पात्रलाई भोक लागेको छ । लाग्नु स्वाभाविकै हो । दिनभर भौँतारिएको छ । कारण के भनेर सोध्नुपर्ने स्थिति छैन । कसलाई समय छ र कसैको भौँतारिनुको कारण सोध्न ? तैपनि एक स्वतन्त्र मुलुकका स्वतन्त्र नागरिक हुनुको स्तरबाट भने सोध्न नसके पनि सोच्न भने सकिन्छ ।

०००

यथार्थमा पात्र धेरै समय भइसकेको छ आफ्ना बेकारी दिन कटाउँदाकटाउँदा दिक्क हुन थालेको । कुनै पनि बेला बहुलाउन बेर छैन । लोकतन्त्रमा पनि बेकारी ? प्रश्न गर्न सकिन्छ । लोकतन्त्रमै बेकारी भनेर प्रेस पनि गर्न सकिन्छ । लोकतन्त्रका नाउँमा राजनीतिक खप्परहरू जङ्गल, छाप्रा, ओढार, गुफाबाट निस्केको केही समयमै आफ्नो सिद्धान्तविपरीत मोटाउने, सहस्र पुँजीको स्वामी हुने, कैयौँ महलका महलपति बन्ने आदि दृश्य परापूर्वकालदेखि यस मुलुकमा प्रत्यक्ष प्रसारणवत् देखिरहेकै हो । पात्रले पनि देखेको छ र विचलित हुने स्थितिमा भौँतारिनुपरेको छ भनेको पनि यही कारण हुनुपर्छ ।

०००

मान्छेलाई बाँच्न कला चाहिन्छ, कला । सप्ताहका प्रमुख दिनमा जुनजुन मन्दिर भीड हुने हो, त्यहाँ गएर हेर्ने हो भने मान्छे कसरी बाँच्ने भन्ने कलाको निर्माण वा आविष्कार गरिरहेको देख्न सकिन्छ । जस्तो अहिले यो पात्र मङ्गलबार भएकाले चाबेल गणेशस्थान मन्दिर पुगेको छ । त्यहाँको भीडको एक कुनामा रहेको माइकबाट मधुरो स्वर आइरहेछ । माइकसँगै एउटा फ्लेक्स प्रिन्ट फोटो पनि ठडिएको छ । त्यसमा कुनै युवक बेडमा सुतिरहेको अवस्थामा देखिन्छ । अनि राताराता अक्षरले लेखिएको छ- म बाँच्न चाहन्छु । म लोकतन्त्र युगको लोकतान्त्रिक मुलुकको नागरिक हुँ । मेरा दुवै मिर्गौला फेल भएका छन् । यहाँहरूको सहयोगले म बाँच्न पाउनेछु । कृपया रकम सहयोग गर्नेले तलको बैङ्कको ठेगाना लेखिएको खाता नम्बरमा जम्मा गरिदिनुभएमा म धन्य हुनेछु…आदिआदि आक्रान्तमय वाणी पोतिएका छन् ।

०००

पात्र सोच्छ । यसको त माग्ने माध्यम पनि दरिलो रहेछ । म पनि त यसै मुलुकको नागरिक हुँ । म पनि त यहाँ किड्नी फेलसरह बेकारी भएको कति भइसकेको छ तर पात्रको यस मनोलोग कसले बुझ्ने ? यस मुलुकमा कसैले कसैको कुरा वा मनका कुरा बुझ्ने छैन । सबैलाई आफू बाँच्नुबाहेक अरूको कुनै चासो छैन वा सरोकार हुने छैन । यस मुलुकका नागरिकको मूलभूत विशेषता भनेको नै आफू बाँच्नु हो । अरूको के अर्थ वा के महत्त्व छ र ?

०००

पात्र मन्दिरमा पुगेर हेरिरहेछ । मान्छेको भीड बढेको छ । थरीथरीका मान्छे । केही युवती राम्रा र सम्पन्न वर माग्ने मनसायले लड्डु बोकेर गणेशलाई खुसामद गर्न उपस्थित भएका जस्ता देखिन्छन् । केही युवकहरू अमेरिका जानका लागि भिसा पाउने आशमा उभिएका जस्ता छन् । कोही आफ्नो बेपारको प्रगतिका लागि भगवान्लाई हषिर्त पार्न आएका छन् । कोही समय कटाउन र रमिता हेर्न आएका छन् । कोही प्रेमी-प्रेमिका भेट्न आएका हुन् भन्नेजस्ता पनि देखिन्छन् । त्यस्तोमा हाम्रो पात्र भने आफ्नो विरक्तिलाई बिर्सन आएको हुनुपर्छ, किनभने घरमा बस्नु पनि उसलाई त्यत्तिकै दिक्कको विषय हुन गएको छ भने मुलुकमा भौँतारिँदा पनि त्यत्तिकै निरास हुनुपर्ने भएको छ । आफू बेकारी । के लाग्छ ? बेकारीका लागि भौँतारिनु एउटा माध्यम हो आफूलाई बिर्सनु । पात्र अहिले यस्तै स्थितिमा छ ।

०००

कहाँ जाने ? समाधानको बीज पनि प्राप्त भएको छैन । जीवनजस्तै सुक्खा छ भाग्य पनि । परेवा भुर्र उड्छन् । एकछिन शीतल हावामा आपै”mलाई बिर्सन पुग्छ पात्र ।

-अरे, अमर यहाँ किन एक्लै ?

एक नारीस्वर । पात्र झस्केर पछाडि अर्थात् स्वर उब्जेको दिशातिर र्फकन्छ । ओह, पात्रकी पूर्वप्रेमिका पो रहिछिन् । पात्र अक्कबक्क हुनपुग्छ । के बोल्ने, के नबोल्ने ? निर्णय हुन सकेको छैन ।

-अँ, म…यसै…।

उचित उत्तर प्राप्त भएको छैन पात्रलाई ।

-मन्दिरमा के गरेर बसेको त ? अनि एक्लै ?

प्रेमिकालाई सम्भवतः थाहा छैन, पात्रको पात्रहीनताबारे । यसैले सोध्छिन् ।

-अँ…एक्लै ।

पात्रलाई बढी कुरा गर्न मन लागेको छैन ।

-परिवार खोइ त ?

प्रेमिकामा जिज्ञासा र चञ्चलता यथावतै रहेको पात्र अनुभूत गर्छ । अरू अब के भन्ने ? आफ्नो पात्रहीनताबारे के बताउने ? परिवार तब पो हुन्छ, जब आफू सम्पन्न र कमाउपरक भइन्छ । प्रेमिका हो, पूर्व नै सही । उत्तर त दिनैपर्छ ।

-अमरा, मेरो परिवार छैन र अब होलाजस्तो पनि छैन ।

जस्तो यथार्थ हो, त्यही नै पात्रले बताउनमा सङ्कोच मानेको छैन ।

-किन त ?

प्रेमिका अचम्ममा पर्छिन् । यति उमेरसम्म पुरुषको बिहे नहोस्, सम्भवै छैन ।

-खोइ, के भनूँ अमरा ? बिहे हुन पुरुष भएर मात्र हुँदोरहेनछ । सम्पन्न पनि हुनुपर्दोरहेछ । म त परेको छु यस्तोमा, त्यसमाथि बेकारी । यस मुलुककै सर्वोच्चताहीन नागरिकजस्तो ।

पात्र अभिधामूलक उत्तर दिन्छ । कुनै अतिशयोक्ति छैन । प्रेमिका यसो प्रेमीको मुहार हेरेर तौलिन्छिन् । टीठ पनि लाग्छ । बिचरा सोझो र एक्लो हुनुको नियति भोगिरहेछ । प्रेमिका सोच्छिन् ।

-यस्तो पनि हुन्छ र काहीँ ? तिमी शिक्षित छौ । मुलुकमा लोकतन्त्र छ । लोकतन्त्रमा केही त काम पाइहाल्छौ नि । किन त्यसै अहम् पालेर हिँड्छौ ?

प्रेमिका प्रेमीको स्वाभिमानयुक्त अहम्लाई सम्भ”mदै यसो सम्झाउँछे । कारण यही अहम्ले गर्दा उनीहरूबीच बिछोड हुनुपरेको हो । अन्यथा प्रेमिकाका पिता सम्पन्न वर्गको उपल्लो दर्जाका दज्र्यानी व्यक्ति । उनले राखेको प्रस्ताव प्रेमीले मानेको भए यस्तो स्थिति हुने नै होइन नि । एउटै त प्रस्ताव हो नि ! त्यो पनि बिहेपछि प्रेमीले आफ्नो घर छोडेर प्रेमिकाको घरमा बस्नुपर्ने । यो कुरा अब अहिले दुवैले झ्वास्स सम्झेका छन् । प्रेमी यो सोचेर अहिले पनि ग्लानि मात्र होइन, उत्तेजित नै हुने गर्छ र त्यो उत्तेजना कुनै कामको होइन, क्रोधको हो ।

-के गर्नु अमरा ? मलाई लोकतन्त्र चाहिएको हो तर लोकतन्त्रलाई म चाहिएको होइन रहेछ । लोकतन्त्रमा जति शिक्षित हुन्छ, त्यति नै राम्रो हुने गर्छ । कारण शिक्षित बढी भएछ भने बेकारी बढी हुनेछ । बेकारी बढी भएछ भने शासन गर्न सत्ताहरू जागरूक हुनेछन् । हामी बेकारी नभएको भए लोकतन्त्र कसरी टिक्छ र ? जहाँसम्म तिम्रो सुझाव छ मेरो अहम्बारे!के गर्ने, मेरो बाँच्नुको अर्थ यही हो, दसतिर हात फैलाएर, मागेर, आफ्नो अस्तित्वलाई लिलाम गरेर कसरी बाँच्नु ?

भन्न त प्रेमीले मतापले यसो भनेको हो तर प्रेमिकाको मुटुमै लागेछ । फलतः प्रेमिकाको आँखामा आँसु पो देखिन लागेछ । आफू कठोर भइएछ कि क्या हो ? प्रेमी मनमनै सोच्छ । व्यर्थमा अरूकी श्रीमती भइसकेकी प्रेमिकालाई व्यङ्ग्य गरेर के पुरुषार्थ देखाउनु र ?

-सरी अमरा, मेरो कुनै त्यस्तो ध्येय होइन, जसबाट तिमीले आँसु खसाल्नुपरोस् । साँच्चै म आफ्नो अस्तित्व र अहम्मा बाँच्ने मान्छे, कुनै कम्प्रोमाइज गर्नै नसक्ने भएको छु ।

-तैपनि अमर, मान्छेले कतै त सम्झौता गर्नैपर्छ । हेर, जीवन आफ्नो अहम्मा मात्र जलाएर यसरी दुःखी हुनु कति न्यायोचित हो र ? तिमी योग्य भएर पनि आफ्नो अहम्मा रहेर कतै केही प्राप्त गर्न नसक्ने भएका छौ । आफ्नो अहम्ले आफूलाई एक्लो बनाउँछ र समाजमा अव्यावहारिक तुल्याउँछ ।

-म के गरूँ अमरा, म कतै पनि, कुनै नेताकहाँ गएर सान्त्वना प्राप्त गर्न नचाहने व्यक्ति भएको छु । मलाई थाहा छ, यहाँ खुसामद नगरी देउता त खुसी हुने छैनन्, मान्छेको के कुरा र ?

-सम्झौता गर्नु भनेको आफ्नो स्वाभिमानबाट खस्नु होइन नि । आफ्नो योग्यताअनुसारको कार्य माग्नु हो । तिमीले प्रयासै गरेका छैनौ जस्तो छ ।

-धेरै ठाउँमा गएको छु । आश्वासनबाहेक केही पनि प्राप्त भएको छैन । यसैले मैले मेरो आफ्नो नियतिलाई समयको गर्तमा छोडिदिएको छु । जे गर्छ, अब समयले नै गर्छ ।

त्यसपछि धेरै कुरा हुन पाएन । प्रेमिकाको श्रीमान् मन्दिरबाट प्रसाद लिएर आएको देखिन्छ । परिचयको कुनै आवश्यक अनुभूत भएन । कारण प्रेमिकाको श्रीमान् त्यही व्यक्ति हो, जो गाउँबाट राजधानीमा पढ्न आएको हो । राजधानीमा कसरी बाँच्ने भन्दाभन्दै प्रेमिकासँग बिहे भएर अब सम्पन्नताको आवरणमा सम्मानित हुन पुगेको छ र पाठकलाई औत्सुक्य जानकारी के भने यो बिहे पनि प्रेमीले गर्दा नै भएको हो, किनभने प्रेमिकाको श्रीमान् प्रेमीको मित्र हो । प्रेमीको प्रेम असफल भएपछि उनीहरूको सफल दाम्पत्य जीवन बाँधिएको हो ।

केही छिनपछि त्यस मन्दिरमा फेरि पात्र एक्लै हुन पुग्छ । मान्छेको भीड त घटेको छैन तर त्यस भीडमा फेरि पनि आफू पीडित र एक्लो पाउँछ पात्रले । प्रेमिकाले सम्झाएर र पुरानो प्रेमका नाताले सुझाव दिई आफ्नो कर्तव्य निर्वाह गरेर त गइसकेकी छिन् तर पात्र भनें…?

-ए मित्र, जाने होइन ?

त्यही बेला उसको एकाकी ध्यान फेरि भङ्ग हुन्छ । हेर्छ, एक राजनीति मित्र रहेछ ।

-कहाँ ?

पात्रले बुझेको छैन ।

-जुलुसमा नि ।

-किन ?

-किन नि अब ? हाम्रो सत्ताको विरोधसभा छ । हामी मुलुकलाई अग्रगमनतिर लान जनआँखो उघार्न चाहन्छाँै । यसैले जनस्वाधीनता र लोकसर्वोच्चता स्थापना गर्न नि । त्यहाँ गए बेकारी सर्वोच्चताको उच्च कदर पनि हुनेछ मित्र, तिम्रो पनि स्थिति सुधि्रनेछ । हामीसँग हिँड ।

पात्र केवल मुस्कुराएर हेर्छ । कुनै उत्तर नदिई हेरिरहन्छ । मित्र झन्डा र डन्डा बोकेर कुदिसक्छ जनस्वाधीनताको हूलमा । पात्र भने एक्लो भएर केही सोच्न थाल्छ । पात्रको मुटु र कानमै प्रेमिकाका शब्दहरू र मित्रको राजनीतिक स्थितिको आग्रहले घोच्न थाल्छ । यसैले पात्र निसासिएर छटपटीमा पर्न थाल्छ । मान्छेहरूको भीड । आवाज । अबिर । रातो । मगज रन्थनिन लाग्छ । यो के हुन लागेको हो ? प्रश्न पनि तातिन लागेको अनुभूत हुन्छ । के गर्ने, के नगर्ने ? निक्र्योल गर्न सकेको छैन । उकुसमुकुस बढ्दाबढ्दै एक्कासि पात्रलाई के लाग्छ कुन्नि, आफ्नो कानमा कसैले ‘क्रान्ति गर क्रान्ति’ भनेको फुसफुसाउँदो साउतीको अनुभव गर्छ र अनि मनमनै ‘अब म क्रान्ति गर्छु, क्रान्ति’ भनेर भीडबाट उछिट्टिएर पर्खालमा चढ्छ र आफ्नो सम्पूर्ण पात्रहीनता फालेर एक्कासि ठूलो स्वरमा कराउन थाल्छ-

‘पात्र सर्वोच्चता जिन्दावाद, कपट सर्वोच्चता मुर्दावाद…!!’

मधुपर्क २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *