‘महानायकको सपना’ को सार्थक कामना

  • by


मैले वि.सं. २०४८ मा नेपालका तीन महामानव भनेर ‘वरगाही’ पत्रिकाको पूर्णाङ्क नौमा बुद्ध, बीपी र देवकोटाका तस्बिरहरू आवरणपृष्ठमा छापेर सम्मान प्रकट गर्दा कुनै अज्ञानीले ‘यिनीहरूलाई किन महामानव भनिस्’ भनेर मेरो धतुरो झारेका थिए । वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री, प्राज्ञ बालकृष्ण पोखरेलले भर्खरै प्रकाशनमा ल्याएको ‘महामानवको सपना’ नामक राजनीतिक उपन्यासभित्र लेखकको भनाइमा- ‘मैले आधुनिक नेपालको इतिहासमा केवल दुई महामानवसित साक्षात्कार गर्ने अवसर पाएको छु, जसमा एक हुन् लक्ष्मीप्रसाद देवकोटा र अर्का हुन् विश्वेश्वरप्रसाद कोइराला’ लेखिएको छ । यस अभिव्यक्तिपछि मेरो छाती नाङ्लोजत्रो भएको छ । बुद्धसँग साक्षात्कार नभएकाले उहाँले उनको नाम यहाँ उल्लेख गर्नु भएन । बुद्धलाई महामानव मान्न उहाँ कत्ति पनि असजिलो मान्नुहुन्न भन्ने मेरो ठम्याइ छ ।

प्रसङ्ग नेपाली भाषासाहित्यका प्रकाण्ड विद्वान पोखरेलद्वारा भर्खरै प्रकाशनमा ल्याइएको ‘महामानवको सपना’ नामक नयाँशैली र गहन चिन्तनका साथ तयार पारिएको उपन्यासको हो । एक महिना नौ दिनको समयमा तयार पारिएको यो उपन्यास महामानव कोइरालालाई श्रद्धासुमन चढाउन लेखिएको हुनाले यसमा थोरै कल्पना र धेरै यथार्थ विवरण पाइन्छन् । पात्रहरू काल्पनिक भए पनि घटनाक्रमहरू धेरै यथार्थताका नजिक रहेका पाइन्छन् ।

कटहरे कामीगाउँका दीलमान विश्वकर्मा, उनकी धर्मपत्नी दीलमाया र छोरीहरू चमेली, बेली, जुही अनि नेताजीका सेरोफेरोमा रुमलिएको यस उपन्यासले आधुनिक विराटनगरको संस्थापनकाल वि.सं. १९८१ देखि २०४६ सम्म ६५ वर्षको यात्रा पार गरेको छ । दीलमान विश्वकर्मा अत्यन्तै उदार, दूरदृष्टि राखेर चल्ने विराटनगरका संस्थापकमध्ये एक देशभक्त स्वर्गीय कृष्णप्रसाद कोइरालाजस्तै महामना परोपकारी र उद्यमी व्यक्तिका रूपमा प्रस्तुत भएको हुनाले सम्भवतः लेखकले उनका अनुहारमा उनै पौरखीपुरुषको प्रतिविम्ब देख्नु भयो होला । २००३ सालको विराटनगरको ‘मजदुर हडताल’ देखि नेताजीको उदय भएको पाइन्छ । उपन्यासमा कतै पनि नाम उल्लेख नगरिए पनि ‘नेता’ भन्नाले विश्वेश्वरप्रसाद कोइराला भन्ने स्पष्ट बुझिन्छ । त्यसपछि २००७ साल, २०१७ साल, २०३६ साल र २०४६ सालसम्मका राजनीतिक घटनाक्रमहरू औपन्यासिक ढर्रामा अगाडि बढेका छन् । उपन्यासको नामले नै महामानव भनेको विश्वेश्वरप्रसाद कोइराला भन्ने बुझिन्छ ।

उपन्यासकार भाषाशास्त्री भएकाले उपन्यासको प्रारम्भमा कामीगाउँका कामीहरूले प्रयोग गर्ने कथ्य नेपाली भाषाको प्रयोग गरिएको हुँदा पाठकका लागि केही असजिलो र बोझिलो लागे पनि अगाडि बढ्दै जाँदा सरल नेपाली भाषा प्रयोग भएको र आफूले भोगेका पहेँले पञ्चहरूको थिचोमिचो, सत्याग्रह, जनआन्दोलनजस्ता घटनाक्रमहरूले पाठकलाई उपन्यास पढ्न प्रोत्साहित गर्दछन् तर कतिखेर नायक र नायिकाको मिलन हुन्छ र शृङ्गार रसको भल बग्छ भनेर उपन्यास पढ्ने पाठकले निरास भएर रित्तै र्फकनु पर्ने छ । उपन्यासले महामानवको राजनीतिक पक्षमात्र केलाएको हुनाले भोगविलासका कुरा छैनन् भने पनि हुन्छ । नेपाली साहित्यले यौनमनोविश्लेषणका गुरु मानेका महामानवको विषयवस्तुले थोरै रतिरागका कुरा मिसाउन सकेको भए भोजनको बेलामा चटनी मानिने थियो । जे होस् ऐतिहासिक र राजनीतिक हिसाबले उपन्यास अब्बल छ ।

‘नेपाललाई वास्तविकरूपमा एसियाको फूलबारी तुल्याउन प्रजातन्त्रकै आवश्यकता छ’ भन्ने उपन्यासकार पोखरेल यस उपन्यासभित्र प्रजातन्त्र, मानवअधिकार, लोकतन्त्र र नागरिक स्वतन्त्रताका पक्षमा राम्रोसँग खुल्नुभएको छ । समय-समयमा भएका आन्दोलनहरूलाई उहाँ ‘निम्ताको निमित्त बाँडिएको सुपारीमात्र’ ठान्नुहुन्छ । कसैले दिएर प्रजातन्त्र पाइने भए २००७ सालमा राजा त्रिभुवनले दिएकै थिए । विराटनगरको सहिद मैदानमा आएर पूर्वराजा ज्ञानेन्द्रले पनि दाजुले दिएको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई पूर्णपालना गर्नेछु भनी प्रतिज्ञा गरेका थिए तर यी कुराहरू जसले, जसरी दियो त्यसरी नै खोसेर लाँदोरहेछ भन्ने कुरा आत्मसात् गर्दै उहाँले विगतमा भएका लोकतान्त्रिक आन्दोलनहरूलाई प्रारम्भका रूपमा मात्र स्वीकार्नुभएको छ । वास्तवमा २०४६ सालपछि प्राप्त भएको राजनीतिक उपलब्धिले दह्रो खुट्टा टेकिनसकेको देख्दा उपन्यासकारको भनाइमा सत्यता छ भन्न कर लाग्दछ ।

“प्रजातन्त्र प्रजाको हो प्रजा अलिकति कलम, कलिकति आन्दोलन अलिकति नारा र अलिकति सङ्घर्ष हो भन्ने उपन्यासकार पोखरेल हामी कुर्सीको भोको गैरजिम्मेवार भएको देखेर प्रजातन्त्र टुहुरो भएको ठान्नु हुन्छ । २०४६ सालपछि प्रजातन्त्र आयो भन्नेहरूका कुरा उहाँ पटक्कै पत्याउनु हुन्न । प्रजातन्त्रमा जनताको स्थिति सुदृढ हुन्छ, जनतालाई आफ्नो जिउ धनको पूर्णसुरक्षाको अनुभूति हुन्छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमान खतरा मुक्त हुन्छन् । न्यायालय स्वतन्त्र, पारदर्शी र भरोषापूर्ण हुन्छ । हार्नेहरूले पनि फैसलामाथि विश्वास गर्छन् । सत्यको जय र असत्यको पराजय हुने हुँदा यी सबै कुरा उल्टो हिँडिरहेकाले यहाँ लोकतन्त्र वा प्रजातन्त्र आगमन भएको छैन भन्ने उपन्यासकारको ठहर छ ।

‘मान्छे रूपरङले हीरा बन्दैन, असल गुण र व्यवहारले हीरा बन्दछ’ भन्दै मान्छेलाई सपारेर सुमार्गमा हिँडाउन प्रयत्न गर्ने उपन्यासकार पोखरेल विधवा विवाहलाई प्रोत्साहित गर्नुहुन्छ । राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल प्रवेश गरेका र मृत्युदण्डको सजाय भोग्नु परे पनि भोगौँला भन्दै भारत प्रवासबाट फर्किएका नेताको निधन पश्चात् २०४६ सालको जनआन्दोलनले जताततै बेथिति, नातावाद, कृपावाद, स्वार्थ, लोभ, हिंसा, हत्या, अराजकता आदि भित्र्याएकोमा ज्यादै चिन्तित देखिनुहुन्छ । ‘कथित उग्रबामहरूलाई टेवा दिएर पीतहरू फेरि जङ्गबहादुर चाहिएको छ भनी गीत गाउँदैछन्’ भन्ने लेखकको आरोप छ ।

स्थानीय अपठित र अपरिष्कृतहरूले बोल्ने भाषा र बङ्गाली आदि भाषाको प्रयोगले उपन्यासलाई कतैकतै असजिलो पारेको भए पनि विगतको अर्थात् सबैले भर्खरै अनुभव गरेको देशको राजनीतिक घटनाक्रमले उपन्यासलाई रोचक तुल्याएको छ । सम्भवतः उपन्यासकार पोखरेलको सबैभन्दा ठूलो र विस्तृत विषय समेटेर लेखेको यो नै पहिलो उपन्यास हो । जहाँ प्रजातान्त्रिक नेपालको राजनीतिक घटनाक्रमहरूलाई शृङ्खलाबद्धरूपमा प्रस्तुत गदर्ैै पूर्ण प्रजातन्त्रको अपेक्षा गरिएको छ । शुकदेवजस्ता हत्यारा पात्रलाई पनि सुधारेर लोककल्याणका मार्गमा अग्रसर गराइएको छ । सानो छिमेकी राष्ट्र नेपालको स्वाभिमानमाथि भारतले चोट पुर्याउनु हुँदैन र मित्रवत् व्यवहार गरिनुपर्दछ भन्ने उहाँको देशभक्तिपूर्ण आग्रह छ ।

यस उपन्यासमा विश्वेश्वरप्रसाद कोइरालाको प्रतिनिधित्व नेताले र गिरिजाप्रसाद कोइरालाको प्रतिनिधित्व दीलमान विश्वकर्माले गरेको अनुभव हुन्छ । कामीवर्गको प्रतिनिधित्व गराएर उपन्यास लेख्नुमा जातीयताभन्दा मानवता ठूलो हो भन्दै जातीय विभेद अन्त्य गर्नका लागि यसो गरिएको हुनुपर्दछ । एउटी मेम अर्थात् विदेशी नारीलाई नेपालीसँग विवाह गराएर पनि मानवताकै सम्मान गर्न खोजिएको छ । यस घटनाले विराटनगरस्थित कोइराला निवासको उदार परम्परालाई स्मरण गर्ने प्रयत्न गरिएको अनुभव हुन्छ ।

एकजना धर्मगुरुका मुखबाट – “अबदेखि कामी भए पनि, सार्की भए पनि र दमाई भए पनि तिमीहरू ब्राहृमण भयौ” भन्ने विचार अभिव्यक्त गराउनु लेखकको जातिवाद विरुद्धको आन्दोलन हो । वैदिककालपछिको वर्ण व्यवस्थालाई लेखकले खुलेर विरोध गर्नुभएको छ । धर्मगुरुले पनि इसाई महिलाले हिन्दूसँग विवाह गरेकोमा खुसी प्रकट गर्नुभएको छ ।

उपन्यासमा नेपाली कामीहरूलाई फ्रान्सबाट सिपालु मान्छेहरू ल्याई बन्दुक बनाउन सिकाएको, नेपालीहरू धनका गरिब भए पनि मनले धनी भएको, धार्मिक कट्टरपन्थीहरूको विरोध गरेको, हिन्दू महात्माले आफ्नो भक्तको जात होइन, भक्ति हेर्न थालेको, प्रारम्भमा महाकवि कालिदास, शूद्र, महाकवि भवभूति वैश्य र मनुमहाराज क्षेत्री भएको वास्तविकता बोध गराएको, दीलमान विश्वकर्माले कैँयाको गहना पसलमा धेरै राम्रो काम गरेको तर भारतबाट आएका कामै नजान्ने कर्मीहरूभन्दा आफूले धेरै थोरै ज्याला पाउने गरेको, ब्राहृमणले कामीलाई तपाईं भनेर सम्मान प्रकट गरेको, पञ्चायती व्यवस्थामा हुने ज्यादतीको भण्डाफोर गरेको अनि देशभक्ति, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताका पक्षमा वकालत गरेकाजस्ता रोचक सन्दर्भहरू पनि यस उपन्यासभित्र रहेका पाइन्छन् ।

विराटनगरको सेरोफेरोमा तयार पारिएको यस उपन्यासलाई आञ्चलिक उपन्यास माने पनि हुन्छ । एकपल्ट नेताको उपचार र मृत्यु सन्दर्भको कथानक काठमाडौँसम्म पुगेको भए पनि त्यस ठाउँको खासै भूमिका रहेको पाइँदैन । विराटनगरदेखि टाढा सुनसरीको चिमडीसम्म मात्र यस उपन्यासको कथानक पुगेको छ । यसलाई विराटनगरकै परिवेशभित्र लिन सकिन्छ । त्यसैले यो उपन्यास आञ्चलिकताको सेरोफेरोमा छ । जसले राष्ट्रिय मेलमिलापका साथ अगाडि बढेमा राष्ट्रको कल्याण हुने सपना देखेको छ तर आजको वातावरण हेर्दा न राष्ट्रिय मेलमिलाप हुन्छ, न राष्ट्रकै कल्याण हुन्छ, केवल नेताहरूको कल्याण मात्र भएको छ । महानायकको सपनाले सार्थकता पाएको छैन । कहिलेकाहीँ सुन्दर सपना पनि निरर्थक भएर जाने गरेका छन् । महानायकको सपना पनि त्यस्तै पो हुने हो कि ?

अन्त्यमा राजा, प्रजा, पहाडे, मधिसी, हिमालको भोटे, उपत्यकाको ज्यापू, तराईको थारू, जङ्गलको राउटे आदि नेपालभित्र बस्ने सबै नेपालीका बीचमा राष्ट्रिय मेलमिलाप हुनैपर्छ, नत्र नेपाल र नेपाली रहँदैनन् तसर्थ यस्तो मेलमिलाप तुरुन्त व्यवहारमा उतार्नु पर्दछ भन्ने अभिव्यक्तिकासाथ यस उपन्यासले विश्राम लिएको छ । राजनीतिक उपन्यासको कोटिमा दरिन पुगेको छ । उपन्यास हतियारको दम्भ छाडेर राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरे मात्र देशको विकास सम्भव छ भन्ने लेखकको स्पष्ट धारणा सजिलै बुझ्न र ग्रहण गर्न सकिन्छ । महानायकको सपनाले सार्थकता नपाउला कि भन्ने त्रासले लेखकलाई पूरै गाँजेको अनुभव हुन्छ । आशा गरौँ-‘वसन्त’ आदि उपनामले पाँच दर्जनभन्दा बढी साना उपन्यास लेखेर प्रतिष्ठित बन्नुभएका पोखरेलले अब यस्ता स्थूलकाय उपन्यास लेखनतर्फ निरन्तरता दिनु आवश्यक छ ।

मधुपर्क २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *