आदर्शवादी सोचका कमजोर कथाहरू

  • by


कृष्ण पहाडी मानवअधिकार र नागरिक समाजका अगुवा नेता हुन् । उनले नेपाली राजनीतिको रूपान्तरणमा पुर्‍याएको योगदान र समर्पणको सधैँ समाजले सम्मान पनि गर्नेछ । बेलाबेलामा उनले लेख्ने वैचारिक र समसामयिक लेखहरूको पनि आफ्नै विशेषता छ । यी सबै पहाडीका सवल पक्ष हुन् । साहित्यप्रति रुचि हुनु र लेख्न-गुनगुनाउन मन लाग्नु स्वाभाविक हो तर सौखकै कारण लेखिएका सबै रचनाहरूले साहित्यिक महत्तालाई कायम राख्न सक्दैनन् । कृष्ण पहाडीले सौखका रूपमा लेखेका कथाहरूको सङ्कलन ‘कृष्ण पहाडीका कथा’ मा पनि यस्तै भएको छ । साहित्यिक महत्त्वका दृष्टिकोणले यी कथाहरूलाई कमजोर नै भन्नुपर्ने हुन्छ । सङ्ग्रहमा २६ वटा कथाहरूमा अधिकांश नैतिकता र आदर्शका कथाहरू छन् । कथामा कथा कम र परिकल्पना ज्यादा छ । अधिकारकर्मी पहाडीले कथामा लेखेको जस्तो देश र समाज बन्न समय लाग्छ । उनको आग्रह छ देश आदर्शमूलक हुनुपर्छ, मानवअधिकारका दृष्टिले उच्च रहनुपर्छ ।

पहाडीले असल व्यक्ति, सुन्दर परिवार, सभ्य समाज, समुन्नत देश र आदर्शवान विश्वको परिकल्पना गरेका छन् । उनका सबै कथाहरू यही पेरिफेरीमा घुमेका छन् । कथाको भाषा सरल र ठाडो छ । आममानिसले पनि सजिलै बुझ्न सक्छन् तर आम मानिसले पनि चाख लिएर पढ्छन् भन्न सकिँदैन । कथा पढिरहनेक्रममा कथालाई लिएर पाठकमा कुनै उत्सुकता वा चासो रहँदैन । कथाको सुरूमा नै कथाको अन्त्य अनुमान गर्न सकिन्छ । कथाको भावभूमि असल त छ तर पाठकीय रुचिप्रति लेखकले कुनै ध्यान दिएको देखिँदैन ।

पहाडीले कथाको सहारा लिएर पृथ्वी र वातावरण जोगाउन अपिल गरेका छन् । उनले प्रकृतिलाई नजोगाई मानिस बाँच्न नसक्ने दृष्टान्त आफ्ना कथामा प्रस्तुत गरेका छन् । त्यस्तै, जीवजन्तु र पशुपछीलाई धेरै कथाहरूमा मानवीकरण गरेका छन् । कति कथाहरू बालकथा पढिरहेजस्ता लाग्छन् । त्यसो त कथामा सामाजिक घटना दुर्घटनाको सुन्दर तस्बिर छ । राजनीतिको कालो पीडाले आक्रान्त मानिस र उनीहरूको जीवनशैली कथामा सशक्तरूपमा देखिएको छ । पहाडीले आफ्ना पात्र छनोटमा होसियारी त देखाएका छन् तर कथाको प्रस्तुतिकरणमा विशिष्टता देखाउन नसक्दा कथाहरू बोझिल बनेका छन् ।

कृष्ण पहाडीका कथाभित्र समेटिएको सबै कथाहरूले विषयगत विविधता अपनाएका छन् र पनि सबै कथामा कतै न कतैबाट नैतिकताको पाठ रहेको छ । नैतिकता र असल समाजको परिकल्पना सुन्दर कुरा भए यथार्थमा समाज अत्यन्त जटिल बन्दै गएको सत्यलाई अबका लेखकले स्वीकार्नु पर्छ । समाज दिनप्रतिदिन भ्रष्ट बन्दै गएको अवस्थामा भ्रष्टाचारको कारणमा नपुगी र त्यसको उपचार नगरी असल समाजको परिकल्पना मात्र आदर्श सावित हुनसक्छ ।

समकालिन नेपाली कथा कहाँनेर छ । अहिलेको समयमा कस्ता कथाहरू छापिइरहेका छन् र विश्व कथासाहित्य कहाँनेर छ भन्ने जानकारी नै नराखी हतारिएर सङ्ग्रह निकालिएझैँ लाग्छ तर व्यक्तिगत अध्ययन र अधिकारका क्षेत्रमा सम्मानसाथ लिइने नाम पहाडीले समकालीन कथाको अवस्थालाई हेर्दै नहेरी कथा लेखे भन्ने विश्वास पनि गर्न सकिँदैन ।

यसअघि नौ वटा कृति प्रकाशित गरिसकेका अधिकारकर्मी कृष्ण पहाडीका तीन साहित्यिक कृति छन् । साहित्यभन्दा बाहिर बसेर अधिकारका सन्दर्भमा उनले लेखेका किताबहरूको दाँजोमा उनको यो सङ्ग्रह कृष्ण पहाडीका कथा ओजिलो लाग्दैन ।

कृति ः कृष्ण पहाडीका कथा
कथाकार ः कृष्ण पहाडी
प्रकाशक ः मुक्तिनाथ विकास बैंक लिमिटेड
संस्करण ः २०६७, चैत
पृष्ठ ः १४०+२६
मूल्य ः रू. २००।-

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *