सरिताले कति सोच्ने ? सोच्दासोच्दै १५ दिन बितिसक्यो । सोचेको सोच्यै छे । पैले रोई उसले । दिनभरि रोई, रातभरि रोई । भोकै रोई, प्यासै रोई । पैले पवनलाई सम्झेर रोई । पछि आफूलाई सम्झेर रोई ।

आफ्नो भावी जीवन सम्झेर रोई । त्यसपछि पवनसित बिताएको जीवन सम्झेर रोई । रुँदारुँदै अरू रुन नसक्ने महसुस भएपछि सोच्न थाली । कैले पवनलाई सोची, कैले आफैंलाई सोची । पवन र आफ्नोबारे सोच्दा सोच्दा अरू थप सोच्न नसक्ने भई ।

त्यसपछि सोच्न बन्द गरी । नसोचेरै मौन रहन खोजी । पेटको बच्चा छट्पटिएजस्तो लाग्यो । तीन महिनाको बच्चो किन छट्पटेको हो ? बेलै भएको छैन छट्पटिने ! आमाको मुटु छट्पटेको हल्लनले हल्लेको हो कि तीन महिने बच्चाको मुटु ? तीन महिनामा त बच्चाको मुटु नै बनिसक्दैन । आमाकै धड्कनको टाइमिङमा चल्ने हो बच्चाको शरीरको टाइमिङ पनि । तर आमाकै धड्कनकै खै टाइमिङ ? उसको आफ्नै हरेक टाइमिङ गडबड हुन पुगेको छ, पवनको खबर सुनेदेखि ।

यता उसको बच्चा छटपटेको छ । उता गाउँमा बच्चाको बाउ पवनको काज किरिया पनि सकिसक्यो । पवनको मृत्यु भएको भोलिपल्टै उसले खबर भेटेकी हो । यताबाट हिँडेको तीन दिनपछि शुक्रबार पवनसित कुरा भएको थियो । ‘आमाबालाई हामीहरूको सम्बन्धको कुरा भन्ने अवसरै मिलेको छैन, भोलिपल्ट शनिबार अवश्य पनि भन्छु । अनि तुरुन्तै बिहे गर्न गाउँमै बोलाउँछु । जिन्स लार नआउनु नि । कमसेकम यौटा टिलिक्क सारी लेर भने आउनु नि काली…’ भन्दाभन्दै काटिएको कनेक्सनले फेरि नेटवर्कै पाएन ।

शनिबार पनि नेटवर्कै मिलेन । आइतबार पनि मिलेन । सोमबार घन्टी गयो । मोबाइल पवनले उठाएन । पवनका पिताले उठाएका थिए । आइतबार अचानक पवन मुटु दुख्यो भन्दै ढलेको ढल्यै भए । दुर्गम गाउँ । सदरमुकामसमेत लग्न नसकेको ।

यसभन्दा बढी सरिताले सुन्नै सकिन । तिमी को भनेर सोध्दा पनि पवनकी बिना बिहेकी पत्नी भन्ने सुर आएन । साथी भनेर फोन राखेकी थिई उसले । सायद आफ्नो परिचय दिएर तुरुन्तै किरिया बस्न जानुपर्थ्यो उसले । तर कुन परिचय ? धर्मपत्नी कि अधर्मपत्नी ? पवन र सरिता बिहे नगरीसँगै बसेको डेढ वर्ष भयो । सहरी नयाँ चलन लिभिङ टुगेदर ! पेटमा तीन महिनाको गर्भ । बच्चाको बाइलोजिकल पिता पवन मरिसक्यो । तर पवनलाई सामाजिक पिता भन्ने हैसियत छैन, नजन्मिसकेको बच्चाको । सरिता स्वयंकै सामाजिक पति त बनेनन् पवन ।

प्रेमको फल हो बच्चा । पवनको प्रसाद हो बच्चा । तर पवन त छैन यसो भन्न । एक्ली महिलाले यसो भन्ने हैसियत समाजमा छैन । पापको फल ! कामाग्निको झटारो ! सोच्दैमा विक्षिप्तिन्छ मन सरिताको ।

पवनको याद धेरै आउँछ । प्रेमै गरेर लिभिङ टुगेदर नबसेका भए पनि लिभिङ टुगेदर गर्दागर्दै प्रेम गरेका हुन् दुवैले । होस्टलमा बस्थी ऊ । पार्ट टाइम कामबाट होस्टल खर्च र पढाइमा धान्न कठिन थियो ।

सानुतिनो जागिरबाट डेरामा बस्थ्यो पवन पनि । तर उसलाई आर्थिक तालमेल गर्न गाह्रो परिरहेको थियो । पैले थोरै चिनापर्चीबाट पछि धेरै चिनापर्ची भयो । दुइटा कोठामध्ये एकएक कोठा बाँडियो । खाना संयुक्त खाने सहमति भयो । दुवैको खर्च घट्ने भयो । यसरी खर्च घट्ने सोचेर होस्टलबाट डेरामा सरेकी हो सरिता ।

समय कालखण्डमा दुवै कोठा एकाकार भए । प्रेमले पेटमा फल दियो । अब बिहे नै गर्ने बेला भएको बुझे दुवैले । र पवन आमाबालाई भन्न हिँडेको हिँड्यै भयो । मोबाइलको नेटवर्क हरायो । पवनको भने नेटवर्कै टुट्यो, फेरि मरम्मतै हुनै नसक्ने गरी । सरिता अन्योलमा छे । बच्चा फाल्न कुनै समस्या छैन । आजै फाल्न सक्छे ऊ । तर ऊ बच्चा फाल्न चाहन्न । चाहन्छे, पवनको परिवारसित जोडिएरै बच्चा हुर्काउन । पवनको मायाको चिनो धर्तीमा कायम राखेर पवनप्रति श्रद्धाञ्जलिदिनु कर्तव्य ठान्छे ऊ ।

सरिता सोच्छे उसको धर्म यही हो । उसको प्रेमको पवित्रता यही हो । तर उसको विवाह भएकै छैन । बिनाविवाहको प्रेमको कुन पवित्रता ? लिभिङ टुगेदरको अर्थमा नारीलाई समाजले छाडा लज्जाजनक, यौनकर्मीजस्तो ठान्छ, पुरुषका हकमा पुरुषार्थी ठाने पनि । अनि कस्तो पवित्रता ? कुन कर्तव्य ? सरितासित जवाफ कहाँ छ ? पवनका परिवारले मान्ने सबालै छैन । पिछडिएको ठाउँका ती गाउँलेहरूबाट उसले आशा कसरी गर्ने ? गाउँ निकालिदिनेछन् । अरू नै कसैको पेट बोकेर सम्पत्ति खान आई भनिनेछ । हुन त नाममात्र जोड्न चाहेकी हो सरिताले । गाउँमा बच्चा लगेर हुर्काउने सपना छैन उसको । न त तिन्का सम्पत्तिकै । आखिर ऊ आफैंले कमाएरै बच्चा हुर्काउनुपर्छ । यो सहरको जीवनको महँगाइसित अहिलै त लड्न गाह्रो छ । तर ऊसित विकल्प छैन, यही ठाउँमा लडेर बच्चालाई हुर्काउनुको ।

पवनको अफिसमा बेनिफिटहरूका सम्बन्धमा बुझ्न कोसिस गरी, बच्चा र ऊ आफैंको बारे पनि । बेइज्जती गरियो । बिमा कार्यालयबाट पनि लत्याइयो उसलाई । लिभिङ टुगेदर भन्ना साथ जताततै गिल्ला । कतिले त लिभिङ टुगेदर गरेपछि अब डाइङ टुगेदर किन नगरेको पनि भनेर हाहाहा गरे । पवनको बाइक पनि नामसारी हुन सकेन । जुन अफिस पुगे पनि उसको कुरो सुन्नासाथ वरिपरिबाट सबैले हेरेर हाँस्ने… । घरमा पनि भन्न सक्दिन ऊ । डिग्री बोकेर आउँछे भनी सहर पठाएकी छोरी कसैको गर्भ बोकेर फर्कन सक्ने अवस्था छैन । न त छ गर्भै लुकाउने अवस्था । न त फाल्ने मनस्थिति । न त पाल्ने परिस्थिति । स्वास्थ्य कमजोर बन्दै छ । पैसा सकिँदैछ । रुन साथ दिने पनि कोही छैन । हौसला बढाउने पनि कोही छैन । सल्लाह सुझाव दिने पनि कोही छैन ।

बिरामी हुँदा पवनले तातो पानी पिलाएको सम्झिन्छे । सन्चोको बाफ लिन सघाएको सम्झिन्छे । सुप बनाएर खुवाएको सम्झिन्छे । उसले खान्नभन्दा कान समातेर चम्चा–चम्चा सुरु प्वाएको पनि सम्झिन्छे । तर पवन यता छैन । याद मात्रै छ । मान्छे नहुनु बरु सहन सकिने रहेछ । तर याद हुनु भने झनै सहनै नसकिने रहेछ । पहिलोपटक थाहा भयो, पवन नभएपछि मात्रै । सरिता क्वाँ क्वाँ रुन्छे । तर सुन्दैन भित्ताले । आँसु पुसिदिँदैन पर्दाले । नरोऊ सरिता भन्दैन बत्तीको गुलुपले । पवन छैन यता । केटीका रूपमा यति एक्लो र निरीह तथा असहाय हुँदाहुँदै पनि आमाको रूपमा ऊ कमजोर छैन । ऊ चाहन्छे यो बच्चाले बाबुको नाम पाउनैपर्छ । यो बच्चा बाबुको वंशको एक अंश बन्नैपर्छ । छोरा हो कि छोरी यो पनि उसलाई चिन्ता छैन । छोरा या छोरी जे भए पनि बाबुको नाम, थर र वंशज अधिकार पाउनैपर्छ उसको पेटको बच्चाले ।

पवनको यो अंशमा पवनकै नामको मोहर उसले लाउन सक्नु नै अब उसको लडाइँ हुनेछ । यही अठोटमा वकिलको शरणमा ऊ पुगी । मुलुकी ऐन अंशबन्डाको ८ नम्बरले उसलाई निराश बनायो । प्रकाश नगरी बाहिर राखेका स्वास्नी वा उसबाट जन्मेका सन्तानलगायतले पति तथा पिता मरेपछि अंशमा दाशी गर्न सक्दैन भन्ने कानूनले उसलाई निराश बनायो ।

अंश चाहिएकै होइन, नाममात्र चाहिएको हो । तर अंशका हकदार नबनी वंशको नाम पाइन नसकिने कुरा वकिलले बताए ।

– अर्की महिला अधिकारकर्मी एक वकिलले भने उपाय सुझाइन् । अहिले उसको सामुन्ने टेबुलमा त्यही कागजाद छ । उसले दस्तखत गरेको खण्डमा आजै अदालतमा मुद्दा दायर हुनेछ । गर्ने कि नगर्ने यही चिन्तामा हिजो दिउँसोदेखि सरिता डुबेकी छे । उसले मुद्दा हाल्नुपर्नेछ पवनमाथि । पवनले डेढ वर्षदेखि स्वास्नी बनाएरसँगै राखेको र अहिले पेट बोकाएर भागेकाले नाता कायम गराइपाउँ भन्ने विषय मुलुकी ऐनको लोग्ने स्वास्नी महलको ५(क) बमोजिम नालिस पत्र तयार छ ।

पवन मरेको थाहै नपाएजस्तो गरी उसलाई पेट बोकाएर भागेको आरोप लगाउनुपर्छ उसले । भगुवा पवनको खोजी गरिपाउँ भनेर समेत प्रहरीमा निवदेन हाल्नुपर्छ उसले ।

– आफूले माया गरेको पवन ! आफूलाई त्यत्ति विधि माया गर्ने पवन ! यस्तो पवनलाई मरेपछि उसले भगुवाको आरोप लगाउने कसरी ?
– मनले मानिरहेको छैन । नैतिकताले पनि समर्थन गरिरहेको छैन । तर वकिल भन्छिन्, यसबाट मात्र छिर्न सकिन्छ, अदालतको छिद्रभित्र । अरू कुनै अर्को उपाय छैन । कि बच्चा फाल्नु, कि बच्चालाई बाउ दिनु । छनोट आफ्नो । वकिल म्याडमको भनाइ स्पष्ट छ ।
धेरै सोची । रातभर मनले जित्यो… र भन्यो पवनलाई अपराधी नबना । उसले कागत च्यात्ने सोच बनाई… र कागत हातमा लिई । अचानक बच्चा चल्यो । यहाँ के हुँदैछ थाहा पाएर, बच्चा छटपटेको जस्तो लाग्यो । मेरो अस्तित्व किन च्यात्दैछस् आमा भनेजस्तो लाग्यो ।

– पवन स्वयंले पनि उसको कानमा भनेजस्तो लाग्यो, ‘सरु, तिम्रो पेटबाट मै जन्मिँदैछु । काली, तिमीसित म मिलेर झन् पूर्ण पवन बन्दैछु म । मलाई नमार । मेरो अस्तित्व नच्यात, प्लिज प्लिज प्लिज ।’ यसरी नै तीन चारपटक प्लिज प्लिज भन्ने बानी थियो पवनको ।

सरिता झलास्स भई । यदि उसले यो मुद्दा नहाल्ने हो भने कि त उसले बच्चा मार्नुपर्छ, कि त बच्चा जन्माएर अवैध बच्चाका रूपमा जीवनभर बच्चालाई समाजको अपहेलनाबीच मरणतुल्य जीवन दिनुपर्छ । दुवै स्वीकार्य छैन ।

– अनि उसले कराई, पवन म तिमलाई फेरि यो धर्तीमा ल्याउँछु, आई लभ यु पवन । …र पवनले उसलाई पेट बोकाएर भागेकाले खोजेर नाता कायम गरिपाउँ भन्ने मिसिलमा कालो डटपेनले दस्तखत धस्काई….

सरिता लामिछाने
पवन लामिछानेकी पत्नी
कृष्ण रानामगरकी छोरी ।

– पेटबाट थाङ्क्यू थाङ्क्यू थाङ्क्यू आवाज आएजस्तो लाग्यो । प्लिज प्लिज जस्तै थाङ्क्यू थाङ्क्यू पनि तीनचोटि एक्कै सुरमा भन्ने बानी छ, पवनको ।

प्रकाशित: पुस ११, २०७२

http://kantipur.ekantipur.com/news/2015-12-26/20151226123019.html

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *