हत्तपत्त गेटतिर फर्किइन्, सकिनसकी दौडिइन् । सास रोक्दै । बलपूर्वक चुकुल खोलिन् । बाहिर कोही, केही थिएन । चरो, मुसो… । उनीहरू टाप कसिसकेका थिए । उनले गेटमा निराश हुँदै अढेस लाउँदा भित्र कुकुर छ भन्ने डोरीमा लत्रिरहेको सचित्र सूचना पाटी हल्लियो ।

चस्माभित्रबाट आँखा एकत्रित गर्दै मोबाइलबाट सय नम्बर डायल गरिन् । ठूल्ठूलो सास रोक्दै, फुक्दै, स्याँस्याँ गर्दै बोलिन् । प्रहरी बनेर तीनजना चोर आएको हुलिया दिइन् । चोर होइन तिनीहरू त लुटेरा नै हुन् भनिन् । चोर राति आएको थियो, लुटेरा बिहान आए । लुटिएका सामानको विवरण पछि दिने भन्दै उनले आफ्नो नाम र ठेगाना टिपाइन्, इसारा… टिप्नुभयो ? टिप्दै हुनुहुन्छ ? सुन्नुभयो ? (स्याँ स्याँ)… इसारा… राज्यलक्ष्मी… । इसारा… सदन, इसारा… टोल… ।

त्यो घटनापछि उनले सानूलाई बेस्सरी हप्काइन् । उसले त्यस्तो गाली कहिल्यै पाएको थिएन । चित्त साह्रै दुखाएछ । उनले बलजफ्ती उसलाई गेटबाहिर लगेर ‘मरी जा’ भनिदिएकी थिइन् र चुकुल ठेलिदिएकी थिइन् । उनको रिस केही केरको थियो । तर उसको मन भरङ्ग भएछ । फर्किएन । त्यहीँबाट अलप भयो । त्यही घरमा जन्मेको थियो, बाहिर एक्लै कहिल्यै गएको थिएन ।

इसारा म्यामको सातो गयो ।

त्यसको फोटो प्रिन्ट गर्न लगाएर कम्पाउज्डको भित्तामा सूचना टाँसिन् । पुरस्कार घोषणा गरिन् । कहिल्यै निधिखोजी नगर्ने टोलछिमेकका एकेक घरमा गएर बुझ्ने प्रयास गरिन् । कत्ति दिन भयो त्यो फर्किने छाँट आएन । त्यसको सुर्ताले उनलाई न भोक न निद्राले गाँज्न थाल्यो । रातभरि छट्पटाउने र दिनभरि गेटतिर आँखा लगाइरहने गरिन् । गेट खुला राखेरै बस्न थालिन् । केही सीप नलागेपछि पत्रिकामा विज्ञापनै गरिन् । सानू फर्केन ।

अपार्टमेन्ट बल्लतल्ल तयार भएको खबरपछि उनले साजसज्जा र रङरोगन आफूले भनेजस्तै गर्न लगाइन् । सोलार बत्ती जोड्न लगाइन् । तिनै कामदारले फर्निचरसहित सामान सार्ने दिन आयो । सानूका सबै सामान पनि जतनले पठाइन् । गेटमा ताला लगाउनुअघि घर भाडामा भन्ने सूचना लेखेर आफ्नो मोबाइल नम्बर पनि टाँसिन् ।

ज्योतिषीले घर सर्ने साइत साँझको मात्र निकालेका थिए । अपार्टमेन्टमा सर्दा उनी जति फुरुक्क थिइन्, सानूको अभावमा उत्तिकै विरही पनि । कारबाट ओर्लिएर ड्राइभरलाई फर्काइदिइन् । पाइला सर्न गाह्रो भइरहेको थियो ।

पन्ध्रौँ तलासम्म अग्लिएको भव्यतम परिसरका अढाई सय कोठामध्ये टुप्पाको त्यो पनि एउटैमा मात्र बत्ती बलेको थियो । अरू तला त के कुनै कोठामै पनि कोही सरेकै थिएन । थुप्रै अपार्टमेन्ट बिक्न सकेकै थिएनन् ।

त्यो नयाँ बसोबासमा सर्ने उनी पहिलो ग्राहक थिइन् । अरू कहिले आउलान् र बिल्डिङ भरिएला भन्ने उनलाई परवाह थिएन । उनले खोजेकै यत्ति थियो, एउटा सुरक्षित आवास ।

गेटमा सुरक्षाकर्मीले मैनबत्ती बालेका थिए ।

‘हजुर एक्लै सवारी भएको ?’ एकजना पालेले नजिक आएर सोधे ।

उनले मुन्टो हल्लाएको उसले के बुझ्यो, त्यत्तिकै पर सर्‍यो । उसले ‘केही सहयोग गर्नुपर्छ कि’ भनेर फेरि उनीतिर दुई पाइला लम्केर सोधेको मात्र थियो, उनले धन्यवाद भनिदिइन् । उनीसँग हाते झोलाबाहेक केही त थिएन ।

सानू भएको भए उनीसँग टाँसिँदै उनले हेरेतिरै हेर्ने थियो । उनले उभिएर माथि हेरिन् । आफ्नो एपार्टमेन्टबाट सोलारको बत्ती साँझ ढल्किँदै गएपछि चहकिन थालेको थियो ।

पहिला त परिसरको बगैँचामा केहीबेर डुल्न खोजिन् । वरिपरिका रूखबाट भरर्र कागहरू उडे । एक्कासि तिनको आबाजले खैलाबैला ल्यायो । शान्ति चिढियो । यस्तो बेला सानू सजिलै झस्किन्थ्यो ।

लिफ्ट चल्थेन । मोबाइल फोनको बटन थिचेर टर्च लाइट बनाइन् । एउटा धारो मधुरो उजेलोमा छाया बन्दै पाइला सार्न थालिन् । त्यो डरमर्दो रातको उकालोमा उनी अभ्यस्त हुनै थियो ।

पाइला गन्दै हिँड्न थालिन् । कुन बलले हो पाँचौँ तलामा उक्लिइन्, केही बेर सुस्ताउन बरन्डाबाट बाहिर हेरिन् । काठमाडौंमै जन्मीहुर्की यतिको उमेर चढ्दा पनि उनले चाल पाएकी थिइनन् घण्टाघर छोपिइसकेको थियो ।

मध्ये काठमाडौंमाथि अघि नै घामले रङ फेर्दै लगेको बादल यताउता सरिसकेको थियो । सानू भएको भए परसम्म हेर्‍याझैँ गर्ने थियो । उनले केही घरपर देख्न सक्थिनन्, अनुमान गर्दा उनको मूलघर एक्लै कतै ओझेलमा थियो ।

उनी सानो छँदा आकाश प्राय: नीलो रहन्थ्यो । बादल सेतै उड्थे । राति ताराहरू तिलमिलाउँथे । तारा खसेको ठम्याउँलाजस्तो हुन्थ्यो । तारा गनेर भ्याइएलाझैं लाग्थ्यो जीवनमा । त्यतिकै संख्यामा छोराबुहारी, छोरी ज्वाइँ, तिनका तर्फबाट नाति नातिना, पनाति पनातिनी भएर उनको परिवारको आकाश भरिएको थियो । ती सबै चङ्गा बनेर आफ्नै क्षितिज पहिल्याउन हिँडे । श्रीमान् बितेपछि उनी झन् बलियी भइन् । सानू थियो नि सहारा । गन्ने हो भने उनले श्रीमान्सँगभन्दा त्यही सानूसँग धेरै वर्ष बिताइन् । श्रीमान् कति छिट्टै अर्कीसँग सल्केर छुट्टिए भने उनले तीन वर्षमा भकाभक जन्माएका तीन सन्तान एक्लै हुर्काइन् । तिनका छिट्टै प्वाँख पलाएर आफ्नै गुँड लाउन विदेश उडेपछि उनले आफैँलाई भरोसा भरिरहनुपर्‍यो ।

विदेशबाट उनीहरूले खबर पठाउने भनेकै ‘देशमा सधैँ राजनीतिक गड्बडी हुन्छ, बरु हजुर नै यतै सवारी होइबक्स्योस्’ भन्नेमात्र हो । ‘सानूले कत्तिको साथ दिइरहेको छ ?’ भनेर सोध्न भने भुल्थेनन् ।

छैटौँ तला उक्लिइन् । सोचिन्, सानूले फेरि उनीभन्दा अघि बढेर बरन्डामाथि खुट्टा राख्दै टाउको बाहिर निकाल्ने थियो । पुरानो घरतिरै चियाउने थियो । उसलाई यो बिल्डिङ रारुन्ने लाग्नु स्वाभाविक थियो । उसले चियाउन सक्नेतिरै उनले पनि हेर्न खोजिन् ।

उनले हेरिरहेको पश्चिमी आकाशमुनि सहरका गल्लीमा हिँड्दा कसले के कुरा गर्दै छ सुनिन्थ्यो । असनबाट छिरेर कता निस्किन्थिन् पत्तो हुन्थेन तर गल्ली हल्ला केही हुन्थेन । चराहरूको कुरा छाडौँ । गल्ली छिरेपछि कसैले चुरोटको कस तानेको छ भने फिल्टर नभएको त्यो ठाडो धूवाँले पुछारसम्म पछ्याउँथ्यो ।

नीलकाँडाको झ्याङमाथि आकाशबेलीका पहेँला फूल टिपेर चस्मा लाउँदै हुर्केकी थिइन् उनी । उनको जन्मघरको थुम्कोबाट कति न घर देखिन्थे र ? आँखाभरि मन्दिर र दरवारका बुर्जा, टुँडाल देखिन्थ्यो । जहाँ पुग्न पनि खेतका गह्रा छिचोल्नुपर्थ्यो । लसुनका हृष्टपुष्ट पोटी बिस्कुन लागेको छतमुन्तिर ढोकाको खापाको डोरीमा तुन्द्रुङ्ङ झुन्डिएर खुर्सानी सुकेका हुन्थे ।

अर्को तला उक्लिएपछि फेरि सानूका बारेमा सोच्न पुगिन् । ऊ भएको भए फेरि बरन्डातिर जाने थियो । त्यसैगरी बाहिर हेर्न थाल्ने थियो । घण्टाघरको रालोले घण्टा–घण्टामा काठमाडौंलाई ब्यूँझाउँथ्यो जतिखेर उपत्यका शान्त थियो । जता उभिए पनि रालो हल्लिने सेतो घर ठिङ्ग देखिन्थ्यो ।

उनी जन्मिनासाथ कोही दौडिँदै वसन्तपुर पुगेर घडामा राखेको पला हेरेको थियो र कति बज्यो थाहा भयो । नब्बे सालको भूकम्पपछि बल्ल काठमाडौंमा आधुनिक सडक बने । बाटो फराकिलो पारे । हेर्दाहेर्दै काठमाडौं कसरी विस्तार भयो उनले ठम्याउन सक्ने दूरीसम्म खेत कतै बाँकिरहेन ।

रिमरिम अँध्यारोमा छामछुम गर्दै कुन तोडमा उनी तला गन्दै आफ्नै अपार्टमेन्ट पुगिन् । बाहिर सहरतिरको अलिकति उज्यालो र भित्रको बत्तीको चहकले उनलाई सान्त्वना दिएको थियो । हाते ब्यागबाट चाबीको झुप्पा निकाल्न खोज्दै थिइन् ढोकाबाट कुनै जीवात् फुत्त उनीतिर वेग मार्दै आयो र झम्लङ्ङ अँगालो हाल्यो ।

‘आबुई सानू’ भन्दै उनले अपत्यारवश पहिला त उसलाई अँगालोबाट हटाइन् र तुरुन्तै दुवै हातभित्र कसेर माया गरिन् । ती दुवै एकले अर्कालाई आँसुले भिजाउँदै छाँद हालिरहे । उनले सक्ने भए त्यसलाई बुई बोक्दै भित्र लग्ने थिइन् । आँसु सिद्धिएपछि उनी हाँस्न थालिन् । सानूले पनि त्यही गर्‍यो ।

इसारा म्याम र सानूले त्यो पन्ध्रौँ तलाको अपार्टमेन्टमा पूरा निद्रा सोफामै काटे । उनीहरूले काठमाडौंको सम्भवत: सबभन्दा अग्लो तलामा आफूलाई सबभन्दा खुसी पक्कै ठान्न पाए ।

प्रकाशित: आश्विन ३०, २०७२

http://kantipur.ekantipur.com/news/2015-10-17/20151017130725.html

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *