20201105_ManoharPokharel-NandaLalAcharya-KumarBablu


नेपाली हिन्दू परम्परामा प्राय: मानव जीवनको प्रादुर्भाव संगीतबाट हुन्छ र अन्त्य पनि संगीतमै टुङ्गिन्छ । किनभने मानवको जीवन स्वयम् लयबद्ध छ र हुन्छ पनि । त्यसैले त सबै थोक व्यवस्थित हुन्छ । हामीले जीवनको स्वर्णिम विहानीदेखि अस्तको कालो सन्ध्यासम्म सङ्गीतलाई अस्तित्वको रूपमा स्विकार गरेका हुन्छौँ । मानव जीवनमा सङ्गीतले नछोएको अध्याय नै छैन । भन्न पनि भनिन्छ, मानव सङ्गीतमय वातावरणमै जन्मन्छ र सङ्गीतमय वातावरण हुँदै श्मसानघाटमा पुगेर विलिन हुन्छ । मृत मानिसलाई ‘राम नाम सत्य हो’ जप्दै श्मसानघाट लग्ने प्रथा यसकै ज्वलन्त उदाहरण हो ।

प्रकृतिको कणकणमा सङ्गीत लुकेको हुन्छ । सङ्गीतको मुटु स्वर हो । स्वर आत्माको नाद हो । आत्मा परमात्माको स्वरूप हो । आत्माको सम्बन्ध परमात्मा भएझैँ स्वरको सम्बन्ध आत्मासँग भएको मानिन्छ । यसलाई नादब्रह्म भनिन्छ । सामान्यत: गाउन, रुन त सबैलाई आउँछ तर जसले विवेक, अभ्यास र तपस्याको बलले स्वर र तालमाथि विजय प्राप्त गर्दछ, त्यसले समाजमा अलग्गै किसिमको आदर–सत्कार पाउँछ ।

लुगा धुँदा होस् या घाँस काट्दा होस् वा गोठालो गर्दा नै किन नहोस्, हामी गीत गुनगुनाउँछौँ । त्यसबेला शारीरिक थकानलाई भुसुक्कै भुलेर अपार आनन्दको अनुभूति गरिरहेका हुन्छौँ । यसबाट गीत–सङ्गीतको शक्ति र सामथ्र्यलाई पर्गेल्न सकिन्छ ।

सङ्गीत भन्नासाथ वाद्यवादन, गायन र नृत्य आउँछन् ।

१. वाद्यवादन– रेटेर, फुकेर वा ठोकेर बजाई सङ्गीतको सरस तथा मनोरञ्जक स्वर, ताल आदि निकाल्ने सामग्री बाजा आदिलाई वाद्ययन्त्र भनिन्छ भने बाजा बजाउने काम वाद्यवादन हो । सप्तरीको साङ्गीतिक क्षेत्रका कलाकारहरूको हकमा वाद्यवादनलाई मूल रूपमा दुई वर्गमा राखी चर्चा गर्दा श्रेष्यकर हुन जान्छ ।

(क) ताल–वाद्य– यो लय प्रधान वाद्य हो जसले सङ्गीतमा लय कायम गर्छ । यसलाई अबनद्ध वाद्य पनि भनिन्छ । यस अन्तर्गत छालाले मोडिएका वा बनेका सम्पूर्ण वाद्ययन्त्रहरू आउँछन् । जस्तै– तबला, मृदङ्ग, डमरु, ढोल, नाल, मादल, ट्याम्के, दमाहा, पखावज आदि । सप्तरी जिल्लाको परिप्रेक्ष्यमा मलेठका सत्यदेव यादव, डाढाका कुमार बब्लु, खर्सालका उपेन्द्र यादव, सकरपुराका चन्देश्वर सिंह, रायपुरका भिखो ईशर, महदेवाका धनेश्वर मण्डल, राजविराजका रामकुमार चौधरी, वीरेन्द्र बजारका गोपाल चौधरी, जोगनियाका देवनारायण मण्डल, बसानपट्टीका वीरेन्द्र सप्तरीया आदि कलाप्रतिभाहरू ताल–वाद्यको क्षेत्रमा विशिष्टता आर्जन गरेका शिखर प्रतिभा हुन् ।

महुलीका वीरेन्द्र चौधरी, बरमझियाका दीपक गौस्वामी, डाढाका महेन्द्र मण्डल ‘मडर, मलेकपुरका शालिग्राम मण्डल, राजविराजका महेश राई, भारदहका नारायण सरदार, मोहनपुरका कमल चौधरी, प्रसबनीका दुखन चौधरी, राजद्वीप सिंह, नवनगरका सञ्जिव यादव, भोला विश्वकर्मा आदि समेत यस क्षेत्रमा क्रियाशील तथा ख्याति आर्जन गरिरहेका प्रतिभाहरू हुन् ।

(ख) सुर–वाद्य– यस अन्तर्गत तत्, सुषिर, घन गरी तीन वाद्य आउँछन् । छालाले मोडिएका वा बनेका वाद्ययन्त्रहरू बाहेकका तार, रेशम, ताँत आदिको झन्कारबाट, फुकेर वा वायुबाट, काठ वा त्यस्तै वस्तुको ठोकाइबाट स्वर उत्पति हुने वाद्यलाई सुर–वाद्य भनिन्छ । जस्तै : सारङ्गी, सन्तुर, सरोद, हारमोनियम, बाँसुरी, सहनाई, माउथ आर्गन, कलारियोनेट, झ्याली, कठताल, जल तरङ्ग, काण्ठ तरङ्ग आदि । यी सबै स्वर प्रधान हुन्छन् ।

सप्तरीको पृष्ठभूमिमा बसानपट्टीका शैलेन्द्र विश्वकर्मा, कल्याणपुरका मायानन्द विश्वकर्मा, राजविराजका राजेश्वरप्रसाद साह, विसनपुरका अशोक राम, बरमझियाका सुरेश राम, वीरेन्द्र बजारका रामकुमार मण्डलजस्ता प्रतिभाहरूले जिल्लाको सुर–वाद्य फाँटको नेतृत्व लिइरहेका छन् । मटिगढाका मनभरण ठाकुर, इनरुवाका कमल मण्डल, पोर्ताहाका वीरेन्द्र ठाकुर, भरतकुमार चौधरी, नारायण विश्वकर्मा, प्रेम विश्वकर्मा, नर्घोका भगवती विश्वकर्मा, सीतापुरका कमल पोखरेल, बसानपट्टीका निरज घतानी, विष्णुपुरका अशोक दास जस्ता प्रतिभाहरूले समेत यस क्षेत्रमा सक्रिय रहेर योगदान दिइरहेका छन् ।

अझ हाल आएर खुरुहुरियाका संभव यादव, डाढाका माधव आनन्द र क्षितिज दियालीले बालकलाकारको रुपमा नाम कमाइरहेका छन् ।

२. गीत–राग : तालबद्ध शब्दहरूको मनमोहक सिर्जना नै गीत हो । गीतलाई रागसँग मिल्ने र स्वरको प्रधानता हुने शास्त्रीय गीत र स्वर, तालमा गाइने तर शब्दहरूको प्रधानता हुने साहित्यिक गीत गरी विभाजन गरिएको पाइन्छ । सामान्यत: शास्त्रीय (छन्दोबद्ध) कविता, गजल, गीत, मुक्तक आदि जसलाई कम्तिमा स्वर, तालमा गाउन सकिन्छ । ती सबै गीतअन्तर्गत नै आउँछन् ।

(क) गीत गायन क्षेत्रमा– सप्तरीमा तिलाठीका सुधानन्द झा, सकरपुराका गोपाल झा, भारदहका उदितनारायण झा, वीरेन्द्र झा, उदय झा, मोहनपुरका महिनारायण मण्डल, राजविराजकी विद्या मिश्रा, कोइलाडीका देवेन्द्र सोनी, तोपाका कैलाश झा, सन्नुकुमार खंग, गंगाप्रसाद यादव ‘शिवानी’, संजिबकुमार यादव ‘सप्तरीया’, सुरजकुमार सोनी, तनुजा चौरसिया आदि प्रतिभाहरू गीतगायनको क्षेत्रमा विशिष्टता आर्जन गरेका शिखर प्रतिभा हुन् ।

त्यस्तै राजविराजका वसन्त स्वर्णकार, प्रभा ठाकुर, सुनिता साह, रञ्जु साह, खुरहुरियाका सन्तोषकुमार यादव, डा. शिवशंकर यादव, अञ्जु यादव, प्रसबनीका ओमप्रकाश चौधरी, भीमपुरका कृष्णदेव साह, देउरीभरुवाका अरविन्द यादव, खरचुइयाका रामदेव चौधरी, बोरियाकी प्रिया देव, मझौराका शिवशंकर यादव, किसन सरदार, सकरपुराका सोनु खङ्ग, गोरगामाकी सर्मिला मुखिया, महदेवाका सुजित राउत, श्रीपुरका चन्द्रकिशोर चौधरी, बसानपट्टीकी चम्पा विश्वकर्मा, रूपनगरका सगुन सङ्ग्रौला, घोघिदाहाका विजय चौधरी, रुपक चौधरी, दीपक चौधरी आदिले समेत विभिन्न एलबम र फिल्महरूमा गीत गाइसकेका र नाम कमाइसकेका प्रतिभा हुन् ।

डाढाका कुमार बब्लु, लोखरमका दिलिपकुमार झा, तिलाठीका राघव झा, गोविन्दपुरका स्व. चुनचुन झा, विसनपुरका स्व. मोति राम, पडरियाका सुधिर झा, रत्नेश्वर झा, राजविराजका राजु देव, विद्यानन्द चौधरी, प्रसवनीका अन्जनी चौधरी, प्रतिक अधिकारी, सुष्माकुमारी झा आदि सानै उमेरदेखि गायन क्षेत्रमा सक्रिय रहँदै ख्याति कमाइसकेका प्रखर प्रतिभाहरू हुन् ।

राजविराजका रमेशप्रसाद साह, मो. इशुसफ खान, मथुराप्रसाद यादव, देवलाल यादव, मनेश्वर राम, सरोज सन्त, ज्योति विश्वकर्मा, अजय अमात्य, शुभाष विरपुरिया, केशव कर्ण, राजोकुमारी मण्डल, आदित्य अजय, तेजु मैथिल, सत्यनारायण चौधरी जस्ता कलाकार पनि उत्तिक्कै चर्चामा छन् ।

रञ्जीतपुरका सुरेश राम, सोनु दास, राजदेवी टोलका सन्तोषकुमार देव, तोपाका राजेन्द्र मण्डल, रञ्जितपुरका विनोद खङ्ग, मटिगढाका हेमशंकर विश्वकर्मा, राजविराजकी मान्सी मनोहर आदि उदियमान गायन क्षेत्रका प्रतिभा हुन् ।

(ख) गीत लेखन क्षेत्रमा– तिलाठीका सुधानन्द झा, वीरपुरका देवेन्द्र मिश्र, धनराज कम्पनीका स्व. बुधुरलाल जोकर, दुर्गीलाल विश्वकर्मा, विन्दीलाल विश्वकर्मा, सकरपुराका भूषण सिंह ‘भवर, मलेकपुरका महेन्द्र मण्डल ‘वनवारी, शम्भुश्री, बनौलीका देवकरण माझी, खुरहुरियाका डा. शिवशंकर यादव, श्यामसुन्दर यादव, कविलासाका रवेन्द्र मडर ‘रवि, राजविराजकी मीना ठाकुर, विद्या मिश्रा ‘भारती, गजेन्द्र माझी, ब्रह्मपुर मा.वि.का शिक्षक सागरवीर कडारी, खरचुहियाका रामदेव चौधरी ‘अजनबी, अशोक झा ‘सन्तोष, महदेवाका सुजितकुमार राउत, हनुमान माझी, घोघिदाहाका घुरन चौधरी, मनोज तिवारी, पवन सायवाल, मुक्तार आलम आदिद्वारा लेखिएका गीतहरू विभिन्न गीति एलबम र फिल्महरूमा गाइएका छन् ।

त्यसै गरी राजविराजकी मञ्जु श्रेष्ठ, मनोहर पोखरेल, साधना झा, बच्ची मिश्रा, करुणा झा, पार्वती राउत, कमला भंसाली, विवेकानन्द झा, बननियाका स्व. आनन्द झा ‘अग्निहोत्री टुहुरे’, मौवाहाका आयुषी झा, कमलेश झा, रूपनगरका भोजराज रेग्मी ‘मुखाले’, नन्दलाल आचार्य, लक्ष्मी रिजाल, भक्ति लामिछाने, कृष्ण तिमिल्सिना, कविलासाका अरविन्दकुमार यादव, विद्यानन्द वेदर्दी आदिले गीत, गजल लेखनमा विशेष सक्रियता देखाउँदै आएका छन् ।

३. नृत्य, अभिनय : राजविराजका शंकर देवकोटा, विद्या मिश्रा भारती, डोली सरकार, दुर्गा थापा, लक्ष्मी थापा, तुलसी चौधरी, सञ्जय कार्की, बिरेन्द्र माझी, कोमल साह, गुड्डु थापा, खुस्बु मल्लिक, कृति ढकाल, पार्थो सरकार, गौर्राहाकी ऋषिका चौधरी, पातोकी सनम भगत थरूनी, महदेवाका दिलेन्द्र माझीजस्ता नृत्य प्रतिभाहरूले विभिन्न एलवम, नाटक, सिरियल र सिनेमाहरूमा आ–आफ्नो अभिनयात्मक क्षमता प्रदर्शन गराइसकेका छन् । काजुरी विश्वास, अंकिता विश्वास, सन्जु साह, अञ्जु शर्मा, निधि देव जस्ता दर्जनौँ प्रतिभाहरूले सप्तरी जिल्लाको साङ्गीतिक फाँट हरिलो र भरिलो पार्दै आएका छन् ।

सप्तरीको सङ्गीत क्षेत्रका अन्य उपलब्धिहरू

(क) क्यासेट, सिनेमा र सिरियल निर्देशक, निर्माता– शेखर कोइराला, राम कोइराला, रामविलास साह, रामअधिन साह ‘सन्तोषी’, सूर्यनारायण साह, ललन राय, रामदेव चौधरी ‘अजनवी’, घनश्याम रौनियार, तोकिर आलम, अखिलेश सिंह, रामनारायण साह, गोपाल चौधरी, आर. के. ठाकुर, विनोदकुमार मण्डल, धर्मेन्द्र चौधरी, राजु चौधरी, कुन्दनकुमार मण्डल ‘पप्पु’, मणिलाल माझी, स्वतन्त्र विकास, निराजन मेहता, मुरारी पोखरेल, सूर्यनारायण साह ‘बैजु’, शत्रुघनप्रसाद चौधरी, त्रिभुवन चौधरी, सुजितकुमार चौधरी, स्व. धर्मेन्द्र धर्मात्मा, अमितकुमार देव, अजित आर्या आदि क्यासेट, सिनेमा र सिरियल निर्देशक, निर्माताका रूपमा चिनिएका व्यक्तित्वहरू हुन् ।

(ख) अभिनय क्षेत्रका कलाकार– महेन्द्र मण्डल वनवारी, मुरली झा, प्रेम बि.क., करण साह, हरेराम यादव, मनिषा बि.क., सुजितकुमार, प्रमोदकुमार, जितेन्द्र बि.क., चम्पादेवी, महेन्द्रकुमार बि.क., जिवछ दास, उमेश शर्मा, रामदेव खङ्ग, पशुपति दास, भुपेन्द्र मण्डल, डोली सरकार, पंकज सरकार, कल्पना सरकार, वीरेन्द्र झा, सर्वेश्वरी झा, राजेश राज, निलम कर्ण, महेश महतो, कालु श्रेष्ठ, राजु पोखरेल, सम्झना पोखरेल, सपना पोखरेल, भजन मण्डल, विकास श्रेष्ठ, अमरकिशोर मुखिया, बालकृष्ण चौधरी, अञ्जु थापा, सुभद्रा पोखरेल जस्ता कलाकारहरूले नाटक, सिरियल र सिनेमाहरूमा आ–आफ्नो अभिनयात्मक क्षमता प्रदर्शन गराइसकेका छन् ।

त्यसै गरी राजेशकुमार मण्डल, भरत चौरसिया, मीरा देवी, श्यामकुमार मण्डल, आरजु देव, पूजा मण्डल, कल्पना राम, दुर्गाप्रसाद, मुक्तार आलम, राजकुमार साफी, विशाल चौधरी, सत्य दास, गणेश मण्डल, विनोद, पप्पु, सरोज, वसन्त, विद्यानन्द, अजितकुमार देव आदिले समेत आ–आफ्नो कलाकारिता देखाई यस क्षेत्रमा समर्पित भएका छन् ।

अभिनय क्षेत्रमा नाम कमाएका अन्य कलाकारहरुको सुची लामै छ । सुभाष विरपुरिया, सागरवीर कडारी, सरस्वती राउत, नारायण ठाकुर, हनुमान माझी, देवकरण दास, डिपी शास्त्री, दिलकान्त चौधरी, दशनीदेबी यादव, सन्ध्याकुमारी आदिले हास्य व्यङ्ग्य टेली श्रृंखला, लघु सिनेमा, सडक नाटक आदिमा सशक्त भूमिका निर्वाह गर्दै आएका छन् ।

(ग) सङ्गीतकार– सप्तरीको साङ्गीतिक क्षेत्रमा राजदेव सिंह, सत्यनारायण चौधरी, शिवनारायण परियार, सुशिल सेवा, शैलेन्द्र विश्वकर्मा, रामकुमार चौधरी, विद्या मिश्रा, कमल मण्डल, रामदेव चौधरी अजनवी, सुजितकुमार राउत, कमल पोखरेल, वालकृष्ण चौधरी, प्रेम प्यासी आदिले सङ्गीतकारका रूपमा समेत ख्याति कमाएका छन् ।

(घ) अन्य–
(अ) एलबम
(१) कमाल तोहोर ओढनी (२०५७), (२) पूर्णिमाके चाँद (२०६३), (३) गोरकी विहारवाली, (४) प्रितक इजोरिया (२०६५), (५) प्रेमके डोर (२०६६), (६) प्रेम भगेल, (७) तोहर यादमे, (८) सप्तरीके परी, (९) प्यारके पक्षी (२०६४), (१०) मिथिलाधाम (भजन), (११) ममता (भजन), (१२) गणिनाथ (भजन, २०६६), (१३) वेबफा भगेलौ, (१४) पहिलो प्रेम, (१५) फेसनवाली छौंडी आदि विभिन्न एलवमहरू सप्तरी जिल्लाका कलाकारहरूले निर्माण गरेका छन् । हाल आएर दिनानुदिन एलबम निकाल्नेहरुको लहर नै चलेको पाइन्छ ।
(आ) सिनेमा, टेलिसिरियल
(१) सँगै जिबै सँगै मरबै (मैथिली भाषाको सिनेमा), (२) मिथिला हमर गाम (२०६५), (३) धपर चोन्हा (मैथिली सिनेमा), (४) हम दिवाना हैं तोहार (भोजपुरी सिनेमा), (५) बद्ला, (६) माँ क ममता, (७) सिंङ्गी–मुङ्ग्री (मैथिली टेलिसिरियल) (८) दिलके टुक्रा (थारू भाषा फिल्म) (९) हमर मनके रानी (थारू भाषाको फिल्म) (१०) नदिया के पार सैंया हमार (११) साली आधी घरवाली, (१२) धोकेवाज प्रेमी (१३) राधा सङ्ग मोहन, (१४) जान सन, (१५) हिरो तोहर दिवाना, (१६) प्रेमरोग (१७) मधेसी पुत्र १ (१८) मधेसी पुत्र २ जस्ता अनेकौं सिरियल र सिनेमाहरू सप्तरी जिल्लाका कलाकारहरूले निर्माण गरेका र गरिरहेका छन् ।

(ङ) सङ्गीत क्षेत्रका संस्था तथा सङ्गीतालयहरू
(१) सप्तरी कला कुञ्ज, राजविराज (२) राजदेवी सङ्गीत कला कुञ्ज, राजविराज (२०५८), (३) बजरङ्गवली भजन सन्ध्या, राजविराज (२०५६), (४) उदितनारायण मिथिला सङ्गीत कला केन्द्र, भारदह, (५) नेपाल सङ्गीत प्रतिष्ठान, राजविराज, (६) संगम कला केन्द्र, (७) बालाजी भजन सन्ध्या, राजविराज, (८) संगम कला केन्द्र, राजविराज लगायतका दर्जनौं सङ्गीतालयहरू र सयौं भजन मण्डलीहरू छन् ।

वि.सं. २०१८ सालमा मलेठमा स्व. अवनारायण मेहताको नेतृत्वमा भजन मण्डली सक्रिय थियो । त्यसभन्दा अघिदेखि नै भजन मण्डलीहरू क्रियाशील रहेको पाइन्छ । हनुमाननगरमा चक्रपाणि कीर्तन मण्डली, दिघवामा महाराज शसिया कीर्तन मण्डली, बोरिया र भुर्कीमा माँ शारदा कीर्तन मण्डली, राजविराजमा राजदेवी कीर्तन मण्डली, डुमरी शिवथान र नवनगरमा शिवबाबा कीर्तन मण्डली र हनुमान आराधना कीर्तन मण्डली जस्ता सयभन्दा बढी कीर्तन मण्डली यस जिल्लामा रहेको पाइन्छ ।

४. चित्रकला– राजविराजका गोविन्द आजाद, हरि दाहाल, भुवनेश्वर राउत, रामस्वरुप चौधरी, रामशंकर देव, सुनिल सत्यार्थी, हरिपुरका प्रमोदकुमार वि.क., बनरझुलाका दुर्गानन्द चौधरी, रामानन्द चौधरी, हनुमाननगरका हरिओम मेहता, मोहनपुरका जयराम वि.क., भङ्गाहाका हरि वि.क., रञ्जु यादव आदिले सप्तरी जिल्लाको चित्रकला क्षेत्रमा गौरवशाली स्थान ओगटेका छन् । यी चित्रकारहरू व्यवसायिक आर्टस् र फाइन आर्टस् दुवै क्षेत्रमा सक्रिय छन् ।

कमला सुतीहार, अजितकुमार साह, रन्जु यादव, चन्दा साह, सीतादेवी कर्ण, मदनकला कर्ण, मिथलेश्वरी देव कर्ण, अनुरागी देवी झा, सविता दास आदिले मिथिला कला सृजना गरिरहेका छन् ।

तीमध्ये पनि प्रमोदकुमार वि.क., दुर्गानन्द चौधरी, हरिओम मेहता चाहिँ फाइन आर्टस् क्षेत्रमा अग्रस्थानमा छन् । यी चित्रकारहरूले नेपाल र भारतका विभिन्न स्थानहरूमा सोलो (एकल) र संयुक्त रूपमा चित्रकला प्रर्दशनी गराइसकेका छन् । गाँस, वास र कपासको मुख्य माध्यम चित्रकारितालाई नै बनाएर जीवनरथ हाँकिरहेकाहरूको सङ्ख्या समेत उल्लेखनीय छ ।

मिथिला चित्रकलामा भने मैथिल नारीहरूको स्थान र सहभागिता उल्लेखनीय छ । यहाँको मौलिकपनका अनगिन्ती कुराहरूमध्ये मिथिला चित्रकला पनि एक सांस्कृतिक सम्पदा हो ।

५. मूर्तिकला– राजविराजलाई कार्य क्षेत्र बनाई कार्यरत् तापस पाल, कञ्चिराका सिम्रिकलाल चौधरी, ज्ञानबहादुर चौधरी, इन्द्रदेव वि.क., हरिपुरका नागेन्द्र वि.क., फर्सेठका बैरसु यादव, बभनगामा कट्टी तोपाका कुशेश्वर मण्डल, शिवनारायण मण्डल आदिले सप्तरी जिल्लाको मूर्तिकारिताको रथ हाँकिरहेका छन् । विशेषत: सहिदहरूको शालिक, धार्मिक मूर्ति, वरिष्ठ व्यक्तिहरूको प्रतिमा, कार्टुन मूर्ति, चेतनामूलक मूर्ति निर्माण क्षेत्रमा सप्तरीका मूर्तिकारहरूले आ–आफ्नो प्रतिभा देखाइरहेका छन् । यहाँ धार्मिक पर्वहरूमा देवीदेवताहरूका मूर्तिहरूको माग अत्यधिक रहेको पाइन्छ ।

अन्य सप्तरीका बहुप्रतिभाशाली कलाकारहरुको लहरो लामै छ । समग्रमा प्रिती अधिकारी, विनय राम, बोकाइ राम, विष्णुदेव यादव, इन्द्रदेव विश्वकर्मा, जयराम विश्वकर्मा आदिको नाम यहाँ उल्लेख नगरी हुन्न ।

माथिको लामो विवरणबाट सप्तरी जिल्ला कलाकारहरूको राजधानी नै हो भन्ने सावित हुन जान्छ । कला क्षेत्रको विकासमा राज्य वा स्थानीय क्षेत्रबाट खासै रूचि नदेखाइए पनि जनस्तरबाट बडो उत्साह र उमङ्गका साथ लिएको पाइन्छ । यस क्षेत्रलाई आदर र सम्मानका रूपमा लिनु जरूरी छ । आर्थिक समुन्नतिको एउटा पाटो कलाकारिता क्षेत्रसमेत बन्न सक्छ । यसले मौलिक सांस्कृतिक पक्षको जगेर्ना गर्ने काम समेत गर्दछ । कला क्षेत्रमा लाग्नेहरूलाई जीवनगुजारा चलाउन त धौ–धौ पर्ने गरेको छ तर यसको संरक्षण र विकासले सांस्कृतिक परम्परालाई जगेर्ना गर्न र मौलिक इतिहास निर्माण गर्न ठोस सहयोग पुग्ने देखिन्छ । समाजमा देखिएको अराजकता र अस्त व्यस्ततालाई निर्मूल पारी समुन्नत समाजको सिर्जनामा समेत कलाकारिता क्षेत्रले एक शक्तिशाली अस्त्रको काम गर्न सक्छ भन्दा अतिशयोक्ति नठहर्ला ।

–मनोहरकुमार पोखरेल/नन्दलाल आचार्य/कुमार बब्लु
(लेखकहरू पत्रकारिता, शिक्षण र साहित्य लेखन पेशामा आवद्ध हुनुहुन्छ ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *