साझा प्रकाशनले मेरो एउटा कथा ‘विसंगतिको एउटा पाटो’लाई समसामयिक साझाकथा नामको कृतिभित्र समाविष्ट गरेछ । त्यो थाहा पाएपछि काठमाडौँका केही साथीहरूले मलाई खबर गर्नुभयो । “तपाईंको कथा साझाको संग्रहभित्र परेको छ । सायद लेखकलाई राम्रै पारिश्रमिक देला, काटमाडौँ आएको बेला एकचोटि साझा प्रकाशनमा निस्केर पारिश्रमिकको विषयमा के रहेछ बुझ्नुहोला ।”
एउटा अक्षरकर्मीको निम्ति खुशीको नै कुरा थियो यो । नभन्दै ढिलोचाँडो पुस्तक पाएँ । पुस्तकको पछिल्लो सम्पादनमा कथाकार नवीन विभास र पुण्य कार्कीका एकएकथान कथाहरू समाविष्ट भएछन् । म जस्तो राजधानी टाढा दूरदराजमा बसेर एकल साधना गर्ने मानिसको लागि यो कुरा उत्साहित पार्ने घटना नै थियो । त्यसको केही समयपछि काटमाडौँ गएको मौकामा साझा प्रकाशनको कार्यालय निस्केर लेखा फाँटमा सम्पर्क गरेँ । त्यसकृतिमा मेरो रचना प्रकाशित भएपछि स्रष्टाले पाउने लेखकस्वको बारेमा कुरा उठाएँ । नभन्दै उनीहरूले मेरो रचनाको हिसाब निकाले ठ्याक्कै एकसय असी रुपैयाँ । त्योपनि त्यहाँबाट होइन साझाको भद्रपुर शाखा या विराटनगर शाखाबाट पाउनुहुन्छ भने । म छाँगाबाट खसे जस्तो भएँ । समसामयिक साझा कथाभित्र समाविष्ट एउटा कथाको लेखकस्व एकसय असी, त्यो पनि विराटनगर या भद्रपुर गएर थाप्नु पर्ने ।
लेखकको निम्ति साझाले गरेको यो एक गम्भीर ठट्टा या उपहास थियो यो । म जुन ठाउँमा बस्छु, त्यस ठाउँबाट विराटनगर पुग्न तीनसय भाडा लाग्छ, फर्किन पनि त्यति नै लाग्छ । अब एकसय असी उठाउन म छ सय खर्च गरेर जाऊँ ? नजाओस् भनेरै यति थोरै पारिश्रमिक किटान भएको होला । आफ्नो पारिश्रमिकको अवस्था सुनेर हल्का व्यङ्ग्य हाँसो हाँसेर साझाबाट निस्केँ ।
यस घटनाले नेपाली लेखकहरूको दयनीय अवस्थाप्रति साँच्चै सोचमग्न तुल्यायो । हामी कति निरीह अवस्थामा बाँचेका रहेछौँ । सबैसबै कुराको मूल्य र पारिश्रमिक न्यायोचितरुपले निर्धारण वितरण हुँदै गएको वर्तमान विश्वमा नेपाली लेखकको अवस्था किन टीठ लाग्दो भएको होला ? हजारौँ प्रश्नका हथौडीहरूले मलाई दिनभरि मुटुमा हिर्काइरहेछ । मेरो घर छेउमा टुकुने कामी मिस्त्री काम गर्छ । ऊ कता हो कता, जान्ने सिपालु मिस्त्री त होइन । सामान्य सिकर्मीको काम गर्छ । दिनभर कसैकोमा काम गरेपछि खाजाभातको साथै तीनसय देखि चारसयसम्म नगदी पारिश्रमिक लिएर आँउछ । अर्को गाह्रो जोड्ने मिस्त्री छ । उसले त पाँचसयभन्दा घटीमा कामै गर्दैन । मानिसहरू उनीहरूलाई काम गरिसकेपछि खत्र्कखत्र्क पैसा गन्छन् । उनीहरूको श्रमको मूल्य जतिपनि हामी लेख्नेहरूको श्रमको मूल्य कायम भएको रहेनछ । अनि हामीले आफू लेखक भएकोमा के गर्व गर्नु ? लेखकहरूचाहिँ भोको पेटमा पनि सिर्जना गरिरहन सक्छन् ? लेखकहरूका चाहिँ दैन्दिनी आवश्यकता हुँदैनन् ? लेखकलाई जाडो हुँदैन, भोक लाग्दैन ? नत्र किन लेखकको श्रमलाई पारिश्रमिक या ज्याला दिनैपर्ने श्रम भित्र राखिँदैन । के नामको सुवासले भोकको ज्वाला शान्त हुन सक्ला ? के नामको सुगन्धले जाडोमा सुइटरको कामदिन सक्ला ? सक्तैन, किमार्थ सक्तैन । पहिलो कुरा लेखकपनि हाडछाला मासुले बनेको जैविक प्राणी हो । उसका शारीरिक आवश्यकताहरू छन् । ती आवश्यकता हलगर्न उसलाई पनि स्रोत साधनको आवश्यकता पर्दछ । कृति या रचना प्रकाशन गर्ने संघ संस्थाहरूले लेखकका पीडाहरू, दुःख कष्ट र अभावहरूलाई त्यति ध्यान नदिएको आभास भैरहेको छ । नत्र किताब या पत्रिका प्रकाशन गर्दा लेखकबाहेकका सबै निकायमा पारिश्रमिकको व्यवस्था छ । रचना टाइप गर्ने, कम्पोज गर्ने, प्रुफरिडिङ्ग गर्ने, छाप्ने मजदुर, वाइन्डिङ्ग गर्ने मजदुर देखि वितरण र विक्रि गर्ने व्यक्तिसम्मले पारिश्रमिक पाउँछन्, लेखक भने निःशुल्क खट्नुपर्छ । उसको समयको, श्रमको, सिर्जनाको कुनै भाउ छैन, कुनै मूल्य छैन । कति कष्ट होला; आफूले आफैँलाई निचोरेर सिर्जनाको तेल झार्नुमा अनि त्यो तेलमा आफूले आफैँलाई प्यूरी बनाई कातेका बातीहरू जलाउनुमा । लेखकले सिर्जनाको आत्मिक सुखमात्र लिएर बाँच्नुपर्ने हो ? उसलाई अन्नपानीको दरकार पर्दैन ? सम्बन्धित निकायका मानिसहरूले यो कुरा किन बुझ्दैनन् । बुझेर पनि किन बुझ पचाइरहेका छन् ? या लेखकको पींडा र दर्दप्रति किन नजरअन्दाज गरिरहेका छन् ? यो कुरा मैले बुझ्न सकिराखेको छैन ।
केहीदिन अघि अमेरिकाका अक्षरकर्मीहरूको बारेमा पढिरहेको थिएँ । त्यहाँ एउटा सामान्य लेखकदेखि विशिष्ट लेखकसम्मको पारिश्रमिक सूची देखेर विस्मित बनेँ । त्यहाँ कुनै सामान्य राजनीतिक लेख लेख्ने लेखकले पनि एकशब्दको पच्चीस सेन्ट मूल्य पाउँदा रहेछन् । एक शब्दको पच्चीस सेन्टको हिसाबले एकहजार शब्दको आलेख तयार पार्दा उसले पच्चीस हजार सेन्ट पारिश्रमिक पाउने रहेछ । जब कि पच्चीस सेन्ट बराबर नेपाली रुपैयाँ झन्डै सोह्र रुपैयाँ हुँदोरहेछ । एकहजार शब्दको रचना तयार गर्दा सोह्र हजार रुपैयाँ पाउँदछ । अनुसन्धानमूलक आलेखको मूल्य अर्कै रहेछ । त्यस्तो लेखको एक शब्द बराबर चार डलर मूल्य पाइने रहेछ । जब कि चार डलर बराबर नेपाली रुपैयाँ झण्डै दुइसय असी हन्छ । यदि कुनै लेखकले एक हजार शब्दको अनुसन्धानमूलक लेख लेख्यो भने भण्डै सत्तरी हजार रुपैयाँ पारिश्रमिक पाउने रहेछ । सबै सबै हिसाबले समृद्ध बनिसकेको अमेरिकामा यस हिसाबले अक्षरकर्मीहरूले आफ्नो सिर्जनाको मूल्य पाउनु कुनै अनौठो कुरा रहेन । तर हाम्रो देशको परिवेशमा यस प्रकारको लेखकस्व पाउने कुरा त कहिले होला ? तर पनि एउटा सिकर्मीले, एउटा डकर्मीले, एउटा हलो ताछ्ने मानिसले, डोको बुन्ने मानिसले, अर्काको खेत खन्ने मानिसले, दिनभरि सहरमा ठेला तान्ने मानिसले, रिक्सा गुडाउने मानिसले पाए जति पारिश्रमिकपनि नपाएको छ । साहित्य सिर्जनाको काम शुद्ध स्वय म सेवा जस्तो भएको छ । उसले प्रयोग गरेको कागज मसीको मूल्य, चिया चुरोट र खैनीको मूल्यपनि उसले पाएको छैन, खाजाभातको कुरा त परै छोडौँ । चेतनाको खेतीपाती गर्ने मानिसहरू घोर अध्याँरोमा जीवन बिताउनु परिरहेको छ । अक्षरको काम भनेको उज्यालोको खेतीपाती हो । आफू अँध्यारो कोठामा अभावको दलदलमा भासिएर रोशनीको सिर्जना गर्ने मानिस रुग्ण रोदनमा बाँचिरहेका छन् । समाजमा उज्ज्वल कान्ति छर्ने मानिस आफू भने कान्तिहीन बनेका छन् । कोठाचोटामा होइन उनीहरूको पेटमा मुसा दगुर्छन् । राज्यले नै लेखकलाई मारिरहेकोछ । उसका स्वास्नी छोरा छोरीका आन्द्रा काटिरहेको छ ।
आजभन्दा साठी पैंसठ्ठीवर्ष अगाडि देवकोटाले बनारसमा जुन दारुण पींडा व्यहोरे । अहिलेपनि अक्षरकर्मी स्रष्टाहरू त्यसकै सेरोफेरोमा बाँचिरहेका छन् । पिनाकी प्रसाद आचार्यको संस्मरणमा कतै पढेको थिएँ । देवकोटा जब २००४ सालमा राणाशाही व्यवस्थासित विद्रोह गरेर प्रजातन्त्रको तुमुलनाद घन्काउन बनारस पुगे । त्यहाँ भोकभोक बस्नुपर्ने अवस्थापनि आयो । उनी उता भोकै रात काटिरहेको बखत यता नेपालमा उनको जवान छोरो ओखती नपाएर मरे । त्यतिखेर बनारसमा पण्डित टीकादत्त नेपाली साहित्य छाप्ने, बेच्ने पेशामा लागेका थिए । देवकोटाको रोजीरोटीको समस्यालाई देखेर टीकादत्तले देवकोटालाई कविता लेख्ने कामदिए रे । एक श्लोकको चारानाको दरले पारिश्रमिक दिने घोषणा गरेछन् । देवकोटाले आफ्नो चियाचुरोटको लागि पहिलो चोटि दस श्लोक कविता लेखेर बुझाए र त्यसको पारिश्रमिक अढाई रुपैयाँ लिए । अर्कोदिन पच्चीस श्लोक लेखेर बुझाए, त्यसको सवा छ रुपैयाँ लिए । अर्को दिन सबै छन्दका एकसयतीस श्लोक लेखेर बुझाए र साढे बत्तीस रुपैयाँ लिए । त्यसपछि त पं. टीकादत्त कायल बने । विजुली वेगमा कविता लेख्ने देवकोटालाई कविताको मूल्य फस्र्याउँदा आफ्नो सर्वस्व डुब्ने संभावना देखे । हुनपनि हो । एकै घण्टामा मैना खण्डकाव्य, एकैरातमा कुञ्जिनी खण्डकाव्य, दसैदिनमा सुलोचना महाकाव्य लेख्ने देवकोटाको कवित्व शक्ति निर्झर बर्सिरहने झर्ना जस्तो थियो । त्यसपछि त अब म तपाईंको लेखकस्व फस्र्याउन सक्तिनँ । अब कविता नबुझाउनू भनेर बन्द गरिदिए रे ।
त्यस्तो लेख्ने देवकोटा अहिलेको अमेरिकामा भए, लेखेरै कति कमाउथे होला । उनका शब्दहरूको मूल्य कति धेरै हुन्थ्यो होला । देवकोटाहरूको युगमा त नेपाली समाज निम्नतहको अवस्थाबाट बामे शरीरहेको थियो । शिक्षा र चेतनाको आलोकले समाजलाई बेर्न सकेकै थिएन । समाजका हर अवयवहरूमा राज्यको उपस्थिति पुगेकै थिएन । स्कुल, कलेज, विश्वविद्यालय, शिक्षित, साक्षरहरूको संख्या उल्लेख्य मात्रामा छँदै थिएन । एककिसिमले देवकोटाहरू अँध्यारो युगमा नै यात्रा गरिरहेका थिए । सापेक्षिकरुपमा अहिले हामी त्यो युगको तुलनामा फड्को मारेर अगाडि बढेका त छौं; तर कला, साहित्य र सिर्जनाको मूल्यबोध गर्ने कुरामा जाहीँको ताहीँ छौँ । देवकोटाहरूपनि अभाव र पींडाहरूको बीचबाटै बिदा भए, अहिलेका स्रष्टापनि अभाव र पींडाकै बीच रुमल्लिरहेका छन् ।
हुन त रचनाको मूल्य धातुका सिक्कामा किटिने कुरा होइन । सिर्जनाको मूल्य नोटका पत्रमा जोखिने कुरा होइन । सिर्जना आफैँमा अमूल्य चिज हो । त्यो अमूल्य सिर्जनालाई सम्पादक प्रकाशकले मुनाफाको बजारमा लगेर मुनाफा कमाइरहँदा त्यसको प्रवर्तक/सर्जकचाहिँ भोकभोकै बस्नुपर्ने कुरा न्यायोचित हुन सक्तैन । लेखकले आलिशान हवेली र विलासी जीवनको याचना गरेको छैन । उसले सिर्फ विहान बेलुका तातो भात र दालको ग्यारेन्टी खोजिरहेछ ।
यो थितिमा जानका लागि जवसम्म राज्य र राज्यका नागरिकहरूको अन्तर्चेतनामा एक ओजस्वी कलाचेतको, साहित्यचेतको र सर्जकप्रतिको मूल्यबोधको भावोदय हुँदैन । तबसम्म कतियुगसम्म अक्षरकर्मी स्रष्टाहरू अस्कोट भिर्न नपाएर जाडोले मरिरहनुपर्छ । ओखती नपाएर अकालमा मरिरहनुपर्छ । आँटो नपाएर उदरमा भोकको ज्वालाले पिर्सोलिइरहनुपर्छ ।
२०६८ माघ १६

पुण्य कार्की ज्यु हजुरको
पुण्य कार्की ज्यु हजुरको स्वीकृति पाएमा हजुरको यो लेखलाई सामाजिक संजालमा प्रस्तुत गर्ने बिचार व्यक्त गरे
राज भण्डारीजी ! पुन्य सरको वारेमा
उहाँ यदाकदा मझेरीको परिक्रमा गर्नुहुन्छ । जवाफ दिने गरी हेर्ने गरेको मलाई थाहा छैन ।
उहाँलाई सुचित गर्ने काम मैले नै गर्ने गरेको छु ।
अत: उहाँको नाम र प्रकाशित स्रोत खोलेर इच्छा पूरा गर्न बाधा नपर्ने जानकारी गराउन चाहन्छु ।
मैले पनि फेसबुकमा सेयर गर्ने गरेको छु ।
धन्यवाद ।।।।
-नलाआ
नन्दलाल आचार्य ज्यु धन्यबाद
नन्दलाल आचार्य ज्यु धन्यबाद व्यक्त गर्न चाहे प्रतिक्रिया सहित शुझाव दिनु भएकोमा, उहाको यो लेखलाई नवलपरासी सेवा समाजको पेज मा सेएर गर्ने छु / धन्यबाद /
सम्भव भएमा लिङ्क दिनुहोला ।
हुन्छ ।