नदी किनारमा
एक रोगी युवकलाई
नदेखेझैँ गरेर
जब तिमीसँगै
पानीमा हेलिएर म पारि पुगेँ
र, मनको आँखाले देखेँ,
करुण संगीतझैँ अस्फुट प्रार्थना गरिरहेका
उसका असहाय आँखा ।

मसँग छन्
अँझै एक जोर स्वस्थ पाखुरा
र, एक स्वस्थ युवतीको अदम्य साहस
करुणा र प्रेमको दीक्षा लिएर
एक हुतिहारा प्रेमीझैँ
म कसरी कोही असहायलाई अलपत्र छाडी
चुपचाप भाग्न सक्थेँ ?

वारि फर्किएर मैले स्पर्श गरेँ
कर्कलाको पातझैँ कामिरहेको उसको शरीर
एक बालकलाई झैँ
मैले उसलाई चपक्क उठाएँ
र, सहारा दिएँ फराकिला काँधहरूमा
त्यसपछि त त्यसैत्यसै
भइदियो ऊ पनि फूलझैँँ हलुँगो
उसले मलाई बेर्यो अँगालोमा
जसरी गलामा बेरिन्छ नेकलेस ।

मेरो प्रेमिल स्पर्शले फक्रियो
उसको ओठमा गुलाब
रंगिए गाला पनि
अचानक, चन्द्रकिरणझैँ धपक्क बले उसका आँखा
र, समाहित भए मेरा आँखामा
वर्षौँपछि भेटिएको प्रेमीले झैँ
प्रेमको खडेरीले सुस्ताएको युवकले
त्यसपछि चुम्यो मलाई
गाला र ओठहरूमा सहस्र पटक
कृतज्ञताको त्यो वैजनी सुगन्धलाई
गरिनँ मैले कुनै वर्जना
बरु प्रतिक्रियामा उसलाई
पोस्टरझैँ अँगालोमा बाँधिदिएँ ।

नदीको भेलले मेरो चिवर भिज्यो
पाइताला भासियो
बगाउला बगाउलाझैँ गर्यो
तर, दृढ इच्छाले यसरी मैले उसलाई
खोला तारिदिएँ ।

त्यसरी नै त्यसपछि मैले उसलाई छाडिदिएँ
जसरी छात्रहरू छाडिहिँड्छन् पुरानो कक्षा
यसरी मेरो खातामा
त्यो कथा त्यहीँ सकियो ।

हाँस्दै, मुस्कुराउँदै
मानौँ सन्निपातबाट मुक्त भएर
ऊ हिँड्यो आफ्नै बाटो ।

प्रिय आनी र सम्मानित भिक्षु गण,
चित्तमा कठोर सत्ताको आँखा जडेर
मेरो प्रेमलाई तिमीले तृष्णा भन्यौ
भन्यौ, करुणाको वैजनी उच्छवासलाई अनुराग
र, अरू केके भन्यौ
तर, मनको खोकिलामा उसलाई
चोरी ल्याउने त तिमी नै हौ !

अब जति धारे हात लगाउँछौ लगाऊ
मेरो चरित्रमाथि जति छ्याप्छौ हिलो छ्याप
गर्छौ भने संघबाटै मलाई बहिस्कार गर
वा कुनै सजाय सिफारिस गर
गर्दिनँ म कुनै पर्वाह
तर, यति भनिदेऊ,
मेरो अँगालोमा त्यस बेला थियो
एक रोगी युवक
र, अन्तरचित्तमा थिए ध्यानस्थ बुद्ध
त्यही क्षण हो मैले प्राप्त गरेको निर्वाण
जब मैले विपत्मा कसैलाई सघाएँ
भन्छन् तथागत, अप्प दीपो भवः
भन, मैले के बिराएँ ?

अभय श्रेष्ठ
कान्तिपुर कोसेली,
पुस १६, २०७३

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *