लेख्नु आफैँमा ठूलो कुरो हो तर जब आफूले लेखेका कुरालाई लक्षित पाठकको पहँुचसम्म पुर्‍याउन सकिएन भने त्यो लेखाइको औचित्य मन बुझाउनुमा मात्र सीमित हुन्छ । सार्वजनिक पहिचान बन्ने कुरा त टाढै भयो, लेखनको अभीष्ट पनि पूरा हुन पाउँदैन । बेलाबखत पङ्क्तिकारका आँखामा कतिपय अनुहार झलझली आइरहन्छन्, जसको कलममा राम्रो दम भइकन पनि प्रतिस्पर्धी बजारमा कदम उठाउन सकेका छैनन् । क्षमता भएर पनि सार्वजनिक पहिचान तिनका लागि भीरमा फलेको चिचिन्डोसरह हुन पुगेको छ । अनि तिनका लागि किताब प्रकाशन गर्नुपर्दा हरेक पटक गाँस काट्नु पर्ने बाध्यता आइरहन्छ । हुन त आफ्नो लेखनलाई आमपाठकको पहुँचसम्म पुर्‍याउने चाहना कुन लेखकलाई नहोला र ?

दायित्व वाङ्मय प्रतिष्ठानले हालै प्रकाशित गरेको रामप्रसाद पन्तको नियात्रासङ्ग्रह ‘स्मृतिगङ्गाको तीरैतीर’ पढेपछि पङ्क्तिकारलाई यस्तै कुराले धेरै दिनसम्म मन चिमोटिरहृयो । उमेरले साठीको हाराहारी पुग्न लागेका यी लेखकले ०४४ सालमा ‘बिरानो बस्ती’ मा उपन्यास प्रकाशन गरेयता अहिलेसम्ममा कथा, नियात्रा गरी दर्जन बढी पुस्तक प्रकाशित गरिसकेका रहेछन् । हातमा परेको ‘स्मृतिगङ्गाको तीरैतिर’ भित्र उनको खारिएको भाषाशैली, अनुसन्धानात्मक तथ्यहरू र मुगुकर्णाली नदीजस्तो आख्यानात्मक प्रवाह देखेपछि पङ्क्तिकार निकै सोचमग्न भयो-आखिर यी प्रबुद्ध लेखक किन बिकाउ बन्न नसकेका होलान् ?

रक्षा मन्त्रालयका जागिरे पन्तले आफ्नो सेवाकालको उत्तरार्द्धमा एउटा सुविधा हात पारेका रहेछन्, सेनाले खनिरहेको नग्मा-गमगढी सडकमार्गको स्थलगत अवलोकन गर्ने । सरकारी खर्चमा घुम्न पाएको त्यो सुविधालाई आत्मरति र मनोरञ्जनमा मात्र सीमित नगरी उनले संस्मरणीय काम गरेका छन्, यो नियात्रा लेखेर । जम्मा बाह्र खण्डमा विभाजित यस सङ्ग्रहभित्रका नियात्रा साँच्चै सुन्दर र चित्रमय छन् । छोटा वाक्य र आख्यानात्मक लेखन यो कृतिको सबैभन्दा बलियो पक्ष हो । प्रकृतिको वर्णनका प्रसङ्ग साँच्चै आरिसलाग्दा छन् । पढ्दै गर्दा त्यस भेगको यात्रा गरेकाहरूलाई त्यहीँ पुगेको झल्को त आउँछ नै, नपुगेकाहरूलाई पनि सिञ्जाको सेरोफेरोमा पुग्ने सपना साँच्न बाध्य बनाउँछ । यात्राको तयारीका क्रममा व्यहोरेका कतिपय घटनाक्रमसमेत समेटेर कर्मचारीतन्त्रभित्रका कमजोरी पनि कोट्याएको देखाएको इमानदारी पनि प्रशंसनीय नै मान्न सकिन्छ ।

हतारमा लेखिएजस्तो देखिए पनि कर्णाली र सिञ्जा भेकको जनजीवन, आर्थिक-सामाजिक-सांस्कृतिक स्थिति बुझ्नका लागि यो नियात्रा निकै उपयोगी छ । अझ यसभित्र परेका कतिपय ऐतिहासिक तथ्यहरूले यो कृतिलाई अनुसन्धानपरक पनि बनाएको छ । लेखनमा लेखकको कपट र अहं कतै झल्कँदैन तर स्थानीयसँगको संवादमा स्थानीय लवज समेट्न नसकेर लेखक चुकेका छन् । प्रचुर सम्भावनाका वावजुद विकासको प्रवाहमा पछाडि पर्नुका कारण, कुनै बेलाको समृद्ध सिञ्जा राज्यको राजधानी भइकन पनि पछिल्ला दिनमा भोकमरि विद्यमान रहनुका रहस्य पनि खोतलिदिएका भए यो कृति अझै अब्बल बन्न सक्ने थियो । यद्यपि यो कृति खस जातिका जननीस्थल मानिने सिञ्जाको सामाजिक अध्ययनका लागि सहयोगी दस्तावेज हुने पक्का छन् ।

कृति ः स्मृतिगङ्गाको तीरैतीर (नियात्रासङ्ग्रह)
नियात्राकार ः रामप्रसाद पन्त
प्रकाशक ः दायित्व वाङ्मय प्रतिष्ठान, चाबहिल, काठमाडौँ
प्रकाशन ः २०६८
पृष्ठ ः १४+१८०
मूल्य ः रू. २००।-

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *