उहाँकै ससुराली घरको सानो कोठामा शिवप्रकाशको जीवनका अन्तरङ्ग प्रकाशहरू खोतल्दै थिएँ । आफ्नो विगत बताइरहँदा उहाँ एकाएक बोल्न छोड्नुभयो । उहाँको अनुहारमा पुलुक्क हेरेँ । भक्कानिनु भएकोरहेछ । एकटकले भित्ता हेरेर उहाँ रोइरहनुभयो । झण्डै दस मिनेट बगेका उहाँका आँसुमा पीडाका राता केस्राहरू मिसिएझैँ लाग्थो । ‘म ती क्षण सम्झन पनि चाहन्न’ शब्दसँगै उहाँको बोलीले निरन्तरता पायो ।

युवा साहित्यकार शिवप्रकाश, नेपाली हास्यव्यङ्ग्य साहित्य र गीतकारका रूपमा सिर्जनाको इतिहासमा अङ्कित भैसकेको नाम हो । सम्झनाका पुराना एल्बमहरू पल्टाइरहँदा उहाँ मोरङको हरैँचा ६ मा पुग्न चाहनुहुन्छ । विक्रम संवत २०२१ भदौ ८ गते धर्तीमा पहिलो पटक छोएको त्यो माटो, हावा, पानी, खेत, खलिहान, खोरिया, गह्रा छुन चाहनुहुन्छ । त्यही घाँसदाउरा, स्कुल, गोठाला गर्दै बिताएको सम्झना गर्न चाहनुहुन्छ । मिल्ने भए त्यही अवोध बालापन र किशोरावयमा र्फकन चाहनुहुन्छ तर सम्भव छैन । केटीलाई साइकलमा राखेर कुदाउन पाउँदा त गाउँमा ‘हिरो’ नै भएको महसुस हुने मन आज अमेरिकाको बोस्टन सिटीमा त्यतिविघ्न प्रफुल्लित हुँदैन ।

X X X

‘यही घरबाट मैले कुशल जीवनसङ्गिनी भेटेको थिएँ, कसैलाई नसुनाएको कथा आज यही घरमा तपाईंलाई सुनाउँदैछु,’ यही शब्दबाट उहाँले सुदूर अतीतका ती दिनहरू पल्टाउनुभयो । डायरीको पाना झैँ । ‘आज म जहाँ छु, त्यहाँ पुग्ने मेरो पारिवारिक हैसियत होइन । त्यसैले लाग्छ चिताएको भगवान्ले पुर्याउँदो रहेछ,’ युवा साहित्यकार शिवप्रकाशले भन्नुभयो, ‘म निम्नमध्यम वर्गीय परिवारमा जन्मिएको हुँ । चार दाजुभाइ, तीन दिदीबहिनी थियौं । भनेको र सोचेको पुग्दैन थियो ।’ उहाँले प्रवेशिका पास गर्दासम्म कहिल्यै नयाँ ‘डे्रस’ लाउन पाउनु भएनछ । किताब पनि दाजुहरूले पढिसकेकैबाट काम चलाउनु भयो ! ‘कहिलेकाहीँ त लाग्थ्यो किताब फेर्ने पाए पनि हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘लुगा त फेर्न पाइँदैन थियो । किताब बदलिए त नयाँ पढ्न पाइन्थ्यो कि ?’ तर त्यसो कहिल्यै भैदिएन । अहिले उहाँलाई लाग्छ, धेरै भाइबहिनी भैदिनाले पनि उहाँले राम्रो लगाउने र खाने रहरमा सम्झौता गर्नैपर्ने भयो होला । यो सम्झौता यतिसम्म गर्नुपर्यो कि दुई दाजु क्याम्पस पढने भए, जेठी दिदीको विवाह भयो । घरमा घाँस-दाउरा, बाख्रापाठा हेर्ने कोही भएन । ‘पिताजीले दुईचार वर्ष तँ रोकिई’ भनेपछि जनता माविबाट प्रवेशिका गरे लगत्तै उहाँको पढाइमा चार वर्ष पूर्णविराम लाग्न पुग्यो ।

त्यही समयमा उहाँले ‘नयाँ शन्देश’ र ‘गोरखापत्र’ हेर्दै दिन बिताउने मेलो गर्नुभयो । गाईबाख्रा डुलाउँदै भजन लेख्न थाल्नुभयो । अरूका गीत भजन रेडियोमा सुनेपछि आफ्ना रचनाहरू हुलाक गएर रेडियो नेपालमा पठाउनुभयो तर ती कहिले बजेनन् ।

फाटेको मोजामा पुराना कपडा कोचेर फुटबल खेल्नमै उहाँ रमाउनु भएछ । यसो र त्यसो मै चार वर्ष बितेछन् । एकदिन बाख्रा चराउँदै गर्दा दिमाग ‘मठ्ठु’ भएको भान शिवप्रकाशलाई भएछ । त्यसैदिन फेरि पढ्ने दृढसङ्कल्प नै गर्नुभएछ उहाँले । पढाइ नै हतियार हो भन्ने ‘विम्ब’ दिमागमा बनेपछि उहाँले घरमा आग्रह गर्नुभयो । नेपालमा पढ्न यहाँको हड्ताल, बन्द आदिले वर्षौंमा पनि पढाइ पूरा नहुने देखेपछि उहाँले प्रमाणपत्रतह भारतको इलाहावादबाट गर्नुभयो । पढेर फर्केपछि सर्टिफिकेट लिन जानुपर्नेभयो । पिताजीले विश्वास गरिदिनु भएनछ । शिवप्रकाशले त्यो क्षण स्मरण गर्नुभयो, ‘भगवान्ले तँ सोच, म पुर्याउँछु भन्दा रहेछन, मेरो जीवनमा त्यस्तै भैदियो ।’ स्थानीय प्रहरी चौकीमा बराल्लिँदै पसेको राँगो इलाहावादसम्म सर्टिफिकेट लिनजाने जोहो भैदिएछ । स्थानीय क्लबको अध्यक्ष भएको नाताले सर्जिमिन बसेर जिम्मा लिएको राँगो तीन महिना पालेपछि १६ सयको भएछ । बेलवारी बजारमा राँगो बेच्दा पाएको पैसामध्ये तीन सय आमालाई पठाएर शिवप्रकाश उतैबाट भारतको इलाहावाद हानिनु भएछ । घरमा ‘कहाँ गयो’ भन्ने थाहै थिएन । वनारस पुगेपछि उहाँ हरि पाण्डे नामको दलालको फन्दामा नराम्ररी पर्नुभएछ । दूध विनायकमा बस्ने त्यो दलालले सर्टिफिकेट निकाली दिने नाममा छ सय भारु कुम्ल्यायो । डेढ महिनासम्म पनि काम नगरिदिएपछि उहाँ धर्मशालामा बस्ने विष्णु कार्की र निलप्रसाद नामका नेपालीको शरणमा दुई महिना जति बस्नुभएछ । त्यस्तैमा एकजना भुसाल थरका दलालले काम गरिदिने भन्दै इलाहाबाद बोलाएछन् । पाँच सय भारु लगेर तीन महिना बितिसक्दा पनि काम गरिदिएन छन् । अन्तिम चार आना खल्तीमा हुँदाको दिन त्यही भुसाल थरको दलाल ‘कोठी’मा आउने बित्तिकै उहाँको रिसको सीमा नाघेछ । कोठामा भएको खुकुरी झिकेर छातीमा तेर्साएर ‘तँलाई काट्छु’ भनेपछि थर्थर काँप्दै काम गरिदिने बाचा मात्रै गरेनछ । गोजीबाट ५० रुपियाँँ झिकेर छोडिदिएछ । तीन दिनभित्रै काम पनि गरिदिएछ ।

सर्टिफिकेट बोकेर शिवप्रकाश सीधै काठमाडौँ हानिनुभएछ । शङ्करदेवमा स्नातक तहको अध्ययन सुरु भयो उहाँको । अनि त विस्तारै खेलकुद परिषद्मा जागिर पनि भयो । परिषद्को लेटरहेडमा विकास, अनुशासन, गतिशिलता लेखिएको थियो तर परिषद् गुण्डागर्दीको अखडा नै थियो रे ! जहाँ उहाँको जीवनका उर्वर १० वर्ष बिते । त्यतिबेलैतिर उहाँको जिल्ला शिक्षा कार्यालयको एक प्रोजेक्ट हेर्ने गरी सरुवा भएछ । त्यहाँ एकजना शिक्षिका काजमा रहिछन् । असाध्यै घमण्ड बोकेकी ती केटीको अगाडि ‘पुत्ला’ बन्ने जाँगर शिवप्रकाशमा पनि पलाएनछ । हामी हिँड्दै अन्तरङ्ग गर्न आएको बाटो देखाउँदै उहाँले भन्नुभयो, ‘२० वर्ष अघिको कुरा हो, एक दिन यही वसन्तपुरमा गफिँदै एकजना साथीसँग हिँड्दै थिएँ । ज्योत्सनाकी दिदीले बोलाउनुभयो । उहाँ मलाई चिन्नुहुन्थ्यो । उहाँकै आग्रहमा घरमा चिया खान पुग्यौँ ।’ त्यही चियाको कपसँगै उहाँको खोक्रो घमण्डको चट्टान पग्लिएर पानी भएछ । भित्ताभरि पाँच जना दिदीबहिनीले स्नातकोत्तर उपाधिबाट विश्वविद्यालयले दीक्षित गरेको तस्विरले उहाँ गल्नु भएछ । अनि त के आफ्नै अफिसमा भेट भैरहने ‘घमण्डी’ ज्योत्सनासँग ‘कुछकुछ’ भएछ । तिनै ज्योत्सना आज जीवनको सबैभन्दा नजिकको सुखदुःखकी साथी छिन् । उनैबाट सन्तानका रूपमा १९ वषर्ीय सौरभ उहाँहरूसँगै छन् । परिषद्को जागिरे जीवन जति तिक्त अरू कुनै पल भएन उहाँको जीवनमा । राजनीतिक आस्थाका आधारमा उहाँमाथि आक्रमण भएपछि उहाँले त्यो जागिर मात्र त्याग्नु भएन, नेपाल नबस्ने कसम खानु भएछ ।

मुलुक प्रतिको मायाले होला युवा साहित्यकार शिवप्रकाशले आफ्नो जन्मदिन कहिले मनाउनु भएको छैन । हरेक जन्मदिनमा डेढ सय डलर आफूले अध्ययन गरेको हरैँचाको जनता उच्च माविलाई सुम्पनुहुन्छ । कहिले आफू, कहिले दिदी, बहिनी र दाजुका नामबाट त्यो सहयोग गर्दै आएको उहाँले बताउनुभयो । प्रवेशिका परीक्षामा उत्कृष्ट हुने दुई जना विद्यार्थीहरूलाई बर्सेनि स्कुलले त्यही रकमबाट छात्रबृत्ति दिँदै आएको छ । पत्रपत्रिकामा पढेरै पाएको प्रेरणाले यो काम गर्न उहाँलाई झक्झकाएको थियो । आफूले थालेको कामबाट अरू कसैलाई प्रेरणा मिलोस् भन्ने उहाँको सदिक्षा छ । जन्म थलोका लागि उहाँले ‘मातृभूमिका लागि महिनाको एक डलर’ भन्ने अभियान सुरु गर्नुभो । छाँयाले त रातमा पच्छ्याउन छोड्छ गुटबन्दी र फोहोरी राजनीतिले उहाँलाई छोडेन । त्यही दिक्दारीका कारण यो अभियान मात्र उहाँले फिर्ता लिनु भएन, कुनै पनि दलको चौवन्नी सदस्य समेत नरहने घोषणा गरिदिनुभयो । राजनीति घीनलाग्दो बनेपछि उहाँ सामाजिक, साहित्यिक सेवामा आफूलाई समर्पित गर्न चाहनुहुन्छ । जसका लागि ‘जैमली’को विमोचनसँगै दुईवटा नयाँ सत्कर्मको घोषणा गर्नुभएको छ । स्वर्गीय पिता हरिप्रसाद पौड्यालको नाममा ‘हरिप्रसाद पौड्याल स्मृति प्रतिष्ठान’ स्थापना गरेर जैमली साहित्यिक पुरस्कार र जैमली डायस्पोरा साहित्यिक पुरस्कारको स्थापना गर्नु भएको छ ।

बोस्टनमा उनी बस्ने कोठामा टीभी छैन, सोफा छैन । मोरङका किसान छोरा शिवको जस्तै छ उहाँको जिन्दगी तर मातृभूमिका लागि केही गर्न मरिहत्ते गर्नुहुन्छ उहाँ । ‘महिनौंसम्म कोखमा बास दिने माता र धरतीमा पहिलो पाइला टेक्न साहस दिने मातृभूमिका लागि केही गर्नैपर्छ ।’ भन्ने चाहना उहाँमा उर्वर छ । उहाँको कृतित्वको यात्राले एक पटक सन् २००८ मा बाजी मारेको थियो । उहाँद्वारा रचित गीतको एल्बम ‘स्पन्दन’ नेपाली स्रोतामाझ आज पनि उत्तिकै कर्णप्रिय छ । जसमा समेटिएको ‘आँखाभरि हिमाल देख्छु, मुटु छाम्छु मोटो पाउँछु’ गीतकार शिवप्रकाश आफैँलाई औधी मनपर्ने गीत हो । यसअघि जय नेताजी हास्यव्यङ्ग्य सङ्ग्रहसहित तीनवटा कृति साहित्य भण्डारमा दिइसक्नु भएका शिवप्रकाश क्रम टुटेको साहित्यको यात्रालाई ‘बिनिर्माण’ गरिरहनु भएको छ ।

पारिवारिक टिप्पणी

कल्पना (जोत्सना) पौड्याल/श्रीमती

मलाई उहाँको स्पटता, अनावश्यक खर्च र देखावटी ढोंग नगर्ने, मान्छे भएर जन्मेपछि मान्छेका लागि केही गर्नुपर्छ भन्ने सोच राम्रो लाग्छ । आफ्नो खर्चबाट दुईचार पैसा भएपनि कटौती गरेर परिवार र देशका लागि केही गरुँ भन्ने भावना राखेको देख्दा असल श्रीमान पाएँ भन्ने ठान्छु ।

उहाँको सबैभन्दा राम्रो बानी जीवनका सबैकुरालाई सजिलै र सकारात्मक रूपमा लिईदिने नै हो । यति हुँदाहुँदै पनि खानाभन्दा कामलाई बढी प्राथमिकता दिने बानी झर्को लाग्छ । लेख्न थालेपछि खानपान र परिवार सबै विर्सने, केही कुराको वास्ता नगर्ने बानी अलि मन पर्दैन । उहाँले काम गरिरहेका बेला र लेख्न बसेको समयमा डराइडराई बोल्नु पर्ने, बोल्यो भने झर्किने बानी त्यति मन पर्दैन । मान्छेलाई छिटो विश्वास गर्ने र धोका पाएपछि पछुताउने उहाँको बानी अझै सुधि्रएको छैन ।

सौरभ पौड्याल/छोरा

मलाई बुबाको हरेक काम र कुरा सिक्नु र जान्नु पर्छ भन्ने सोच मनपर्छ त्यस्तै सहयोगी भावना परिवार र साथीभाइसँग रमाइलो गर्नुपर्ने, हार्ड वोर्किङ्, सकेसम्म आफ्नो सबै काम आफैं गर्नुपर्छ भन्ने मान्यताले मलाई सँधै प्रेरित गरिरहन्छ । जुनसुकै काम ठूलो सानो नभन्ने, दृढ संकल्प, कुनै काम गर्छु भनेपछि गरि छाड्ने स्वभाव अनुकरणीय छ । गर्न थालेको काम पुरा गरेरै छाड्ने । बुबाका बानीहरूले मलाई जहिले पनि पच्याई रहेको हुन्छ । मैले गाडी चलाउँदा चित्त नबुझाउने , कनमेलमा जहिले पनि हतार गर्ने र खाली सस्तो र सादा जीवन यापनका कुरामात्र गर्ने लगायत कम्प्युटर र पढ्न बसेपछि हाम्रा कुरा नसुन्ने बानी मन पर्दैन । सबै कुरा पर्फ]{ट चाहिने र बिहान धेरै सुत्नु नदिने उहाँको बानी ठिक लाग्दैन ।

प्रस्तुति ः शिवराज योगी

मधुपर्क २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *