नेपाली सङ्गीतको व्यावसायीकरणको नायक

  • by


म सानो छदाँ धेरथोर सङ्गीत त सुन्थेँ तर त्यति धेरै रूचि भने थिएन । यसो टाइमपास तथा रमाइलोका लागि मात्र सुनिन्थ्यो, त्यसमा पनि नेपाली गीत त असाध्यै कम सुन्थेँ । हजुरबुबा, बुबा व्यापारमा संलग्न भएकोले पनि परिवारमा साङ्गीतिक वातावरण थिएन । राम्रोसँग पढ्नुपर्छ र बुबाहरूकै पुस्तौनी व्यापार सम्हाल्नुपर्छ भन्ने हुन्थ्यो । मलाई पनि त्यस्तै लाग्थ्यो तर जिन्दगीमा आएको सानो मोडले गर्दा म सङ्गीतमा लागेँ, साधक भएर होइन, उद्यमी भएर । विभिन्न आरोह-अवरोह छिचोल्दै यो यात्राले चार दशक पार गरिसकेको छ । यसले मलाई पर्याप्त नाम, दाम र सम्मान पनि दिएको छ । त्योभन्दा ठूलो कुरा नेपाली सङ्गीतको व्यावसायीकरण र विस्तारमा आफूले पनि धेरथोर योगदान पुराउन पाउँदा अथाह आत्मसन्तुष्टि मिलेको छ । हुन त अरू व्यापार, व्यवसाय गरेको भए योभन्दा धेरै पैसा कमाउथेँ होला तर ‘त्यो पैसाभन्दा यो आत्मसन्तुष्टि’ नै मेरो लागि अमूल्य छ ।

म विसं २००९ वैशाख ९ गते काठमाडौँको त्रिपुरेश्वरमा जन्मिएको हुँ । मेरो बाल्यकाल आम नेपाली केटाकेटीको जस्तै सामान्यसँगै बित्यो तर हाम्रो परिवार आर्थिकरूपमा सम्पन्न भएकोले मैले खासै अभावको महसुस गर्नुपरेन । बुबाआमासँगै हजुरबुबाले पनि असाध्यै माया गर्ने भएकोले मेरो बाल्यकाल निकै सुखद रह्यो । बच्चैदेखि म अलि जिज्ञासु स्वभावको भएकोले उहाँहरूबाट धेरै कुरा सिक्ने अवसर पाएँ । त्यसैले, तीन वर्षको पुग्दानपुग्दै बुबाले स्कुल भर्ना गरिदिनुभयो र म १ कक्षामा पढ्दै पहिला पनि भएँ तर दुई कक्षामा स्कुलमा भर्ना भइनँ । बुबाले घरमै पढाउनुभयो । यसरी स्कुल नगई घरमै २ वर्ष पढें र आठ वर्षको उमेरमा विश्व निकेतनमा ८ कक्षामा भर्ना भएँ । त्यसपछि पनि म प्रत्येक कक्षामा पहिला हुँदै गएँ र ०२१ सालमा एसएलसी पास गरेँ, त्यतिबेला म जिन्दगीका तेह्रौँ वसन्त पार गर्दैथिएँ ।

एसएलसीमा राम्रो अङ्क आएकाले बुबाले साइन्स पढ्नुपर्छ भन्नुभयो । मलाई पनि साइन्समै रूचि थियो । त्यसैले त्रि-चन्द्र कलेजमा आईएस्सीमा भर्ना भएँ । कलेजमा पनि मेरो पढाई खस्केन । बरू अझ राम्रो हुँदै गयो । फलस्वरूप आईएस्सी प्रथम श्रेणीमा पास गरेँ र त्रि-चन्द्र कलेजमै बीएस्सीमा भर्ना भएँ । बीएस्सी पढ्दाको एउटा रमाइलो घटना सम्झनामा छ, सन् १९७० तिरको । कस्तो भने बीएस्सीको कोर्स निकै माथिल्लोको स्तरकोे थियो । फिजिक्स, केमेस्ट्री, बायोलाजीका ठेलीका ठेली किताब पढ्नु पर्थ्यो । कलेजमा पनि त्यति राम्रोसँग पढाई नहुने, त्यसैले आफूले निक्कै मेहनत गर्नुपर्थ्यो । जति पढे पनि दिमागमा नघुस्ने । तैपनि जसोतसो पढिदै थियो । भइदियो के भने त्यही साल अन्तिम वर्षको परीक्षामा फिजिक्सको प्रश्नपत्र असाध्यै गाह्रो आइदियो । कति प्रश्न त कोर्सभन्दा बाहिरका पनि थिए । त्यसैले एकजना पनि पास नहुने स्थिति आयो र विद्यार्थीहरूले विरोध जनाए, प्रश्नपत्र च्याते र फेरि परीक्षा हुनुपर्छ भने । त्यो बेला विद्यार्थी आन्दोलन पनि चलिरहेको थियो । त्यसैले न पुनः परीक्षा भई पो हाल्छ कि भनेको त उल्टो परीक्षाको मर्यादा तोडेको भन्दै सबै विद्यार्थीलाई रेस्टिकेट पो गरियो । स्वतः सबै फेल भए । पञ्चायत शासनको बेला थियो । बढी बोल्यो भने झन् अप्ठ्यारो पर्ला भन्ने डर । त्यसैले चुपचाप बसियो । अर्को वर्ष परीक्षा दिएर पास भइयो । त्यो घटना सम्झदा अहिले पनि निकै रमाइलो लाग्छ ।

बीएस्सी गरेपछि एमएस्सी पढ्नभन्दा अरू कुनै नौलो विषय पढ्ने कि भन्ने इच्छा थियो । नेपालमा खासै त्यस्तो नौलो विषय केही भेटिएन । त्यसैले ‘इकोनोमेटि्रक्स’ विषयमा तथ्याङ्कमा मास्टर्स गर्न भारत गएँ र दिल्ली युनिभर्सिटीमा भर्ना भएँ । त्यहाँ पनि मेरो पढाइ निकै अब्बल रह्यो र २० वर्षको उमेरमा मास्टर्स सकेँ । त्यहीबेला नेपालमा ‘इकोनोमेटि्रक्स’को पढाइ भर्खर सुरू हुँदै थियो । लेक्चररका लागि अफर आयो । राम्रै हुन्छ जस्तो लाग्यो र पढाउन थालेँ । रमाइलो त के भने, एकातिर म २१ वर्षमै लेक्चरर भएको थिएँ, अर्कोतिर मैले पढाउने कति विद्यार्थीहरू मसँगै बीएस्सी पढेका साथीहरू थिए । कलेजको जागिर पनि राम्रैसँग चलिरहेको थियो तर विस्तारै मलाई पढाउने काम दिक्क लाग्न थाल्यो । कलेजमा अति राजनितीकरण हुनथाल्यो, प्रोफेसरहरूले पनि मेहनत नगर्ने, पुरानै नोट कापि लेखाउने, विद्यार्थीले पनि मेहनत नगर्ने । त्यसैले बरू यस्तोमा फस्नुभन्दा कलेज नै छोड्दा राम्रो हुन्छ जस्तो लाग्यो र डेढ वर्ष पढाएर छोडिदिएँ । जागिर त छोडियो अब के गर्ने भन्ने भयो । बुबाले आफ्नै व्यापार समाल्नु भन्नुभयो तर त्यति रूचि लागेन । बरू विदेशमा ‘र्फदर स्टडी’का लागि ट्राइ गर्न थालेँ तर कहिले भिसा आइसक्दा पनि घरायसी कारणले जान पाइनँ, कहिले नाम निक्लिदा पनि शिक्षा मन्त्रालयका कर्मचारीको अवरोधका कारण जान पाइनँ । त्यसपछि झन् दिक्दार लाग्न थाल्यो र ट्राइ गर्नै छोडिदिए । यसरी यताउता गर्दागर्दै दुईतीन वर्ष बितिसकेको थियो । आफँैले पढाएका विद्याथीहरू आफूभन्दा माथि पुग्न थालिसकेका थिए । अब केही गर्नैपर्छ भन्ने दबाब परिरहेको थियो तर के गर्ने ? समस्या त उही थियो । मलाई बिजनेस गर्ने नै भएपछि अलि नयाँखालको गर्नुपर्छ भन्ने लागिरहेको थियो । यस्तैमा एकदिन गफैगफमा एउटा साथीले, क्यासेटबाट क्यासेट कपि गर्ने व्यवसाय गर्यो भने राम्रो हुन्छ भन्यो । त्यो कुराले मलाई निकै छोयो । यो नौलो खालको विषय थियो । त्यसैले यसबारे बुझ्न थालेँ र अमेरिकन तथा बिटि्रस लाइब्रेरी तिर धाउन थालेँ । पुस्तकालयमा भएका सङ्गीतसम्बन्धी पुस्तक तथा म्यागेजिनहरू पढ्न थालेँ । ‘रोलिङ स्टोन’ म्यागेजिन त म पहिले पनि पढ्थँे । त्यसमा विदेशी गायक-गायकीहरूको रोयल्टी, उनीहरूको जीवनशैली, क्यासेट बिक्रीको रेकर्डका कुराहरू छापिएका हुन्थे । यस्ता कुरा पढेपछि म नेपालका गायक-गायिकाहरूको बारेमा बुझ्थेँ तर यहाँ त्यस्तो केही थिएन । रोयल्टी भन्ने कुरै थिएन । मान्छेहरू गीत गाएर पनि पैसा कमाइन्छ त भन्ठान्थे तर मैले नेपाली गीत-सङ्गीतको राम्रोसँग उत्पादन तथा बजार प्रवर्द्धन गर्ने हो भने मनग्य पैसा कमाउन सकिन्छ भन्ने बुझिसकेको थिएँ । यससँगै मलाई पहिलेदेखि नै योगदानमुखी व्यवसाय गर्ने इच्छा भएकोले मैले यही व्यवसाय गर्ने निधो गरेँ र त्यसको एक वर्षपछि अर्थात् सन् १९८१ मा सजननाम भण्डारी र यादव बाँस्कोटासँग मिलेर तीन लाखको लगानीमा म्युजिक नेपालको स्थापना गरियो, जुन निजी क्षेत्रको नेपालकै पहिलो म्युजिक कम्पनी थियो । त्यो बेला मलाई हौसला दिनेभन्दा पनि हतोत्साहित गर्नेहरू नै धेरै थिए । त्यति धेरै पढेको मान्छेले कस्तो नचाहिँदो व्यवसाय गरेको भनेर धिक्काथेर्ं तर म आफ्नो सोचमा पूर्ण विश्वस्त थिएँ र एकदिन यिनीहरू सबैको मुख टाल्छु सक्छु भन्ने विश्वास थियो ।

स्थापना भएको केही समयपछि हामीले पहिलो एल्बम स्वरूप ‘जयनन्द लामाका लोकगीतहरू’ भन्ने क्यासेट निकाल्यौँ तर कहाँ लगेर बेच्ने भन्ने समस्या थियो । सिङ्गो काठमाडौँमा एकदुई ठाउँमा मात्र क्यासेट पसल थिए । त्यसमा पनि अङ्ग्रेजी र हिन्दी गीतहरू मात्र हुन्थे । नेपाली क्यासेट हुँदैनथ्यो । एउटा पसल न्युरोडमा थियो । हाम्रो मार्केटिङका साथीहरूले त्यो पसलमा पाँचवटा क्यासेट लगेर ‘यसलाई पनि बेच्न राख्नु’ भनेछन् तर त्यो पसलेले त ‘नेपाली गीतको क्यासेट पनि बिक्छ र ?’ भन्दै राख्न मानेनछ । साथीहरूले मलाई आएर सुनाए । मैले ‘यो गीत बजाउनु । यदि पर्सीसम्म पनि बिकेन भने हामी आएर फिर्ता लैजान्छौँ’ भन्नु भनेर पठाएँ । साथीहरूले त्यसै गरेछन् । पसलेले पनि गीत बजाएछ, त्यसपछि त त्यो पाँच वटा क्यासेट एकै दिन बिकेछ । भोलिपल्टै अरू बीस वटा क्यासेट मगायो । त्यसपछि त बजार त्यो क्यासेटको यति धेरै ‘डिमान्ड’ भयो कि हामीले पुर्याउनै भ्याएनौं । विदेशी र लाहुरेहरूको पहिलो रोजाईमा पर्यो त्यो क्यासेट । रमाइलो त के भने, छ महिनामा हामीले गायक जयनन्द लामालाई १५ हजार रुपियाँ रोयल्टी दियौँ । त्यस अगाडि कुनै गायकले यति धेरै पैसा पाएकै थिएन । त्यो पैसाले उहाँले मोटरसाइकल किन्नुभयो । सहरभरि हल्ला भएछ, ‘म्युजिक नेपालले त गायकलाई पैसाको खोलै बगाइदियो । जयनन्दले गीत गाएरै मोटरसाइकल चढ्यो ।’ यो कुराले हामीलाई पनि निक्कै फाइदा पुरायो, जसको कारण हामीले आजसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।

बजारमा सङ्गीतको माग अत्याधिक छ भन्ने कुरा पहिलो एल्बमबाटै प्रमाणित भएपछि भटाभट क्यासेट निकाल्न थाल्यौँ । मह जोडीसँग मिलेर यमलोक, अंशबण्डा, होस्टेमा हैंसेलगायतका क्यासेटहरू निकाल्यौँ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पहिलेदेखि नै लोकप्रिय कलाकार भएकोले पनि यी क्यासेटहरू पनि धेरै बिके । त्यसपछि हामीले बमबहादुर कार्की, प्रेमराजा महतले गाएका दोहोरी गीतहरूको क्यासेट निकाल्यौँ । ती क्यासेटहरूलाई पनि श्रोताले अत्यधिक रूचाए । कतिसम्म भने बमबहादुर मल्लको ‘पानको पात’ भन्ने एल्बम त नारायणगढमा ब्ल्याक हुँदाहुँदा पाँच सयमा समेत बिक्री भएछ । यो घटनाले पनि श्रोताहरूको नेपाली गीतसङ्गीतप्रतिको प्रेमको झल्को दिन्थ्यो । हामीले एक वर्षमा ३० वटासम्म एल्बमहरू निकाल्यौँ । म्युजिक नेपालले २०४४-४५ सालतिर नारायणगोपालको ‘गीतीयात्रा’ एल्बम निकाल्ने सौभाग्य पायो, जसमा यो सम्झने मन छ, एउटा मान्छेको मायाले जस्ता कालजयी गीतहरू रहेका छन् । यो एल्बमले पनि हाम्रो सफलतालाई थप माथि उकाल्यो ।

हामी जतिजति सफल हुँदैथियौँ, चुनौती तथा अवरोधहरू पनि उत्तिकै थपिँदै गए । क्यासेट किन्न वीरगञ्ज वा विराटनगर जानुपर्थ्यो, त्यसमाथि पनि असाध्यै महँगो थियो । म्युजिक नेपालले नेपाली कला, संस्कृतिको प्रवर्द्धन गर्ने प्रयास गरिरहेको भए पनि सरकारले कुनै सहयोग गरेको थिएन । अझ हामीलाई अनुत्पादक क्षेत्र भनिन्थ्यो, जब कि म्युजिक नेपालले २०५०-५२ तिर वाषिर्क ५०-६० लाख रुपियाँ कर तिर्थ्यो । यससँगै म्युजिक नेपालको सफलताबाट प्रेरित भएर अरू म्युजिक कम्पनीहरू पनि स्थापना हुन थालेका थिए, त्यसैले प्रतिस्पर्धा पनि बढिरहेको थियो । त्यहिबेला ‘पाइरेसी’ले हाम्रो अस्तित्वमाथि नै प्रश्न चिहृन उठाउन थाल्यो । क्यासेटहरू धमाधम अनाधिकृतरूपमा कपि हुन थाले । सङ्गीत चोरी गर्ने अपराधीहरूलाई कारवाही भएन । म्युजिक कम्पनी तथा सर्जकहरू मारमा परे । नेपालमा २०२२ सालको कपिराइट कानुन त थियो, जुन असाध्यै कमजोर थियो, त्यसमा पनि कार्यान्वयन पक्ष शून्य । त्यसैले हामीले सन् १९९७ मा म्युजिक कम्पनीका प्रतिनिधि तथा सर्जकहरू सम्मिलित कपिराइट सोसाइटी गठन गर्यौँ । जसमा म महासचिव थिएँ, अहिले पनि महासचिव नै छु ।

मैले कोरिया, बेलायत, स्विट्जरल्यान्डजस्ता देशमा रहेका कपिराइटसँग सम्बन्धित कानुनहरू पनि बुझेँ । नेपालमा कस्तो कानुन बनाउँदा राम्रो होला भनेर धेरै अन्तक्रिर्याहरू गर्यौँ, सरकारलाई उचित सुझाव दियौँ र प्रतिलिपि अधिकार ऐन, २०५९ बन्यो । त्यसले थोरै भए पनि राहत दियो तर त्यहिबेलाबाटै नेेपाली समाज आतङ्कबाट गुजन पुग्यो । जनतामा डर, त्रास र भय सिर्जना भयो, जसले गर्दा सङ्गीतको व्यापार पनि ओरालो लाग्यो । नेपाली सङ्गीतको व्यावसायीकरणको यात्राले केही गति लिइरहेको थियो तर बीचैमा अवरोध सिर्जना भयो । तैपनि जसोतसो चलिरहेको थियो, झन् २०६१-६१ बाट मोवाइल, आइपोड, एमपीथ्रि जस्ता प्रविधिको विकासले थप सङ्कटमा पार्यो । क्यासेट तथा सीडीहरूको बिक्री शून्यमा झर्यो । धेरै म्युजिक कम्पनीहरू बन्द भए । हामीलाई पनि कर्मचारी पाल्न पनि धौधौ हुनथाल्यो । त्यहीबेला मैले नेपालमै पहिलो पटक आरबीटीको अवधारणा ल्याएँ । जुन म्युजिक कम्पनी तथा सर्जकका लागि सञ्जीवनी बनेर आयो । अहिले पनि व्यापारी तथा सर्जकलाई आरबीटीले नै बचाइरहेको छ ।

यसरी मैले म्युजिक नेपालको मात्र हितका लागि भन्दा पनि समग्र साङ्गीतिक क्षेत्रकै हितका लागि काम गरिरहेको छु । प्रतिलिपि अधिकार ऐन बनाउन तथा आरबीटी भित्र्याउन मात्र होइन, सङ्गीत विद्यालय स्थापना गर्न पनि मैले निक्कै दौडधुप गरँे । फलस्वरूप अहिले आठ सयभन्दा बढी विद्याथीहरू सङ्गीत विद्यालयमा अध्ययन गरिरहेका छन् । नेपाली सङ्गीतको विकास, विस्तार तथा दीर्घकालीन संरक्षण गर्ने मेरा सपनाहरू विस्तारै साकार भइरहेका छन् । त्यसैले मलाई म्युजिक नेपालको स्थापना गरेकोमा अथवा सङ्गीत उद्यमी बनेकोमा कुनै पश्चाताप छैन । धेरै पैसा कमाउन नसकेर कुनै दुखेसो हुनुभन्दा बरू यही क्षेत्रबाट ‘माटोको ऋण’ तिर्न पाएकोमा आफ्नो जीवनको सार्थकता बोध गर्दैछु र अनवरतरूपमा नेपाली सङ्गीतको हितमा लाग्ने प्रण गरेको छु ।

मधुपर्क २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *