Skip to content

साहित्यको बजार र बजारको साहित्य


१.पाठकको सम्मानमा

‘एउटा पाठक मर्नुअघिसम्म हजारौं जीवन बाँचिसकेको हुन्छ । तर एउटा पनि किताब नपढ्ने व्यक्तिले केवल एउटा जीवनमात्र बाँच्छ ।’

जर्ज मार्टिनको पुस्तक ‘अ डान्स विद ड्र्यागन्स’ भित्र उल्लेखित यो भनाइ पाठकको सम्मानमा भन्न सकिने सबैभन्दा सुन्दर अभिव्यक्ति हो । पाठकले आफ्नो जीवनकालमा धेरै पुस्तक पढ्छ । उसले ती पुस्तकको विषय र परिवेशमात्र पढ्दैन, त्यसभित्र पसेर त्यहाँभित्रका चरित्रहरूमा समाहित हुन्छ ।

उसले त्यसपछि ती चरित्रहरूको दु:खसुखसँगै उनीहरूकै जीवनलाई नै भोग्न थाल्छ । त्यसैले पाठकले आफ्नो जीवनकालमा सहस्र जीवन बाँच्छ ।

किताब पढिरहेका पाठक संसारका सबैभन्दा समृद्ध र सुखी प्राणी हुन् । तिनीहरू एक्लै पढ्छन्, तर एक्लै हुँदैनन् । तिनीहरू एकान्तमा पढ्छन्, तर एउटा अलौकिक संसारमा पुगिरहेका हुन्छन् । कसैलाई किताब पढिरहेको देख्नु, मेरा लागि संसारको सुन्दरतम दृश्यमध्ये एक हो ।

त्यसैले तिनको रुचिलाई फेसन या क्षणिक आवेग भनेर अपमानित गर्नुु हुँदैन ।
पाठकले जे पायो त्यही किताब पढ्दैन । सबै पाठक विज्ञापन या सूचनाको भरमा किताब किनिहाल्दैनन् । लेखकको पूर्ववर्ती लेखनमाथिको विश्वसनीयता, पत्रपत्रिकामा आउने समीक्षा, साथीभाइबाट अभिव्यक्त प्रतिक्रिया र कुनै खास विषय र विधाप्रतिको आफ्नो अभिरुचिको आधारमा मात्र उसले किताब किन्छ ।

त्यसैले आजको पाठक जिम्मेवार र बढी परिपक्व छ ।

यो लेखमा मैले साहित्य भनेर छापिने विधाको लेखन, पठन र प्रकाशनसित जोडिएका कुरा गरेको छु । सबै किताबलाई एउटै तराजुमा जोखेर विवेचना गर्न यो लेखमा सम्भव देखिनँ मैले ।

२. हाम्रा पाठक र हामी लेखक

लेखकको पहिलो सम्बन्ध समाज, जीवन र त्यससित जोडिएका प्रश्नहरूसित हुन्छ । उसको दोस्रो सम्बन्ध पाठकसित हुन्छ । पाठकका प्रतिक्रियाहरू स्वस्थ्य र प्रेरक हुन्छन् ।

समालोचक र लेखकविच दृष्टिको अन्तर हुन्छ । लेखक आफ्नो संवेदनाको आधारमा लेख्छ र समालोचकले स्थापित मूल्य र मान्यताका आधारमा समीक्षा गर्छ । त्यसैले समालोचकको ठूल्ठूलो प्रशंसात्मक लेखभन्दा लेखकलाई पाठकको सानो टिप्पणीले खुसी दिन्छ ।

किनभने हरेक लेखक पहिला पाठकको दिलसम्म पुग्न चाहन्छ, त्यसपछि आलोचकको दिमागसम्म ।

ठूलो पाठक वर्गले लेखकलाई ऊर्जा पनि दिन्छ । तर उमेर, रुचि, सोच, शैक्षिक स्तरजस्ता कुराले पाठकको पढ्ने बानीलाई प्रभावित पार्छन् । हरेक लेखकले कुन उमेर समूहका, कुन शैक्षिकस्तरका, कस्ता रुचि भएका पाठकका लागि लेख्ने भन्ने सोचेकै हुन्छ ।

समीक्षकहरू त्यसैको आधारमा लेखनको स्तर, लेखनभित्रको रचनात्मकता एवं सिर्जनशीलताको निर्धारण गर्छन् र किताबहरूलाई लोकप्रिय साहित्य र गम्भीर साहित्यको दराजमा बेग्लाबेग्लै राख्छन् ।

समाजलाई दुवै खालका साहित्यहरू चाहिन्छन् । आलोकाँचो उमेरका र रुमानी विषयमा बढ्ता रुचि राख्नेहरूलाई विगतमा पनि प्रकाश कोविद, युधिर थापा, सुवासजस्ता लेखकहरू उपलब्ध थिए र तिनीहरू बडो रुचिका साथ पढिन्थे ।

नेपालमा अहिलेका बहुसंख्यक स्थापित लेखकहरू तिनैका उपन्यासबाट प्रभावित र प्रेरित भएर साहित्यकर्ममा लागेका हुन् । लोकप्रिय साहित्य पढ्दै बिस्तारै गम्भीर साहित्यको पठनमा आउने पाठक पनि प्रशस्त हुन्छन् । त्यसैले त्यस्तो साहित्य गम्भीर साहित्यको राजमार्गमा प्रवेश गर्ने एउटा शाखा सडक पनि हो ।

गम्भीर साहित्यले पाठकको अपेक्षा गर्दै नगर्ने होइन । तर, त्यस्तो साहित्य केवल पाठकको सत्ता र रुचिलाई ध्यानमा राखेर लेखिँदैन । त्यसमा कतै न कतै केही न केही सामाजिक प्रयोजनका विषय र प्रश्नहरू हुन्छन् । गम्भीर साहित्यका पाठक त्यही सामाजिक प्रयोजनसित जोडिएका विषयहरूसित आकृष्ट हुन्छन् र त्यस्ता किताबहरू सम्मान साथ पढ्छन् ।

नेपालमा अहिले केवल लोकप्रिय तर प्रयोजनहीन रचनाका पाठकमात्र बढेका छन्, साहित्यका पाठक बढेका छैनन् भन्नु केही सीमित असफल लेखकको प्रलापमात्र हो । साहित्यका गम्भीर पाठक हिजो पनि थिए । हिजोको तुलनामा आज बढेका छन् । तर, आफूलाई गम्भीर कोटीको लेखक ठान्ने हामी सबैले सोच्नै पर्छ, के हामीले गम्भीर साहित्य लेख्न सकेका छौँ कि छैनौँ ?

धेरै बिकेको साहित्य खराब र थोरै बिक्री भएका चाहिँ साहित्य हुन् भनेर एकसाथ नेपाली साहित्यको हैसियत र साहित्यको बजारलाई होच्याउने प्रवृत्ति केही व्यक्तिमा रोगको तहमा विद्यमान भएको छ ।

धेरै बिकेको साहित्य घटिया हुन्छ भने ‘मुनामदन’, ‘बसाइँ’, ‘शिरिषको फूल’ आदिलाई के भन्ने ? ‘पल्पसा क्याफे’, ‘कर्णाली ब्लूज’, ‘सेतो धर्ती’ बिना साहित्यिक ओज त्यसै लोकप्रिय भएका र प्रचारको भरमा मात्र बिक्री भएका होइनन् ।

यिनमा कतै न कतै समाजकै सुखदु:ख अभिव्यक्त भएका छन् । यिनकै हाराहारीमा निस्केका कतिपय गम्भीर लेखकमा दरिएका श्रष्टाका किताबहरू पाठकको आँखामा पर्दै परेनन् ।

पाठकले सधैंँ प्रचारको भरमा किताब किन्दैनन् । तिनले आफ्नो रुचि, भावना र आवेगसित सरोकार राख्ने किताबहरूमात्र रुचि लिएर पढ्छन् । त्यसैले प्रचारको हवाला दिएर अर्थहीन साहित्य बिक्री भयो भनेर रोईकराई गर्नुभन्दा गम्भिर भनेर पस्किएका साहित्य किन लोकप्रिय हुन सकेनन् भनेर विवेचना गर्नमा समय खर्चिएको भए उपयोगी हुने थियो ।

अब हामीले सोच्नै पर्छ, विषय साहित्यका लागि सबैभन्दा आवश्यक कुरा अवश्य हो । तर, विषयमात्र भएर पुग्दैन, त्यसलाई सरल, रुचिकर र सम्प्रेषणीय ढंगले प्रस्तुत गर्न सकिएन भने जस्तोसुकै महान लेखकका किताब पनि पसलको र्‍याकबाट ओर्लिएर सिधै चनाचटपटेको खोमचामा पुग्छन् ।

साहित्यका नाउँमा हामी बहुसंख्यक लेखकहरूको लेखनीको समस्या यही हो । हामीले समाजका कुरा भनेर बलजफ्ती लेख्न त लेख्यौँ, तर तिनमा विश्वसनीयता कम हाम्रा आग्रह पूर्वाग्रह र मनोगत कुरा बढी हावी भए । हामीले गम्भीर कुरालाई सहज ढंगले भन्नै जानेनौँ या कतिपय गम्भीर कुरालाई आवश्यकताभन्दा सहज र सतही बनाइदियौँ ।

हामीमध्ये धेरैको लेखनमा विषयगत ज्ञान देखिन्न, हामी आफूले चयन गरेको विषयमा अलिकति पनि अनुसन्धान गर्दैनौँ । जुनजुन लेखक या साहित्य जीवनबाट टाढा भएका छन्, त्यो साहित्य र ती लेखक पाठकबाट पनि टाढा भएका छन् ।

विगत लामो समयसम्म लेखकको दुनियामा पाठक अनुपस्थित थियो । त्यसैले उसको लेखनमा सम्प्रेषणीयताको सट्टा विशिष्टता, विद्वता, जटिलता र एकालाप बढी थिए । यस्ता रचनामा पाठकको प्रवेश मुगुको किसानलाई एकाएक सोल्टी होटलमा पसाएजस्तै हो ।

पाठकको सम्मान बजारको सम्मानमात्र होइन, बहुसंख्यक पाठकसम्म पुग्ने लालसा बजारवादको नमूनामात्र हैन, यो आफ्नो लेखनलाई समाजसित जोड्ने एउटा प्रयास पनि हो ।

३. नेपालमा पठन संस्कृति

पठन आफैँमा संस्कृतिसितै जोडिएरै आउने कुरा हो । विश्वकै समग्र समाज श्रुति परम्पराबाट पठन परम्परामा प्रवेश गरेर विवेकशील हुँदै गएको हो । मानिसभित्रको पठनको साश्वत चाहना र सिर्जनात्मक भोकको धरातलमा उभिएर श्रष्टाहरूले लेख्न र सिर्जना गर्न सिकेका हुन् ।

समाजमा सुन्ने, पढ्ने र हेर्ने चाहना थियो र त साहित्य, संगीत र चित्रहरूको सिर्जना गर्न थालिए । त्यसैले हरेक समाजमा पहिला पाठक, दर्शक र श्रोताहरू तयार भए, त्यसपछि सिर्जनाले गति लियो ।

बहुसंख्यक पाठकसम्म पुग्ने हुटहुटीले नै साहित्य लेख्न थालियो । प्रिन्टिंग प्रेस, थिएटर, संगीतालय र चित्र संग्रहालयका अवधारणा आएपछि सिर्जनाको विधागत विकाशका आधारहरू झनै बलियो भएर आए ।

त्यसैले पठन कर्म नेपालमा विगतमा पनि संस्कृतिको हिस्सा थियो । आज पनि छ । शिक्षाको विकाशसँगै यो संस्कृतिको विकाश हुँदै गयो । जतिजति शिक्षाको विकाश हुन्छ, पठन संस्कृतिको विकाश पनि त्यही अनुपातमा हुन्छ । करिब साढे दुई दशक यता नेपालको शैक्षिक विकाश उल्लेखनीय किसिमले भएकै हो ।

शिक्षामा निजी क्षेत्रको प्रवेशले यो स्थिति ल्याएको हो । त्यससँगै युवा वर्गमा इन्टरनेटको पहुँच, सामाजिक संजालको प्रयोग र मिडियामा साहित्यको महत्वपूर्ण उपस्थितिले पनि पठन संस्कृति विकाशमा उल्लेख्य योगदान गरेको छ ।

कुनै अनपेक्षित कारणले विकाशको यो गतिविधि रोकिएन भने आगामी दिनहरूमा पठन संस्कृतिको अँझै विकाश हुनेछ, साहित्यिक गतिविधिहरू अँझै बढ्ने छन् र साहित्य पढ्ने पाठकको वृद्धि अँझै हुनेछ । अँझ युवा समूहका पाठकहरूको साहित्यप्रतिका बढ्दो अभिरुचि स्तुत्य भएर आएको छ ।

४. बजार र साहित्यको बजार

बजार किनबेचको ठाउँमात्र हैन सामाजिक सद्भावको स्थल पनि हो । हाम्रै असनमा जाउँ न, त्यहाँ भीडमा कोही हिन्दू, मुसलमान या इसाइरहँदैन । जुन दिन धर्म, जातजाति र भाषाका मुद्धाहरू असनमा पस्छन्, असनबजार ध्वस्त हुन्छ । बजारमा हुने वाणिज्य गतिविधि धार्मिक या जातीय आधारमा हैन, परस्पर विश्वास र शान्तिको वातावरणमा बढी सहज भएर चल्न सक्छन् ।

बजार बिस्तारले अवसरहरू सिर्जना गर्छ र यसले राजनीतिक स्थिरतालाई पनि प्रोत्साहित गर्छ । बजारको यो शक्तिशाली भूमिका हो र आजको समयमा यो भूमिकालाई ठाडै खारेज गर्न सकिन्न । तर, विसंगति नै हो कि हामी मौका मिल्ना साथ हाम्रो सामाजिक, साँस्कृतिक र नैतिक मूल्यहरूको घट्दो क्रमका लागि बजारलाई जिम्मेवार ठान्छौँ ।

सत्रौँ शताब्दीका फ्रान्सिसी चिन्तक भोल्तेयरका अनुसार जबसम्म लेखक बहुसंख्यक पाठकसम्म पुग्न सक्दैन, तबसम्म उसले राम्रो लेखेकै आधारमा जनमतलाई प्रभावित गर्न सक्दैन । भोल्तेयरको जीवनकालमै पूँजीवादको आगमन भएको थियो ।

यसअघि लेखक, संगीतज्ञ, चिन्तक र कलाकारहरू कुनै शासककै अधीनमा रहेर सिर्जना गर्दथे । राज्यसित आश्रित भएकै कारणले उनीहरूबाट स्वतन्त्र सिर्जना सम्भव थिएन ।

अठारौँ शताब्दीमा पूँजीवादको उदयसँगै बजारको बिस्तार शुरु भयो । सिर्जनाहरू बहुसंख्यक पाठक, दर्शक या श्रोतासम्म पुग्न थाल्यो । त्यससँगै सिर्जनामाथि शासक र धर्मगुरुहरूको पकड बिस्तारै कम हुँदै गयो । बजारले सर्जकलाई शासकहरूको परनिर्भरताबाट उन्मुक्ति दिँदै जीविकोपार्जनको अवसर दिन थाल्यो र उनीहरूको प्रभाव क्षेत्र बिस्तार हुन थाल्यो ।

बजार मार्फत श्रष्टाहरूले नयाँ विचार र नयाँ खालका सिर्जनाहरू आम जनतासम्म पुर्‍याउन थाले । यसले तत्कालीन राजनीतिमा पनि परिवर्तन ल्यायो । विश्लेषकहरू यसैको प्रभाव फ्रान्सेली क्रान्तिमा परेको भन्ने धारणा राख्छन् ।

५.साहित्य बिक्दैन रे !

हामीले हाम्रो देशको साहित्यलाई हाम्रै परिप्रेक्ष्यमा हेर्नु पर्छ । लेखकले पनि आफ्नै देशको संस्कृति र समाजसित जोडिएर लेख्ने हो । प्रत्येक लेखक आफ्नै हावापानीको उपज हो ।

हरेक लेखकसित आफ्नो अनुभव, आफ्नो संस्कार र संस्कृति र आफ्नो खालको सामाजिक जीवन हुन्छ । यी सबै कुराले उसलाई निजी जीवनदृष्टि प्रदान गर्छन् । यही जीवनदृष्टिले लेखकको सामर्थ्य र हैसियत निर्धारण हुन्छ ।

लेखकले फलको कुनै आशा नराखेर लेखिरहनु पर्छ भन्ने एउटा ठूलो जमात छ । उसको विचारमा लेखकको हातमा पैसा पर्ने बित्तिकै उसको लेखन बिकाऊ हुन थाल्छ र उसले समाजका कुरा लेख्न छाडेर यौन, हिंसा र रुमानी प्रेमका कुरामात्र लेख्न थाल्छ । यो रुढ चिन्तन हो ।

साहित्य बिक्दैन, साहित्यका पाठक छैनन् र साहित्यका किताब पाँचसय या हजार प्रतिमात्र बिक्री हुन्छ भन्ने तर्क दिएर लेखकहरूलाई थोरै किताबको तथ्यांक दिने थुप्रै प्रकाशक छन् । व्यावसायिक प्रकाशन गृहको आगमन र तिनले गरेको प्रमोसनल गतिविधिलाई लेखक बजारु भए भनेर सबैभन्दा बढ्ता कराउने तिनै हुन् ।

त्यो प्रलापलाई यथार्थ मान्यौँ र साँच्चै किताब बिक्री भएकै छैन, यो केबल केही लेखक र प्रकाशकले आफ्नो किताब उल्लेख्य संख्यामा बिक्री भयो भनेर फिँजाइरहेको हल्लामात्र हो भन्ने कुतर्क स्वीकार गर्न थाल्यौँ भने यस्तो स्वीकारोक्ति नेपाली साहित्यकै लागि घातक हुनेछ । यसले अन्तत: साहित्य बिक्दैन भनेर साहित्य लेखनमा आउन चाहने एउटा पुस्तालाई नै निराश बनाउँछ र निषेध गर्छ ।

ठिक छ, सबैका किताब बिक्दैनन् । हिजो पनि कहाँ सबैका बिकेका थिए ? हिजो पनि कहाँ सबै लोकप्रिय थिए ? लेखनाथ, देवकोटा, रिमाल, मैनालीकै बेलामा लेख्ने अरु पनि सयौँ थिए । ती सबै कहाँ हाम्रा दिमागमा छन् ? हिजो पनि साहित्यको लेवल लगाएर कमजोर सिर्जना गर्नेहरूको जमात नै बढी थियो, त्यो जमात आज पनि छ र सम्भवत: भोलि पनिरहने छ ।

लेख्ने धेरै भए पनि सामाजिक स्वीकृति पाउने र सम्मानित हुने थोरै हुन्छन् । त्यसैले बिक्नु र नबिक्नुसँगै साहित्यको विकाशलाई जोड्नु हुँदैन ।

६.सबै प्रकाशक नाफाखोर हुन् ?

प्रेसको प्रचलनसँगै प्रकाशन व्यवसाय शुरु भयो । लेखकबाट पाठकसम्म किताब पुर्‍याउने काम प्रकाशकहरूले गर्न थाले । यो क्रम आजका मितिसम्म आइपुग्दा पूर्ण व्यावसायिक भैसकेको छ । त्यससँग प्रकाशकको भूमिका निकै परिवर्तन भैसकेको छ । अब हामी प्रकाशकलाई नाफा खोर संस्था भनेर उपेक्षा गर्न सक्दैनौ । प्रकाशकहरू लेखक र पाठकविचका पूल पनि भएका छन् ।

गएको मार्च १६ तारिखमा ‘न्यूयोर्क टाइम्स’मा अमेरिकी लेखक जिम हेरिशनको मृत्युको समाचार छापियो । हेरिशनको मृत्युको पुष्टि र त्यसको सूचना उनका प्रकाशकले सार्वजनिक गरेका थिए । उनको अन्तिम संस्कारका कार्यक्रमहरू पनि प्रकाशकले नै तय गरेका थिए ।

विकसित मुलुकमा प्रकाशक या निजको लिटरेरी एजेन्ट नै लेखकको अभिभावक र प्रवक्ता भैसकेका छन् । केहीले यही कुराका आधारमा भन्छन्—‘लेखकलाई प्रकाशकले कठपुतली बनायो, माल बनायो ।’ हो, यो व्यावसायिक सम्बन्ध नै हो । तर, यो सम्बन्धले लेखकको सिर्जनालाई कमजोर बनाउँदैन, बरु लेख्नका लागि सहज वातावरण बनाउँछ ।

लेखकलाई साँझबिहानको हातमुख जोर्ने चिन्ताबाट मुक्त गरेर स्वतन्त्र चिन्तन र अध्ययन अनुसन्धन गर्दै स्तरीय लेखनको अवसर पनि जुटाइदिन्छ । प्रकाशन पनि व्यवसाय हो । तर यसलाई सौन्दर्य प्रसाधन र मदिरा व्यवसायकै डालोमा हालेर सोलोडोलो धारणा बनाइहाल्नु हुँदैन । यो पाठकको आत्मालाई प्रकाशित गर्ने सिर्जन कर्मलाई बहुसंख्यक पाठकसम्म पुर्‍याउने व्यवसाय हो ।

नेपालमा पनि निकै लामो समयदेखि प्रकाशन व्यवसाय सन्चालित भएको हो । रत्नपुस्तक र साझा प्रकाशनजस्ता प्रकाशन गृहले किताब व्यवसायलाई मर्यादित बनाएकै हुन् ।

विगतमा रत्न पुस्तकले त कतिपय लेखकहरूलाई अग्रिम रोयल्टी दिएर किताब लेख्न लगाउने गरेको कुरा हामीले सुनेकै पनि हौँ । लेखकसित कपिराइट नै लिएर हजारौँ किताब बेचेर रत्न पुस्तक धनी भयो भन्ने कुरा पनि हाम्रा कानमा परेकै हुन् ।

म यसमा लेखकसितै प्रश्न गर्छु, कपिराइट किन बेच्नुभएको ? पक्कै त्यतिबेला आकर्षक रकम पाउनु भयो । तपाईँका केही ठूलै आवश्यकता त्यतिबेला पूरा भएकै हुन् । सम्भवत: त्यही पैसाले कतिपयले घरघडेरी जोड्नु भएकै हो । नत्र, कतिले त्यति पैसाका लागि आफ्नो जायजेथा धीतो राख्नुपर्थ्यो । श्रीमतीको गरगहना बन्धकी राख्नुपर्ने हुन्थ्यो ।

त्यतिबेला लेखक र प्रकाशकविचको समझदारीमा भएका यस्ता लेनदेनले कतिपय लेखकको स्वाभिमान जोगिएकै हो ।

लेखकको छवि कस्तो किताब लेख्यो भनेर बन्छ र प्रकाशकको छवि उसले कस्तो किताब छापिरहेछ भन्नेबाट बन्छ । नेपालमै पनि कति यस्ता प्रकाशक छन्, जो फुटपाथका लागि मात्र किताब छाप्छन् । कतिपयले त लाइब्रेरी र संघसंस्थामा बेच्नकालागि मात्र पनि किताब छापिरहेछन् ।

हामी तिनलाई साना प्रकाशक भन्छौ । त्यस्ता प्रकाशकसित जोडिएका लेखकहरूलाई आफ्नो किताब छापिएमात्र पुग्छ । आफ्नो किताब बिक्ला र त्यसबाट पैसा आउला भन्ने सपना नै छैन उनीहरूसित । वास्तवमा तिनले जे छापे, ती किताब हैन रहरहरू हुन् । तर, बजारमा बिक्री हुने रहर हैन, किताब हो ।

अहिले नेपालमा थोरै भएपनि केही व्यावसायिक प्रकाशन गृह खडा भएका छन् । तिनले किताबका नाममा रहरले भरिएका पाण्डुलिपि छाप्दैनन्, पाठकलाई विश्वसनीय र नयाँ लाग्ने विषय, फरक लाग्ने शैली र मनमोहक लाग्ने भाषा र उम्दा लाग्ने प्रस्तुतिका विविधतायुक्त पठनीय किताबहरू छाप्छन् । छापेर मात्र बस्दैनन्, आफूले छापेका किताबको मार्केटींग गर्छन् । बहुसंख्यक पाठकसम्म पुर्‍याउन विज्ञापन गर्छन् । लेखकलाई लिएर किताब यात्रामा निस्कन्छन् ।

यसलाई अनावश्यक ठानेर लेखक र प्रकाशकलाई बजारीकरणको आरोप लगाउनु उचित हुँदै होइन । आज हामी अस्ट्रिचको मासु, चिया, कफी, अलैँची र च्याउको बजारीकरणका उपाय खोजिरहेका छौँ । यस्तोमा किताबको बजारीकरणमा किन टाउको दुखाउँछौँ ?

साहित्यको प्रचारबारे सधैंँ नकारात्मक सोच किन ? यसले त साहित्यलाई पाठकको सानो र संकीर्ण घेराबाट आफ्नो विवेक अनुसार बुझ्ने एउटा ठूलो पाठक वृत्तसम्म पुर्‍याउँछ । त्यसैले साहित्यको प्रचारलाई कस्मेटिक साधनको प्रचारको कोटीमा विश्लेषण गर्न मिल्दैन । यो बजारको विस्तार र विविधीकरण हो ।

बरु चिन्ता गरौँ, आज कतिपय राम्रा र सम्मानित मानिएका लेखकहरू एनजिओ र आइएनजिओका अवान्छित एजेन्डालाई पुुष्टि गर्न आफ्नो कलमको दुरुपयोग गरिरहनु भएको छ । समाजको लागि साहित्यको बजारीकरणभन्दा घातक विचारको एनजिओकरण हो ।

एउटा असल लेखक र असल पाठकलाई बचाउनु जति आवश्यक छ, त्यति नै आवश्यक छ एउटा असल प्रकाशकलाई जोगाउनु पनि । त्यसैले हरेक लेखक र प्रकाशकविच विश्वासको सम्बन्ध कायम हुनुपर्छ, यसमा दुई मत छैन ।

तर, आफ्नो सिर्जना कहाँ, कति संख्यामा छापिन्छ भन्ने कुरामा लेखकले पनि प्रकाशकसित सुरुमै स्पष्ट हुनुपर्छ । यसैले सारा प्रकाशनगृहलाई ठग र कमिशनखोर भनेर थोकको भाउमा आलोचना गर्नु कुनै अर्थमा पनि हितकर छैन ।

असल प्रकाशक जोगिएपछि लेखक पनि जोगिन्छ । नत्र लेखक पाठकसम्म सहज किसिमले पुग्न पाउँदैन । वाध्य भएर उसले थोत्रो झोला बोक्छ, दाह्री पाल्छ र मैलो लुगा लगाउँछ । अलिकति चन्दा र आर्थिक सहायताका लागि एकेडेमी र गृहमन्त्रालयमा निवेदन दर्ता गर्न थाल्छ र कहीँ ठाउँ नपाएर कुनै पार्टीको जनसभामा आफ्ना कविताहरू भट्याउन थाल्छ ।

७.लेखकले विचार बेच्छ कि विषय ?

मलाई आजसम्म कुनै एउटा यस्तो लेखकको नाम याद छैन, जसले आफ्नो किताबमा मूल्य राखेको छैन र जसले आफ्नो किताब बजारमा पठाएको छैन । किताब बेच्नकै लागि हो । बिनामूल्य त पर्चामात्र वितरित गरिन्छन् र एकथरी जमात त्यही पर्चालाई नै साहित्य भनेर पढिरहन्छन् ।

किताबभित्र आउने विचार भनेको के हो ? के यो कुनै राजनीति दर्शनको पक्षधर चिन्तन या दस्तावेज हो ? मलाई लाग्दैन कि हरेक राम्रा किताबभित्र नेताहरूले प्रतिपादित गरेका सिद्धान्तहरूको एकोहोरो प्रलाप हुन्छ ।

विचार त लेखकको सामाजिक सरोकारको आडमा उसले उठान गरेको विषय र मुद्दाहरूमा, उसले चयन गरेका परिवेश र चरित्रहरूमार्फत, तिनका आनीबानी, बोलीचाली र तिनका दैनन्दिनीमा घटिरहने घटनाक्रमहरूमा थाहै नदिई लुटुपुटु मिसिएर आएको हुन्छ ।

बहुसंख्यक पाठकले रुचाउने साहित्य नै त्यही हो । नत्र विचार प्रस्तुत गर्ने नाममा लेखक नारा लेख्न थाल्छ । नारा पढ्नलाईभन्दा जनसभालाई सम्बोधन गर्न बढी उपयोगी हुन्छ ।

अहिले नाराबाट मुक्त भएर विषय, चरित्र र परिवेशमा नयाँपनको प्रवेश भएका साहित्य लोकप्रिय हुँदै गएको समय हो । यो लोकप्रियतामा ‘पूँजीवादको खतरा’ देख्नेहरूले आफूलाई सुधार गर्नु जरुरी छ ।

मैले नेपालमा हालसम्म कुनै लेखक बजारको मालमा रुपान्तरित भएको देखेको छैन । बरु देखेको छु, उनीहरूले साहित्य बिक्दैन भन्ने रुढ बजारमा लगातार हस्तक्षेप गरिरहेका छन् । त्यही हस्तक्षेप गरेर प्राप्त रकम तिनको सम्मानजनक आजीविकाको आधार बन्दै गैरहेको छ र त्यसले उनीहरूलाई अँझै उम्दा साहित्यको सिर्जना गर्न ऊर्जा प्रदान गरिरहेको छ ।

त्यसैले बुद्धिसागरले ‘कर्नाली ब्लूज’पछि पनि समाजभित्रकै विषयहरू उठाउन तत्पर भए र ‘फिरफिरे’ लेखे । अमर न्यौपाने हिमाली जीवन र बहुपतिप्रथाबारे खोजमूलक उपन्यास लेख्न तम्सिरहेकाछन् ।

नेपालमा अहिले धेरै बिक्ने साहित्यकार मध्ये तिनै हुन् । उनीहरू प्रचारको बलबुतामा मात्र सेलिब्रेटी भएका हैन, आफ्नो सिर्जनामा पनि तिनीहरूले आफ्नो सामर्थ्य प्रकट गरेकै छन् । तिनीहरूले आफ्नो भाषा बेचे, शैली र शिल्प बेचे । विषय बेचे । कहिले कमजोर र कहिले बलियो होला उनीहरूको लेखन ।

तर आफूलाई बेचेर समाज निरपेक्ष लेखनमा लागेका छैनन् उनीहरू । सफलताले लेखकलाई गैरजिम्मेवार बनाउँछ भन्ने चिन्तन केही कुण्ठित र असफल व्यक्तिहरूको दिमागी भ्रममात्र हो ।

८.किताबको डिजिटल संसारकिताबका कुरा त गर्‍यौँ । तर, के हामीले हेक्का राखेका छौँ, आगामी दिनमा किताबको स्वरुप कस्तो हुनेछ ? के सधैंँ किताबहरू यसरी नै कागजमा छापिइरहलान् ? के सधैंँ हामीले किताब पढ्नुअघि अहिलेजस्तै त्यसको वास्ना सुँघ्न पाइरहन्छौँ ? अहँ, यो आशा बिस्तारै कम हुँदै जान थालेको छ ।

प्राचीन कालका भोजपत्र र ताडपत्रबाट शुरु भएको किताबी यात्रा तीव्रगतिमा डिजिटल ईबुक्समार्फत ल्यापटप, ट्याबलेट र मोबाइलसम्म पुग्दैछ र ती लोकप्रिय हुन थालेका छन् । त्यसबाहेक ‘सेल्फ पब्लिसिंग’ प्रचलनमा आएका छन् ।

पाठकले अर्डर गरेपछि उसले चाहेको ढाँचामा किताब उपलब्ध गराइदिने ‘प्रिन्ट अन डिमान्ड’को अवधारणा पनि बिस्तारै लोकप्रिय हुँदैछ । घुम्ती प्रकाशन गृहको रुपमा ‘मोबाइल बुक’हरू पनि सन्चालनमा आउन थालेका छन् ।

यस्तोमा कागजी किताबको भविष्य कस्तो होला भन्ने हेर्न बाँकी नै छ ।

तर, यसले अर्को सुन्दर सम्भावनाको ढोका पनि खोलेको छ । भविष्यमा किताबसम्म आममान्छेको पहुँच अँझ सहज हुनेछ ।

एउटा क्लिकमा आफूले खोजेको किताब आफूसित भएका डिभाइसमा उपस्थित हुनेछ । जसलाई आफ्नो सुविधा अनुसार पढ्न सकिनेछ । ल्यापटप, किन्डल, ईरिड, ट्यावलेट र स्मार्टफोन समातेर हुर्कँदै गएको पुस्ता नै अबको किताबको पाठक हुनेछन् र तिनको लागि किताब छामेर हैन, हेरेर पढ्ने कुरा हुनेछ ।

त्यस्तोमा अहिलेजस्तो लेखक र पाठकविच प्रकाशक र वितरक या कमिशनमा किताब बेच्ने पुस्तकका रिटेलरहरू हुने छैनन् । लेखक आफैँले पनि सोझै आफ्नो किताब आफ्ना पाठकसम्म पुर्‍याउन सक्नेछ र उसलाई रोयल्टीमा ठगिएँ भनेर गुनासो गर्ने ठाउँ पनि हुने छैन ।

किताबसम्बन्धी बहसहरू त्यतिबेला पनि जारिरहनेछन् । पाठकमैत्री हुन नसकेका असफल लेखकहरूको रुवावासी त्यतिबेला पनि जारिरहनेछ ।

चैत्र २७, २०७२

http://kantipur.ekantipur.com/news/2016-04-09/20160409100354.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *