साझा प्रकाशनले मेरो एउटा कथा ‘विसंगतिको एउटा पाटो’लाई समसामयिक साझाकथा नामको कृतिभित्र समाविष्ट गरेछ । त्यो थाहा पाएपछि काठमाडौँका केही साथीहरूले मलाई खबर गर्नुभयो । “तपाईंको कथा साझाको संग्रहभित्र परेको छ । सायद लेखकलाई राम्रै पारिश्रमिक देला, काटमाडौँ आएको बेला एकचोटि साझा प्रकाशनमा निस्केर पारिश्रमिकको विषयमा के रहेछ बुझ्नुहोला ।”

एउटा अक्षरकर्मीको निम्ति खुशीको नै कुरा थियो यो । नभन्दै ढिलोचाँडो पुस्तक पाएँ । पुस्तकको पछिल्लो सम्पादनमा कथाकार नवीन विभास र पुण्य कार्कीका एकएकथान कथाहरू समाविष्ट भएछन् । म जस्तो राजधानी टाढा दूरदराजमा बसेर एकल साधना गर्ने मानिसको लागि यो कुरा उत्साहित पार्ने घटना नै थियो । त्यसको केही समयपछि काटमाडौँ गएको मौकामा साझा प्रकाशनको कार्यालय निस्केर लेखा फाँटमा सम्पर्क गरेँ । त्यसकृतिमा मेरो रचना प्रकाशित भएपछि स्रष्टाले पाउने लेखकस्वको बारेमा कुरा उठाएँ । नभन्दै उनीहरूले मेरो रचनाको हिसाब निकाले ठ्याक्कै एकसय असी रुपैयाँ । त्योपनि त्यहाँबाट होइन साझाको भद्रपुर शाखा या विराटनगर शाखाबाट पाउनुहुन्छ भने । म छाँगाबाट खसे जस्तो भएँ । समसामयिक साझा कथाभित्र समाविष्ट एउटा कथाको लेखकस्व एकसय असी, त्यो पनि विराटनगर या भद्रपुर गएर थाप्नु पर्ने ।

लेखकको निम्ति साझाले गरेको यो एक गम्भीर ठट्टा या उपहास थियो यो । म जुन ठाउँमा बस्छु, त्यस ठाउँबाट विराटनगर पुग्न तीनसय भाडा लाग्छ, फर्किन पनि त्यति नै लाग्छ । अब एकसय असी उठाउन म छ सय खर्च गरेर जाऊँ ? नजाओस् भनेरै यति थोरै पारिश्रमिक किटान भएको होला । आफ्नो पारिश्रमिकको अवस्था सुनेर हल्का व्यङ्ग्य हाँसो हाँसेर साझाबाट निस्केँ ।

यस घटनाले नेपाली लेखकहरूको दयनीय अवस्थाप्रति साँच्चै सोचमग्न तुल्यायो । हामी कति निरीह अवस्थामा बाँचेका रहेछौँ । सबैसबै कुराको मूल्य र पारिश्रमिक न्यायोचितरुपले निर्धारण वितरण हुँदै गएको वर्तमान विश्वमा नेपाली लेखकको अवस्था किन टीठ लाग्दो भएको होला ? हजारौँ प्रश्नका हथौडीहरूले मलाई दिनभरि मुटुमा हिर्काइरहेछ । मेरो घर छेउमा टुकुने कामी मिस्त्री काम गर्छ । ऊ कता हो कता, जान्ने सिपालु मिस्त्री त होइन । सामान्य सिकर्मीको काम गर्छ । दिनभर कसैकोमा काम गरेपछि खाजाभातको साथै तीनसय देखि चारसयसम्म नगदी पारिश्रमिक लिएर आँउछ । अर्को गाह्रो जोड्ने मिस्त्री छ । उसले त पाँचसयभन्दा घटीमा कामै गर्दैन । मानिसहरू उनीहरूलाई काम गरिसकेपछि खत्र्कखत्र्क पैसा गन्छन् । उनीहरूको श्रमको मूल्य जतिपनि हामी लेख्नेहरूको श्रमको मूल्य कायम भएको रहेनछ । अनि हामीले आफू लेखक भएकोमा के गर्व गर्नु ? लेखकहरूचाहिँ भोको पेटमा पनि सिर्जना गरिरहन सक्छन् ? लेखकहरूका चाहिँ दैन्दिनी आवश्यकता हुँदैनन् ? लेखकलाई जाडो हुँदैन, भोक लाग्दैन ? नत्र किन लेखकको श्रमलाई पारिश्रमिक या ज्याला दिनैपर्ने श्रम भित्र राखिँदैन । के नामको सुवासले भोकको ज्वाला शान्त हुन सक्ला ? के नामको सुगन्धले जाडोमा सुइटरको कामदिन सक्ला ? सक्तैन, किमार्थ सक्तैन । पहिलो कुरा लेखकपनि हाडछाला मासुले बनेको जैविक प्राणी हो । उसका शारीरिक आवश्यकताहरू छन् । ती आवश्यकता हलगर्न उसलाई पनि स्रोत साधनको आवश्यकता पर्दछ । कृति या रचना प्रकाशन गर्ने संघ संस्थाहरूले लेखकका पीडाहरू, दुःख कष्ट र अभावहरूलाई त्यति ध्यान नदिएको आभास भैरहेको छ । नत्र किताब या पत्रिका प्रकाशन गर्दा लेखकबाहेकका सबै निकायमा पारिश्रमिकको व्यवस्था छ । रचना टाइप गर्ने, कम्पोज गर्ने, प्रुफरिडिङ्ग गर्ने, छाप्ने मजदुर, वाइन्डिङ्ग गर्ने मजदुर देखि वितरण र विक्रि गर्ने व्यक्तिसम्मले पारिश्रमिक पाउँछन्, लेखक भने निःशुल्क खट्नुपर्छ । उसको समयको, श्रमको, सिर्जनाको कुनै भाउ छैन, कुनै मूल्य छैन । कति कष्ट होला; आफूले आफैँलाई निचोरेर सिर्जनाको तेल झार्नुमा अनि त्यो तेलमा आफूले आफैँलाई प्यूरी बनाई कातेका बातीहरू जलाउनुमा । लेखकले सिर्जनाको आत्मिक सुखमात्र लिएर बाँच्नुपर्ने हो ? उसलाई अन्नपानीको दरकार पर्दैन ? सम्बन्धित निकायका मानिसहरूले यो कुरा किन बुझ्दैनन् । बुझेर पनि किन बुझ पचाइरहेका छन् ? या लेखकको पींडा र दर्दप्रति किन नजरअन्दाज गरिरहेका छन् ? यो कुरा मैले बुझ्न सकिराखेको छैन ।

केहीदिन अघि अमेरिकाका अक्षरकर्मीहरूको बारेमा पढिरहेको थिएँ । त्यहाँ एउटा सामान्य लेखकदेखि विशिष्ट लेखकसम्मको पारिश्रमिक सूची देखेर विस्मित बनेँ । त्यहाँ कुनै सामान्य राजनीतिक लेख लेख्ने लेखकले पनि एकशब्दको पच्चीस सेन्ट मूल्य पाउँदा रहेछन् । एक शब्दको पच्चीस सेन्टको हिसाबले एकहजार शब्दको आलेख तयार पार्दा उसले पच्चीस हजार सेन्ट पारिश्रमिक पाउने रहेछ । जब कि पच्चीस सेन्ट बराबर नेपाली रुपैयाँ झन्डै सोह्र रुपैयाँ हुँदोरहेछ । एकहजार शब्दको रचना तयार गर्दा सोह्र हजार रुपैयाँ पाउँदछ । अनुसन्धानमूलक आलेखको मूल्य अर्कै रहेछ । त्यस्तो लेखको एक शब्द बराबर चार डलर मूल्य पाइने रहेछ । जब कि चार डलर बराबर नेपाली रुपैयाँ झण्डै दुइसय असी हन्छ । यदि कुनै लेखकले एक हजार शब्दको अनुसन्धानमूलक लेख लेख्यो भने भण्डै सत्तरी हजार रुपैयाँ पारिश्रमिक पाउने रहेछ । सबै सबै हिसाबले समृद्ध बनिसकेको अमेरिकामा यस हिसाबले अक्षरकर्मीहरूले आफ्नो सिर्जनाको मूल्य पाउनु कुनै अनौठो कुरा रहेन । तर हाम्रो देशको परिवेशमा यस प्रकारको लेखकस्व पाउने कुरा त कहिले होला ? तर पनि एउटा सिकर्मीले, एउटा डकर्मीले, एउटा हलो ताछ्ने मानिसले, डोको बुन्ने मानिसले, अर्काको खेत खन्ने मानिसले, दिनभरि सहरमा ठेला तान्ने मानिसले, रिक्सा गुडाउने मानिसले पाए जति पारिश्रमिकपनि नपाएको छ । साहित्य सिर्जनाको काम शुद्ध स्वय म सेवा जस्तो भएको छ । उसले प्रयोग गरेको कागज मसीको मूल्य, चिया चुरोट र खैनीको मूल्यपनि उसले पाएको छैन, खाजाभातको कुरा त परै छोडौँ । चेतनाको खेतीपाती गर्ने मानिसहरू घोर अध्याँरोमा जीवन बिताउनु परिरहेको छ । अक्षरको काम भनेको उज्यालोको खेतीपाती हो । आफू अँध्यारो कोठामा अभावको दलदलमा भासिएर रोशनीको सिर्जना गर्ने मानिस रुग्ण रोदनमा बाँचिरहेका छन् । समाजमा उज्ज्वल कान्ति छर्ने मानिस आफू भने कान्तिहीन बनेका छन् । कोठाचोटामा होइन उनीहरूको पेटमा मुसा दगुर्छन् । राज्यले नै लेखकलाई मारिरहेकोछ । उसका स्वास्नी छोरा छोरीका आन्द्रा काटिरहेको छ ।

आजभन्दा साठी पैंसठ्ठीवर्ष अगाडि देवकोटाले बनारसमा जुन दारुण पींडा व्यहोरे । अहिलेपनि अक्षरकर्मी स्रष्टाहरू त्यसकै सेरोफेरोमा बाँचिरहेका छन् । पिनाकी प्रसाद आचार्यको संस्मरणमा कतै पढेको थिएँ । देवकोटा जब २००४ सालमा राणाशाही व्यवस्थासित विद्रोह गरेर प्रजातन्त्रको तुमुलनाद घन्काउन बनारस पुगे । त्यहाँ भोकभोक बस्नुपर्ने अवस्थापनि आयो । उनी उता भोकै रात काटिरहेको बखत यता नेपालमा उनको जवान छोरो ओखती नपाएर मरे । त्यतिखेर बनारसमा पण्डित टीकादत्त नेपाली साहित्य छाप्ने, बेच्ने पेशामा लागेका थिए । देवकोटाको रोजीरोटीको समस्यालाई देखेर टीकादत्तले देवकोटालाई कविता लेख्ने कामदिए रे । एक श्लोकको चारानाको दरले पारिश्रमिक दिने घोषणा गरेछन् । देवकोटाले आफ्नो चियाचुरोटको लागि पहिलो चोटि दस श्लोक कविता लेखेर बुझाए र त्यसको पारिश्रमिक अढाई रुपैयाँ लिए । अर्कोदिन पच्चीस श्लोक लेखेर बुझाए, त्यसको सवा छ रुपैयाँ लिए । अर्को दिन सबै छन्दका एकसयतीस श्लोक लेखेर बुझाए र साढे बत्तीस रुपैयाँ लिए । त्यसपछि त पं. टीकादत्त कायल बने । विजुली वेगमा कविता लेख्ने देवकोटालाई कविताको मूल्य फस्र्याउँदा आफ्नो सर्वस्व डुब्ने संभावना देखे । हुनपनि हो । एकै घण्टामा मैना खण्डकाव्य, एकैरातमा कुञ्जिनी खण्डकाव्य, दसैदिनमा सुलोचना महाकाव्य लेख्ने देवकोटाको कवित्व शक्ति निर्झर बर्सिरहने झर्ना जस्तो थियो । त्यसपछि त अब म तपाईंको लेखकस्व फस्र्याउन सक्तिनँ । अब कविता नबुझाउनू भनेर बन्द गरिदिए रे ।

त्यस्तो लेख्ने देवकोटा अहिलेको अमेरिकामा भए, लेखेरै कति कमाउथे होला । उनका शब्दहरूको मूल्य कति धेरै हुन्थ्यो होला । देवकोटाहरूको युगमा त नेपाली समाज निम्नतहको अवस्थाबाट बामे शरीरहेको थियो । शिक्षा र चेतनाको आलोकले समाजलाई बेर्न सकेकै थिएन । समाजका हर अवयवहरूमा राज्यको उपस्थिति पुगेकै थिएन । स्कुल, कलेज, विश्वविद्यालय, शिक्षित, साक्षरहरूको संख्या उल्लेख्य मात्रामा छँदै थिएन । एककिसिमले देवकोटाहरू अँध्यारो युगमा नै यात्रा गरिरहेका थिए । सापेक्षिकरुपमा अहिले हामी त्यो युगको तुलनामा फड्को मारेर अगाडि बढेका त छौं; तर कला, साहित्य र सिर्जनाको मूल्यबोध गर्ने कुरामा जाहीँको ताहीँ छौँ । देवकोटाहरूपनि अभाव र पींडाहरूको बीचबाटै बिदा भए, अहिलेका स्रष्टापनि अभाव र पींडाकै बीच रुमल्लिरहेका छन् ।

हुन त रचनाको मूल्य धातुका सिक्कामा किटिने कुरा होइन । सिर्जनाको मूल्य नोटका पत्रमा जोखिने कुरा होइन । सिर्जना आफैँमा अमूल्य चिज हो । त्यो अमूल्य सिर्जनालाई सम्पादक प्रकाशकले मुनाफाको बजारमा लगेर मुनाफा कमाइरहँदा त्यसको प्रवर्तक/सर्जकचाहिँ भोकभोकै बस्नुपर्ने कुरा न्यायोचित हुन सक्तैन । लेखकले आलिशान हवेली र विलासी जीवनको याचना गरेको छैन । उसले सिर्फ विहान बेलुका तातो भात र दालको ग्यारेन्टी खोजिरहेछ ।

यो थितिमा जानका लागि जवसम्म राज्य र राज्यका नागरिकहरूको अन्तर्चेतनामा एक ओजस्वी कलाचेतको, साहित्यचेतको र सर्जकप्रतिको मूल्यबोधको भावोदय हुँदैन । तबसम्म कतियुगसम्म अक्षरकर्मी स्रष्टाहरू अस्कोट भिर्न नपाएर जाडोले मरिरहनुपर्छ । ओखती नपाएर अकालमा मरिरहनुपर्छ । आँटो नपाएर उदरमा भोकको ज्वालाले पिर्सोलिइरहनुपर्छ ।

२०६८ माघ १६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

4 thoughts on “रचनाको मूल्य”

  1. राज भण्डारी

    पुण्य कार्की ज्यु हजुरको
    पुण्य कार्की ज्यु हजुरको स्वीकृति पाएमा हजुरको यो लेखलाई सामाजिक संजालमा प्रस्तुत गर्ने बिचार व्यक्त गरे

  2. राज भण्डारीजी ! पुन्य सरको वारेमा
    उहाँ यदाकदा मझेरीको परिक्रमा गर्नुहुन्छ । जवाफ दिने गरी हेर्ने गरेको मलाई थाहा छैन ।
    उहाँलाई सुचित गर्ने काम मैले नै गर्ने गरेको छु ।

    अत: उहाँको नाम र प्रकाशित स्रोत खोलेर इच्छा पूरा गर्न बाधा नपर्ने जानकारी गराउन चाहन्छु ।

    मैले पनि फेसबुकमा सेयर गर्ने गरेको छु ।

    धन्यवाद ।।।।
    -नलाआ

    1. राज भण्डारी

      नन्दलाल आचार्य ज्यु धन्यबाद
      नन्दलाल आचार्य ज्यु धन्यबाद व्यक्त गर्न चाहे प्रतिक्रिया सहित शुझाव दिनु भएकोमा, उहाको यो लेखलाई नवलपरासी सेवा समाजको पेज मा सेएर गर्ने छु / धन्यबाद /

Leave a Reply

Your email address will not be published. Required fields are marked *