Skip to content
SwapnilSmriti


जोकरबाट शासित हुनु कति कठिन छ !
राजा/महाराजा या तानाशाहबाटभन्दा कम छ ?
कृपया हाँसेर समय नबिताउनोस्
हाँस्दाहाँस्दै रोएर जीवन नबिताउनोस् ।

सोच्नोस्, किन ऊ—
बीरवल र अकबरका चुट्किला सुनाइरहेछ,
महाभारत र रामायणका झेली प्रसँग गाइरहेछ,
कामसूत्रका भद्दा आसन सचित्र देखाइरहेछ,
मक्किएका उखानतुक्काले काम चलाइरहेछ,
किनभने तपाईं हाँस्दै खुरुखुरु काम गरिरहनुभएको छ,
उसको काम हँसाउनु हो
उत्तेजनामा फसाउनु हो
किनभने ऊ जोकरसँगै कसैको नोकर पनि हो
तपाईं दासको पनि दास भइरहनुभएको छ ।

जोकरबाट शासित हुनु कति कठिन छ !
जब तपाईं सपना देख्नुहुन्छ
ऊ सपनाको पनि सपना अर्थात् दिउँसै तारा देखाउँछ
तर मानौं एउटा उदाहरण—
जब तपाईंको छोरीको बलात्कारपछि हत्या हुन्छ
बलात्कारीभन्दा ऊ कमजोर हुन्छ ।

पत्रकार सम्मेलन, अनुसन्धान, गिरफ्तार, ल्याबटेस्ट…
दुनियाँ नौटङ्की गर्छ
तर ऊ जोकर आखिर जोकर नै हुन्छ ।

न्यायलाई ऊ ‘ब्ल्याङ्क चेक्’मा सौदाबाजी गर्छ
तपाईंको छोरा भएको भए हत्यामात्र हुनेथ्यो भन्छ;
अँझ तपाईं निःसन्तान भएको भए दुइटै हुँदैनथ्यो
यसरी उल्टोसुल्टो सोच्न सिकाउँछ ।
ठीकै हो,
बलात्कारपछि हत्या भयो छोरीको,
जिउँदै छोडिएकी भए
झन् कत्तिपल्ट बलात्कृृत हुन्थी होला ?!
जब थाक्नुहुन्छ तपाईं यसरी सोच्न थाल्नुहुन्छ
पागल भएर हाँस्न थाल्नुहुन्छ ।

जोकर व्यवस्थामा शासित हुनु साँच्चिकै कठिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *