बज्जिका लोकसाहित्यमा बालगीत

  • by


१. विषय प्रवेश

बज्जिका भाषा प्रचलनमा रहेको भौगोलिक क्षेत्रका बासिन्दाको लोकसाहित्य बज्जिका लोकसाहित्य हो । संसारका प्रायः सबैजसो भाषिक सम्प्रदायको आफ्नो मौलिक विशिष्टतासहितको लोकसाहित्य रहेजस्तै बज्जिका भाषाको पनि समृद्ध लोकसाहित्य रहेको छ । लोक जीवनमा प्रचलनमा रहेका लोककथा, लोकगाथा, लोकनाटक, लोकगीत, लोकभजन तथा उखान-टुक्का, कवित्हरू नै लोकसाहित्यका अङ्गहरू हुन् । यीमध्ये लोकगीतको आफ्नै महत्त्व र विशिष्टता छ ।

आधुनिक गीतको प्रचलन बढ्दै गएको भए पनि लोकगीतको महत्त्व कम भएको छैन । अध्ययन-अनुसन्धान तथा शोधहरूले लोकगीतको महत्त्व झन् बढाएको छ । लोकगीतहरूले लोक जीवनको समग्र इतिवृत्तिलाई प्रतिविम्बित गर्दछ । लोकगीतको परिभाषा दिनेक्रममा पाश्चात्य विद्वान् ग्रिमको भनाइलाई उद्धृत गर्दै ‘लोकसाहित्यः सिद्धान्त र विश्लेषण (पृ.३३)’ मा डा. शम्भुप्रसाद कोइराला लेख्छन् ‘लोकगीत जनताको, जनताको लागि रचना भएको जनकाव्य हो ।’

बज्जिका लोक जीवनमा अनेकौँ किसिमका लोकगीतहरू प्रचलनमा रहेका छन् । सांस्कृतिक चाडपर्वहरू तथा विभिन्न महिनाहरूमा आ-आफ्नै लोकगीतहरू छन् । तीमध्ये रोपाइँको अवसरमा रोपाहार महिलाहरूले गाउने गीतहरू, विवाहका विभिन्न अवसरमा गाइने गीतहरू, सामाचकवा, झिँझिया, जरजटिन -जटजटिन) का गीतहरू महिलाहरूमा अत्यन्तै प्रिय छन् । पुरुषहरूमा फगुआ -होरी), चैतावर, बाह्रमासा गीतहरू बढी प्रचलित छन् । यसैगरी जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार गीत तथा कूल देउताअनुसार पूजाका अवसरमा गाइने अनेक किसिमका परम्परागत गीतहरू प्रचलनमा रहेका छन् । बज्जिका भाषाभाषी क्षेत्र -बज्जिकाञ्चल) मा प्रचलनमा रहेको विभिन्न किसिमका लोकगीतमध्ये बालगीत पनि एक हो । बज्जिका भाषाभाषी क्षेत्रमा प्रचलनमा रहेका बाल लोकगीतहरूलाई पनि बालबालिकाका निम्ति र बालबालिकाहरूले गाउने गरी दुई तहमा बाँडेर हेर्नुपर्ने हुन्छ ।

बालगीतलाई लोक जीवनमा सामान्यतया ‘लोरी’ भन्ने गरिन्छ । यसलाई कतै-कतै ‘प्रभाती’ समेत भन्ने गरिएको पाइन्छ । यसलाई जुनसुकै नामले बोलाइए पनि यो वास्तवमा ‘वात्सल्य’ गीत हो । आधुनिक जीवन पद्धतिमा बालबालिकाको जन्मोत्सवको अवसर पारेर वात्सल्य गीत गाइएको पाइए पनि यो लोक चलन भने होइन । बालबालिकालाई खेलाउँदा, फकाउँदा-हसाउँदा, सुताउन खोज्दा बालगीतको प्रयोग गर्ने गरिन्छ । बालगीतको प्रयोग बढी मात्रामा महिला र अझ आमाले गर्ने गरेको पाइए पनि बच्चालाई बोक्ने जोकोहीले पनि सजिलै गुनगुनाउन थाल्छन् ।

२. बज्जिका बालगीत

नेपालीय बज्जिकाञ्चलको लोक जीवनमा बालबालिकाका निम्ति गाइने तथा बालबालिकाले गाउने गरी दुवै किसिमका वात्सल्य गीतहरू प्रचलनमा छन्ः

२.१ बालबालिकाका निम्ति गाइने बालगीतहरू

बालबालिका सानो छँदा सुत्न नमानिरहेको अवस्थामा सुताउनलाई ठूला मान्छेले बच्चालाई आफ्नो काँधलाई सिरानी बनाई पिठ्युँमा थपथपाउँदै यो गीत गाउँछन् ः

‘आ, गे निनिया बरगिनिया से
बउआ हमर आबले, मामा किंहा से
आ,गे निनिया निनर वन से
बउआ हमर आबले, मामा इँहा से ।’

केटाकेटीलाई फकाउनका लागि गाइने अर्को गीत यस्तो छ ः

‘आरे-आरे सोना चिरइआ
महुआ बिन बिन खो
हमर बउआ जाइअ नोकरी
मोटरिआ ले ले जो’

कुनै कुनै गीत बज्जिका भाषा बोलिने नेपाल र भारतका सम्पूर्ण क्षेत्रमा अत्यन्त प्रिय छन् । अभिभावकको मन प्रफुल्लित भएको अवस्थामा बच्चालाई खेलाउँदै यो गीत गाइन्छः

‘हाथी घोडा पालकी
जय कन्हइआ लालकी
लइका सब के हाथी घोडा
बुढवा सब के पालकी
जय कन्हइआ लालकी ।’

खाना खान नमानिरहेका बालबालिकालाई फकाउँदै, घर-आँगन डुलाउँदै खाना खुवाउँदै यो गीत भन्ने गरिन्छः

‘आबा हो चन्दा मामा
आरे आबा पारे आबा
नदिआ किनारे आबा
सोने के कचोरबा मे
दूध भात ले-ले आबा
बउआ के मुँह मे घुटुक ।’

यस्तै प्रयोजनका लागि लोक जीवनमा अर्को गीत पनि प्रचलनमा रहेको छः

‘चन्दा मामा दूर के
पुआ पकाए गुड के
अपने खाए थाली मे
बउआ के देबेप्याली मे
प्याली गेलई फुट
बउआ गेलई रुस ।’

२.२. बालबालिकाद्वारा गाइने बालगीत

बालबालिकाहरू समूहमा हुँदा, खेल खेल्दा तथा एक्लै रहँदा पनि गीत गाउँछन् । समूहमा र एक्लै गाउने गीतहरू विभिन्न दृष्टिमा भिन्न हुन्छन् । यी दुवैलाई यहाँ छुट्टाछुट्टै प्रस्तुत गरिन्छः

२.२.१. समूहमा गाइने बालगीत

साना साना बालबालिकाहरू समूहमा खेल्न मन पराउँछन् । समूहमा गोलाकार रूपमा एक अर्काका सम्मुख भई भुइँमा बसेर एउटाको हातमाथि अर्कोले हात राखी तलको गीत सबैले एक साथ गाउँछन् । बालबालिकालाई खेल र गीत दुवैको मनोरञ्जन एकसाथ प्राप्त हुन्छ ।

‘अटकन चटकन दहिआ चटाकन
बर फुले बरइला फुले
साओन मे करइला फुले
साओन गेलई चोरी
धर कान ममोरी ।’

माथिको गीत गाउँदै हरेक पटकमा एक जनाको एउटा हात हटाएर नजिकमा बसेकाको कान समातिन्छ । पालैपालो सबैले सबैको कान समात्छन् र हल्लिँदै रमाउँदै समूहमा सबैले यो गीत गाउँछन् ः

‘चिउँटी हे चिउँटी, चिउँटी हे चिउँटी
पानी मे के झगडा छोडइहा हे चिउँटी
पानी मे आग लगतओ
मुझइहा हे चिउँटी ।’

२.२.२ एक्लै गाइने बालगीत

मीठो खानेकुराले जसकसैलाई पनि आकषिर्त पार्छ । बालबालिकाहरू त झन् रमाउँछन् । उनीहरू आफ्नो खुसीलाई लुकाउन सक्दैनन् । घरमा ‘आलुदम’ पाक्ने थाहा पाएदेखि नै आफ्नो खुसीलाई अभिव्यक्त गर्दै भन्छन्ः

‘आलुदम मसाला कम
भउजी नाचे छमाछम’

आँप देखेर बालबालिका धेरै खुसी हुन्छन् । हातमा पाकेको आँप पाएपछि रमाउँदै केटाकेटी गाउन थाल्छन्ः

‘पंडिजी पर्नाम
दही चिउरा आम
आम होगेल खाँटा
पंडिजी बेपाता’

केटाकेटीले जामुन पनि खूब मन पराउँछन् तर रूखमा भने चढ्न सक्दैनन् । रूखमा जामुन खाइरहेका चराहरूलाई आफ्नो निम्ति जामुन खसालिदिन आग्रह गर्दै यो गीत भन्छन्ः

‘मैना के बच्चा सिलोचना रे
दुगो जामुन गिरादे चिखिअऊ
मैना के बच्चा सिलोचना रे
दुगो जामुन गिरा दे पिआस लागल हऊ’

३. उपसंहार

नेपालको बज्जिका भाषाभाषी क्षेत्र लोकसाहित्यमा अत्यन्त सम्पन्न छ । यसैगरी यो क्षेत्र बाल लोकगीतको पनि अक्षय भण्डार हो । यहाँ विभिन्न प्रकृति, प्रवृत्ति र स्परूपका अनगिन्ती बालगीतहरू लोक जीवनमा छरिएर रहेका छन् । लोक जीवनमा परम्परादेखि कथ्य परम्परामा जीवित यस्ता बालगीतहरूको सङ्कलन, संरक्षण तथा सम्पादन-प्रकाशनको कार्य हुन सकेको छैन । यस्ता बालगीतहरूको विभिन्न दृष्टिकोणले अध्ययन, विश्लेषण, अनुसन्धान हुन जरूरी छ ।

बालगीतले बालबालिकाको बौद्धिक क्षमता विकास गर्नुका साथै उनीहरूको रुचि पहिचानमा सहायक हुन सक्छ । यसले बालजीवनलाई सरल बनाउँछ । बालगीतले बालबालिकालाई मनोरञ्जन दिन्छ र कहिलेकाही मनको बह पनि पोख्छ । कतिपय बालगीत प्रेरणादायी हुन्छ । यसकारण बालजीवनमा बालगीतको महत्त्व छ ।

मधुपर्क २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *