Skip to content

अहम् कर्मका सिमानाहरू ध्वस्त हुदैछन्


स्वतन्त्ररूपमा
फैलिएर रहेका
कर्मका सिमानाहरू
हुनुले नै सायद,
हरेक विहानीहरूमा,
गाउँघर तथा झुपडीहरूबाट
कसैको छोराछोरी,
कसैको बाबुआमा
कसैको दाजुभाइ
कसैको दिदीबहिनी

कसैका आफन्त र प्रेमीप्रेमिकाहरू
एकाएक
पलाइन हुँदछन् ..
कतै भूगोलका सिमानाहरू नाघ्दै
नयाँ ठाउँ,
नयाँ मानिसहरू
नयाँ परिवेश
अनि
नयाँ भाषाहरूमा
कठिनाई झेल्न …….

कर्मका सिमानाहरूमा
अलकत्रका रेखांकनहरूले
यत्रतत्र
बाङ्गाटिङ्गा कोरिएका धर्साहरू
फलामे साङ्ग्लाहरूले बाँधिएका
अनि
कुनै यन्त्रहरूले कुदिएका
ज्वालामा दन्किएका
लक्ष्मण रेखाहरू पार गर्दै
भूगोलहरूका
विश्वमानचित्रका
कुनै अक्षांस वा देशान्तरहरूमा
कर्म खोज्दै निस्केका
एक सहासी
नयाँ कर्मका अनुभूतिहरूलाई
पौरखी हातहरूले सजाउँदै
कर्म कै खेती गर्दैछन्
भौतारिएका
अनि
कठाङ्ग्रिएका मनहरू……..

कर्म सहास
कर्म महान
कर्म अस्तित्व
कर्म आदिम
कर्म अहम्
सबै कर्मका रूपरेखाहरूमा
मानवीय वस्तीहरू
दिन प्रतिदिन
अकर्मण्यता तर्फ,
ओरालिदै गईरहेको छ ।
आदिम मानवहरूको अस्तित्व
अहम मानवहरूले
विस्तारै भत्काउँदै छन्
र त
कर्मका नाममा
कूधर्म गर्नेहरू
भूगोलका नक्साहरूलाई
मुठ्ठीमा पर्दैछन्
आधुनिक मानवहरू……..

यस्तै हो भने
अबका केहि बर्षहरूमा
युगान्तकारी परिवर्तनहरू आउनेछन्

हामी
कोहि पनि त्यसबाट
अछुतो रहन सम्भव नै हुने छैन
सबैलाई संक्रमण गराउने छ
विश्वमान चित्रबाट
भूगोलका नक्साहरूको अस्तित्व खोज्न
निस्केका कर्मका पौरखीहरू
स्वयं नै
अस्तित्व गुमाएर
अहमताका शिकार बनेर
सँसारबाट
नाम निशाना नै
मेटिएर जानेछ,
ध्वस्त हुदैछ ……

Leave a Reply

Your email address will not be published. Required fields are marked *