नजल्नुपर्थ्यो सुम्निमा


सुम्निमा’ उपन्यास जलाइयो २०५१ सालमा विराटनगरको कोइराला निवासअघि, राई लिम्बूको अपमानवोधक भयो भनेर– कसैले २०७२ को मध्यतिर पंक्तिकारलाई सुनायो ।

पुरानो कुरा रहेछ थाहा नभएको । उति बेला पढेर बिर्सिसकिएको त्यो उपन्यास विशेष दोहोर्‍याएर पढ्नुपर्‍यो २०७२ को अन्त्यतिर । निक्र्योल यही हो ।

धारणा र ज्ञान

सुम्निमा अर्थात् राईहरूकी आदिनारीलाई चढाइने/सिँगारिने परम्परागत मान्यता भएको फूलमध्ये कोइरालो (चिबुङ) पनि हो ।

बहुबनका पुराना राईहरूमा रहेको यो परम्परागत धारणा हो । बहुबन पर्छ इलामको दक्षिणी सीमामा इरुटारबाट केही किलोमीटर पर, करिब करिब पूर्वी अन्तर्राष्ट्रिय सीमावारि । बर्ने चिया कमानको नजिकै छ यो । बाउहिनिया भेरिगाटा वैज्ञानिक नाम भएको योसँगै अरू दुई फूल पनि उनको सम्मानमा प्रयोग हुने परिकल्पना गरिन्छ– सुनकेसर (हिडिसियम स्पिकाइम) र दूधकेसर (हेडिसियम इलिप्टकम)– अकेजनल पेपर्स, खण्ड दुई । दुवै केँवरा जातमा पर्छन् । अर्थात् रंगेलीमा बसोबास गरेका विश्वेश्वर कोइराला त्यहाँबाट केही परको बहुबनमा के चलन छ ? जान्दथे ।

सुम्निमासँग कोइरालाको यस्तो परोक्ष चिनजानबाट परिचित थिए । र, नै उनले सुम्निमालाई पात्र बनाउने प्रेरणा पाए । आज हेर्दा यस्तो देखिन्छ । यद्यपि उनको भावभूमि चतरा, वराहस्थान, कोसी किनार हो ।

वाक्य र आवागमन

‘सुम्निमाको शरीर पनि सुवर्ण केँवराजस्तै छ ।’– नभन्दै उनले एक ठाउँ (पेज ६४, २०७०) लेखेका छन् । केवडा/केतकी (पान्डानस अडोराटिसिमस) नेपालको रैथाने होइन । तर अति वास्नादार यसको फूलबाटै केँवरा नाउँ दिइएको छ विज्ञानमा हिडिसियम भनिने जातिका फूलहरूलाई नेपालमा । एउटाचाहिँ केँवरा (हिडिसियम गार्डेनारियम) हो । यही लगाइएको बारीलाई केव भन्ने गरिन्थ्यो नेवारीमा । अहिले सबै किसिमका बारीलाई समेत भनिन्छ । सन् १९२०मा लोडिया, सोक्तिम, कन्याम, बर्ने चिया कमानको स्थापना गरेका थिए, गजराजसिंह थापाले । दार्जिलिङभन्दा तीन वर्षअघि १८३१मा चियाको बोट नेपालमा आइसके पनि खेती सुरु हुन सय वर्ष लागेको थियो ।

कृष्णप्रसाद कोइरालाले ‘उद्योग केन्द्र’ बनाएका थिए रङ्गेलीमा र उनी सिलगुडी भएर कैयौंपटक कोलकाता पुगेका थिए । नयाँ उद्यमको जानकारी लिन उनी बर्ने चिया कमान पुग्नु सामान्य थियो, बीचको बाटो पारेर सिलिगुडी जानु र आउनुअघि । त्यसमा उनका परिचित पनि थिए होलान् बाँस्तोला थर भएका थापाका सहयोगी (काशीनाथ बाँस्तोला ?) यसैले विश्वेश्वर कोइराला पनि यदाकदा त्यो इलाका पुग्नु स्वाभाविक हो ।

तीन पात्र र युबेमा

महाभारतले इन्द्रधुम्नकी तीन छोरीकी परिकल्पना गर्छ– अम्बा, अम्बिका र अम्बालिका । लोहोरुङ राई मुन्धुमले ठ्याम्मै त्यही कुरा गर्छ– चोपचिनी/कुकुर डाइनो (स्मिलाक्स् जाइलेनिका)बाट तीन आदि नारी एकैपटक उत्पन्न हुन्छन्– चुबेमा, युबेमा र होरेम । लोहरूङहरू खासमा संखुवासभा जिल्लाका हुन् र इलाम, झापामा छरिएका छन् पनि । महाभारतमा किराँतहरूको प्रसङ्ग आउँछ र युबेमा नाम कता कता अम्बासँग मिल्न पुगेजस्तो लाग्छ पनि । नभन्दै तामाङहरूको डम्फुमा अम्बुसिंको काठ नभइहुँदैन । डम्फुको घेरो बनाइने काठ कोइरालो अर्थात् अम्बुको काठ हो ।

उनीहरूको कालाङ बाजा होस् वा ङछा बाजा यसैबाट बन्छ । पेम्बा दोर्जेको कथै जोडिएको छ । यहाँनेर सुम्निमासँग मानव सिर्जना जोडिएजस्तो अम्बुसँग संगीत सिर्जना जोडिएको छ । तर अम्बु शब्द गुरुङ भाषाबाट लिइएको देखिन्छ १५ सय वर्षअघि आएका तामाङहरूले । यही अम्बु गुरुङहरूको आँबु (कोइरालो) हुन्छ र खयरसँग जोडिएर तनहुँको आँबुखैरेनी हुन पुग्छ ।

स्वरूपान्तरण र स्वैरकल्पना

लमजुङको दुराडाँडा फेदिको कोइराला फाँटबाट अन्यत्र लागेपछि कोइराला थर बन्न पुगेको कुरा उनले ‘आफ्नो कथा’को सुरुमै लेखेका छन् । यद्यपि बझाङमा कोइराला कोट, कोइराला खेत पहिला नै भएकाले यो मान्न गाह्रो छ । अँझ दैलेखको कोइरालीबाट कोइराला थर बन्न पुगेको स्थापित मान्यता नै छ । तैपनि चौबीसे राज्यहरूको कालिकामध्ये पहिलो र प्रेरणाको स्रोत लमजुङ कालिका भएको र ती कोइरालाकी छोरी हुन् भन्ने मान्यता रही आएको कुराचाहिँ यथार्थ हो । (दैलेखको एक मालिका गौतम गोत्री ब्राह्मणकी छोरी भएको मानेर ती मालिका शिलालाई आजपर्यन्त गौतम गोत्रीहरूले नछुने परम्पराजस्तै ।)

यहाँनेर पनि उनले सुम्निमामा कोइरालापन देख्नु कुनै स्वैरकल्पना होइन भन्ने स्पष्ट छ । प्रतीकात्मकता र समानतापुमा राईहरूले नवजात शिशुको जन्ममा उसका दीर्घायुका निम्ति यसको फूल आकाशलाई चढाउँछन् । अर्थात् कोइरालो सृष्टिको निरन्तरताको प्रतिक हो । र जीवु नामले दुमी राई वा झाँक्रीहरूले यसको काठले तालबाजा बनाउँछन् ।अर्थात् सिर्जनासँग कोइरालो युगदेखि युगान्तरसम्म सम्बन्ध राख्छ ।

कोइरालो र कुमारी

सुनकेसर, दूधकेसर र कोइरालोमा एउटा समानता छ– तिनका कोपिलाहरू सुरिला हुन्छन् । कोही नै कोपी/कोबी अर्थात् कोपिलाबाट बनेको हो । सुरुका दिनमा चुवेमा, युवेमा र होरेम पनि कुमारी हुन् । अम्बा, अम्बिका र अम्बालिका पनि ‘नियोग’ व्यहोरेकाले कुमारी नै हुन् ।

कोपिलालाई कुमारित्वको पर्यायवाचीका रुपमा लिइएको यो घटनाबाट स्पष्ट हुन्छ, लमजुङ कालिका नै पनि कोइरालाकी छोरी हुन् वा होइनन् त्यो अर्को कुरा हो, तर कोइराकाकी छोरी हुन् भन्नु ती कुमारी हुन् भनिएको हो । न कि साँच्चै कोइरालाकी छोरी– जस्तो कि विश्वेश्वरले अनुश्रुति सुने । वा, धरणीधर कोइरालाको एक पंक्ति यसको कारण हुन सक्छ– बङ्गाली समाजले कोविंदार वा कचनार भनेर आस्थापूर्वक आफ्ना बगैंचामा रोपेका हुन्छन् । यसलाई उनीहरू धनको प्रतिक अर्थात् लक्ष्मी नै सम्झन्छन् । (कोइराला पेज ६२, २०५०)

अँझ ‘एउटा छाप्रो होस्, त्यसमा दुईवटा गाई पालिएका होउन्’ भन्ने समाजवादी सोच दर्साए विश्वेश्वर कोइरालाले । त्यो वाक्य संरचना गर्दा पश्चिमा मुलुकमा कोइराला फूललाई पुअर मेन्स् अर्किड (गरिबको सुनाखरी) भन्ने चलन छ भन्ने थाहा पाएको बुझिन्छ । यहाँनेर उनी स्वय म गरिबको सुनाखरी हुने अर्थात् गरिबको उद्धारकमा आफ्नो वैयक्तीकरण गर्ने प्रयासमा थिए भन्ने टड्कारो छ ।

२०३३ को भाषणमा पनि ‘राजा र आफ्नो घाँटी जोडिएको’ वाक्य व्यक्त गरेर प्रजातन्त्रसँग आफ्नो वैयक्तीकरण गरेको उदाहरण हामीसँग छ । यसर्थ सोमदत्त नाउको पात्रसँग आफू कोइरालाको वैयक्तीकरण गरेको यथार्थ अब छर्लङ्ग हुन्छ । त्यो उनको प्रवृत्तिको पहिलो उदाहरण हो । अन्यथा कोपिला चढ्ने एउटै अपवाद भृङ्गारेश्वर हुन् । तर त्यो कमलको कोपिला मात्र हो, जुन कुमारित्वसँग होइन दर्शनसँग सम्बन्धित छ ।

होरेम र आर्तेमी

कुकर अर्थात् डुँडो देखिने गरी घुम्रिएको र डयन अर्थात् चलायमान भन्ने माने हुन्छ संस्कृतमा । अर्थात् मुन्टाको गति हेरेर कुकुर डाइनो नाम राखिएको हो यो बिरुवाको । त्यही डयनमा ऊ थपिएर उडान, उड्डयन शब्द बन्छ । तर कालान्तरमा डायन (डङ्िकनी/डाकिनी) शब्द बोक्सीको समानान्तर हुन थाल्यो र डायन शब्द रोमन वनदेवी डायनामा रूपान्तरण भयो । जसको सहयोगी जनावरहरूमा मृगका साथ साथै कुकुर पनि पर्छ । पुरुष रूप डायनिससमा बदलियो । यस बोक्सेरो देवको टाउको परिकल्पना गरियो बोकाको, दक्ष प्रजापतिलाई हेरेर । तर डयनको मूल मर्म अँझै बद्लिएको छैन । यसैले पश्चिमा परिकल्पनामा बोक्सी अर्थात् डायनहरू कुचोमाथि बसेर उड्छन् ।

डायना रोमन हुन् र उनको ग्रिक समानान्तर आर्तेमिस– पश्चिमले त्यसरी नै हेर्छ । यद्यपि तिनको स्रोत बेग्लाबेग्लै हो । आर्तेमिसको प्राचीनतम उल्लेख इसापूर्व आठौं शताब्दीको होमरको लेखन हो । लोहरूङ होरेम र ग्रिक आर्तेमी यहाँनेर मिल्छ । आर्तेमी र तितेपाती पश्चिमले अन्नत: आर्तेमिसको नाममा तितेपातीको वैज्ञानिक नाम आर्तेमिसिया राख्यो । सुनुवारहरूमा अन्न र सम्पन्नताकी देवी सुरोम र उनकी सोह्र दिदीबहिनीको पूजामा तितेपाती (लिप्क्यो)का सोह्र मुन्टा चढाइन्छ । होरेम र सुरोमको नाम साम्यता टड्कारै छ ।

लिम्बूहरूमा युमाले तितेपाती खान्छिन् भन्ने मान्यता छ । युबेमा र युम्माको नाम साम्यता पनि टड्कारै छ । बुङलावा राइहरूमा मालिका देवी र जलपा देवीको पूजामा तितेपाती अनिवार्य छ । मालिका र लमजुङ कालिकामा नाम साम्यता ठ्याम्मै छ । अर्थात् हरेक ग्रामीण वनदेवीसँग गाँसिएको छ यो । स्पष्ट छ त्यसै तिनले आर्तेमिसको नामबाट आर्तेमिसिया राखेका होइनन् ।

लिम्बू र कोइराला

आजभोलि लिम्बू र लिम्बूनीले दुईवटा थप अर्थ दिन्छन् । चाइव (अलियम सोइनोप्रासम) को जिम्बुलाई काठमाडौंमा लिम्बू भन्छन् र जुँगे माछा (क्याट फिस)लाई पूर्वतिर नै पनि लिम्बूनी भन्ने चलन छ ।

तर यहाँको प्रसङ्ग सुम्निमाको हो । विश्वेश्वरप्रसादको पुरुष पात्र सोमदत्तलाई वनकुञ्ज भित्रको पोखरीमा स्नान गराइसकेपछि सुम्निमाले कानमा केही फुकिदिन्छन् । के फुकिदिन्छन् ? लेखकले स्पष्ट पारेका छैनन् । तर उनको सहायक वर्णनले भन्छ, त्यो लिम्बूहरूको शिरफूल उठाउने मुन्धुम हो । जुन तङसिंङ तक्मा मुन्धुममा विस्तृत छ पनि । बहुबनका राईहरूको प्रसङ्ग आए पनि लिम्बूहरूको हो मूल इलाका । पुस्तकमा कतै पनि सुम्निमा र सोमदत्तको सहवास छैन । त्यो एक स्वैरकल्पना मात्रै हो ।

सुम्निमाको आफ्नो संस्कृति छ र सोमदत्तको आफ्नै । ती सामान्य मित्रहरू मात्र हुन् । तर सोमदत्तको परम्परागत अनुष्ठान, अनुसाशनमा जीवन छैन भनेर सुम्निमाले उसलाई जीवनदान दिएकी छन्, शिरफूल उठाउने प्रकृयाबाट । युबेमा र युम्माको भूमिका निर्वाह गरेकी छन्, अर्थात् यहाँनेर कोइरालाले राई–लिम्बू संस्कारभन्दा तलै राखेका छन् वैदिक संस्कारलाई ।

राई–लिम्बूहरू राम्ररी पढ्दैनन् लेख्दा अघिल्लो लेखमा उनीहरू धेरै रिसाए । तर आज पनि लाग्छ, जो सुम्निमा जलाउन तम्सिने अगुवा थिए, तिनले राम्ररी पढेनन् र अरू बगालले पढ्दै पढेनन् । तिनलाई पढ्नै परेन, लहैलहैमा लागेर आगो झोसे पुगिहाल्यो ।

प्रकाशित: जेष्ठ ९, २०७३

http://kantipur.ekantipur.com/news/2016-05-22/20160522143028.html

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *