अजितजी ! मझेरी भलाकुसारीमा स्वागत छ । शुरुमा, सबै भलाकुसारीमा झैं आफ्नो व्यक्तिगत र साहित्यिक परिचय पाऊँ न !
धन्यवाद यहाँलाई । मेरो स्थायी घर चापाकोट नगरपालिका -४ दार्सिङ स्याङ्जा, अस्थायी बसोबास पोखरा । बिगत आठ वर्षदेखि युएईमा कार्यरत छु । साहित्यिक परिचय बनिसकेको छैन जस्तो लाग्छ, जुन दिन यो क्षेत्रमा थोरै भए पनि योगदान दिन सक्छु मलाई लाग्छ मेरो परिचय मैले दिइरहनु पर्ने छैन ।

साहित्यमा कसरी पाइला चाल्न थाल्नुभयो ?
साहित्यमा यसरी नै प्रवेश गरें भन्ने यकिन छैन । विद्यालयको पाठ्यपुस्तकका सुन्दर कविताहरुले मेरो बाल मस्तिष्कमा प्रभाव पारेका हुन् । त्यस्तै मेरो घर र सामाजिक परिवेश पनि मेरो साहित्यिक उत्प्रेरक रहे । बुबाले बिहान नित्य कर्मपछि लामै चण्डी श्लोक र देवी भागवत तथा दुर्गा आरती मुखाग्र गाउनु हुन्थ्यो । मलाई यस्ले खास प्रभाव पार्यो । घरमा भएका रामायण, महाभारत, कृष्णचरित्र र गीता बाल्यकालमा दर्जनौं पटक पढेको छु । श्रीस्वस्थानी ब्रतकथाले पनि केही हदसम्म साहित्यिक रुची जगायो कि कलिलो मस्तिष्कमा भन्ने लाग्छ ।
पछि विद्यालय र कलेजका साहित्यिक कार्यक्रममा नछुटाई भाग लिन थालें । विद्यालयका कविता लेखन, निवन्ध लेखन र बक्तृत्वकला प्रतियोगितामा प्रायजसो प्रथम स्थान नै हासिल गर्थें म ।
काठमाडौँ आएपछि कवि मञ्जुल, कवि मित्रलाल पंज्ञानी र स्वर्गीय कृष्णसेन इच्छुकको संसर्ग र प्रेरणाले साहित्यमा केही गर्नु पर्छ भन्ने लाग्यो ।
जनआन्दोलनको समयतिर मेरा रचनाहरू भएको दुई वटा डायरी हराएपछि मैले एक दशक केही लेखिन । पछिल्ला केही वर्ष यता शुभेच्छुकहरुको निरन्तर आग्रह पछि फेरि लेखनलाई निरन्तरता दिएको अवस्था हो ।
साहित्यलाई दैनिक जीवनमा कस्तो रुपमा लिनुहुन्छ ?
साहित्य साधना हो र साहित्य कला पनि हो । दैनिक जीवनबाट अलग रहेर साहित्य सिर्जना गर्छु भनेर सम्भव छैन । सिर्जना, कल्पना र भावनाको फुलबारी हो साहित्य । आफू बसिरहेका परिवेस, घर, समाज र समय अनुसारकै साहित्य लेखन गर्न सकियो भने मात्रै लेखन सफल हुन्छ । साहित्यले बाँच्न सिकाउँछ ।
गजल, मुक्तक, कविता, गीत, कथा जस्ता विषयमा हात हाल्नुभएको छ । सन्तुष्टि चाहिं कस्तो बेलामा आउँछ ?
साहित्य सिर्जना गर्नु पनि बच्चा जन्माउनु जस्तै हो । प्रसब वेदनापछि एउटी आमाले बच्चा जन्माउँदा जति खुसी हुन्छिन् एउटा लेखक पनि आफ्नो नयाँ सिर्जना पछि उत्तिकै खुसी हुन्छ । मलाई मेरा सबै रचनाहरुसँग उत्तिकै प्रेम छ तथापि राति अबेरसम्म बसेर जब म कविता लेखिसक्छु, त्यस क्षण म सबैभन्दा खुसी हुन्छु ।
लेखन फुर्दा कुन विधामा लेख्ने भनेर कसरी निर्णय गर्नुहुन्छ ?
यो समय म यही लेख्छु भनेर निर्धारण गर्दिन तथापि झरी लागेका र उदासीका दिनमा कविता गजल लेख्न सजिलो लाग्छ । कथा लघुकथा चाहिँ मन मनमा लेखिसकेको भए पनि जुन दिन जाँगर चल्छ त्यही दिन मात्र लेख्न बस्छु । लेख्छु भनुँ कि टाईप गर्छु भनुँ मेरो कपि कलम भन्नु नै मोबाइल र ल्यापटपका किप्याड र किबोर्ड हुन् ।

तपाईंको रचनाहरूमा यथार्थता र सरलता भेट्न सकिन्छ । आफैंलाई चाहिं कसरी मूल्यांकन गर्नुहुन्छ ?
म आफू पनि सरल नै छु जस्तो लाग्छ मलाई । मसँग कोही पनि सजिलै परिचित र घुलमिल हुन सक्छन् । म सबै उमेर समूह र सबैखाले व्यक्तित्वसँग फिट हुन सक्छु । आफ्नो रिसलाई अँझै पनि पूर्ण रुपमा समाप्त गर्न नसकेपनि घमण्डलाई जितेको छु । साहित्यिक भाषामा भन्नु पर्दा सामान्य शैलीको सानो किताब हुँ म जसले जसरी पढे पनि हुन्छ जसरी बुझे पनि हुन्छ ।
फुर्सदमा के-कस्ता कुराहरू गरेर दिन बिताउनुहुन्छ ?
फुर्सदमा मोबाईल ल्यापटपमै रमाएको हुन्छु पुस्तक पढ्छु । मलाई एड्भेन्चर र हिस्टोरिकल भिडियो हेर्न मन पर्छ । अनलाइनमा बुक पढ्छु । ईरानी सर्ट मुभी पनि मेरा फुर्सद्का साथी हुन् ।
साहित्यिक जमात र समाजहरूमा कत्तिको संलग्न हुनुहुन्छ ? लामो समय बिदेशमा बसिरहनुभएको रहेछ, यसको बारेमा केही बताइदिनुहुन्छ कि ?
साहित्यिक जमातहरू मलाई राजनीतिक गुट जस्ता लाग्छन् । नेपालमा यातायातमाभन्दा बढी साहित्य र यसको बजारमा सिन्डिकेट छ । छापा र बजारमा केही साहित्यिक ब्यापारीहरुले नै नियन्त्रण जमाइरहेका छन् । चार वटा कविता लेखेको भरमा चार सय मन्चमा पुगेर सधैं त्यही मात्रै कविता बाचन गरेको भरमा ठूलै लेखक भनेर आफूलाई चिनाउने परिपाटीको बिरोधी हुँ म । साहित्यको आडमा राजनीति गर्ने पात्रहरुबाट पनि टाढै बस्न रुचाउँछु । यधपी समय मिलेसम्म साहित्यिक जमघटमा पुगेको हुन्छु । अनलाइन र मिडिया मार्फत देश बिदेशका केही लेखकहरुसँग नियमित विचार बिमर्श गरिरहेको हुन्छु ।
बिदेश बसाइले लेखनमा कस्तो प्रभाव पारेको छ ? नेपालमा भएको भए पनि यत्तिकै लेख्नुहुन्थ्यो ?
बिदेशको ब्यस्त समयमा साहित्य अध्ययन र लेखन पक्कै पनि सजिलो छैन । समय नहुनु, पर्याप्त पाठ्यसामाग्रीको अभाव हुनु र लेखकहरुसँग प्रत्येक्ष सम्वाद हुन नसक्नु डायस्फोराका सबै लेखकहरुका साझा समस्या हुन् । तैपनि दैनिकको पारिवारिक झमेलाबाट केही हदसम्म टाढा रहने हुनाले खाली समयलाई अध्ययन र लेखनमा लगाउन सकिन्छ ।
नेपालमै भएको भए केही समय अगाडि नै मेरा कृति बजारमा पुगिसकेका हुन्थे कि मात्र भनौ ।

नियमित भेटघाट र भलाकुसारी गरिरहने साहित्यकारहरू को-को हुनुहुन्छ अथवा भेटघाट गर्नुहुन्छ ?
नामै तोकेर भन्नुभन्दा पनि मलाई कलेज जीवन देखि नै माया गर्नुहुने केही प्रोफेसर र साहित्यकार गुरुहरुसँग सम्पर्कमै छु । केही समकालीन लेखक गजलकार र कवि मित्रहरुसँग सामाजिक संजाल मार्फत जोडिएको छु । नेपाल बसाइमा सकेसम्म नजिकका लेखक साथी र अग्रजसँग भेटघाट त भै नै रहन्छ ।
लेखनको अतिरिक्त के-कस्ता सामाजिक कार्यमा संलग्न हुनुहुन्छ ?
हामी मुलत: सामाजिक प्राणी हौं । जहाँ रहेपनि हामी सामाजिक उत्तरदायित्व निभाइरहेकै हुन्छौं । विभिन्न संघ संस्थालाई आर्थिक सहायता दिने र अफ्ठेरोमा परेकालाई सहयोग गर्ने काम त निरन्तर रहन्छ नै । स्याङ्जा जिल्ला र बाहिरका केही पुस्तकालय निर्माण, विद्यालय निर्माण र क्लबका कार्यक्रमहरुलाई सक्दो आर्थिक मद्धत गरेको छु । म आफ्नो व्यक्तिगत र म आफू सचिव रहेको एक्सन नेपाली सोसाइटीबाट बेलाबखत क्यान्सर पीडित र अपाङगता भएकाहरुलाई आर्थिक सहयोग दिने गरेका छौं । भूकम्पको बेला पनि राहत सहयोग जुटाउन उल्लेख्य भूमिका खेलियो । काठमाडौँका केही लेखकलाई अफ्ठेरोमा सानै रकम भएपनि सहयोग गरेको छु । विद्यालय भर्ना हुन नसकेका, पुस्तक किन्ने पैसा नभएका र खाने खर्च नभएर जो कोही पनि मेरो दैलोमा आउँछ भने उसले खाली हात फर्किनु पर्दैन ।
आफ्नो पेशाले यहाँको लेखनलाई के कस्तो सकारात्मक-नकारात्मक प्रभाव पारेको छ ?
पेशा या व्यवसायले लेखनलाई ठुलै प्रभाव पार्छ जस्तो मलाई लाग्दैन । भारतीय प्रसिद्ध लेखक चेतन भगत बैंकर हुन् । तसलिमा नसरीन डाक्टर थिइन् । त्यस्तै चर्चित आत्मकथाकी लेखिका नालिनी जमिला गरिब नगरबधु थिइन् । मेरो पेसाले मलाई सकारात्मक या नकारात्मक दुवै प्रभाव पारे जस्तो मलाई लाग्दैन । बरु म संसारकै अल्छी लेखकको क्लब सदस्य हुँ जस्तो लाग्छ ।

इन्टरनेटमा मझेरी जस्ता साहित्यिक पृष्ठहरूले तपाईंको लेखनलाई के-कस्ता परिवर्तन गरेको छ, हामीसँग अनुभव बाँढ्नुहुन्छ कि!
निश्चयनै मझेरी डट कम नेपाली साहित्यको विशाल मझेरी नै हो । म त नेपाली साहित्यको कारखाना र संग्रहालय नै भन्न रुचाउँछु म यसलाई । मझेरीमा मेरा रचनाहरू प्रकाशित भैरहन्छन् र हजारौँ पाठकहरू समक्ष पुग्न पाएको छु । त्यसैगरी अरुका रचना पनि पढ्न पाएको छु । मेरा रचना प्रकाशित गरी मलाई मेरा प्रिय पाठक समक्ष पुग्न मद्धत गर्ने मझेरी परिवारलाई पुनः धन्यवाद दिन चाहन्छु ।
फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालहरूको कसरी उपयोग गरिरहनुभएको छ ?
म फेसबुक, ट्विटर र इन्टाग्राममा नियमित अपडेट भैराखेको हुन्छु । यसले मलाई अरु लेखक साहित्यकारसँग सम्पर्कमा रहन, साहित्यिक गतिविधिको जानकारी राख्न र साहित्यिक पाठकसँग पुग्न पुलको काम गरेको छ ।
आफूलाई चाहिं पाठकको रुपमा कसरी हेर्नुहुन्छ ?
म आफूलाई साहित्यको मामुली बिधार्थी ठान्छु । आफ्नो लेखन शैली आफ्नै अलग्गै होस् कसैको जस्तो नहोस् भन्नेमा सजग छु । मैले त साहित्यमा बामे पनि सरेको छैन । एकदिन दौडिनेछु र छलाङ् मार्नेछु भन्ने आत्मविश्वास छ ।
बिदेशी साहित्य पनि पढ्नुहुन्छ ? विशेष मनपर्ने लेखक को हुन् ?
फुर्सद मिलेसम्म र उपलब्ध भएसम्म बिदेशी लेखकका कृति पनि पढिरहेको हुन्छु । भर्खरै चेतन भगतको पुस्तक ‘थ्री मिस्टेक इन माई लाईफ’ महात्मा गान्धीको आत्मकथा पढेर सकेँ । अहिले बिप्लब ढकालको अबिजित र विजयकुमारको खुसी पढ्दैछु । यसपछि अरून्धती रोयको ‘दी गड अफ स्मल थिङ्स’ र नेपोलियन हिलको चर्चित पुस्तक ‘थिङ्क एण्ड ग्रो रिच’ पढ्नेछु ।
नेपाली लेखकहरुमा बीपी कोइराला, पारिजात, जगदिश घिमिरे, कवि मञ्जुल, बुद्धसागर हुन् । बिदेशीमा अरून्धती रोय, टाल्सटाय र चेतन भगत मेरा मन पर्ने लेखक हुन् ।

इन्टर्नेटमा नियमित कस्ता लेखकहरूको रचना फलो गर्नुहुन्छ ?
मझेरी र अनलाइनहरुमा म प्रथमत: कृति समिक्षा र समालोचना पढ्छु । गध कविता र कथा पनि पढ्छु । युट्युबमा गजल बाचन हेर्छु ।
नेपाली साहित्य कस्तो दिशातर्फ गइरहेको जस्तो लाग्छ ? र कस्तो दिशामा जानुपर्छ होला ?
नेपाली साहित्यको फस्टाएको देख्छु । दैनिक पुस्तक प्रकाशित भैरहेका छन् लेखक रै प्रकाशकले जीविका चलाएकै छन् । पाठक पनि बढेका छन् । राम्रो लेखकले नाम र दाम दुवै कमाएका छन् जस्तो मलाई लाग्छ । तर लेखकलाई राज्यले केही दिएको छ जस्तो मलाई लाग्दैन । महारानी एलिजावेथले स्तरीय लेखकलाई दरबारको कर्मचारी सरह सेवासुविधा दिएर लेख्न लगाएकी थिइन् । नेपालमा चर्चित लेखक पनि गुजारा चलाउनकै लागि दोश्रो व्यवसायमा अल्झिराखेका छन् जसले गर्दा उनीहरूले साहित्यमा जति योगदान दिन सक्थे त्यति दिन सकेका छैनन् ।
साहित्यिक क्षेत्रको बिकृति भनेको सिन्डिकेट हो । यहाँ म जस्ता नयाँलाई पस्न दिँदैनन्, पसिहाले बस्न दिँदैनन् ।
भविष्यमा साहित्यिक योजना भए बताइदिनुस् न !
म खासै ठुलै योजना बनाएर चल्ने मानिस त होइन । लेखिराखेको छु निरन्तर लेखिरहने छु । साहित्यबाहेक राजनीतिक लेख पनि फाट्टफूट्ट लेखिरहेको हुन्छु । अर्को वर्षसम्ममा मेरो कथा र कविता संग्रह बजारमा आउने आशा गरेको छु । गजल पनि लेखिरहेको छु । आख्यानको लागि गहकिलो कथा छ, एकाध वर्ष मेहनत गरेर उपन्यासको रुपमा निकाल्छु । केही नब गायक साथीहरुले गीत लैजानु भएको छ, गाउनु भयो भने मेरा रचनाका गीत पनि बजारमा हुनेछन् ।
मझेरीमा विगत पाँच वर्षदेखि मझेरीका रूपमा लेख्दै आउनुभएको छ । मझेरीलाई कसरी हेर्नुहुन्छ ?
मझेरीले नयाँ पुराना सबै सर्जकलाई समेटेको छ । हजारौँ सिर्जना भण्डार गरेको छ । नयाँ सर्जकलाई फल्ने फुल्ने फैलने अवसर दिएको छ । वर्षौंदेखि संसारभरका हजारौँ पाठकले मेरा रचनाहरूमझेरीमा पढिरहनु भएको छ । मझेरी केवल मझेरी होइन विशाल आँगन हो ।

संसारभरि छरिएका लेखक-पाठकलाई के सन्देश दिन चाहनुहुन्छ ? अन्त्यमा केही छ भने बताउनुहोला ।
सबै पाठक मेरा भगवान् हुनुहुन्छ । नेपाली साहित्यलाई माया गर्नुस् । संसारको जुन कुनामा रहेपनि नेपाली भाषा र साहित्यलाई जगेर्ना गर्नुस् हुर्काउनुस् ।
मेरा रचना पढ्ने मेरा पाठकबाट प्राप्त हुने आलोचना, गाली या सुझाव मेरो पथ प्रदर्शक हुनेछ । लेख्दा लेख्दै मर्न सकुँ । धन्यवाद ।
अजित क्षेत्रीका रचनाहरू
अजित क्षेत्रीका रचनाहरू (संक्षिप्त अंशसहित)
अजित क्षेत्रीको फेसबुक पेज
अजित क्षेत्रीको ट्विटर पेज
